मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार ६ खेल भए । मकवानपुर जिल्ला फुटबल संघको आयोजना भएकाे प्रतियोगिता अन्तरगत शुक्रबारकाे खेलमा पशुपति युवा क्लब, एफसी पोताला, सक्षम, न्यु डाँफे, परेली र हेटौडा फुटबल एकेडेमी विजयी भएका छन् ।
बिहीबार वर्षाका कारण भएका २ खेलहरु शुक्रबार बिहान हेटौंडा ६ स्थित गौरीटार रंगशाला र हेटौंडा–११, स्थित सिमलटार मैदानमा खेलाइएकाे थियाे । सिमलटार मैदानमा भएको खेलमा एफसी चाइना क्वाटरलाई १–० गोलअन्तरले हराउँदै पशुपति युवा क्लब विजयी भयाे । यसैगरी गौरीटार रंगशालामा भएको खेलमा विजय युथ क्लबलाई ५–३ ले हराउँदै एफसी पोताला विजयी भयाे ।
यसैगरी शुक्रबार गौरीटार रंगशालामा भएकाे खेलमा सक्षमले एफसी ईन्टरनेटलाई २-० गोल अन्तरले पराजीत गरेकाे छ भने न्यु डाफेले एफसी ईन्टरनेट सिटिलाई ५-१ ले पाखा लगाएकाे छ । शुक्रबार नै सिमलटार मैदानमा भएकाे खेलमा परेली युवा क्लबले हेटौंडा भेट्रान्सलाई ६ -० ले पराजीत गरेकाे छ भने हेटौंडा फुटबल एकेडेमीले महावीर क्लबलाई १-० गोल हराउँदै जीत हात पारेकाे छ ।
यस्तै शनिबार जिल्ला लिग अन्तरगत ४ खेल हुनेछ । गौरीटार रंगशालामा २ खेल तथा सिमलटार मैदानमा २ खेल हुने आयोजकले जनाएकाे छ । गौरीटार रंगशालामा पहिलाे खेल दिउँसाे १ बजे पदमपोखरी युथ क्लब र सानाेपाेखरा क्लब बीच हुनेछ भने दाेस्राे खेल दिउँसाे ४ बजे ७ नम्बर फुटबल क्लब र एफसी मल्टिभिजन बीच हुनेछ । यसैगरी सिमलटारमा दिउँसो १ बजे रियल स्टार र गोर्खा व्वाइज बीच तथा दिउँसो ४ बजे न्यु कम्बाइन र एफसी नामटार बीच हुने आयोजकले जनाएकाे छ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो।

