मकवानपुर । हिमालयन राइडर्स सोसाइटीको अध्यक्षमा राजु थापामगर चयन भएका छन् । शनिबार हेटौंडामा भएको दोस्रो साधारणसभाबाट तीनवर्षे कार्यकालका लागि थापामगर अध्यक्षमा चयन भएका हुन् ।
उनकाे अध्यक्षतामा गठन भएकाे १३ सदस्यीय सोसाइटीको उपाध्यक्षमा बुद्धराम श्रेष्ठ र जीतेन्द्र महतो, महासचिवमा ईश्वर पाण्डे, सचिवमा दामोदरप्रसाद ढुंगाना र कोषाध्यक्षमा लक्ष्मीचरण श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यमा नवराज नेपाल, विश्वास सापकोटा, अशोक जोशी, धर्मराज पाण्डे, दुर्गाप्रसाद लामिछाने, आशिष थापामगर र सीता श्रेष्ठ चयन भएको निर्वाचन प्रमुख चेतनाथ आचार्यले जानकारी दिए ।
ब्यक्तिगत स्वास्थ्य, पर्यावरण, आन्तरिक पर्यटन प्रवर्धन, पेट्रोलियम खपतबाट हुने कार्वन उत्सर्जन न्यूनीकरणमा साइकलको ठूलो योगदान रहने मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए । ‘दैनिक रुपमा १०/१५ किलोमिटरको यात्राका लागि सबैले साइकल चढ्ने बानीको विकास गर्न सकेको खण्डमा समाज र स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिने छ’ अर्यालले भने ।
यसैगरी साधारणसभाले दुई जना उपाध्यक्ष रहनेगरी विधान संशोधन गर्ने निर्णय गरेको छ । सोसाइटीको नवनिर्वाचित कार्यसमितिको बैठक आगामी सोमबार बस्ने निर्णय भएको अध्यक्ष थापामगरले जानकारी दिए ।
यस्तै सोसाइटीले ६० वर्ष उमेर माथिका ५ जना र मेचीमहाकाली साइकलयात्रा गर्ने मकवानपुरकी पहिलो महिला साइकलयात्री सीता श्रेष्ठलाई सम्मानीत गरेको छ । दुईपटक मेचीमहाकाली साइकलयात्रा गर्ने ६० वर्ष उमेर माथिका लक्ष्मीचरण श्रेष्ठ, एकपटक मेचीमहाकाली साइकलयात्रा गर्ने चेतनाथ आचार्य, बुद्धिबहादुर आले, ओकिलराज बानियाँ र अशोक जोशीलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालको प्रमुख आतिथ्यता तथा सोसाइटीका कार्यबाहक अध्यक्ष राजु थापामगरको अध्यक्षतामा भएकाे साधारण सभामा बारा राइडर्स सोसाइटीका अध्यक्ष शेषराज अधिकारी, बिशालराज महत, रामबिक्रम थापा, प्रमेन्द्र महर्जन, नेलसन घलान, प्रेस सल्लाहकार भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।

