मकवानपुर । मकवानपुर जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएकाे छ । जिल्लामा मंगलबारसम्म डेंगु संक्रमितको संख्या ६३६ जना पुगेको छ । यसैगरी स्क्रब टाइफसका बिरामी २३९ जना पुगेको छ ।
डेंगु संक्रमितको कुल संख्या मध्ये ३३५ पुरुष र ३०१ महिला रहेका छन् । स्क्रब टाइफसका बिरामी ८० पुरुष र १५९ महिला रहेका छन् । उक्त तथ्याङ्क साउन २०८१ देखि मंगलबारसम्मको हो ।
यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २४ जना डेंगु संक्रमित र ३ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका एक जना र अन्य जिल्लाका दुई जना गरी २४ जना डेंगु संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका एक जना र मकवानपुरगढी गाउँपालिकाका दुई जना गरी ३ जनाम स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
मंगलबार थपिएसँगै हेटौंडा उपमहानगरपालिकामा २५७ पुरुष र २४४ महिला गरी ५०१ जना, थाहा नगरपालिकामा एक पुरुष र एक महिला गरी २ जना, मकवानपुरगढी गाउँपालिकामा १५ पुरुष र ९ महिला गरी २४ जना, बागमती गाउँपालिकामा एक जना पुरुष, कैलाश गाउँपालिकामा ४ पुरुष, मनहरी गाउँपालिकामा २० पुरुष र १४ महिला गरी ३४ जना, बकैया गाउँपालिकामा ६ पुरुष र ५ महिला गरी ११ जना,भीमफेदी गाउँपालिकामा ४ पुरुष र ८ जना महिला गरी १२ जना, राक्सिराङ गाउँपालिकामा एक पुरुष
हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना,अन्य जिल्लाका १३ पुरुष र ५ महिला १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी मंगलबार थपिएसँगै हेटौंडा उपमहानगरपालिकामा ९१ महिला र ५० पुरुष गरी १४१ जना, मकवानपुरगढी गाउँपालिकामा २६ महिला र १० पुरुष गरी ३६ जना, बागमती गाउँपालिकामा दुई पुरुष, कैलाश गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना, मनहरी गाउँपालिकामा ६ पुरुष र १२ जना महिला गरी १८ जना, इन्द्रसरोवर गाउँपालिकामा एक महिला, भीमफेदी गाउँपालिकामा दुई पुरुष र १४ जना महिला गरी १६ जना, बकैया गाउँपालिकामा ८ पुरुष र ९ महिला गरी १७ जना, राक्सिराङ गाउँपालिकामा एक जना महिला र अन्य जिल्लाका एक पुरुष र तीन महिला गरी ४ जना स्क्रब टाइफसका विरामी रहेका छन् ।
थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोताला र पदमपोखरी युवा क्लव सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनल खेलमा पोतालाले न्यू कम्बाइन क्लवलाई र पदमपोखरीले सक्षम युवा क्लव नेवारपानीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २–१ ले हराएको हो । दोस्रो खेलमा पदमपोखरीले सक्षमलाई सडनडेथमा हराउँदै सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथ मार्फत विजेताको छिनोफानो गरिएको हो ।
जारी प्रतियोगितामा मंगलबार पनि क्वाटरफाइनल चरणको दुई खेल हुनेछ । पहिलो खेल गोर्खा ब्वाइज क्लव हेटौंडा र सहीद स्मृति क्लव बागमती गाउँपालिकाको बीचमा हुनेछ । यसैगरी दोस्रो खेल हाँडीखोला यूथ क्लव मनहरी गाउँपालिका र साविक विजेता न्यू डाँफे क्लवले खेल्नेछन् ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल १२ असोजमा हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
मकवानपुर । मकवानपुर मुस्लिम समुदायले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटा र सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मियांलाई हेटौंडामा सम्मान तथा स्वागत गरेको छ ।
समुदायले सोमबार हेटौंडामा स्वागत तथा सम्मान कार्यक्रम गरेको हो ।
स्वागत तथा सम्मानपछि बागमती प्रदेश प्रमुख देवकोटाले मकवानपुर विविधताले भरिएको जिल्ला भएको उल्लेख गर्दै यहाको प्राकृतिक सुन्दरतासङ्गै अर्को सुन्दर पक्ष विभिन्न धर्म, जाति ,लिङ्ग, सम्प्रदायबीचको अदभूत मेल रहेको बताए ।
यसले हेटौंडामात्र नभएर सम्पुर्ण मकवानपुरबासीको गरिमा बढाएको देवकोटाले बताए । आपसी भाइचारा र मेलमिलापले नै खुशी र सम्मृद्दी ल्याउले उनले बताए । आफ्ना स्वतन्त्रता प्रयोग गर्दा अरुको स्वतन्त्रता हनन हुन दिएनौ भने मात्रै पनि समाज सभ्य र सुसंस्कृत हुने देवकोटाले बताए ।
“संकल्प र इमानदारीताले कमी कमजोरी हटाइ उन्नत दिशातिर अघि बढ्न सकिन्छ” उनले भने “इस्लाम धर्मावलम्बी दाजुभाइ ,दिदीबहिनीहरु, यहाको समाज विकास, एकता र सहयोगको लागि मेरो तर्फबाट हुनसक्ने यथासक्य पहल हुनेछ ।”
आम्दानीको निश्चित हिस्सा आफ्नो गक्ष्र अनुसार दुखी गरिबलाई दान दिने संस्कृतिको देवकोटाले प्रशंसा गरे ।
कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख नाजिर मियाले मुस्लिमकाे हक तथा पहिचानका लागि काम गर्दै आएका बताए ।
मुस्लिम माथिकाे भेदभाव तथा हिंसा सिंगाे नेपालकाे समस्या भएको उल्लेख गर्दै राज्यले सबैलाइ समान अधिकार दिनुपर्ने मियाले बताए ।
“समानता जब हुन्छ तब मात्र मुस्लिमकाे समस्या समाधान हुदै” उनले भने । २०७२ साल अघि हामी नेपाली नागरिक मात्र थियाै तर मुस्लिमकाे पहिचान थिएको उनले बताए ।
मुस्लिम समुदायका लागि भारतमा भन्दा नेपाल सरकारले बढि अधिकार प्रदान गरेकाे छ तर पनि केही अधिकारका लागि अझै लड्नुपर्ने अवस्था रहेकाे मियाले बताए ।
“मुस्लिम भन्ने बित्तिकै कुन देशबाट आएकाे भनी प्रश्न गर्ने गरेकाे प्रति दुख लाग्छ, कव्रस्थानका लागि अझै अधिकार प्राप्त गर्न बाँकि छ, हामी आदिबासी हाै आप्रवासि हाेइनाै” मियाले भने ।
मकवानपुरको हेटौंडा उपमनपाा-४ स्थित जामे मस्जिदमा मकवानपुर मुस्लिम समुदाय मकवानपुरकाे आयाेजनामा कार्यक्रम भएको थियो ।
प्रदेश प्रमुख स्वागत सम्मान कार्यक्रम संयाेजक तथा इश्तिहार वागमति प्रदेश समिति अध्यक्ष माेहम्मद समिमको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जामे मस्जिदका संस्थापक अध्यक्ष हाजि रुद्र ढकाल, जनप्रिय मावि प्राविधिक विभागका संयाेजक माेतिउर रहमानलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणाकाे तयारीमा छ । ११ असोज २०८१ मा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएकाे हाे ।
वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएकाे सोमबार पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे । वडा घोषणा गर्ने मात्र होइन घोषणा पछिको जिम्मेवारीलाई समेत बहन गर्ने गरी अभियानमा जोडिएको हेटौंडा–९ का अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक सुकराम केसीले बताए ।
वडा अध्यक्ष केसीले सभ्य र भव्य कार्यक्रम गर्ने तयारीमा रहेको महाअभियानमा सबैलाई सहयोगी बन्न तथा सहभागिता जनाउन आव्हान समेत गरेका छन् ।
उनका अनुसार बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक रहेको ५१ सुचकलाई पुरा गर्दै वडालाई बालमैत्री घोषणा गरिने छ।यस अघि पूर्ण खोपयुक्त, पूर्ण साक्षर र खुल्ला दिशा मुक्त वडा घोषणा भइसकेको हेटौंडा ९ लाइ सातौं वडाको रुपमा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिने भएकाे हाे ।
घरधुरी तथ्याङक अनुसार वडामा १८ बर्ष मुनिका २ हजार ७०७ बालबालिका रहेकाेमा १ हजार ४४५ बालक र १ हजार २६२ जना बालिकाहरु रहेकाे वडा सचिव राजेन्द्रनाथ पोखरेलले जानकारी दिए ।
‘वडामा २५ वटा बाल समुह र १ वटा वडास्तरीय बाल सञ्जाल रहेकाेमा त्यसमा ६ सय २५ जना बालबालिका आवद्ध रहेका छन्’ उनले भने ‘बिभिन्न संरचनागत समितिमा ६५५ जना बालबालिकाहरको प्रत्यक्ष सहभागिता रहेको छ ।’
आगामी पौष सम्ममा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने गरी अभियान रहेकाे छ । साही अनुसार हेटौंडा उपमहानगरपालिकाका वडाहरु बालमैत्री घाेषणा हुँदै छन् । यस अघि हेटौंडा उपमहानगरपालिकाको ८, २, ७, १७, ४ र १० नम्बर वडा बालमैत्री घोषणा भएका छन् ।
मकवानपुर । मकवानपुरमा बैंकिङ कसुर सम्बन्धी मुद्दा बढेकाे छ । पछिल्लाे समय देखिएकाे आर्थिक मन्दीले बैंकिङ जन्य कारोबारमा बढि मुद्दा पर्ने गरेकाे प्रहरीकाे तथ्याङ्कले समेत देखाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत आर्थिक वर्षमा बैंकिङ कसुरका एक सय ८४ मुद्दा दर्ता भएकाे छ । आर्थिक वर्ष २०७९/०८० मा ७९ मात्रै बैकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएकाेमा गत आवमा बढेर एक सय ८४ पुगेकाे हाे । यसैगरी चालु आर्थिक वर्षकाे भदौ मसान्तसम्म पनि बैकिङ कसुरका मुद्दा बढी दर्ता भएकाे प्रहरीकाे तथ्याङ्कले देखाउँछ । चालु आवकाे भदौ मसान्तसम्म ३३ मुद्दा बैंकिङ कसुर सम्बन्धी रहेकाे छ ।
बैंकिङ कसुर सम्बन्धी मुद्दा पछि लागु औषध मुद्दा बढी दर्ता भएकाे देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा लागु औषध सम्बन्धी मुद्दा सबै भन्दा बढी दर्ता भएकाे थियाे । जिल्लामा उक्त आवमा एक सय ५३ मुद्दा लागु औषधका दर्ता भएकाेमा गत आवमा लागु औषधका एक सय ५८ मुद्दा दर्ता भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । यसैगरी चालु आवकाे भदौ मसान्तसम्म १७ मुद्दा लागु औषधका दर्ता भएका छन् ।
यसैगरी आव २०७९/०८० मा लागुऔषध सम्बन्धी मुद्दा १ सय ५३ दर्ता हुँदा २ सय ४८ जना पक्राउ परेका छन् । आव २०८०/०८१ मा लागु औषध मुद्दा एक सय ५८ दर्ता हुँदा दुई सय ४९ जना पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । यस्तै चालु आवमा १७ मुद्दा दर्ता हुँदा २९ जना पक्राउ परेका छन् ।

स्राेतः जिल्ला प्रहरी कार्यालय मकवानपुर
यस्तै मकवानपुर प्रहरीले आव २०७९/०८० मा मकवानपुरका विभिन्न पालिकामा १४६ विगाह १७ कठ्ठा १० धुरमा लगाइएकाे गाँजा फडानी गरेकाे छ । यसैगरी साेही आवमा २२४ विगाह ३ कठ्ठामा लगाइएकाे अफिम नष्ट गरेकाे छ । चार ९७ प्रहरी परिचालन गरी उक्त लागुऔषध फडानी गरिएकाे हाे । यसैगरी गत आवमा मकवानपुर प्रहरीले २७८ विगाह ३ कठ्ठामा लगाइएकाे गाँजा र १४६ विगाह ५ कठ्ठा १५ धुरमा लगाइएकाे अफिम नष्ट गरिएकाे हाे । उक्त अभियानमा ५ सय ९६ जना प्रहरी परिचालन गरिएकाे हाे ।
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरमामा अपराध अनुसन्धान सम्बन्धी मुद्दा दर्ताकाे संख्या बढ्दै गएकाे तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न अपराधका आठ सय दुई मुद्दा दर्ता भएकाेमा सात सय ३० जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७९/०८० मा आठ सय ६६ मुद्दा दर्ता भएकाेमा सात सय ६४ जना पक्राउ गरिएकाे थियाे । गत आवमा अपराध सम्बन्धी एक हजार १९ मुद्दा दर्ता भएकाेमा सात सय ३२ जना पक्राउ गरिएकाे प्रहरीकाे तथ्याङ्कमा उल्लेख छ । चालु आवकाे भदौ मसान्तसम्म अपराधका एक सय ६४ मुद्दा दर्ता भएकाेमा एक सय २२ जना पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे तथ्याङ्क अनुसार चालु आवकाे भदौसम्म फरार प्रतिवादी १५ जना पक्राउ गरेकाे देखिन्छ । यसैगरी गत आवमा विभिन्न मुद्दाका फरार प्रतिवादी दुई सय ६१ जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । यस्तै आव २०७९/०८० मा फरार प्रतिवादी एक सय ६७ र आव २०७८/०७९ मा एक सय १४ जना फरार प्रतिवादी पक्राउ गरिएकाे तथ्याङ्कमा उल्लेख छ ।

स्राेतः जिल्ला प्रहरी कार्यालय मकवानपुर