मकवानपुर । मकवानपुरकाे हेटाैंडामा बुधबारबाट सुरु प्रदेश लिग फुटबल प्रतियोगितामा पशुपति शिवाजी चित्लाङ एफसी काठमाडौंले विजयी सुरुवात गरेको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशालामा सुरु प्रदेश लिगमा चित्लाङ एफसी काठमाडौंले माउण्ड एभरेष्ट क्लब काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । काठमाडाैंकाे लागि तीनै गोल अंकित रासकोटीले गरे । रासकोटी खेलको म्यान अफ दी म्याच भए । जीतसँगै काठमाडौंले ३ अंक प्राप्त गर्यो ।
लिगकम नकाउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता बिहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल प्रवेश गर्ने २ वटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउन पाउने छन् ।प्रतियोगिता बिजेता तथा उपविजेताले नगद २ लाख र १ लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार प्रदेश फुटबल संघको आयोजनामा सुरु प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बीएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहकाे छ ।
११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल २० पुसमा हुने आयोजकले जनाएकाे छ ।
मकवानपुर । अहिले नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाकाे सम्मभावना रहेकाे छ । साथै केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ । आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको महाशाखाले जनाएकाे छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा मंगलबासर साँझ सामान्य वर्षा समेत भएको थियो ।
पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून भयो । अहिले पनि आकाशमा बादल लागेकाे छ । पश्चिमका डडेलधुरा तथा दिपायल क्षेत्रमा पानी परेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । बुधबारबाट मौसममा क्रमिक सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उक्त प्रणालीको मुख्य असर पश्चिम नेपालमा पर्ने र काठमाडौं उपत्यकासम्म वर्षा गराउने सम्भावना रहेकाे छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । मकवानपुर हेटौंडामा महिला क्रिकेट उत्सव सुरु भएको छ । जिल्ला क्रिकेट संघ मकवानपुरकाे आयोजना तथा हेटौंडा उपमहानगरपालिकाकाे सहकार्यमा मंगलबारबाट क्रिकेट उत्सव सुरु भएकाे हाे ।
६ ओभरमा खेलाइने प्रतियोगिता हेटौंडा–४, हुप्रचौरमा सुरु भएको हाे । हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले व्याटिङ् गरेर उत्सवको सुरुवात गरे । महिला खेलाडीलाई प्रोत्साहन गर्न आयोजना गरिएकाे प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको ६ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ७ वटा विद्यालयको टिम सहभागी रहेको छ ।
महिला क्रिकेट उत्सवमा हेटौंडा ४ मा रहेकाे नवोदय शिशु सदन, हेटौंडा ५ मा रहेकाे जीएस निकेतन र सिद्धार्थ शिशु सदन, हेटौंडा ८ मा रहेकाे कमाने एकेडेमी र माउण्ट एभरेष्ट इंग्लिस स्कूल, हेटौंडा ११ मा रहेकाे हेटौंडा एकेडेमीबाट १/१ टिमकाे सहभागिता रहेकाे छ । यसैगरी मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयबाट २ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएकाे छ ।
उद्घाटन खेलमा हेटौंडा ८ काे कमाने एकेडेमी र मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुदैछ ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकीटोलमा कारले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा हेटौडा १ चौकीटोल बस्ने ३५ वर्षीय युवराज लामा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सोमबार बेलुका हेटौंडा १ चौकीटोल स्थित हेटौंडा भैसे सडक खण्ड अन्तरगत तिरतिरे धारा नजिकै भैंसेबाट हेटौंडा तर्फ आउदै गरेको बा.प्र.०३-००२प ७२६७ नम्बरको स्कुटरलाई हेटौंडाबाट काठमाडौं जादै गरेको बीआर ०५ बा ०००६ (BR05BA 0006) नम्बरको ईन्डियन कारले ठक्कर दिँदा स्कुटर चालक लामाकाे मृत्यु भएकाे हाे ।
कारकाे ठक्करबाट घाइते भएका लामाको उपचारकाे क्रममा हेटौडा अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनामा स्कुटरमा सवार हेटौंडा १ बस्ने २५ वर्षीय बबिता लामा घाइते भएकी छिन् । उनकाे हेटौंडा अस्पतालमा उपचार भइरहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । कार र चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने बर्ष २४ वर्षीय सुकर्ण प्रताप सिङ प्रहरी नियन्त्रणमा रहेका छन् ।
मकवानपुर । बामगती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई औपचारिकतामा मात्रै सिमित गरिन नहुने बताए । जलवायु कार्यको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोणबारे प्रदेशस्तरीय संवाद कार्यक्रमकाे हेटौंडामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘ईआईए रिपोर्ट छ वा छैन भन्ने मात्र हेरिन्छ, रिपोर्टमा के छ भनेर हेर्ने गरिँदैन, यो चलन हट्नुपर्छ, प्रभाव हेरेर काम गर्नुपर्छ’ उनले भने । वातावरण संरक्षणमा सबैको दायित्व रहेको भन्दै उनले यसमा सबै पक्ष उत्तिकै सजग हुनुपर्ने बताए । वातावरणीय प्रभावलाई मुल्यांकन र समाधान गरेर काम गर्नुपर्ने र प्रदुषण न्यूनीकरणमा लाग्नुपर्ने र बाँकी काम गर्दै जानुपर्ने उनकाे भनाई थियो ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले सरकार बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताइन् । स्थानीय उत्पादन, महिला उद्यमीलाई आफूले प्राथमिकता दिएको भन्दै उनले उद्यमशीलता र वातावरणमैत्री वनजन्य उत्पादनलाई जोडेर लगिएको स्पष्ट पारिन् । उनले प्राकृतिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैले जोड दिनुपर्ने बताइन् । कार्यक्रममा उठेका महत्वपूर्ण विषयहरुलाई प्रदेश सरकारसम्म ल्याइदिन आग्रह गर्दै उनले त्यस्ता विषयलाई सम्बन्धित निकायमा लैजान आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका पूरा गर्ने स्पष्ट पारिन् ।
बागमती प्रदेशका बन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले प्लाष्टिक नियन्त्रण र प्रकृतिको संरक्षणमा जोड दिए । हाम्रा क्रियाकलापहरु सुधार गरेर वातावरण जोगाउने हो भने मात्रै नयाँ पुस्तालाई हामीले सुन्दर पृथ्वी हस्तान्तरण गर्न सकिने उनले बताए । मन्त्री सिलवालले भने ‘पृथ्वीलाई नोक्सान पार्ने मान्छे नै हो, यो पृथ्वीलाई अरुले नोक्सान गरेको छैन, त्यसैले यसको संरक्षण पनि हामीले नै गर्नुपर्छ ।’
यसैगरी माडी नगरपालिका चितवनका नगर प्रमुख तारा कुमारी काजी महतोले प्राकृतिक सम्पदाको सम्भावनासँगै स्थानीय तहमा कानूनी जटिलताका कारण काम गर्न समस्या भएको बताए । ‘संघीय कानून अनुसार चल्नुपर्छ,सरकार भन्नै अफ्ठ्यारो लाग्छ’उनले भने । कतिपय अवस्थामा कानून बाझिने स्थिति रहेको भएपनि आफ्नो स्थानीय तहले सम्पदाको संरक्षण गर्दै जलवायु परिवर्तन न्यूनीकरणका क्रियाकलापहरु गर्दै आएको उनले बताए ।
कार्यक्रमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्मा लगायतले जलवायु कार्यको स्थानीयकरण सम्बन्धमा आफ्नाे भनाई व्यक्त गरेका थिए । एक्सन एड नेपालका महिला अधिकार कार्यक्रम परियोजना अधिकृत कविता बस्नेतले जलवायुका सवालमा हाम्रो स्थान के छ ? वा यस सम्बन्धी बनेका ऐन, ऐनका कार्य र प्रभाव, कार्वन व्यापार र लाभ, लगायत विषयबारे देशको अवस्था झल्काउने प्रस्तुति गरेकी थिइन् । वन तथा वातावरण र जलवायुसँग सम्बन्धित यथेष्ट ऐन, नियम र नियमावलीहरु बनेको भए तापनि यसको कार्यान्वयन प्रक्रिया वा सजाय र न्याय सरल नभएको विषय उनले बताइन् । प्राध्यापक समीक्षा श्रेष्ठले सहरी विकास योजना सम्बन्धी प्रस्तुति गर्दै सार्वजनिक सम्पत्तिको नास हुँदै गएको र मानवीय जीवन पनि जोखिममा परेको विषय बताइन् ।
कार्यक्रममा दुईवटा प्यानल छलफल भएको थियो । जस अन्तर्गत पहिलो छलफलमा प्रदेश र स्थानीय सरकारमा जलवायु कार्यहरु विस्तार गर्ने जलवायु योजनाहरु र बजेट निर्माण तथा कार्यान्वयनका विषय रहेको थियो । उक्त छलफलमा बागमती प्रदेश सभा सदस्य भारती पाठक, पर्यावरण पत्रकार प्रतीक घिमिरे र दीगो विकास संस्थाका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठ प्यानलिष्ट थिए । जलवायु अभियान्ता सागर कार्कीले सेसन सञ्चालन गरेका थिए । नीति निर्माताले वन तथा वातावरणको क्षेत्रमा संवेदनशील हुनुपर्ने यस छलफलको निश्कर्ष रहेको थियो ।
त्यस्तै, सार्वजनिक सम्पदाको अवधारणा बुझ्ने र यसलाई लैंगिक दृष्टिकोणबाट जलवायु समाधानका रुपमा अन्वेषण गर्ने विषयमा प्यानल छलफल रहेको थियो । छलफलमा नीति तथा योजना आयोग बागमतीका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल, माडी नगरपालिकाका योजना अधिकृत शिव प्रसाद सुवेदी, प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जालका अध्यक्ष आरती पाठक र प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र पर्यावरणीय पर्यटनका विशेषज्ञ डा. रोचन शेरचन प्यानलिष्ट थिए । सेसनको सहजीकरण जलवायु अभियन्ता निश्चल बानियाँले गरेका थिए । प्राकृतिक स्रोतसँग महिलाहरु नजिक रहेको र यसलाई महिलाहरुले नै बुझ्ने तथा व्यवहार गर्ने गरेकोले महिलाहरुलाई जोडेर लैजान सकेमा प्रभावकारी हुने यस छलफलको निश्कर्ष थियो ।
एक्सन एड नेपाल, मकवानपुर महिला समूह र चितवन सक्रिय महिला प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बेटर चितवन, जिवन्त नेपाल, सिडिए नेपाल, एम्नेस्टी इन्टरनेशनल फरेस्टी युथ नेटवर्क, दीगो विकास इन्स्टीच्युट, एनवाईसिए हेटौंडा, एफओएफ हेटौंडा, ग्रिन फाउण्डेशन र बागमती युनेस्को क्लबको सहकार्य रहेको थियो । मकवानपुर महिला समूहका कार्यक्रम संयोजक तथा महिला अधिकारकर्मी निशा लामा र जीवन्त नेपालका अध्यक्ष तथा युवा जलवायु अभियन्ता प्रसुज मैनालीले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्थानीय बनकरिया महिला, चेपाङ महिला र समूहमा आबद्ध महिलाहरुले उत्पादन गरेको घरेलु उत्पादन एवम् बेत, बाँस, पात र काठबाट बनेका सामग्री, गुन्द्रुक एवम् बिरुवाहरु अतिथिहरुलाई मायाको चीनोका रुपमा हस्तान्तरण गरिएका थिए । समारोहमा युवा कवि स्वस्तिका बानियाँले जलवायु सम्बन्धी कविता प्रस्तुत गरेकी थिइन् । साथै, सो अवसरमा जलवायु सम्बन्धी चित्रकला प्रदर्शनी, महिला उद्यमीहरुको उत्पादन प्रदर्शनी स्टलहरु प्रस्तुत गरिएका थिए ।