मकवानपुर । मकवानपुरकाे हेटाैंडामा बुधबारबाट सुरु प्रदेश लिग फुटबल प्रतियोगितामा पशुपति शिवाजी चित्लाङ एफसी काठमाडौंले विजयी सुरुवात गरेको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशालामा सुरु प्रदेश लिगमा चित्लाङ एफसी काठमाडौंले माउण्ड एभरेष्ट क्लब काभ्रेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । काठमाडाैंकाे लागि तीनै गोल अंकित रासकोटीले गरे । रासकोटी खेलको म्यान अफ दी म्याच भए । जीतसँगै काठमाडौंले ३ अंक प्राप्त गर्यो ।
लिगकम नकाउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिता बिहीबार नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली जिल्लाको लिग च्याम्पियनबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल प्रवेश गर्ने २ वटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउन पाउने छन् ।प्रतियोगिता बिजेता तथा उपविजेताले नगद २ लाख र १ लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार प्रदेश फुटबल संघको आयोजनामा सुरु प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बीएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहकाे छ ।
११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल २० पुसमा हुने आयोजकले जनाएकाे छ ।

