मकवानपुर । अहिले नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाकाे सम्मभावना रहेकाे छ । साथै केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ । आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको महाशाखाले जनाएकाे छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा मंगलबासर साँझ सामान्य वर्षा समेत भएको थियो ।
पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून भयो । अहिले पनि आकाशमा बादल लागेकाे छ । पश्चिमका डडेलधुरा तथा दिपायल क्षेत्रमा पानी परेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । बुधबारबाट मौसममा क्रमिक सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उक्त प्रणालीको मुख्य असर पश्चिम नेपालमा पर्ने र काठमाडौं उपत्यकासम्म वर्षा गराउने सम्भावना रहेकाे छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

