मकवानपुर । मकवानपुर हेटौंडामा महिला क्रिकेट उत्सव सुरु भएको छ । जिल्ला क्रिकेट संघ मकवानपुरकाे आयोजना तथा हेटौंडा उपमहानगरपालिकाकाे सहकार्यमा मंगलबारबाट क्रिकेट उत्सव सुरु भएकाे हाे ।
६ ओभरमा खेलाइने प्रतियोगिता हेटौंडा–४, हुप्रचौरमा सुरु भएको हाे । हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले व्याटिङ् गरेर उत्सवको सुरुवात गरे । महिला खेलाडीलाई प्रोत्साहन गर्न आयोजना गरिएकाे प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको ६ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ७ वटा विद्यालयको टिम सहभागी रहेको छ ।
महिला क्रिकेट उत्सवमा हेटौंडा ४ मा रहेकाे नवोदय शिशु सदन, हेटौंडा ५ मा रहेकाे जीएस निकेतन र सिद्धार्थ शिशु सदन, हेटौंडा ८ मा रहेकाे कमाने एकेडेमी र माउण्ट एभरेष्ट इंग्लिस स्कूल, हेटौंडा ११ मा रहेकाे हेटौंडा एकेडेमीबाट १/१ टिमकाे सहभागिता रहेकाे छ । यसैगरी मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयबाट २ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएकाे छ ।
उद्घाटन खेलमा हेटौंडा ८ काे कमाने एकेडेमी र मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुदैछ ।

