मकवानपुर । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा हुस्सु लागेको छ । पहाडी केही भुभागमा हल्का वर्षा हुनसक्ने छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
सिन्धुपाल्चोक । बागमती प्रदेशको कानून निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम भएको छ ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभा सभामुख भुवन कुमार पाठकले गरेका थिए। सभामुख पाठकले कानूनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र सबैको सहकार्य आवश्यक रहेको बताए।
यसैगरी उपसभामुख अप्सरा चापागाईले प्रदेशले बनाई लागू गरेका कानूनका बारेमा सबैले जानकारी राख्नुपर्ने बताईन । छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए । प्रदेश सभा सचिव कृष्णहरि खड्काले प्रदेशले निर्माण गरेका कानून र कार्यान्वयनको अवस्था जानकारी गराएका थिए।
मकवानपुर । हेटाैडा उपमहानगरपालिकाकाे पूर्वमा रहेकाे सेन बंशीय राजाकाे मकवानपुरगढी दरवारदेखि दक्षिण पश्चिम जंगलमा रहेकाे छ महादेव गुफा (गुफा थान । महादेव खाेला (खाेल्सा) काे बिचमा गुफा र गुफाकाे शिरबाट पानी झरना बहिरहेकाे देख्न सकिन्छ । गुफा थान संरक्षणकाे पर्खाइमा रहेकाे छ ।
गुफाभित्र रहेकाे सुरूङबाट मकवानपुरगढी दरबारसम्मै पुग्न सकिने तथा गढीमा केही विपत परे यही सुरुङ्ग प्रयोग गरेर सुरक्षित हुन तल (वेशी) आउने गरेकाे किम्बदन्ती रहेकाे छ । साथै गुफा भित्र धुप बाल्दा सुगन्ध गढी दरवारमा रहेकाे महादेब मन्दिरसम्म पुग्ने गरेकाे किंवदन्ती समेत रहेकाे छ । प्रचार प्रसार र संरक्षणकाे पर्खाइमा रहेकाे गुफाथान धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तब्य बन्न सक्छ ।
थप अनुसन्धान समेत गरी प्रचार-प्रसार र संरक्षण गर्न सके हटिया, हर्नामाडी राजदेवीको मात्र नभई मकवानपुरकै पर्यटक गन्तब्य स्थल बन्न सक्ने देखिन्छ । सम्बन्धित निकायहरूबाट आबश्यक पहल हुने हुनु पर्ने यो स्थान संरक्षकै पर्खाइमा रहेकाे छ । हाल उक्त क्षेत्रमा पिकनिककाे लागि तथा घुमघामकाे लागि विदाकाे दिनमा जिल्ला भित्रबाट मानिसहरु जाने गरेका छन् ।
पिकनिक स्थल बनेकाे भए पनि त्यो पर्याप्त देखिदैन् । तत्कालका लागि गुफाकाे पश्चिम तर्फ भर्याङ र दर्शन गर्न आउने महानुभाबहरूकाे लागि स्थान बढाउनु पर्ने तत्कालकाे आवश्यकता रहेकाे महादेव गुफा संरक्षण समिति अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ बताउँछन् । स्थानीय गिरश नेपाल गुफाथानकाे संरक्षणकाे लागि पक्कि सडक निर्माण तथा अन्य निर्माणकाे लागि पहल भइरहेकाे बताउँछन् । नेपाल वडा कार्यालय तथा अन्य निकायबाट गुफा थानकाे संरक्षणमा सहयोग हुनेमा विश्वस्त छन् । भन्छन् ऐतिहासिक स्थलकाे संरक्षणमा हामी सबैकाे सहयोग र पहलकाे खाँचो छ ।
विभिन्न चाड पर्वमा मेला समेत लाग्ने उक्त स्थानमा पुग्न हेटौंडाबाट पुर्व चौघडा लेनडाँडा गुरौखाेला राजदेवी गुवावारी हुदै १२ किमि यात्रा मेनरोडकाे गर्नु पर्ने तथा त्यसपछि १ किमि उत्तर शाखा कच्ची सडकबाट जान सकिन्छ । गुफा भ्रमण पश्चात नजिकै राजदेवीमा रहेकाे सेन वंशिय राजकाे इष्टदेवी राजदेवी मन्दिरकाे दर्शन तथा वरपरकाे फाँट र रमणीय दृश्यकाे अवलोकन समेत गर्न सकिन्छ । साथै राजदेवीमा फलेका अर्गानिक तरकारीहरु समेत लिन सकिन्छ । बाटोमा खुवा(कुराउनी)काे लागि प्रख्यात चुच्चेखाेलाकाे खुवाले समेत स्वागत गरिरहेकाे हुनेछ ।
हेर्नुहाेस भिडियोः
मकवानपुर । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८०।०८१ को प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बुझाएको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन बझाउनु भएको हो । नेपालको संविधानको धारा २९४ (३) बमोजिम राष्ट्रिय दलित आयोगको आ.ब. २०८०/०८१ प्रतिवेदन आइतबार पेश गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बताउनु भयो ।
आयोगले पहिलो वार्षिक प्रतिवेदन २०७८ कार्तिक ११ गते, दोस्रो २०७९ मङ्सिर २५ गते, तेस्रो २०८० फागुन २३ गते गते पेस गरिसकेको भए पनि त्यस उपर सुनुवाइ नभएको भन्दै आयोगमा प्रवक्ता पुर्कुटीले अबको सरकारले यसमा ध्यान दिने अपेक्षा प्रकट गर्नुभयो । प्रतिवेदन ग्रहण गर्नुहुुँदै प्रदेश प्रमुख देवकोटाले दलितको सवालमाथि सकारात्मक सन्देश कार्यन्वयनमा ल्याउनको लागि सरकारलाई प्रेरित गर्ने बताउनु भयो ।
आयोगले ७ वटा परिच्छेद र ६ वटा अनुसूची समेटी तयार गरिएको प्रतिवेदनमा बुझाएको हो । जसमा आयोगको परिचय, दलितको हक, हित र अधिकार सम्बन्धि व्यवस्था, दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिती, आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था, आयोगका अवसर, चुनौती र भावी कार्यदिशा लगायतका विषय समेटिएको छ ।
छुवाछूत भेदभाव प्रथाको सुरुवात र त्यसको अन्त्यका लागि कानूनी व्यवस्थाहरुमा नेपालमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको सुरुवात, अन्तर्राष्ट्रिय कानूनमा छुवाछूत तथा भेदभाव विरुद्धको व्यवस्थाहरु, नेपालको संविधान तथा कानुनमा दलित हक, हित सम्बन्धी भएका व्यवस्थाहरु, जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि ऐन, कानुनमार्फत भएका राज्यका प्रयासहरु, अन्य ऐन कानूनमा भएका दलित अधिकार सम्बन्धी व्यवस्था, जातीय भेदभाव अन्त्यका लागि सरकारका लोकप्रिय घोषणाहरु तथा दलित लक्षित कार्यक्रमहरुलाई उल्लेख गरिएको छ ।
संविधान, ऐन, कानून मार्फत जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, वञ्चितीकरण र हिंसालाई संवैधानिक र कानूनी रुपमा अन्त्य गर्दै सम्मानित जीवन यापन गर्न सक्षम तुल्याउन सरकारले लिएको नीति तथा तत्परतालाई प्रतिवेदनले समेटेको प्रवक्त पुर्कुटीले बताउनु भयो ।
राष्ट्रिय जनगणनामा दलित समुदायको संख्यात्मक अवस्थाको विवरण, वित्तीय संस्थाहरुको पहु“चबाट टाढा रह“दा भोग्नु परेको पीडा, मानव विकास सूचांक, वार्षिक आय, शिक्षा, स्वास्थ्य र सरसफाई क्षेत्रहरुमा अझै पनि दलित समुदायहरु पछाडि नै परेको उहा“ले बताउनु भयो ।
नेपालको संविधानले छुवाछुत तथा सबै किसिमका विभेदको अन्त्य गर्दै समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने र समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सबै संरचनामा दलित दायको प्रतिनिधित्वको सुनिश्चिता गरेको छ । संविधानका मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछुत समुदायको तथा भेदभाव विरुद्धको हक र धारा ४० मा दलितको हकको व्यवस्था छ । धारा २४ को प्रावधानलाई कार्यान्वयन गर्न जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर सजाय ऐन) २०६८ समेत लागु भएको छ ।
यसका साथै संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको छ । सरकारले मानवअधिकार सम्वन्धी विभिन्न प्रतिवद्धता समेत गरेको छ। तर, यी प्रावधानहरुलाई कार्यान्यन गर्न संघीय, प्रदेश र स्थानीय सरकारस“ग आवश्यक नीति, कानुन, रणनीतिक योजना र कार्यक्रम तथा बजेटको कमी रहेको उहाँले बताउनु भयो ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार बागमती प्रदेशको कुल जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६ जना रहेकाेमा दलितको जनसंख्या ३ लाख ५९ हजार ५ सय ११ जना रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा लागुऔषध प्रयोगकर्ताकाे लागि सिप मुलक तालिम सञ्चालन गरिएकाे छ ।
सिआन पुनःस्थापना केन्द्र हेटौंडाले लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापित गराउने उद्देश्य बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सहयोगमा २७ मंसिरदेखि सिप मुलक तालिम संचालन गरेकाे हाे । १ १० जनालाई थ्रीडी पेन्टिङ, कफी बनाउने सीप, र मौरीपालन जस्ता व्यावसायिक सीपकाे तालिम प्रदान गरिएकाे हाे ।
उक्त तालिमकाे शनिबार समापन गरिएकाे छ । तालिम समापनमा बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सिपमुलक तालिमले लागु औषधको दलदलमा परेकालाई नयाँ जीवन दिने विश्वास व्यक्त गरिन्। “सिआन पुनःस्थापना केन्द्रले समाज सुधारका लागि उत्कृष्ट काम गरेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नेछौं,” उनले भनिन्।
तालिमले लागु औषध दुरुपयोगको समस्या समाधान गर्न मात्र नभई समस्यामा परेकालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यकारी निर्देशक सौजन डी.सी.ले जानकारी दिए । सिआन पुनःस्थापना केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएकाे कार्यक्रममा गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतकाकाे उपस्थिति रहेकाे थियाे ।