मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेकाे एक विद्यालयमा ‘कथा चौतारी’ कार्यक्रमको शुरुआत गरेकाे छ । हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीमा रहेकाे मकवानपुर बाल विद्या सदनले १३ माघबाट ‘कथा चौतारी : सिर्जना, सपना र प्रेरणाको मेल’ कार्यक्रम सञ्चालन गरेकाे हाे ।
कक्षा १ देखि ५ सम्मका बालबालिकाको सिर्जनात्मकता प्रस्तुत गर्ने विशेष मञ्चकाे रुपमा सुरु गरिएकाे कार्यक्रम ४ दिनसम्म संचालन हुने विद्यालयका संस्थागत प्रिन्सिपल सुदीपराज गिरीले जानकारी दिए । ‘कथाहरू मानिसको जीवनलाई समृद्ध बनाउने अद्भुत साधन हुन्’ उनले भने ‘यस सोचलाई व्यवहारमा उतार्दै विद्यालयले ‘कथा चौतारी’ कार्यक्रमको अवधारणा अघि सारेको हो ।’ कार्यक्रम शिक्षकमाथि गरिएको विशेष कथा लेखन तालिमबाट सुरु भएको छ। ‘तालिमले शिक्षकहरूलाई कथा लेखनको सिप सिकायो, जसलाई उनीहरूले कक्षाकोठामा विद्यार्थीहरूसँग अभ्यास गराए। यसले बालबालिकाको सोच, कल्पनाशक्ति, र लेखन क्षमतालाई प्रोत्साहन गरेको छ’ उनले भने ।
बालबालिका, शिक्षक, र अभिभावकबीचको सम्बन्धलाई सिर्जनशीलताका माध्यमबाट थप बलियो बनाउने कार्यक्रमको उद्देश्य रहेकाे छ । ‘कार्यक्रमले बालबालिकालाई आफ्ना सपना र सिर्जनाहरू अभिव्यक्त गर्न प्रेरित गर्नेछ’ प्रिन्सिपल गिरीले भने । मञ्चले उनीहरूको प्रतिभा उजागर गर्दै उनीहरूको कथा भन्न सक्ने आत्मविश्वास निर्माण गरेको उनले बताए ।
कार्यक्रमको पहिलो दिन आइतबार कक्षा १ का विद्यार्थीले आफ्ना कथा रचनाहरू प्रस्तुत गरेका छन् । बाल्यकालका सरल कल्पनाहरूले अभिभावकहरूलाई भावुकसमेत बनाएकाे थियाे । कार्यक्रममा सोमबारबाट कक्षा २ देखि ५ सम्मका विद्यार्थीले आ-आफ्ना कथा रचनाहरू प्रस्तुत गर्दै यात्रालाई अझ रोचक र प्रेरणादायी बनाउने साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमले आफ्ना बालबालिकाको सिर्जनशीलता र क्षमता नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेकाे अभिभावकहरूले प्रतिक्रिया दिएका छन् । एकजना अभिभावकले भने, “कुनै मञ्चमा उभिनु बालबालिकाका लागि चुनौतीपूर्ण कुरा हो। तर यस कार्यक्रममा उनीहरूले देखाएको आत्मविश्वास, जसले उनीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्न प्रोत्साहित गर्यो, हाम्रो लागि निकै प्रेरणादायी रह्यो। यो विद्यालयको सैद्धान्तिक शिक्षाभन्दा परको मूल्यवान योगदान हो।”
‘कथा चौतारी’ सिर्जना र प्रेरणाको मात्र मञ्च होइन, यो विद्यालय, बालबालिका र अभिभावकबीचको सम्बन्धको एउटा अद्भुत कथा पनि हो। शिक्षकमाथि गरिएको तालिम र बालबालिकाले प्रस्तुत गरेको अनमोल सिर्जनाले विद्यालयको शिक्षण प्रणालीमा एउटा नवीन अध्याय थपेको छ’ प्रिन्सिपल गिरीले भने । उनले ‘कथा चौतारी’ मकवानपुर बाल विद्या सदन विद्यालयको हस्ताक्षर कार्यक्रमका रूपमा विकसित हुँदै जानेछ बताए । ‘बालबालिकाको प्रतिभा उजागर गर्ने मात्र होइन, कथाको शक्ति र जीवनका लागि यसको महत्त्वलाई पनि अझ प्रस्ट्याएको छ’ उनले भने ‘विद्यालयले यस कार्यक्रमलाई हरेक वर्ष अझ सुदृढ र विस्तारित रूपमा आयोजना गर्ने लक्ष्य राखेको छ।’
‘जसरी हरेक मानिसका जीवनमा कथा महत्त्वपूर्ण स्थान राख्छन्, त्यसरी नै ‘कथा चौतारी’ बालबालिकाको सिर्जना र प्रेरणालाई सजीव बनाउने यो विशेष प्रयास अविस्मरणीय रहिरहनेछ’ श्रेष्टले भने ।
विद्यालयका संस्थापक सुदिप राज गिरीकाे सभाध्यक्षता तथा साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालयको शिक्षक, अभिभावक संघका सदस्य आइतमान नेगीलगायत अभिभावकहरूको सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएकाे छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ वडालाई आइतबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडाध्यक्ष ढलक बहादुर थापाको अध्यक्षता तथा नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम भएको हो । नगरप्रमुख लामाले उपप्रमुख राजेश बानियाँ लगायतका सरोकारवालाकाे उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै वडालाई बाल बिबाहमुक्त,निकृष्ट बालश्रम मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकमा १००, १ वटा सूचकमा ९८, र १ वटामा ९५ प्रतिशत सम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासन्युक्त वडा घोषणा गरिएकाे वडाध्यक्ष थापाले जानकारी दिए ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाको कुल जनसंख्या ६ हजार ४४३ रहेको मध्ये ३ हजार १९७ महिला, २ हजार २४६ पुरुष रहेका छन् । वडामा कुल बालबालिका १ हजार ४९८ रहेकाेमा बालक ७९३ र बालिका ७०५ रहेका छन्। सामुदायिक र संस्थागत तथा बाल विकास केन्द्र सहित ५ वटा विद्यालयहरु संचालनमा रहेकाे वडामा १२ वटा बालसमूहहरु र १ वडा बाल सञ्जाल रहेको छ । जसमा २०० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ३४१ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको वडाकाे बालमैत्री स्थानीय शासन युक्त वडा घाेषणा सन्दर्भमा वडाध्यक्ष तथा बालमैत्री वडा घाेषणा मुल समारोह समितिका संयोजक थापाले भने ‘आजका बालबालिका भविष्यका नेतृत्वकर्ता हुन्। आज हामीले बालबलिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, वृद्दिविकास र सहभागिताको अवसर दिन सकेमा मात्र भविषयमा राज्यले एउटा असल, सभ्य र सक्षम नागरिक पाउन सक्छ।’
३ नम्बर वडाले २०७९ मंसिर १३ गते सरोकारहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गरी अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ थापाले जानकारी दिए । ‘नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास, र बालसहभागिता साथै यसको लागि संस्थागत विकासका समेत गरि जम्मा ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे’ उनले भने ।
‘सूचक प्राप्तिको सन्दर्भमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भईसकेको छ’ उनले भने ।
नेपाल सरकाले २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने लक्ष्यलाई पछ्याउदै हेटौंडा उपमहानगरपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिकाको रुपमा घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्दता गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय भएकाे हाे ।
बालमैत्री स्थानीय शासन अभियान स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को कार्यान्वयन सँगै विभिन्न स्थानीय तहहरुले शुरुवात गरी कार्यान्वयनको प्रक्रिया अगाडी बढाईएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय घोषणा कार्यविधि, २०७९ कार्यान्वयनमा रहेको छ।
यस्तै कार्यक्रममा विभिन्न क्षेत्रबाट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पुर्याएकाेमा विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्ष एवम् प्रवक्ता सविन न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधी, विद्यार्थी, शिक्षक लगायत सरोकारवाला निकाय विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियाेगिता २०८१ हुने भएकाे छ । १३ माघ आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हाे ।
शनिबार नेपाल बुद्धिचाल महासंघले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आइतबारबाट सुरु हुने बुद्धिचाल प्रतियोगिता तयारीकाे जानकारी गराइएको हाे । महासंघ महासचिव धरमबहादुर लामाले आइतबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए । ‘हामीले खेलाडी छनौट लगायतका गरिसक्यौं, राउण्ड रोविन चरणमा खेल खेलाईनेछ’ महासचिव लामाले भने ।
अघिल्लो वर्षका विजेताहरु सहित प्रतियाेगितामा राष्ट्रिय बी प्रतियाेगिताबाट छानिएका पुरुषतर्फ १२ जना र महिलातर्फ १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जनाकारी दिए । एघार चरणमा खेलाइने खेल १९ माघसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा करिब २४ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेकाे छ । प्रतियोगिताकाे विजेताले श्रीलंकामा १० मार्चदेखी हुने एसियन जोनल गेममा सहभागिताकाे अवसर प्राप्त गर्नेछन् । यसैगरी द्वितीय र तृतीय हुने खेलाडीले भने क्रमशः १५ हजार र १० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।
२४ औँ राष्ट्रिय प्रतियोगिताकाे स्वर्ण पदक झापाका राजन सुवेदीले जितेका थिए । यसैगरी ९ औँ राष्ट्रिय महिला प्रतियोगिता तर्फकाे स्वर्ण पदक काठमाडौंकी सिन्दिरा जोशीले हात पारेकी थिइन् । महासंघका अध्यक्ष हिराकाजी महर्जनकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा महासचिव लामा, प्रदेश खेलकुद परिषद् सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव किसन घिसिङलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे क्षेत्र नम्बर २ का निर्वाचित संघीय सांसद महेश बर्तौलाले जिल्लाकाे हेटौंडालाईं अहिले पनि बागमती प्रदेशकाे राजधानी स्विकार नगरिएकाे बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पदाधिकारी लगायत अन्य क्षेत्रसँगकाे भेटघाट तथा छलफलमा बर्तौलाले यस्तो बताएका हुन् ।
प्रदेशका सचिवहरु हेटौंडामा ३ दिन पनि नबस्ने गरेकाेले प्रदेश राजधानीमा प्रशासनिक काम समेत प्रभावित हुने गरेकाे उनले बताए । जिल्लाकाे कैलाश, राक्सिराङ लगायतका क्षत्रेमा गाँजा खेती हुँदै आएकाे बताउँदै उनले गाँजै लगाउनु पर्छ भनेर मैले आज सम्म नभनेकाे स्पष्ट पारे । ‘सरकारले गाँजाकाे विकल्प दिनुपर्छ’ नेकपा एमाले मुख्य सचेतक समेत रहेकाे बर्तौलाले भने ।
‘मकवानपुरकाे उत्तरी क्षेत्र पर्यटनकाे लागि अत्यधिक सम्भावना भएकाे क्षेत्र हाे’ उनले भने ‘पर्यटनकाे माध्यमबाट काठमाडौंकाे मानिस हामी मकवानपुरमा ल्याउन सक्छाै, बाटाे विस्तार भयाे भने उत्तरी क्षेत्रकाे बैकल्पिक खेतीले समेत निकास पाउँछ ।’ जिल्लाकाे साझा कुराकाे लागि यउटा संसदले कसरी काम गर्न सक्छ भन्ने विषयमा सुझाव चाहिएकाे उनले बताए ।
‘राष्ट्रिय गाैरबका आयाेजनाहरु राष्ट्रिय निकुन्ज भित्र भएर जाने छ भने पनि त्यस्ता योजनालाई निकुञ्जले अवराेध नगर्ने व्यवस्थालाई संसदले पारित गरेकाे थियाे’ उनले भने ‘संविधानकाे वातावरण संरक्षणकाे नीति विपरित संसदले निकुञ्ज ऐनकाे संशाेधनका विषयमा त्रुटि देखाइ खारेज गरियाे ।’ वनमा वाघ कति चाहिने हाे ? वनकाे क्षेत्रफल कति हाे ? सुनिश्चित गरिनुपर्छ उनले भने ।
‘वन्यजन्तुको अधिकारबाट मानव अधिकारकाे विषयमा गम्भिर आघात भएकाे छ, मानव र वन्यजन्तु विच द्वन्द्व भएकाे छ’ उनले भने । ६१ लाख हेक्टर वन रहेकाेमा ढलेका रुखहरुकाे मात्र उपयाेग गर्ने हाे भने पनि २० बर्षसम्म बाहिरबाट काठ ल्याउनु पर्दैन यहीकाेले पुग्ने उनले बताए । मनहरीमा सयाैं विगा जमिन छ तर मध्यवर्ती क्षेत्रकाे कारण काम नसकिएकाे बताउँदै उनले भने ‘प्राकृतिक स्राेत साधन उपयाेग गर्न ऐन भन्दा ठृलाे नियमावली भैरहेकाे छ ।’ वनले सरकार चलाउने कार्य भैरहेकाे उनले बताए ।
नीजि बासस्थानमा समेत मध्यवर्ती क्षेत्रका कारण समस्या भएकाेले उक्त क्षेत्र खारेज गरिनु पर्ने उनले बताए । ‘निकुञ्जले आफ्नाे काेर एरियामा मात्र काम गर्नु पर्नेमा मध्यवर्तीकाे नामबाट ज्यादती गरिरहेकाे पाइएकाे छ’ उनले भने ‘मध्यवर्ती क्षेत्र हटाउने हाे भने जिल्लामा युवाहरु वेराेजगार नहुने आधार संरचना निर्माण गर्न सक्छौं ।’
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष उज्जवल चाैलागाईंले मयुर धाप औधाेगिक क्षेत्रकाे विकल्प नरहेकाेले संघीय सरकारबाट प्रदेश सरकारमा स्वामित्व ल्याएर संचालन गर्ने बताए ।
सांसद बर्तौलासँग नेपाल पत्रकार महासंघ मकवानपुरका पदाधिकारीहरु सहितकाे छलफलमा महासंघ मकवानपुर शाखा अध्यक्ष वालकृष्ण अधिकारी नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा, सचारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दहाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक ४ महिना पछि बस्ने भएकाे छ । प्रदेश सरकारले प्रदेश सभाकाे हिउँदे अधिवेशन १८ माघमा आह्वान गर्ने निर्णय गरेसँगै ४ महिना पछि प्रदेश सभाकाे बैठक संचालन हुने भएकाे हाे ।
गत १६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं अधिवेशन अन्त्य गरिएको थियो ।शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले १८ माघ २०८१ बिहान ११ बजेका लागि प्रदेश सभाको १५ औँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाकाे अधिवेशन आह्वान गर्ने छन् । १६ असोज २०८१ राति १२ बजेदेखि प्रदेशसभाको १४ औं वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्दर्भमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण तथा कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए । उनका अनुसार उक्त प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनको लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । उक्त ऐनका व्यवस्था कार्यान्वयन गरी प्रदेश सरकारको मन्त्रालय, आयोग बोर्ड तथा निकायका लेटर हेड, छाप तथा बोर्डहरुमा समावेश गर्न निर्देशन दिएको उनले बताए ।
यसैगरी बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कर्मचारी व्यवस्थापन लगायतका काम गर्न निर्देशन दिएको छ । यसैगरी प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले प्रदेश जग्गा एकीकरण सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ । बैठकले प्रदेश भवन नीति, २०८१ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गरेको उनले जानकारी दिए ।