मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएकाे छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ वडालाई आइतबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडाध्यक्ष ढलक बहादुर थापाको अध्यक्षता तथा नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम भएको हो । नगरप्रमुख लामाले उपप्रमुख राजेश बानियाँ लगायतका सरोकारवालाकाे उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै वडालाई बाल बिबाहमुक्त,निकृष्ट बालश्रम मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकमा १००, १ वटा सूचकमा ९८, र १ वटामा ९५ प्रतिशत सम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासन्युक्त वडा घोषणा गरिएकाे वडाध्यक्ष थापाले जानकारी दिए ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाको कुल जनसंख्या ६ हजार ४४३ रहेको मध्ये ३ हजार १९७ महिला, २ हजार २४६ पुरुष रहेका छन् । वडामा कुल बालबालिका १ हजार ४९८ रहेकाेमा बालक ७९३ र बालिका ७०५ रहेका छन्। सामुदायिक र संस्थागत तथा बाल विकास केन्द्र सहित ५ वटा विद्यालयहरु संचालनमा रहेकाे वडामा १२ वटा बालसमूहहरु र १ वडा बाल सञ्जाल रहेको छ । जसमा २०० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ३४१ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको वडाकाे बालमैत्री स्थानीय शासन युक्त वडा घाेषणा सन्दर्भमा वडाध्यक्ष तथा बालमैत्री वडा घाेषणा मुल समारोह समितिका संयोजक थापाले भने ‘आजका बालबालिका भविष्यका नेतृत्वकर्ता हुन्। आज हामीले बालबलिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, वृद्दिविकास र सहभागिताको अवसर दिन सकेमा मात्र भविषयमा राज्यले एउटा असल, सभ्य र सक्षम नागरिक पाउन सक्छ।’
३ नम्बर वडाले २०७९ मंसिर १३ गते सरोकारहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गरी अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ थापाले जानकारी दिए । ‘नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास, र बालसहभागिता साथै यसको लागि संस्थागत विकासका समेत गरि जम्मा ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे’ उनले भने ।
‘सूचक प्राप्तिको सन्दर्भमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भईसकेको छ’ उनले भने ।
नेपाल सरकाले २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने लक्ष्यलाई पछ्याउदै हेटौंडा उपमहानगरपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिकाको रुपमा घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्दता गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय भएकाे हाे ।
बालमैत्री स्थानीय शासन अभियान स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को कार्यान्वयन सँगै विभिन्न स्थानीय तहहरुले शुरुवात गरी कार्यान्वयनको प्रक्रिया अगाडी बढाईएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय घोषणा कार्यविधि, २०७९ कार्यान्वयनमा रहेको छ।
यस्तै कार्यक्रममा विभिन्न क्षेत्रबाट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पुर्याएकाेमा विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्ष एवम् प्रवक्ता सविन न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधी, विद्यार्थी, शिक्षक लगायत सरोकारवाला निकाय विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

