मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियाेगिता २०८१ हुने भएकाे छ । १३ माघ आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हाे ।
शनिबार नेपाल बुद्धिचाल महासंघले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आइतबारबाट सुरु हुने बुद्धिचाल प्रतियोगिता तयारीकाे जानकारी गराइएको हाे । महासंघ महासचिव धरमबहादुर लामाले आइतबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए । ‘हामीले खेलाडी छनौट लगायतका गरिसक्यौं, राउण्ड रोविन चरणमा खेल खेलाईनेछ’ महासचिव लामाले भने ।
अघिल्लो वर्षका विजेताहरु सहित प्रतियाेगितामा राष्ट्रिय बी प्रतियाेगिताबाट छानिएका पुरुषतर्फ १२ जना र महिलातर्फ १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जनाकारी दिए । एघार चरणमा खेलाइने खेल १९ माघसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा करिब २४ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेकाे छ । प्रतियोगिताकाे विजेताले श्रीलंकामा १० मार्चदेखी हुने एसियन जोनल गेममा सहभागिताकाे अवसर प्राप्त गर्नेछन् । यसैगरी द्वितीय र तृतीय हुने खेलाडीले भने क्रमशः १५ हजार र १० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।
२४ औँ राष्ट्रिय प्रतियोगिताकाे स्वर्ण पदक झापाका राजन सुवेदीले जितेका थिए । यसैगरी ९ औँ राष्ट्रिय महिला प्रतियोगिता तर्फकाे स्वर्ण पदक काठमाडौंकी सिन्दिरा जोशीले हात पारेकी थिइन् । महासंघका अध्यक्ष हिराकाजी महर्जनकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा महासचिव लामा, प्रदेश खेलकुद परिषद् सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव किसन घिसिङलगायतको सहभागिता रहेको थियो ।

