मकवानपुर । मकवानपुरको हेटौंडामा नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएकाे विरोधमा प्रदर्शन गरिएकाे छ । नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल मकवानपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
मंगलबार साँझ वाईसीएलका युवा तथा कुलमान समर्थकहरूले टुकी बत्तीसहित जुलुस निकालेर सरकारको विरोध जनाए । विरोधसँगै उनीहरूले सरकारविरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए ।
पुत्ला जलाउँदा रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच भएकाे घम्साघम्सीमा हेटौंडाकाे ख्वपःगल्ली स्थित तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बन्यो ।
घिसिङलाई सोमबारकाे मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेकाे थियाे । कुलमानकाे समर्थनमा विभिन्न स्थानमा प्रदर्शन भएका छन् भने सामाजिक संजालमा समेत धेरैले सरकार विरुद्ध लेखिरहेका छन् ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युतको पहुँचमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार राक्सिराङ ९ खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरे ।
घिसिङले खैराङकी फूलमाया चेपाङको घरमा जडान गरिएकाे विद्युत मिटर ‘अन’ गरेर पूर्ण विद्युतीकरण घोषणा गरे । राक्सिराङको ९ नम्बर वडा अन्तरगतका खैराङ, कार्रालाङ लगायतका गाउँमा पहिलो पटक विद्युत पुगेको हो । घोषणासँगै चेपाङ बाहुल्य रहेकाे मकवानपुरकाे विकट गाउँपालिका राक्सिराङका सबै वडामा विद्युतको पहुँच पुगेकाे हाे । ‘चेपाङ बिजुली कार्यक्रम’ अन्तर्गत गाउँपालिकाको पहलमा प्राधिकरणले राक्सिराङका सबै वडामा विद्युत सेवा पुर्याएको हो ।
गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्दै कार्यकारी निर्देशक घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको बताए । उनले आफ्नो मात्रै नभई सरकार तथा सरोकारवाला समेतकाे पहलबाट लोडसेडिङ अन्त्य भएको बताए । उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा पनि विद्युत पुर्याएको र लोडसेडिङको पूर्ण अन्त्य गरेको बताए । ‘बजार क्षेत्रमा २४ सै घण्टा विद्युत दिएर देशमा लोडसेडिङ थिएन भन्नु गलत थियो’ उनले भने ।
‘म विद्युत प्राकिरणको कार्यकारी नियुक्त भएर जिम्मेवारी सम्हालेपछि अहिले गाउँ/गाउँमा बिजुली पुगेको छ । त्यतिमात्रै होइन, लोडसेडिङको पूर्ण अन्त्य भएको छ ।’ उनले यसको लागि आफूले निष्ठापूर्वक काम गरेको बताए । आफूले सही बाटोमा लागेर काम गरेको र त्यसमा सरकारले सहयोग गरेकै कारण विद्युतीय क्षेत्रमा उपलब्धिमुलक काम गर्न सकिएको उनले बताए ।
‘नेपालमा खपत भएर बचेको विद्युत छिमेकी मुलुक भारतमा निर्यात गरिरहेका छौँ,’ उनले भने, ‘यति मात्रै होइन पछिल्लो समय बंगलादेशले पनि नेपालमा उत्पादन भएको बिजुली बालिरहेको छ । यो नै नेपालका लागि ठुलो उपलिब्ध हो भन्न सकिन्छ ।’ विकटमा नागरिकहरुका लागि प्राधिकरणले निशूल्क मिटरबक्स समेत वितरण गर्दै आएको निर्देशक घिसिङले बताए ।
मकवानपुरकै दुर्गम खैराङमा आर्थिक वर्ष २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । गाउँपालिकाले आफ्नै स्रोतमा संचालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रम मार्फत् सम्पन्न गरेको उनले बताए । गाउँपालिकाले एक करोड रुपैयाँमा सुरु गरेकाे विद्युतीकरण कार्यक्रमलाई प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरेको मल्ल बताउँछन् । उनका अनुसरा प्राधिकरण समेतकाे सहयोगमा ६ करोड रुपैयाँबाट वडाहरुमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिएकाे थियो ।
२०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्याउने घिसिङलाई गाउँपालिकाले सम्मान समेत गरेको छ । साथै उक्त अभियानमा सहयोग गर्ने व्यक्तिलाई समेत सम्मान गरिएको थियो । राक्सिराङमा अझै १५ सय भन्दा धेरै घरहरुमा विजुली पुग्न बाँकी रहेको बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटाले मानव अधिकार रक्षकाे लागि जुनसुकै कदम उठाउन हिच्किचाउनु नहुने बताउनु भएकाे छ ।
आइतबार हेटौंडामा राष्ट्रिय मानव अधिकार आयाेगले आयाेजना गरेकाे अतिसिमान्तकृत चेपाङ समुदायकाे मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१ मस्याैदा माथि परामर्श कार्यक्रममा यस्तो बताउनु भएकाे हाे । ‘हरेक मानवलाई स्वतन्त्रपुर्वक बाच्न पाउने हक छ’ उहाँले भन्नु भयो ‘मानवअधिकारकाे रक्षार्थ जुनसुकै कदम उठाउन हिच्किचाउनु हुदैन ।’
‘बागमती प्रदेशका विभिन्न जिल्लामा चेपाङ समुदायकाे बसाेवास रहेकाे भएपनि माैलिक हक र अधिकारका सवालमा अनभिज्ञ छन्’ उहाँले भन्नुभयो । उनीहरुलाई मानव अधिकारका सवालमा सुसुचित पारिनुपर्ने उहाँले बताउनु भयो । आफू सरकार नभएकाेले बजेटकाे डाडु पन्यु नसमाउने उहाँले बताउँनु भयो । ‘नागरिकका संविधान प्रदत्त अधिकारहरु प्राप्त भएकाे नभएकाे अवस्था तथा शान्ति सुरक्षाकाे अवस्था हेर्ने मेराे पनि दायित्व हाे’ उहाँले भन्नुभयो ।
कार्यक्रममा मानव अधिकार अधिकृत किरण बरामुले अतिसिमान्तकृत चेपाङ समुदायकाे मानव अधिकार अवस्था अध्ययन प्रतिवेदनकाे मस्याैदा प्रस्तुत गर्नु भएकाे थियाे । उक्त अध्ययनका लागि मकवानपुर जिल्लाका चेपाङ समुदायका ३१ जना महिला ५९ जना पुरुषलाई नमुनाका लागि लिएकाे उहाँले बताउनु भयो । चेपाङ समुदायका वालविवाह व्याप्त रहेकाे कारण विवाहदर्ता, जन्मदर्ता र नागरिकता प्रमाण पत्र प्राप्तिका लागि समस्या रहेकाे उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
९ प्रतिशत चेपाङ समुदाय नागरिकता प्रमाण पत्रबाट र मतदान परिचय पत्रबाट बञ्चित रहेकाे कारण राज्यकाे राजनीतिक प्रक्रियाबाट समेत बञ्चित रहेकाे पाइएकाे छ । चेपाङ बसाेवास रहेकाे जिल्लामा ४२ वटा खानिजन्य उधाेग संचालन रहेका छन् भने ८६ वटा उधाेगहरु संचालनकाे तयारीमा रहेका छन् । उक्त खानीहरु मध्ये मकवानपुर जिल्लामा २१ वटा संचालित छन् भने धादिङमा १२ वटा संचालनमा रहेकाे प्रतिवेदनमा उल्लेख छ ।
मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिकाकाे गिङ्गुका ११८ वटा घरधुरी खानि जन्य उधाेगका कारण प्रभावित भएकाे बताइएकाे छ । जसमध्ये ३५ घरधुरी त विस्थापित नै भइसकेकाे अवस्था रहेकाे छ । चितवनमा ५९१ घरधुरी प्रभावित छन् । चेपाङ समुदायका ११२ जना कारागारमा कैदि वन्दिकाे रुपमा सजाय भाेगिरहेका छन् । भिमफेदी कारागारका ४० बर्ष मुनिका ४६% चेपाङहरु कैदिवन्दिकाे रुपमा रहेकाे बताइएकाे छ। त्यस्तै चितवन कारागारका गैडाकाे खाग तस्करी तथा वन सम्बन्धी कसुरमा २४% रहेकाे प्रतिवेदनमा उल्लेख छ।
लागुओैषध सम्बन्धी कसुरमा ३३% चेपाङ कारागारमा रहेका छन् । चेपाङ समुदायमा मानवमैत्री विकास नहुँदा अल्पसंख्यक समुदायकाे जीवन सुरक्षा हुन सकेकाे छैन प्रतिवेदनमा भनिएकाे छ चेपाङ बस्तिमा प्रभावहिन नितिगत कार्यका कारण चेपाङ समुदाय कारागारसम्म धकेलिने गरेकाे अवस्था रहेकाे छ । चेपाङ समुदायमा घुम्ति शिविर जान जरुरी रहेकाे, अधिकारमा आधारित जैविक विविधताकाे संरक्षणका लागि संघीय सरकारलाई सिफारिस गरिने अधिकृत बरामुले बताउनु भएकाे छ ।
कार्यक्रममा नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष महेश कुमार चेपाङले राक्सिराङमा मापदण्ड विपरित क्रसरहरु संचालन हुँदा चेपाङ समुदायकाे जल माथिकाे अधिकार खाेसिएकाे बताए । ‘राजा हुँदाकाे प्रजा तथा चेपाङ विकास नीति संघीयता लागू भएपछि खाेसिएकाे छ’ उहाँले भन्नु भयो । मानव अधिकार आयाेग छ भन्ने थाहा पाएकाे ६ महिना भएकाे उहाँले बताउनु भयो । ‘पहिला हामीलाई प्रजा भनिन्थ्याे र साेहि अनुरुप नागरिकारता बनेकाे थियाे’ उहाँले भन्नु भयो ‘हाल हाम्राे नागरिकतामा चेपाङ लेखिएकाे छ जसले गर्दा हाम्राे सन्तानकाे नागरिकता बनाउन समेत समस्या भइरहेकाे ।’ उक्त समस्या समाधान केन्द्रिय तहबाट हुनुपर्ने भनी स्थानीय तहले भन्ने गरेकाे उहाँले बताउनु भयो । २/४ जना चेपाङहरु टाठाबाठा हुँदैका सबैलाई एकैठाँउमा राख्न नमिल्ने उहाँले बताए ।
राष्ट्रिय मानव अधिकार आयाेगका प्रमुख मुरारी प्रसाद खरेलकाे सभाध्यक्षता तथा प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गाेविन्द राम चेपाङ, नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुसिलाल चेपाङ लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले अभिव्यक्ति स्वतन्त्रताको माध्यम पत्रकारिता भएकाेले हनन गर्न नपाइने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र फ्रिडम फोरमको संयोजनमा हेटौँडामा आइतबार भएको अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्र कार्यविधि निर्देशिका २०७५ ले सुरक्षा संयन्त्रको गठन, निर्देशक समिति, द्रूत उद्धार टोली, प्रदेश र जिल्ला स्तरमा संयन्त्र र सञ्जाल गठन गर्ने व्यवस्था गरेको उनले बताए । नियमनका नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नपाइने उनले बताए । ‘कुनै पनि बहाना बनाई नागरिकलाई अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन तथा वञ्चित गर्न पाइदैन’ उनले भने । कसैको असक्षमता र नबुझेका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ठिक होइन र छैन भन्नु उचित होइन भन्दै उनले पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको माध्यम भएको बताए ।
आयोगका सहसचिव यज्ञप्रसद अधिकारीले पछिल्लो समयमा पत्रकारमाथि हुने भौतिक आक्रमणका घटना कम भएपनि सुरक्षा चुनौतीका स्वरुप परिवर्तन भएको बताए । ‘अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको केन्द्र विन्दु हाे’ उनले भने ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिने दायित्व सरकारको रहेकाे छ ।’ फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले नियन्त्रण र नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रमाथि चुनौती बढेको बताउँदै सबैको साझा प्रयासमा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न सकिने बताए ।
कार्यक्रममा मानव आधिकार आयोग बागमती प्रदेशका कार्यालय प्रमुख पवनकुमार भट्टले प्रदेश स्तरीय अभिव्यक्ति स्वतन्त्रता संरक्षण संयन्त्रको गतिविधि र संयन्त्रका समस्या सम्बन्धमा जानकारी गराएका थिए । यसैगरी फ्रिडम फोरमकी अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अनुगमनकर्ता नानीमैया खड्काले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र घटनाहरुको जानकारी गराएकी थिइन् ।
कार्यक्रममा सञ्चारकर्मीहरु कृष्ण सारु, कुमार अधिकारी, सुरेश श्रेष्ठ, वसन्त पराजुली, माधव न्यौपाने, राजन सिंह, अधिकारकर्मीहरु कुमारी वाइवा, कमल विश्वकर्मा, शर्मिला श्रेष्ठ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, बागमती प्रदेशका मुख्यमन्त्री कार्यालयका उपसचिव विनोद अमात्यलगायतले अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्रको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
मकवानपुर । हुमागाईं समाज नेपाल मकवानपुरकाे तेस्राे अधिवेशन वनभाेज कार्यक्रमसहित आयोजना गरिएकाे छ । शनिबार हेटौंडा २ स्थित बनष्खण्डी मन्दिर क्षेत्र परिसरमा भएकाे अधिवेशनमा २ जना अग्रज जेष्ट नागरिकलाई सम्मान गरिएकाे छ ।
अधिवेशनकाे अवसरमा मकवानपुरका २ जना अग्रज जेष्ट नागरिकलाई सम्मानित गरिएकाे छ । मकवानपुरगढी ४ का ९१ वर्षीय दुर्गा प्रसाद हुमागाईं र मकवानपुरगढी १ का ९० वर्षीय नरनाथ हुमागाईंलाई सम्मान गरिएकाे हाे ।
समाजकाे तेस्राे अधिवेशनले अर्जुन प्रसाद हुमागाईंकाे अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेकाे छ । समाजकाे उपाध्यक्षमा गणेश प्रसाद हुमागाईं सचिवमा बाल प्रसाद हुमागाईं सहसचिवमा सपना हुमागाईं तथा काेषाध्यक्षमा संगीता हुमागाईं चयन भएका छन् । यसैगरी सदस्यहरुमा गणेश हुमागाईं, हरि कुमार हुमागाईं, रामचन्द्र हुमागाईं, गितानाथ हुमागाईं, रिसि प्रसाद हुमागाईं, रुपा हुमागाईं, दिलिप हुमागाईं र तुलसी हुमागाईं रहेका छन् ।
अर्जुन प्रसाद हुमागाईंकाे सभाध्यक्षता तथा हुमागाईं समाज केन्द्रिय सदस्य ज्ञान प्रसाद हुमागाईंकाे प्रमुख आतित्थतामा भएकाे कार्यक्रममा सुमार्गी हुमागाईं र गणेश प्रसाद हुमागाईं लगायतकाकाे आतित्थता रहेकाे थियाे ।