मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा अटो दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
आइतबार कान्तिलोकपथ अन्तर्गत गुडिरहेको अटो माथि ढुङ्गा खस्दा हेटौंडा ८ का सूर्ज सारू मगर घाइते भएका हुन् । हेटौंडा बजारबाट मकवानपुरगढी दरबार तर्फ जादै गरेको ना २ ह १२९० मा ढुङ्गा खस्दा अटो चालक ५४ वर्षीय मगर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।
प्रहरीका अनुसार अटोमा सवार ३ जना चोटपटक लागेको छैन । अटो चालक मगरलाई हेटौंडामा उपचारको लागि ल्याइएकोमा सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको थियो । चितवनबाट समेत काठमाडौंको न्युरो अस्पताल रिफर गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मकवानपुर । संयुक्त राष्ट्र संघीय महिला महासन्धि समितिले नेपालकाे लागि जारि गरेकाे निष्कर्षमाथी टिप्पणी र याैन श्रममा संलग्न व्यक्तिहरुकाे अधिकारकाे सम्बन्धमा छलफल कार्यक्रम भएकाे छ ।
कार्यक्रम महिला कानून र विकासले गरेको हो । मन्चका निर्देशक सविन श्रेष्ठले स्वेच्छिक याैन पेशामा संलग्न व्यक्तिसंग सम्बन्धित कानुनी व्यवस्थाहरुकाे विश्लेषण तथा सुझाव सहितकाे कार्यपत्र प्रस्तुत गरेका थिए । जस्मा स्वेच्छिक याैन पेशालाई निरपराधिक कार्य मान्नु पर्ने, नेपालकाे संविधानले समेत जुनसुकै पेशा अंगाल्न माैलिक हककाे व्यवस्था गरेकाे र नेपालले संयुक्त राष्ट्र संघका २२ वटा मानवअधिकारसँग सम्बन्धित महासन्धिहरू त्या अन्तर्राष्ट्रिय श्रम संगठनका ११ वटा महासन्धिहरू अनुमोदन गरेको बताए।
नेपाल सन्धि ऐन, २०४७ अनुसार नेपालले अनुमोदन गरेको कुनै पनि महासन्धि नेपाल कानुन सरह लागू हुने र नेपाल पक्ष भएको महासन्धिसँग बाझिने नेपाली कानुन बाझिएको हदसम्म अमान्य हुने व्यवस्था गरेको छ । मानव बेचविखन र याैन श्रम फरक फरक विषय हाे, मुलकी अपराध संहिता, २०७४ मा कसैले वेश्यागमनकाे लागि प्रचार प्रसार गर्न नहुने तेस्ताे गरेमा तीन वर्ष कैद ३० हजार रुपैयासम्म जरिवानाकाे व्यवस्था रहेकाे श्रेष्ठले बताए ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा याैन पेशामा संलग्न रहेकाे कारणले गर्दा व्यक्तिलाइ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारबाट वन्चित गर्न नमिल्ने व्यवस्था रहेकाे उनले बताए ।
जबरजस्ती करणी महलको १ नं. ले जबरजस्ती करणीको अपराधको परिभाषा गरेको र सोही महलको ३ नं. तथा ७ नं. ले सो अपराध गरेमा अपराधीले पाउने सजायको व्यवस्था गरेको छ । सो महलको ७ नं. अनुसार वेश्या स्वास्नीमानिसलाई उसको राजीखुशी विना बेमन्जुरीले जुनसुकै तरहसँग भए पनि जोरजुलुम गरी करणी गरेमा पाँच सय रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद हुने र वेश्या बाहेकका अन्य महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा भने सोही महलकै ३ नं अनुसार अपराधीलाई चौध वर्षमुनिको स्वास्नीमानिस भए छ वर्षदेखि दशवर्षसम्म र चौध वर्ष वा सो भन्दा माथिको स्वास्नीमानिस भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद हुने प्रावधान रहेको छ ।
यसरी महिलाको अवस्थाअनुसार अपराधीलाई फरक फरक सजाय हुने अवस्था कानूनले गरेको देखिन्छ । एउटै अपराधमा आरोपित व्यक्तिलाई पीडितको व्यक्तित्व, पेशा, सामाजिक स्थिति वा कानूनी स्थितिको आधरमा फरक सजाय गर्न नमिल्ने उनले बताए । “कुनै पनि व्यक्तिमाथि अपराध भएको भए पनि अपराध एकै हो” उनको भने ।
संविधानको भावना र मर्म विपरित लागू भइरहेका कानूनी प्रावधान संविधानको धारा १३१ अनुसार संविधान प्रारम्भ भएको एक वर्षपछि बाझिएको हदसम्म स्वतः निस्क्रिय हुन्छन् । तापनि यो प्रावधान हालसम्म लागू भइरहेको हुनाले उक्त प्रावधानलाई सर्वोच्च अदालतको घोषणात्मक निर्णयको माध्यमद्वारा अमान्य र निस्क्रिय घोषणा गरीपाउ भन्ने समेत व्यहोराको रिट निवेदन दिनसकिने व्यवस्थापन छ ।
जबरजस्ती करणीको मूलतत्व जबरजस्ती डरधाक, धम्की र बल प्रयोग हो । जुनसुकै महिला उपर हुने जबरजस्ती करणीमा अपराधीको अपराधिक मनसाय र अपराधिक कार्य समान प्रकारको हुन्छ । समान प्रकारको कसूर गर्ने अपराधीलाई पीडितको चरित्र र पेशालाई आधार मानी कम र बढी सजाय गर्ने कानूनी व्यवस्थालाई संविधान एवं महिला तथा मानवअधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरूको भावना तथा न्यायका मान्य सिद्धान्तहरू समेतले भेदभावपूर्ण हुन्छ ।
तसर्थ मुलुकी ऐन जबरजस्ती करणीको ७ नं. को व्यवस्था महिला महिलाहरूबीच नै भेदभावकारी एवं असमान भएको हुँदा नेपाल अधिराज्यको संविधानको धारा १ को विपरित भई धारा ८८(१) बमोजिम अमान्य र बदर घोषित हुने ठहर्छ ।
कार्यक्रममा अधिवक्ता सागर पाठकले “नेपालमा याैन श्रम छाेड्न चाहनेकाे लागि संघीय, प्रादेशिक तथा स्थानीय तहमा कुनै पनि बैकल्पिक कार्ययाेजनाहरु नरहेको बताए ।
यौन पेशामा संलग्न व्यक्तिहरूको अधिकारहरू उचित रूपमा सुनिश्चित गर्न राज्य जवाफदेही हुनुपर्ने र यौन पेशामा आवद्धहरूलाई सामाजिक, राजनैतिक, नागरिक, आर्थिक र कानुनी अधिकारलाई पहुंच योग्य बनाउनु पर्ने पाठकले बताए ।
यौन पेशामा संलग्न रहेका महिलाहरूको अनुगमन र उनीहरूको शोषणबाट कानूनी सुरक्षा सुनिश्चित गर्ने एक बृहत नीति, कानूनी र नियमनकारी संरचना निर्माण गर्नुपर्ने उनले बताए । “यौन पेशामा संलग्न भएकै कारणले उनीहरूलाई अभियोजन नगरिने सुनिश्चितता हुनुपर्दछ” उनले भने ।
कार्यक्रममा महिला कानुन र विकास मन्च मकवानपुर संयाेजक अधिबक्ता ललिता श्रेष्ठले स्वेच्छिक याैन पेशालाई कानुनले पनि नराेकेकाे बताइन् । “याैन आवश्यकता पनि मानविय आवश्यकता हाे तर, हाम्राे समाजमा याैन श्रमिकलाई असभ्य रुपमा हेर्ने गरिएको छ” श्रेष्ठले भनिन् ।
याैन श्रमिक कहाँ सेवा लिन जाने पुरुष चाहिँ उच्च ओहाेदामा हुने तर याैन श्रमलाई भने अपराधिकरण मान्ने प्रवृत्ति रहेकाे बताउंदै श्रेष्ठले याैन श्रमकाे वैकल्पिक क्षेत्रकाे व्यवस्थापन गर्नुपर्ने बताइन् । कार्यक्रममा सम्बन्धित क्षेत्रका सरोकारवालाहरू, नागरिक समाजको उपस्थिति रहेको थियो ।
मकवापुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी, सहकारी अभियन्ता र सहकारीमा संलग्न सबैलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा उहाँले सहकारी क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा ठूलो योगदान रहेको बताउनु भएको छ । निम्न आय भएका किसान, श्रमिक र मजदुरको समुदायभित्रकै पूँजी परिचालन मार्फत् आर्थिक संकट टार्ने, उद्यमशीलता विकास गर्ने र बचतको संस्कृति मार्फत् आर्थिक उपार्जनमा मद्दत गर्ने सहकारी क्षेत्रको अभियान प्रशंसनीय रहेको प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत् समृद्ध अर्थतन्त्रको परिकल्पना गरेको छ। प्रमुख देवकोटाले सहकारीको विकास र विस्तार समृद्धिको महत्वपूर्ण पाटो हुनसक्ने कुरामा उहाँले जोड दिनु भएको छ । तर, केही व्यक्तिहरूको संलग्नतामा बचतकर्ताहरूको रकम हिनामिना गरी आर्थिक अपराध गर्ने र सम्पूर्ण सहकारी क्षेत्रलाई बदनाम गराउने क्रियाकलापहरू भएको सन्दर्भमा सहकारीकर्मीहरू सचेत र गम्भीर भई गलत प्रवृत्तिको पुनरावृत्ति हुन नदिन पहल गर्नु पर्ने समेत उहाँले बताउनु भएको छ ।
सम्बन्धित निकायले बचतकर्ताको बचत सुरक्षणमा कुनै कसर बाँकी राख्न नहुनेमा उहाँले जोड दिनुभएको छ। उहाँले सहकारी संस्थाहरू पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गरिनुपर्ने बताउनु भयो। सहकारी दिवसले सहकारीको गरिमालाई उच्च राख्न सबैलाई प्रेरणा दिने उहाँले सन्देशमा बताउनु भएकाे छ ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गर्ने भएको छ । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबाेध गौतमलाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिने भएकाे हाे ।
सिस्नुपानी मकवानपुरले २० बैशाख २०८२ मा हेटौंडामा हास्य व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गर्न लागिएकाे संस्थाका सचिव सुमार्गी हुमागाईंले जनाकारी दिए ।
सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिने भएको हो । उक्त पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । यस अघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । उक्त पुरस्कार सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष गणेश पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेका हुन् ।
यस्तै युवा हास्यव्यङ्ग्य कलाकार सुबोध गौतमलाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिने भएकाे छ । १५ हजार ५५५ रूपैयाँ राशिको उक्त सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गरेका हुन् । अघिल्लो वर्ष उक्त पुरस्कारबाट हास्यव्यङ्ग्य कवि अनिल पौडेललाई सम्मानित गरिएकाे थियाे ।
संस्थाका अध्यक्ष संप्रस पौडेलका अनुसार गाईजात्रा पर्व र तिहारमा देउसी भैलोकाे अवसरमा हास्य व्यङ्ग्यात्मक कार्यक्रम गर्दै आइरहेको सिस्नुपानी मकवानपुरले अघिल्लो वर्ष स्थापना दिवसमा राष्ट्रिय स्तरको हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गरेको थियाे ।