भरतपुर, चितवन । कविडाँडा साहित्य समाज चितवनले वार्षिकोत्सवमा प्रदान गरिने पुरस्कार तथा सम्मानहरू सार्वजनिक गरेको छ । शनिबार कविडाँडा साहित्य समाजकाे २२ औं बैठकले प्रदान गर्ने ३ वटा सम्मान तथा पुरस्कार शनिबार सार्वजनिक गरेकाे हाे ।
समाजले कविडाँडा कृति पुरस्कार- २०८१ बाट ‘अलङ्कार इन्द्रेनी’ काव्यका लागि कवि गोविन्दराज विनोदीलाई सम्मानित गर्ने भएकाे हाे । त्यसैगरी कविडाँडा देव-खिना स्मृति पुरस्कार – २०८२ द्वारा कवि लकास पौडेल सम्मानित हुने अध्यक्ष एलबी क्षेत्रीले जनाकारी दिए । यस्तै कविडाँडा वाङ्मयी युवा प्रतिभा पुरस्कार – २०८२ बाट गजलकार अविरत सुमन (सुमन घिमिरे) सम्मानित हुने निर्णय भएकाे उनले बताए ।
अध्यक्ष क्षेत्रीका अनुसार उक्त ३ वटै पुरस्कारको राशि जनही १५ हजार १६० रुपैयाँ रहेकाे छ । सो पुरस्कार तथा सम्मान कविडाँडा साहित्य समाजकाे २२ औँ स्थापना दिवस एवम् वार्षिकोत्सवका अवसरमा १० जेठ २०८२ मा प्रदान गरिने छ । भरतपुर महानगरपालिका -५ स्थित कविडाँडाकाे कार्यालयमै कार्यक्रमकाे आयोजना गरी उक्त पुरस्कार प्रदान गरिने पुरस्कार छनोट समितिका संयोजक एवम् समाजका सहसचिव रामकृष्ण अनायासले जानकारी दिए ।
भरतपुर, चितवन । सरला शर्माको लघुकथा कृति ‘उसैले जन्माएको छोरो’ सार्वजनिक गरिएको छ।
रत्ननगरको सौराहाचोक निवासी शर्माको लघुकथासङ्ग्रह कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले सार्वजनिक गरेका हुन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा समावेश छन् ।
कृति सार्वजनिक कार्यक्रममा कवि तथा निबन्धकार भूपिनले शर्माको कृतिमा नारी वेदनालाई ऐनाजस्तै गरी देखाइएको बताए। साहित्यकार सामना पहाडले सङ्ग्रहमा मातृ वात्सल्यका कथाहरु, प्रकृति, पर्यावरण, कुशासन, गृहिणी र गैरगृहिणीका कथाव्यथा रहेको बताइन्। अर्का वक्ता प्रेम रिमालले कथामा शर्माले समाजका जटिल विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरेको बताए।
लेखक शर्माले लघुकथामार्फत वैदेशिक रोजगारीको पीडा, विभेद, सामाजिक विकृति, नेपाली समाजको चित्रण गरिएको जानकारी दिइन्। ‘देखेभोगेका भावनालाई लघु कथाकोरुपमा उतारिएकाे छ’ उनले भनिन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबार अपराह्न एक्कासी जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बाेलेरो गाडी (भ्यान) अझै भेटिएकाे छैन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँ स्थित सडकमा ना ४ च ४८३३ नम्बरको बाेलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको हाे ।
गैरीगाउँबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (खाली) सडकमा राेकिराखेकाे अवस्थामा सडक भासिंदा डुबेको बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बलेरो चालक हरि राईले समेत राेकी राखेकाे गाडी सडक भासिदा पुरिएकाे तथा आफू र सहचालक गाडी भासिनुअघि नै निस्किएर जोगिएका जानकारी दिए ।
गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडी भासिएको नजिकै स्थानीय हरि राईले माछापालनकाे लागि खनिएकाे पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिदाँ गाडी बेपत्ता भएकाे प्रहरीले अनुमान लगाइएको छ ।
उक्त स्थानमा पानी तान्नका लागि २ वटा मोटर पम्प प्रयोग गरिएकोमा पानीको सतह घटेको भएतापनि सवारी साधन हालसम्म नदेखिएको प्रहरीले जानकारी दिएकाे छ । ‘खाल्डोको दायाँ बायाँबाट माटो झरिरहेको कारण खाल्डोको आयतन झन् ठुलो हुदै गएको छ’ प्रवक्ता डिएसपी श्यामु अर्यालले भने ‘ भासिएर वेपत्ता भएकाे सवारी साधनकाे खोजि कार्य जारी छ ।’
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ४ जना व्यक्तित्व सम्मानित भएका छन् । शनिबार हेटौंडामा भएकाे छुट्टाछुट्टै कार्यक्रममा ४ जनालाई सम्मानित गरिएकाे हाे । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गरेकाे छ भने बुढ्यौली साहित्य समाज मकवानपुरले २ जना साहित्यकारलाई सम्मानित गरेकाे हाे ।
सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबाेध गौतम ‘यदुमे’ लाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिएकाे हाे । बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ ।
सिस्सुपानी मकवानपुरले सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएकाे हाे । उक्त पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । यस अघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । उक्त पुरस्कार सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष गणेश पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेका हुन् ।
यस्तै युवा हास्यव्यङ्ग्य कलाकार ‘यदुमे’ लाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिएकाे छ । १५ हजार ५५५ रूपैयाँ राशिको उक्त सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गरेका हुन् । अघिल्लो वर्ष उक्त पुरस्कारबाट हास्यव्यङ्ग्य कवि अनिल पौडेललाई सम्मानित गरिएकाे थियाे ।
यसैगरी बुढ्यौली साहित्य समाजले भोजपुरका देवीप्रसाद घिमिरेलाई तुल्सी थापा स्मृति सम्मानबाट सम्मानित गरिएकाे छ । उक्त सम्मान २५ हजार राशिकाे रहेकाे छ । मकवानपुरका देवराज खरेललाई तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित गरिएकाे हाे । उक्त सम्मानकाे राशी नगद २० हजार रुपैयाँसहित रहेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडाबाट हराएकाे अटो ८ महिनापछि चितवनकाे भरतपुरमा भेटिएकाे छ । हेटौंडा उपमहानगरपालिका–१० का ४१ वर्षीय बमबहादुर न्यौपानेको घरमै पार्किङ गरिराखेको ना २ ह १३७१ नम्बरको अटो गत १४ भदौ २०८१ मा हराएको थियो ।
उक्ता अटो चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, सल्लेरीटोलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अटो चोरीमा संलग्न भएका २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले नवलपरासी कुलिन्टार गाउँपालिका–१ का ३० वर्षीय गोपाल श्रेष्ठ र भरतपुर महानगरपालिका–११ का ३२ वर्षीय शंकर ढकाललाई पक्राउ गरेको हाे । प्रहरीले शुक्रबार सवारी धनीलाई अटो फिर्ता गरिदिएको छ । गोपाल र शंकरलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।