भरतपुर, चितवन । सरला शर्माको लघुकथा कृति ‘उसैले जन्माएको छोरो’ सार्वजनिक गरिएको छ।
रत्ननगरको सौराहाचोक निवासी शर्माको लघुकथासङ्ग्रह कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले सार्वजनिक गरेका हुन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा समावेश छन् ।
कृति सार्वजनिक कार्यक्रममा कवि तथा निबन्धकार भूपिनले शर्माको कृतिमा नारी वेदनालाई ऐनाजस्तै गरी देखाइएको बताए। साहित्यकार सामना पहाडले सङ्ग्रहमा मातृ वात्सल्यका कथाहरु, प्रकृति, पर्यावरण, कुशासन, गृहिणी र गैरगृहिणीका कथाव्यथा रहेको बताइन्। अर्का वक्ता प्रेम रिमालले कथामा शर्माले समाजका जटिल विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरेको बताए।
लेखक शर्माले लघुकथामार्फत वैदेशिक रोजगारीको पीडा, विभेद, सामाजिक विकृति, नेपाली समाजको चित्रण गरिएको जानकारी दिइन्। ‘देखेभोगेका भावनालाई लघु कथाकोरुपमा उतारिएकाे छ’ उनले भनिन् ।

