मकवानपुर । मकवानपुरकाे हेटौंडामा शुक्रबार अपराह्न एक्कासी जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बाेलेरो गाडी (भ्यान) अझै भेटिएकाे छैन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँ स्थित सडकमा ना ४ च ४८३३ नम्बरको बाेलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको हाे ।
गैरीगाउँबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (खाली) सडकमा राेकिराखेकाे अवस्थामा सडक भासिंदा डुबेको बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बलेरो चालक हरि राईले समेत राेकी राखेकाे गाडी सडक भासिदा पुरिएकाे तथा आफू र सहचालक गाडी भासिनुअघि नै निस्किएर जोगिएका जानकारी दिए ।
गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडी भासिएको नजिकै स्थानीय हरि राईले माछापालनकाे लागि खनिएकाे पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिदाँ गाडी बेपत्ता भएकाे प्रहरीले अनुमान लगाइएको छ ।
उक्त स्थानमा पानी तान्नका लागि २ वटा मोटर पम्प प्रयोग गरिएकोमा पानीको सतह घटेको भएतापनि सवारी साधन हालसम्म नदेखिएको प्रहरीले जानकारी दिएकाे छ । ‘खाल्डोको दायाँ बायाँबाट माटो झरिरहेको कारण खाल्डोको आयतन झन् ठुलो हुदै गएको छ’ प्रवक्ता डिएसपी श्यामु अर्यालले भने ‘ भासिएर वेपत्ता भएकाे सवारी साधनकाे खोजि कार्य जारी छ ।’

