मकवानपुर । मकवानपुरकाे हेटौंडामा ४ जना व्यक्तित्व सम्मानित भएका छन् । शनिबार हेटौंडामा भएकाे छुट्टाछुट्टै कार्यक्रममा ४ जनालाई सम्मानित गरिएकाे हाे । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्यकारलाई सम्मान गरेकाे छ भने बुढ्यौली साहित्य समाज मकवानपुरले २ जना साहित्यकारलाई सम्मानित गरेकाे हाे ।
सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा कृष्ण मुरारी गौतम ‘चट्याङ मास्टर’ र सुबाेध गौतम ‘यदुमे’ लाई हास्यव्यङ्ग्य पुरस्कारबाट सम्मान गरिएकाे हाे । बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ ।
सिस्सुपानी मकवानपुरले सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक हास्यव्यङ्ग्य स्रष्टा ‘चट्याङ मास्टर’लाई डा. गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएकाे हाे । उक्त पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । यस अघि हास्यव्यङ्ग्यकार आरसी रिजाल र उत्तमकृष्ण मजगैयालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । उक्त पुरस्कार सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष गणेश पौडेलको स्मृतिमा परिवारजनले स्थापना गरेका हुन् ।
यस्तै युवा हास्यव्यङ्ग्य कलाकार ‘यदुमे’ लाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ बाट सम्मानित गरिएकाे छ । १५ हजार ५५५ रूपैयाँ राशिको उक्त सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गरेका हुन् । अघिल्लो वर्ष उक्त पुरस्कारबाट हास्यव्यङ्ग्य कवि अनिल पौडेललाई सम्मानित गरिएकाे थियाे ।
यसैगरी बुढ्यौली साहित्य समाजले भोजपुरका देवीप्रसाद घिमिरेलाई तुल्सी थापा स्मृति सम्मानबाट सम्मानित गरिएकाे छ । उक्त सम्मान २५ हजार राशिकाे रहेकाे छ । मकवानपुरका देवराज खरेललाई तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित गरिएकाे हाे । उक्त सम्मानकाे राशी नगद २० हजार रुपैयाँसहित रहेकाे छ ।

