मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को अवलोकन गर्नुभएको छ । बागमती प्रदेशको प्रथम महिला रुकमीणी देवकोटासमेतकाे उपस्थितिमा उहाँले आज राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को अवलोकन गर्नुभएको हाे ।
ललितकला प्रदर्शनी २०८२ अवलोकन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले कलाकाे सम्मान र कलालाई प्रोत्सान आवश्यक भएको प्रतिकृया दिनु भयाे । प्रतिष्ठानद्वारा देशका सातवटै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ सम्पन्न गरी ती प्रदर्शनीहरूबाट छनोट भएका देशभरका कलाकारले सिर्जना गरेका कलाहरुलाई प्रदर्शनीमा राखिएको छ ।
कलाकारहरुले परम्परागत, समसामयिक, आधुनिक चित्रकला, परम्परागत, समसामयिक, आधुनिक मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्प-हस्तकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका करिव ६ सय कलाकारका ६ सय ५० कलाकृति समावेश छान् । अवलोकन कार्यक्रममा गण्डकी प्रदेश प्रदेश प्रमुखसमेतकाे उपस्थिति रहेकाे थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडालाई काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ आइतबारबाट सञ्चालनमा आएकाे छ ।
मकवानपुर र ललितपुर जोड्ने बागमती नदीको बगुवामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबारबाट सञ्चालनमा आएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा शनिबार बेलिब्रिज जडान गरिएकाे थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फ बगाएको थियो ।
पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो । बर्षायाम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने तथा सवारी साधनमा क्षति पुग्न थालेपछि पटक पटक सडक अवरुद्ध हुने गरेको थियो । कान्ति लोकपथ ४ दिन बन्द गरेर गत जेठ १९ गतेबाट बेलिब्रिज राख्ने कार्य थालिएको थियो ।
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठले अपाङ्गता भएका आफ्नै सन्तानलाई समेत अभिभावकले भेदभाव गर्ने गरेकाे बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयाेग्य सूचना सामाग्री तथा भाैतिक संरचना निर्माण सम्बन्धी अभिमुखिकरणमा उनले यस्तो बताएका हनु् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकाे आयाेजना तथा सामाजिक विकास मन्त्रालयकाे सहकार्यमा भएकाे उक्त कार्यक्रममा व्यवस्थापक श्रेष्ठले संयुक्त राष्ट्र संघकाे अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्बन्धी महासन्धि २००६, अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्बन्धी ऐन २०७४ मा भएकाे भेदभाव विरुद्दकाे हक लगायतकाे बारेमा प्रशिक्षण दिएका थिए ।
उनले राज्यले नै अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधा दिएकाे भए परिवार र समाजबाट अपहेलित हुनु नपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुका् लागि पहुचयुक्त भाैतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ लागू भएकाे भएपनि भाैतिक संरचनाहरु अपाङ्ग मैत्री हुन नसकेकाे उनले जानकारी दिए । त्यस्तै श्रेष्ठले डिजिटल पहुँचयुक्त तथा पहुँच परीक्षण सम्बन्धी जानकारी दिदै सूचनाकाे पहुँच पुर्याउन प्रयाेगात्मक परीक्षण गराएका थिए ।
बागमती प्रदेशका मन्त्रालयहरु, नगरपालिका तथा गाउँपालिका एवं सरकारी निकायमा कार्यरत आइटी शाखाका प्रमुख एवं इन्जिनियरहरुकाे सहभागिता रहेकाे अभिमुखीकरण कार्यक्रममा सरकारी निकाय तथा सार्वजनिक संस्थानहरुले आफ्नाे भाैतिक संरचना बनाउन नीति तथा कार्यक्रममा व्यवस्था भए पनि सराेकारवाला निकायहरुकाे वेबसाइट, सूचना तथा जानकारीहरु पहुँचयाेग्य नहुने गरेकाे उनले बताए । ‘कार्यालयहरुमा अनलाइन फर्म भर्नका लागि सहज र सरल हुँदैन’ उनले भने ‘सरल भाषा, संकेत भाषा प्रयाेग गर्नुपर्ने लगायतका कुरामा ध्यान दिन सकेको देखिदैन ।’ वेवसाइट तथा डिजिटल प्रविधि अपाङ्ग मैत्री बनाउन हालसम्म नीति तथा कार्यक्रममा समावेश नै नभएकाे उनले जानकारी दिए ।
महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष उपेन्द्र श्रेष्ठकाे सभाध्यक्षता, सामाजिक विकास मन्त्रालयका प्रशासकीय प्रमुख गाेपाल प्रसाद कडेंलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठ, बागमती प्रदेश व्यवस्थापक सीता मल्ल ठकुरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मुस्लिम धर्मावलम्बीले आज बकर ईद पर्व मनाउँदैछन् । मुस्लिम समुदायकाे दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा भेला भइ मनाइने छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन “अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द” र यसको नेपाली अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्” भन्ने बुझिन्छ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखे । भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो।
कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो। अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।
यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलमानहरुले आफ्नो गाउँ लगायतका सामिप्यता रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर ईद लाई केवल कुबानी अर्थात वलीसंग मात्र जोडेर मनाइनु हुँदैन । वली अर्थात जीवन लिनु मात्र नभई जीवनको मुल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीहरूमा ‘इद उल जोहा’को शुभकामना !
मकवानपुर । सरस्वती पौडेलको गजलसङ्ग्रह ‘प्रत्यूष’ प्रकाशित हुने भएकाे छ । चितवनमा रहेर साहित्य सिर्जनामा क्रियाशील गजलकार पौडेलकाे पहिलो गजल संग्रह प्रत्युस सार्वजनिक हुने भएको हाे ।
‘प्रत्युष’ शब्दको अर्थ ‘सुर्योदय’ हुन्छ। ‘सुर्योदय’ भनेको ‘बिहानको घाम् लाग्दाको समय हाे । जसले सुरुवातलाई जनाउनेछ । गजल मञ्च चितवनको हालकाे कार्यसमितिमा रहेका पौडेलकाे गजल सङ्ग्रहकाे प्रकाशक गजल मञ्च रहने छ भने सम्पूर्ण किताब नारायणगढले वितरणकाे जिम्मेवारी उठाएकाे छ । बजारमा आउन लागेको उक्त कृतिले समकालीन नेपाली गजल साहित्यमा आयाम थप्ने गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास बताउँछन् ।
सङ्ग्रहको सम्पादन गजलकार/समालोचक रमेश प्रभातले गरेका छन् । गजल मञ्च चितवनले यस पुस्तकलाई प्रकाशन गर्न लागेर महिला स्रष्टाको सिर्जनात्मक यात्रामा थप ऊर्जा प्रदान गरेको प्रभातले बताए । गजल मञ्च चितवनका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटाले कृतिले महिला स्वरको मजबुत उपस्थिति नेपाली गजलआकाशमा स्थापित गर्ने विश्वास व्यक्त गरे । त्यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले गजलसङ्ग्रह समकालीन गजल साहित्यमा स्तरीय र पठनीय कृति हुने बताए ।
पुस्तकको आवरणमा प्रयोग गरिएको चित्रले एउटा महिला आकृति र त्यसको वरिपरि फैलिएको प्रकाश–अन्धकारको समिश्रणमार्फत गहिरो अर्थ संकेत गर्छ । आवरणमा रहेको प्रतीकात्मकता स्वयं पुस्तकका विषयवस्तुसँग मेल खाने खालको छ, जसले भावनात्मक तथा सौन्दर्यात्मक पक्षलाई समेत उजागर गर्दछ ।
उक्त गजल संङ्ग्रहमा समावेश गरिएका गजलले महिलाको संवेदना तथा पीडा, दृष्टिकोण र अनुभूति सहित प्रेम, विछोड, समाज, आत्मसङ्घर्ष र अस्तित्वको गहिरो चित्रण गर्ने प्रयास गरिएकाे गजलकार पौडेल बताउँछिन् । गजलकार सरस्वती पौडेल नेपाली गजल साहित्यमा लामो समयदेखि सक्रिय रहेकी छन् । ‘प्रत्यूष´ मार्फत उनले नेपाली गजल विधामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने चितवनका साहित्यकारहरुले अपेक्षा गरेका छन् ।
पुस्तकको मूल्य २५१ रुपैंया तोकिएको छ भने केही दिन भित्रै सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको गजलकार पौडेलले सामाजिक संजालमा लेखेकिछन् ।
‘जीवनका कयौं उकाली ओरालीसँग पौँठा जोरि खेल्दै आज समयले समाजमा प्रत्यूष खोजेको महसुस गरेकी छु। त्यसैले पहिलो पटक साहित्यको खुल्ला आकाशमा प्रत्यूष लिएर आउने जमर्को गरेकी हुँ । अबका केही दिनमा प्रत्यूष तपाईंको हातमा पर्ने छ। आशा गरेकी छु तपाईंको मायाले प्रत्यूषले सामाजिक स्पर्श गर्ने छ’ पौडेलले भनेकिछिन् ।