मकवानपुर । सरस्वती पौडेलको गजलसङ्ग्रह ‘प्रत्यूष’ प्रकाशित हुने भएकाे छ । चितवनमा रहेर साहित्य सिर्जनामा क्रियाशील गजलकार पौडेलकाे पहिलो गजल संग्रह प्रत्युस सार्वजनिक हुने भएको हाे ।
‘प्रत्युष’ शब्दको अर्थ ‘सुर्योदय’ हुन्छ। ‘सुर्योदय’ भनेको ‘बिहानको घाम् लाग्दाको समय हाे । जसले सुरुवातलाई जनाउनेछ । गजल मञ्च चितवनको हालकाे कार्यसमितिमा रहेका पौडेलकाे गजल सङ्ग्रहकाे प्रकाशक गजल मञ्च रहने छ भने सम्पूर्ण किताब नारायणगढले वितरणकाे जिम्मेवारी उठाएकाे छ । बजारमा आउन लागेको उक्त कृतिले समकालीन नेपाली गजल साहित्यमा आयाम थप्ने गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास बताउँछन् ।
सङ्ग्रहको सम्पादन गजलकार/समालोचक रमेश प्रभातले गरेका छन् । गजल मञ्च चितवनले यस पुस्तकलाई प्रकाशन गर्न लागेर महिला स्रष्टाको सिर्जनात्मक यात्रामा थप ऊर्जा प्रदान गरेको प्रभातले बताए । गजल मञ्च चितवनका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटाले कृतिले महिला स्वरको मजबुत उपस्थिति नेपाली गजलआकाशमा स्थापित गर्ने विश्वास व्यक्त गरे । त्यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले गजलसङ्ग्रह समकालीन गजल साहित्यमा स्तरीय र पठनीय कृति हुने बताए ।
पुस्तकको आवरणमा प्रयोग गरिएको चित्रले एउटा महिला आकृति र त्यसको वरिपरि फैलिएको प्रकाश–अन्धकारको समिश्रणमार्फत गहिरो अर्थ संकेत गर्छ । आवरणमा रहेको प्रतीकात्मकता स्वयं पुस्तकका विषयवस्तुसँग मेल खाने खालको छ, जसले भावनात्मक तथा सौन्दर्यात्मक पक्षलाई समेत उजागर गर्दछ ।
उक्त गजल संङ्ग्रहमा समावेश गरिएका गजलले महिलाको संवेदना तथा पीडा, दृष्टिकोण र अनुभूति सहित प्रेम, विछोड, समाज, आत्मसङ्घर्ष र अस्तित्वको गहिरो चित्रण गर्ने प्रयास गरिएकाे गजलकार पौडेल बताउँछिन् । गजलकार सरस्वती पौडेल नेपाली गजल साहित्यमा लामो समयदेखि सक्रिय रहेकी छन् । ‘प्रत्यूष´ मार्फत उनले नेपाली गजल विधामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने चितवनका साहित्यकारहरुले अपेक्षा गरेका छन् ।
पुस्तकको मूल्य २५१ रुपैंया तोकिएको छ भने केही दिन भित्रै सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको गजलकार पौडेलले सामाजिक संजालमा लेखेकिछन् ।
‘जीवनका कयौं उकाली ओरालीसँग पौँठा जोरि खेल्दै आज समयले समाजमा प्रत्यूष खोजेको महसुस गरेकी छु। त्यसैले पहिलो पटक साहित्यको खुल्ला आकाशमा प्रत्यूष लिएर आउने जमर्को गरेकी हुँ । अबका केही दिनमा प्रत्यूष तपाईंको हातमा पर्ने छ। आशा गरेकी छु तपाईंको मायाले प्रत्यूषले सामाजिक स्पर्श गर्ने छ’ पौडेलले भनेकिछिन् ।

