मकवानपुर । मकवानपुरकाे हेटौंडालाई काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ आइतबारबाट सञ्चालनमा आएकाे छ ।
मकवानपुर र ललितपुर जोड्ने बागमती नदीको बगुवामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबारबाट सञ्चालनमा आएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा शनिबार बेलिब्रिज जडान गरिएकाे थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फ बगाएको थियो ।
पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो । बर्षायाम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने तथा सवारी साधनमा क्षति पुग्न थालेपछि पटक पटक सडक अवरुद्ध हुने गरेको थियो । कान्ति लोकपथ ४ दिन बन्द गरेर गत जेठ १९ गतेबाट बेलिब्रिज राख्ने कार्य थालिएको थियो ।

