मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो हेटौंडा–१९ नेवारपानीस्थित तारा फाइभर उद्योगका हेड अपरेटर ४० वर्षीय भुषण वैठाको करेन्ट लागेर मृत्यु भएको हो ।
भारतको बिहार राज्यको पूर्वी चम्पारणका भुषणको उद्योग नजिकै रहेको खोल्सामा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकको शब हेटौंडा अस्पतालमा रहेको तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । देशको कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यसैगरी बुधबार राति देशभर साधरण बदलीदेखि पूर्णयता बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
वर्षाको कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको ४ वर्षे कार्यकाल सकिएको छ । कार्यकाल सकिएपछि चौलागाईले मंगलबार आफ्नो कार्यकालमा भएका कामको जानकारी गराउन पत्रकार भेटघाट गरे ।
जेठ मसान्तमा कार्यकाल सकिएसँगै मंगलबारकाे पत्रकार भेटघाटमा चौलागाईले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा प्रदेश युवा परिषद्लाई खेलकुद विकास परिषदमा गाभ्ने निर्णय सच्याउन आग्रह गरेका छन् । ‘परिषद्ले युवा पुस्तालाई प्रदेश सरकार र सरोकारवालासँग जोड्न सफल भएको छ’ उनले भने ‘युवा परिषद्लाई अझ सशक्त बनाएर अगाडि बढ्नुपर्ने अहिलेकाे आवश्यकता हाे ।’ युवा परिषद्लाई खेलकुदमा गाभ्ने निर्णय कानूनीरुपमा पनि जटिल रहेकाे उनले बताए ।
एक पटक भर्चुअल र ३ पटक भौतिक उपस्थितिमै प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनको आयोजना गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भएको उनले जानकारी दिए । ‘आम युवाको सक्षमता, क्षमता विकास र रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्ने युवा परिषद्लाई सरकारले बजेट विनियोजनमा विभेद गर्ने गरेकाे छ’ उनले भने । ४ वर्षे कार्यकालमा १० हजार भन्दा बढी युवालाई रोजगारमूलक तालिम प्रदान गरिएको, सयौं युवा स्वरोजगार भएको उनले बताए ।
महिला युवाका लागि आत्मरक्षा तालिम सञ्चालन परिषद्को अर्को उपलब्धि रहेको चौलागाईले बताए। तालिमलाई १३ वटै जिल्लामा फैलाएर प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार युवालाई कुलतबाट जोगाउँदै समाजप्रति उत्तरदायी बनाउन कार्यशाला, अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
सरकार परिवर्तनको बेला एकपटक प्रदेश सरकारसँग केही असमझदारी भए पनि अदालतले पुनर्स्थापित गरेसँगै आफूलाई काम गर्न कुनै समस्या नभएको चौलागाईले जानकारी दिए । ‘सरकारलाई युवासँग जोड्न र सरकारसम्म युवाको पहूँच स्थापित गर्न परिषद्ले सहजकर्ताको भूमिका निर्वाह गरेको छ’ उनले भने । कार्यकाल सकिए पनि मैले हासिल गरेको ज्ञान, सीपलाई आगामी दिनमा आवश्यकताअनुसार सहयोग गर्दै जाने उनले बताए ।
‘युवालाई देशमै बस्नुपर्छ,यही काम गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गराउन परिषद्ले निर्वाह गरेको भूमिकालाई निरन्तरता दिनुपर्छ’ उनले भने । मुख्यमन्त्रीसँग युवाको संवाद समेत गराएकाे उनले जानकारी दिए । चौलागाईले आफ्नो कार्यकालमा साथ, सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा होटलको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाको छटबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २८ वर्षीय अमित मोक्तान छन्।
सोमबार होटलको तेस्रो तलाबाट खसेर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल हुँदै चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो। मोक्तानको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। उक्त होटलमा कार्यरत मोक्तानकी पत्नी त्यही होटलमै बस्दै आएकी थिइन्। मोक्तान पत्नीलाई भेट्न होटल गएका थिए । घटनाको प्रारम्भिक अनुसन्धानमा उनले मदिरापान गरेको पाइएको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा प्रहरीले एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने ५ राउण्ड गोली बेवारिसे अवस्थामा फेला पारेको छ ।
राक्सिराङ गाउँपालिकामा- १, ढुंगेनमा शनिबार राती बेवारिसे अवस्था रहेको उक्त पेस्तोलसहित गोली र २ किलो ४८० ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको फेदमा प्लाष्टिकमा सेतो बोरामा बेरी राखेको पेस्तोल, गोली र अफिम बरामद भएको प्रहरी जनाएको छ ।