मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको ४ वर्षे कार्यकाल सकिएको छ । कार्यकाल सकिएपछि चौलागाईले मंगलबार आफ्नो कार्यकालमा भएका कामको जानकारी गराउन पत्रकार भेटघाट गरे ।
जेठ मसान्तमा कार्यकाल सकिएसँगै मंगलबारकाे पत्रकार भेटघाटमा चौलागाईले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा प्रदेश युवा परिषद्लाई खेलकुद विकास परिषदमा गाभ्ने निर्णय सच्याउन आग्रह गरेका छन् । ‘परिषद्ले युवा पुस्तालाई प्रदेश सरकार र सरोकारवालासँग जोड्न सफल भएको छ’ उनले भने ‘युवा परिषद्लाई अझ सशक्त बनाएर अगाडि बढ्नुपर्ने अहिलेकाे आवश्यकता हाे ।’ युवा परिषद्लाई खेलकुदमा गाभ्ने निर्णय कानूनीरुपमा पनि जटिल रहेकाे उनले बताए ।
एक पटक भर्चुअल र ३ पटक भौतिक उपस्थितिमै प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनको आयोजना गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भएको उनले जानकारी दिए । ‘आम युवाको सक्षमता, क्षमता विकास र रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्ने युवा परिषद्लाई सरकारले बजेट विनियोजनमा विभेद गर्ने गरेकाे छ’ उनले भने । ४ वर्षे कार्यकालमा १० हजार भन्दा बढी युवालाई रोजगारमूलक तालिम प्रदान गरिएको, सयौं युवा स्वरोजगार भएको उनले बताए ।
महिला युवाका लागि आत्मरक्षा तालिम सञ्चालन परिषद्को अर्को उपलब्धि रहेको चौलागाईले बताए। तालिमलाई १३ वटै जिल्लामा फैलाएर प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार युवालाई कुलतबाट जोगाउँदै समाजप्रति उत्तरदायी बनाउन कार्यशाला, अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
सरकार परिवर्तनको बेला एकपटक प्रदेश सरकारसँग केही असमझदारी भए पनि अदालतले पुनर्स्थापित गरेसँगै आफूलाई काम गर्न कुनै समस्या नभएको चौलागाईले जानकारी दिए । ‘सरकारलाई युवासँग जोड्न र सरकारसम्म युवाको पहूँच स्थापित गर्न परिषद्ले सहजकर्ताको भूमिका निर्वाह गरेको छ’ उनले भने । कार्यकाल सकिए पनि मैले हासिल गरेको ज्ञान, सीपलाई आगामी दिनमा आवश्यकताअनुसार सहयोग गर्दै जाने उनले बताए ।
‘युवालाई देशमै बस्नुपर्छ,यही काम गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गराउन परिषद्ले निर्वाह गरेको भूमिकालाई निरन्तरता दिनुपर्छ’ उनले भने । मुख्यमन्त्रीसँग युवाको संवाद समेत गराएकाे उनले जानकारी दिए । चौलागाईले आफ्नो कार्यकालमा साथ, सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।


