मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडि दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा हेटौंडाबाटकाठमाडौं तर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको इभी गाडी दुर्घटना भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । सडककाे घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिए सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुररे जानकारी दिएको छ ।
दुर्घटनामा पर्सा जिल्ला जिरा भवानी गाउँपालिका–३ बस्ने ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत विहार बस्ने ९ वर्षीय रिसाहद कुमार, ३५ वर्षीय उमा शंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र वर्षीय राकेश कुमार घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौं तर्फ लगिएको छ । गाडि चालक बारा जिल्लाको परमाणीपुर गाउँपालिका–२ बस्ने २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले भरतपुर महानगरलाई ३ करोड दिने भएकाे छ ।प्रदेश मन्त्रिपरिषद्को बैठकले भरतपुरकाे प्रशासकीय भवन निर्माणकाे लागि ३ करोड रुपैयाँ दिने निर्णय गरेको हाे ।
भरतपुर महानगरपालिकाकाे प्रशासकीय भवन निर्माणका लागि ३ करोड १ लाख रुपैंया निकासा दिने मन्त्रिपरिषद्ले निर्णय गरेकाे प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए ।
प्रवक्ता लामिछानेका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि लागत साझेदारीमा ८ करोड रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको थियो । उक्त निर्णय अनुसार चालु आर्थिक वर्षमा ३ करोड १ लाख रुपैयाँ निकासा दिने निर्णय भएको उनले जानकारी दिए ।
यसैगरी शुक्रबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने स्वीकृति प्रदान गरेको छ । बैठकले लिखु गाउँपालिकाका दुई तिहाइ जनप्रतिनिधिको हस्ताक्षर सहितको प्रस्तावमा पालिका हाल रहेकाे स्थानबाट वडा नम्बर–४ मा सार्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।
साबिकको स्थानमा जग्गा नभएकाले गाउँपालिकाको प्रशासनिक कार्य सञ्चालनमा समेत बाधा पुगेकाले वडा नम्बर–४ मा जग्गा प्राप्ति समेत गरेर केन्द्र सार्न प्रस्ताव गरिएको उनले जानकारी दिए ।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीको वैदेशिक भ्रमण समेत स्वीकृत गरेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार राती हेटौंडा -१० राप्तिरोडमा मोटरसाइकल दुर्घटनामा परी ४५ वर्षीय दिपेन्द्र कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ।आफैले चलाएको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल हेटौंडाको बुद्धचोकबाट राप्तीरोड हुँदै थानाभर्याङतर्फ जाँदै गर्दा दुर्घटना हुँदा झा घाइते भएका थिए ।
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-४ घर भएका झा राक्सिराङस्थित कालिका माविको प्रधानाध्यापक पदमा कार्यरत थिए।
मकवानपुर । मकवानपुरमा छोरी बलात्कार गर्नेलाई ४५ वर्ष कैद ताेकिएकाे छ । छाेरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ४५ वर्ष कैद फैसला सुनाएकाे हाे भने ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको इजलासले बाबुले छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । जिल्ला अदालत मकवानपुरले हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।
२०८१ भदौ २८ गते बालिकालाई बाबुले घरमै बलात्कार गरेका थिए । बालिकाले आफू बाबुबाट बलात्कृत भएको फुपू नाता पर्नेलाई जानकारी गराएपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा प्रहरीले पक्राउ गरेकाे उनलाई अदालतले पुर्पक्षका लागि भिमफेदी कारागार पठाएको थियो ।
भरतपुर, चितवन । चितवनको भरतपुरमा एक फरक लयमा साहित्यिक कार्यक्रमकाे तयारी गरिएकाे छ । साहित्यिक भूमि चितवनमा दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको लय गुन्जिने तयारी गरिएकाे हाे ।
गजल मञ्च चितवनको आयोजनामा २१ असार शनिबार भरतपुरमा रहेकाे चितवन माध्यमिक विद्यालयमा हुने ‘गजल उत्सव’ कार्यक्रममा ‘अग्रजका गजल’ सुनिने भएकाे हाे । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक मञ्चमा ल्याउने उद्देश्यसहित गजल मञ्च चितवनले अग्रजका गजल कार्यक्रम आयोजना गर्न लागिएकाे मञ्च अध्यक्ष रामकृष्ण अनायास बताउँछन् ।
कार्यक्रममार्फत चितवनमा बसेर दुई दशकअघिदेखि गजल सिर्जनामा जीवन अर्पिएका अग्रज स्रष्टाहरूलाई फेरि साहित्यिक यात्रातर्फ फर्काउने भावनात्मक प्रयत्न गरिने आयोजकले जनाएकाे छ । ‘गजल सिर्जनामा कहिल्यै पनि नथाक्ने तर जीवनका परिस्थितिले केही समय मौन बस्नुपरेका अनुभवी गजलकारलाई मञ्चमा सम्मानका साथ प्रस्तुत गरिनेछ’ अध्यक्ष रामकृष्ण अनायासले भने, ‘जसले चितवनको गजल साहित्यको सुरुवाती स्वरलाई फेरि सजीव तुल्याउने अपेक्षा गरिएको छ ।’
‘कार्यक्रमको मूल सन्देश साहित्यको स्मृतिलाई वर्तमानमा झिकेर भविष्यसँग गाँस्ने र त्यसकाे माध्यम गजल बनेको छ जुन भावना, चेतना र कलाको संयोजन स्वरूप हाे’ अनायसले भने । गजल मञ्च चितवनका अध्यक्ष अनायास भन्छन् ‘गजल केवल लयात्मक रचना होइन, यो समय, समाज र आत्माको अभिव्यक्ति हो । जुन पुस्ता–पुस्ताबीच साहित्यिक सेतु निर्माण गर्न सक्छ ।’ अनायासका अनुसार अग्रज स्रष्टाको अनुभूति, दृष्टिकोण र शिल्पलाई पुनः प्रस्तुत गर्नु भनेको आजको पुस्तामा मूल आत्माको पुनर्संयोजन गर्नु हो ।
‘कतिपय स्रष्टाहरूको आवाज हराएको जस्तो लाग्छ, तर त्यो हराएको होइन, केवल हामी सुन्न छाडेका हौँ । अग्रजका गजल भनेको ती स्वरहरूलाई फेरि सुन्ने संवेदनशीलता हो, जसले हामीलाई आफ्नै साहित्यिक आत्मासँग पुनर्मिलन गराउँछ’संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटाले भने ।
कार्यक्रममा रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !’, मञ्चका अध्यक्षसमेत रहेका गजलकार रामकृष्ण अनायासको ‘अनायास’ र गजलकार सरस्वती पौडेल को ‘प्रत्यूष’ गजलसंग्रह विमोचन हुने छ ।
कार्यक्रमलाई सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको छ । प्रसिश मोडुलर किचनले सहप्रायोजन गर्ने कार्यक्रम सम्पूर्ण किताब नारायणगढको सहयोग रहने छ । कायाकैरन दैनिक, विप्स मिडिया, पारदर्शी अनलाइनलगायत मिडिया पार्टनरको रुपमा रहेका छन् । अन्य केही संस्थाले कार्यक्रमलाई आफ्नो उत्पादन सौजन्य समेत गरेका छन् ।
प्रवेश निःशुल्क रहेको यस कार्यक्रम शनिबार दिउँसो २:०० बजेदेखि सुरु हुने जनाइएको छ। आयोजकले यस अवसरमा चितवन तथा नजिकका गजल अनुरागी, पाठक, स्रोता र स्रष्टाहरूको उपस्थितिलाई ऐतिहासिक बनाइदिन आह्वान गरेका छन् ।