भरतपुर, चितवन । चितवनको भरतपुरमा एक फरक लयमा साहित्यिक कार्यक्रमकाे तयारी गरिएकाे छ । साहित्यिक भूमि चितवनमा दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको लय गुन्जिने तयारी गरिएकाे हाे ।
गजल मञ्च चितवनको आयोजनामा २१ असार शनिबार भरतपुरमा रहेकाे चितवन माध्यमिक विद्यालयमा हुने ‘गजल उत्सव’ कार्यक्रममा ‘अग्रजका गजल’ सुनिने भएकाे हाे । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक मञ्चमा ल्याउने उद्देश्यसहित गजल मञ्च चितवनले अग्रजका गजल कार्यक्रम आयोजना गर्न लागिएकाे मञ्च अध्यक्ष रामकृष्ण अनायास बताउँछन् ।
कार्यक्रममार्फत चितवनमा बसेर दुई दशकअघिदेखि गजल सिर्जनामा जीवन अर्पिएका अग्रज स्रष्टाहरूलाई फेरि साहित्यिक यात्रातर्फ फर्काउने भावनात्मक प्रयत्न गरिने आयोजकले जनाएकाे छ । ‘गजल सिर्जनामा कहिल्यै पनि नथाक्ने तर जीवनका परिस्थितिले केही समय मौन बस्नुपरेका अनुभवी गजलकारलाई मञ्चमा सम्मानका साथ प्रस्तुत गरिनेछ’ अध्यक्ष रामकृष्ण अनायासले भने, ‘जसले चितवनको गजल साहित्यको सुरुवाती स्वरलाई फेरि सजीव तुल्याउने अपेक्षा गरिएको छ ।’
‘कार्यक्रमको मूल सन्देश साहित्यको स्मृतिलाई वर्तमानमा झिकेर भविष्यसँग गाँस्ने र त्यसकाे माध्यम गजल बनेको छ जुन भावना, चेतना र कलाको संयोजन स्वरूप हाे’ अनायसले भने । गजल मञ्च चितवनका अध्यक्ष अनायास भन्छन् ‘गजल केवल लयात्मक रचना होइन, यो समय, समाज र आत्माको अभिव्यक्ति हो । जुन पुस्ता–पुस्ताबीच साहित्यिक सेतु निर्माण गर्न सक्छ ।’ अनायासका अनुसार अग्रज स्रष्टाको अनुभूति, दृष्टिकोण र शिल्पलाई पुनः प्रस्तुत गर्नु भनेको आजको पुस्तामा मूल आत्माको पुनर्संयोजन गर्नु हो ।
‘कतिपय स्रष्टाहरूको आवाज हराएको जस्तो लाग्छ, तर त्यो हराएको होइन, केवल हामी सुन्न छाडेका हौँ । अग्रजका गजल भनेको ती स्वरहरूलाई फेरि सुन्ने संवेदनशीलता हो, जसले हामीलाई आफ्नै साहित्यिक आत्मासँग पुनर्मिलन गराउँछ’संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटाले भने ।
कार्यक्रममा रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !’, मञ्चका अध्यक्षसमेत रहेका गजलकार रामकृष्ण अनायासको ‘अनायास’ र गजलकार सरस्वती पौडेल को ‘प्रत्यूष’ गजलसंग्रह विमोचन हुने छ ।
कार्यक्रमलाई सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको छ । प्रसिश मोडुलर किचनले सहप्रायोजन गर्ने कार्यक्रम सम्पूर्ण किताब नारायणगढको सहयोग रहने छ । कायाकैरन दैनिक, विप्स मिडिया, पारदर्शी अनलाइनलगायत मिडिया पार्टनरको रुपमा रहेका छन् । अन्य केही संस्थाले कार्यक्रमलाई आफ्नो उत्पादन सौजन्य समेत गरेका छन् ।
प्रवेश निःशुल्क रहेको यस कार्यक्रम शनिबार दिउँसो २:०० बजेदेखि सुरु हुने जनाइएको छ। आयोजकले यस अवसरमा चितवन तथा नजिकका गजल अनुरागी, पाठक, स्रोता र स्रष्टाहरूको उपस्थितिलाई ऐतिहासिक बनाइदिन आह्वान गरेका छन् ।

