मकवानपुर । देशवासीका नाममा शुक्रबार अपराह्न गरेको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दाबी गरेका छन्।
‘दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ, अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ, यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ’, प्रधानमन्त्रीले सम्बोधनमा भने, ‘यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ।’
प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्नेसमेत बताए। ‘पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी विरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ’, उनले भने।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
बडा दशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका छन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।
यी चाडवाडहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरु हुन् । साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजनहीन जस्तो बनाउँछ ।
तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
बडा दशैंलाई विभिन्न बर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं । महाविनाशकारी भूँइचालो गएको साल पनि दशैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपाल मुनी बसेर भएपनि यस परम्परालाई धान्यौं ।
पारिवारिक मिलनको चाडका रुपमा बर्षमा एकचोटी हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक यस्ता महान् पर्वहरु मनायौं ।
यस वर्ष हामी, कोभिड–१९ महामारीको भूमरी बीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौं । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौं । पहिले–पहिले छुट्टी नमिल्दा र यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरु अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने र परिवारमा घूलमिल हुने अवस्थामा छैनौं । सतहमा सबै स्वस्थ देखिन्छौं, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनु पर्ने हो, टुङ्गो छैन । अनिश्चय र आशंकाको बीचमा हामी छौं ।
अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ ।
ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु । दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ । यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ । त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आप्mना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ ।
कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।
सामान्यतया यस्ता राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गर्दछन् । गत बर्ष चैत ११ गते पहिलोचोटी लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभित र असहाय महसुस गराउने प्रकृतिका थुप्रैं अफवाहहरु चलेका छन् । सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ । तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः पmाटेका छन् । जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०.६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ ।
मैले भन्दै आएको छु, महामारी बिरुद्धको यस लडाईंमा हामी प्रत्येक सिपाही हौं । हामी हरेकको यस लडाईंमा आफ्नो सुरक्षा, परिवारको सुरक्षा, अनि समुदाय र आमजनताको सुरक्षाको लागि योगदान हुनु आवश्यक छ । यसो भनिरहँदा, सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको छ । महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ । हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ । मृतकहरुको शव व्यवस्थापनको सन्र्दभमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ । सगसगै स्थानीय परम्परा र पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिक संलग्नतामा शव व्व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको छ । निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आप्mनै खर्चमा उपचार गराइरहनु भएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंमा प्रसंशनीय छ ।
कठीन घडीमा नै परिवार, नातागोता, छरछिमेकी र जनप्रतिनिधिहरुको सहयोगको महत्व हुन्छ । पीडाका घाउमा पारस्परिक सहयोग र एकताको भावनाबाट मल्हम लगाउन सकिन्छ । आफैं संक्रमित हुँदा होस् वा परिवारका कोही, त्यसको मनोवैज्ञानिक असर गहिरो हुन्छ । संक्रमित विरामीहरु संक्रमणले सिर्जना गरेको भयबाट अपहेलित हुने र उपचार नपाउनेजस्तो स्थिति हुनुहँुदैन । अत्यन्त सावधानी र आत्मीयताका साथ गरिने सहयोगी व्यवहारले विरामीहरुको मनोबल उच्च पार्न र छिटो निको बनाउन मद्दत पु¥याउँछ ।
यस महामारी विरुद्धको हाम्रो लडाईं राजनीति वा अन्य स्वार्थहरुको टकरावसँग सम्बन्धित छैन र हुनुहुँदैन । कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्नु त किमार्थ पनि उचित हुँदैन । फेरि पनि म दोह¥याएर स्पष्ट पार्न चाहन्छु, यस कठीन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा आफ्ना कर्तव्यहरुबाट विमुख हुनसक्दैन र भएको छैन । त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छु ।
यस्तो बेलामा हामीले सबै प्रकारका चिकित्सा प्रणालीहरु, तद्अन्तर्गतका विधि र औषधिहरु, तत्सम्बन्धी विज्ञ र चिकित्सकहरुको परामर्शमा मात्रै नियमको पालना र औषधिहरु सेवन गर्नु उचित हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने र सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणले युक्त रहेका घरेलु औषधीय तत्वहरुको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी छ ।
कोभिड–१९ बाट जनतालाई बचाउन मानवीय र सेवाभावका साथ आ–आफ्नो मोर्चामा हरेक खतरा र कठिनाई व्यहोर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था र व्यक्तिहरु निरन्तर क्रियाशील हुनुहुन्छ । अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरुप्रति उच्च सम्मानका साथ उहाँहरुको योगदानको प्रशंसा गर्दछु ।
यसपालीको बडा दशैं मनाइरहँदा म कोभिड–१९ संक्रमणका कारणले भएको मानवीय क्षतिप्रति दु:ख र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । संक्रमणबाट विरामी अवस्थामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस महामारीको संक्रमणबाट आफू जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो । त्यसैले, यसपालीको बडादशैं, हामी जो जहाँ जहाँ छौं, त्यहीँ त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु । संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी मैले पनि यसपाली प्रधानमन्त्री निवासमा हुने ‘बडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन गरिसकेको छु ।
दिदीबहिनी तथा दाजुभाइहरु,
जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं । यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ ।अनुशासन, उच्च मनोवल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।
बडादशैं २०७७ को सबैमा हार्दिक शुभकामना !
धन्यवाद ।
मकवानपुर । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८ सय ६३ नमुना परीक्षण गर्दा १ हजार ६ सय ९० महिला र २ हजार ८ सय ९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८ सय २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ लाख ५ हजार ४ सय ८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६ सय ९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७ सय २७ जना होम आइसोलेसनमा छन् भने २ सय ९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २हजार ७ सय २० संक्रमित थपिएका छन्,जसमध्ये काठमाडौंका २हजार ३ सय ५७, ललितपुरका २ सय ३६ र भक्तपुरका १ सय २७ जना छन् ।
यस्तै मोरङका २ सय २३ जना, काभ्रेका १ सय ६१, रुपन्देहीका १ सय ५२, चितवनका १ सय ४९, सुनसरीका १ सय ३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८/२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६/१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०/१० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७/७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६/६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५/५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४/४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३/३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २/२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।
मकवानपुर । मकवानपुरमा विहीबार वेलुका ४२ जना र शुक्रबार विहान २१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे सँगै मकवानपुरमा कोरोना भाइरस संक्रमण हुनेकाे संख्या २ हजार ७ सय १८ जना पुगेको छ । मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६ सय ३३ रहेको छ ।
यस्तै गत २४ घण्टामा मकवानपुरमा काेराेनाकाे कारण थप ३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् । मन्त्रालय अनुसार संक्रमणको कारण मृत्यु हुनहरुेमा हेटौंडाका ६६ वषीय पुरुष, ५१ वर्षीय पुरुष र ३३ वर्षीया महिला रहेका छन् । मन्त्रालयका अनुसार तीनै जनाकाे जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको हाे ।
यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा १९ जना हेटौंडा उपमहानगरपालिकाका र थाहा नगरपालिका,मनहरी,बागमती गाउँपालिकाका १/१ जना रहेका छन् ।
यस्तै देश भर थप ३ हजार २ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ रहेको थियो।
कोरोनाको महामारीले यतिबेला विश्व नै आक्रान्त भैसकेको छ । आठ महिना पुरा हुन लाग्यो कोरोनाको कारण असहज रुपले दैनिक गुजार्दै आएको । नेपाल सरकारले कोरोना संक्रमितहरुलाई निःशुल्क प्रदान गर्दै आएको उपचार सुविधा पनि पछिल्लो साताबाट कटौति गरेको छ । यससँगै आर्थिक अवस्था कमजोर भएकाहरु अस्पताल जान हच्किन थालेका छन् । संक्रमणपछि पनि घरैमा बस्ने र मृत्युवरण गर्नुपर्ने अवस्थामा गारिब नागरिकसँग पुगेका छन् । यद्यापि बागमती प्रदेश, प्रदेश १ सरकारले आफ्ना नागरिकको स्वास्थोपचारमा लागनी गर्दै आएको छ । नेपालको संविधानमा व्यवस्था भएको नेपाली नागरिकको यो मौलिक हक पनि हो । यो सवालमा प्रदेश सरकारहरुको यस्ता कमद प्रशंसनीय छन् ।
यसै महामारीको बिचमा नेपालमा वडा दशैं, दीपावली, छठ, नेपाल संवत् जस्ता पर्वहरु एकपछि अर्को गर्दै समुदायमा भित्रन सुरु भैसकेको छ । वडा दशैं पर्वको आज फूलपाति । अर्थात् विधिवत रुपमा राखिएको जमरामा आजकै दिन फूलपाति भित्र्याइन्छ । आजकै दिनबाट नेपालका सरकारी कर्मचारीहरुले दशै बिदा पाएका छन् । आजको २२ दिनबाट यमपञ्चक सुरु हुदै छ, लगतै छठ पर्वको रौनक सुरु हुने छ ।
अघिल्ला वर्षहरुमा जस्तो आफन्तहरुको भेला गरेर धुमधाम रुपमा पर्व मनाउने अवस्था अहिले विल्कलै छैन । आफू जहाँ जुन अवस्था रहेका छौं, त्यहीँ पर्व मनाउनु पर्ने अवस्था छ । टीका लागाउन आफू आफन्तकोमा जाने र भिडभाड गर्ने जस्ता कार्यले हाम्रै परिवारका ज्येष्ठ सदस्यहरुलाई संक्रमणको भय प्रवल रहन्छ । यस्तो कार्य विल्कलै नगरौं । कोभिड–१९ को यस विषम परिस्थितिमा आफू र आफ्ना परिवारजनको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई चाडपव मनाउनुमा नै बुद्धिमानी हुनेछ ।
यो महामारीबाट हामी सुरक्षित रहन सकेमा यस्ता पर्वहरु आगामी सालमा पनि मनाउन सकिने छ, तर अमूल्य ज्यान नै नरहे कहाँ पर्वको रौनकता बाँच्दछ र ? त्यसैले अति नै सचेत बनेर, सुरक्षित भएर पर्वहरु मनाऔ, संस्कृति बचाऔं । कोरोना संक्रमणपछि संघर्षको मैदानमा रहनु भएका व्यक्तिहरुकाे सिघ्र स्वास्थ्यलाभकाे कामना सहित आमनेपालीमा सुख शान्ति समृद्धी सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालीहरुको महानपर्व दशै, तिहार, नेपाल सम्वत र छट पर्बको शुभकामना दिएका छन् ।
विहीबार शुभकामना सन्देश प्रकाशित गर्दै उनले सदियाैं देखि हर्षाेल्लास पूर्वक मनाउने गरिएका हाम्रा चाड पर्वहरूले भाैगाेलिक सास्कृतिक भाषिक विविधताबीच रहेकाे माैलिक सास्कृतिक एकता र अापसि मेलमिलाप सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ वन्ने बताएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पारिवारिक सिमित घेरा भित्र रहेर चार्डपर्ब मनाउनका लागि उनले आग्रह गरेका छन् । चार्डपर्बको आशिर्बाद ग्रहण भेटघाट र पुनर्मिलन लाई प्रविधिको प्रयोग गर्न प्रदेश प्रमुख प्रसाईले आग्रह गरेका छन् । कोरोना कहरबाट सबैलाई मुक्ति मिलोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।
