मकवानपुर । मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्तिक १६ गते संकलन गरेको १ सय ३० जनाको स्वाब परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको हो । संक्रमण हुनेमा महिला ८ जना र पुरूष १५ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना,मनहरी र मकवानपुरगढी गाउँपालिकाका ३/३ जना र एक जना बकैया गाउँपालिकाका रहेका छन् । यस्तै जिल्ला बाहिर घर भएका १ जना रहेका छन् ।

मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ । कार्तिक १६ गते आइतबारबाट ३ दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गरिएकाे कार्यालयले जनाइएको छ ।

कार्यालयका राजश्व फाँटमा कार्यरत कर्मचारी र कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैंक हेटौँडा शाखाका कर्मचारीमा समेत कोभिड प्रकोपबाट पीडित हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको कार्यालय प्रमुख भक्तराज भण्डारीले बताए । उनले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा जानकारी दिइएकाे पनि बताए ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक हेटाैडाका १३ कर्मचारीमध्ये १० जना कर्मचारीलाई कोभिड पुष्टि भएकाले बैंकले पनि आज आइतबारबाट सबै प्रकारका सेवा केही दिनका लागि बन्द गरेको छ ।
मकवानपुर । कार्तिक १६ गते आइतबार सुन तथा चाँदीको मूल्य बढेकाे छ । सुन तोलामा पाँच सय रुपैयाँ बढेको छ भने चाँदी ताेलामा १५ रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार साताकाे पहिलाे दिन सुनको मूल्य पाँच सय बढेसँगै आइतबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्यसमेत तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ८८ हजार पुगेको छ ।
प्रदेशमा शुक्रबार २ हजार २ सय ६६ जना कोरोना संक्रमण थपिएसँगै संक्रमितको संख्या ८७ हजार ९ सय ९५ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
सेढाईका अनुसार हालसम्म प्रदेशको काठमाडौंमा ६० हजार ७ सय ३७, ललितपुरमा ८ हजार ६ सय ४८, भक्तपुरमा ५ हजार ६ सय २६, रसुवामा ८९, नुवाकोटमा ६ सय ३४, धादिङमा १ हजार ६ सय ६०, चितवनमा ४ हजार ६ सय ५८, सिन्धुलीमा ३ सय ७५, मकवानपुरमा ३ हजार ३ सय ३६, रामेछापमा ३ सय ५२, दोलखामा ३ सय १४, काभ्रेमा १ हजार ६ सय ३० र सिन्धुपाल्चोकमा ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ६४ हजार १ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशमा यसअघि ६१ हजार ४ सय ९३ जना संक्रमण मुक्त भएका थिए ।
त्यस्तै, प्रदेशमा हालसम्म कोरोना भाइरस ( कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ४४ जना पुगेको छ । शुक्रबार थप ११ जनाको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ४ सय ४४ जना पुगेको हो । शुक्रबार काठमाडौंका ३ जना, भक्तपुरका २ जना, काभ्रेका २ जना, चितवनका १ जना, नुवाकोटका एक जना, धादिङका एक जना र रामेछापका एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेशमा हाल कूल कोरोना संक्रमितमध्ये २३ हजार ४ सय ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रदेशमा हाल २ सय ६९ जना क्वारेन्टाइनमा, १ हजार २ सय ८२ जना होम क्वारेन्टाईनमा, ३ हजार ६ सय ११ जना आइसोलेशनमा र १७ हजार ६ सय ९२ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।
यसै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको काराेना संक्रमणका कारण मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् ।
सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको समन्वयमा नेपाली सेनाले गत कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेकोले मृतककाे संख्या र स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क बीच एकरूपता नदेखिएकाे हाे ।
मकवानपुर । नेपाल विद्यार्थी संघले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचार गराउनु पर्ने माग गरेको छ ।
नेविसंघअध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि गत कात्तिक १० गते निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् ।
“अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
नेविसंघ महामन्त्री दिपक भट्टराईले भारतको शिक्षालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि लक्षित गरी गरिएको आक्रमण निन्दनीय भएको बताए। देहरादून घटनाले विश्वभर छरिएर रहेका नेपाली विद्यार्थीलाई गम्भीर बनाएको उनको भनाइ छ । विश्वभर छरिएर रहेका नेपाली विद्यार्थीमाथि हुने कुनै प्रकारको अभद्र व्यवहार नेविसंङलाई सह्य नहुने भट्टराईले बताए ।
यस्तै नेविसंघले देशको भविश्य सुनौलो बनाउने सपनाका साथ स्वदेश तथा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीलाई सबै किसिमको सुरक्षा प्रदान गर्न सरकारसँग माग समेत गरेको छ ।