मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ८८ हजार पुगेको छ ।
प्रदेशमा शुक्रबार २ हजार २ सय ६६ जना कोरोना संक्रमण थपिएसँगै संक्रमितको संख्या ८७ हजार ९ सय ९५ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
सेढाईका अनुसार हालसम्म प्रदेशको काठमाडौंमा ६० हजार ७ सय ३७, ललितपुरमा ८ हजार ६ सय ४८, भक्तपुरमा ५ हजार ६ सय २६, रसुवामा ८९, नुवाकोटमा ६ सय ३४, धादिङमा १ हजार ६ सय ६०, चितवनमा ४ हजार ६ सय ५८, सिन्धुलीमा ३ सय ७५, मकवानपुरमा ३ हजार ३ सय ३६, रामेछापमा ३ सय ५२, दोलखामा ३ सय १४, काभ्रेमा १ हजार ६ सय ३० र सिन्धुपाल्चोकमा ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ६४ हजार १ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशमा यसअघि ६१ हजार ४ सय ९३ जना संक्रमण मुक्त भएका थिए ।
त्यस्तै, प्रदेशमा हालसम्म कोरोना भाइरस ( कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ४४ जना पुगेको छ । शुक्रबार थप ११ जनाको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ४ सय ४४ जना पुगेको हो । शुक्रबार काठमाडौंका ३ जना, भक्तपुरका २ जना, काभ्रेका २ जना, चितवनका १ जना, नुवाकोटका एक जना, धादिङका एक जना र रामेछापका एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेशमा हाल कूल कोरोना संक्रमितमध्ये २३ हजार ४ सय ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रदेशमा हाल २ सय ६९ जना क्वारेन्टाइनमा, १ हजार २ सय ८२ जना होम क्वारेन्टाईनमा, ३ हजार ६ सय ११ जना आइसोलेशनमा र १७ हजार ६ सय ९२ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।
यसै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको काराेना संक्रमणका कारण मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् ।
सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको समन्वयमा नेपाली सेनाले गत कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेकोले मृतककाे संख्या र स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क बीच एकरूपता नदेखिएकाे हाे ।

