मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३५७ औं सन्ध्या अप्सरा तिम्सिना स्मृति बिशेष आयोजना गरिएको छ । साहित्य सङ्गम र आँचल साहित्य कला पुञ्ज मकवानपुरले संयुक्त रुपमा शनिबार ३५७ औं नियमित सन्ध्या तिम्सिना बिशेष आयोजना गरेको हो ।
स्रष्टा तिम्सिनाको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्ने कार्य संगै प्रगतिशील लेखक संघ बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दनाले दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारेकी थिइन् । नियमित सन्ध्यामा विजनेश सिग्देल, स्वस्तिका बानियाँ, मनोज मधुर, सानुभाइ विक, राजकुमार चौधरी, देवराज खरेल, यश लामा, गोकर्ण लामा, जनार्दन खनाल, राजकुमार लामिछाने, निरा शर्मा, सावित्री ढुङ्गाना, सानु खनाल र तुलसी घिमिरेलगायतले रचना वाचन गरेका थिए ।
त्यसैगरी नियमित सन्ध्यामा सङ्गमको अक्षयकोष निर्माणार्थ सहयोगीहरूलाई कदरपत्रसहित सम्मान समेत गरिएको छ । सङ्गमको अक्षयकोष निर्माण अभियानमा सहयोग गरी सम्मानित हुनेहरुमा रमेशमोहन अधिकारी, भरत लौडारी, दीपक दाहाल, सीताराम दाहाल, मधु ढुङ्गाना, रिदम घिमिरे, रिना आचार्य, गोविन्द चौलागाईं, राजकुमार बिक, पुरुषोत्तम लामिछाने,वकेशव श्रेष्ठ ‘ज्योति’ र देवीराम लामा रहेका छन् ।
अक्षयकोष निर्माण अभियानमा सहयोग गर्ने महानुभावलाई अन्य कार्यक्रममा सम्मान गरिने सङ्गम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उनका अनुसार ३५७ औं सन्ध्याकै अवसरमा साहित्यकार राजकुमार लामिछाने सङ्गमको अक्षयकोष निर्माणका लागि १७ हजार ७ सय १७ सहयोग गरेका छन् । २८ भदौ २०८० देखि सङ्गमले सञ्चालन गरेकाे अक्षयकोष निर्माण अभियानमा हालसम्म ८ लाख २३ हजार ७० रुपियाँ सङ्कलन भएको उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले भाषा साहित्यको उन्नयनमा निरन्तर लागिपरेकाे बताउँदै अप्सरा तिम्सिनाको स्मृति ग्रन्थ प्रकाशनमा सहयोग गर्ने बताए । ‘सङ्गमको अक्षयकोष निर्माणमा समेत वडाकाे साथ रहन्छ’ उनले भने । साहित्यकार तुलसी घिमिरेले सङ्गमले गुणात्मक कार्यक्रम गर्ने गरेकाे बताउँदै संस्थाको निरन्तर प्रगति भएकोकाे खुसी व्यक्त गरे । अक्षयकोष निर्माणमा सहयोग गर्ने तर्फबाट साहित्यसेवी मधु ढुङ्गानाले आफ्नो भनाइ राखेका थिए ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलकाे प्रमुख आतिथ्यता तथा साहित्यकार तुलसी घिमिरेकाे विशेष आतिथ्यतामा भएकाे विशेष सन्ध्याकाे सहजिकरण सङ्गमका उपाध्यक्ष सानु खनालले गरेका थिए ।
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले वृक्षारोपण गरेको छ । युवा संघको एक महिने अभियान अन्तर्गत शनिबार जिल्ला कमिटीको आयोजनामा हेटौडा-९ को कर्णावती छ्योदेन गुम्बा परिसरमा वृक्षारोपण गरिकाे हाे ।
गुम्बा परिसरमा फलफुल जातका कागती, अम्बा, लिच्ची, जामुन, तेजपत्तालगायत १०० भन्दा बढी बिरुवा रोपिएको हो । ‘हरियाली हाम्रो पहिचान, वृक्षरोपण हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपालले १४ असार २०८२ देखि १४ साउन २०८२ सम्म १ महिनालाई विशेष कार्यक्रमका साथ वृक्षरोपण अभियान चलाएको युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिए । उनका अनुसार युवासघ थाहा नगर कमिटीले पनि शनिबार नै पालुङमा वृक्षारोपण कार्यक्रम गरेको छ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, बागमती प्रदेश कमिटी सदस्य एवं पुर्वमन्त्री एकलाल श्रेष्ठ, एमाले जिल्ला कमिटी उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, उपसचिव आरती पाठक र फुर्वा लामा, युवा संघका केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ केन्द्रीय सदस्य सागर पाण्डे लगायतको सहभागिता रहेको थियो।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले एसइई २०८१ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र विषय शिक्षकलाई सम्मान गरेकाे छ । शुक्रबार ४ नम्बर वडा कार्यालयकाे आयोजना र शैक्षिक गुणस्तर सुधार समितिकाे व्यवस्थापनमा विद्यार्थी र शिक्षकलाई सम्मानित गरेको हाे।
हेटौंडा – ४ नम्वर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई २०८१ मा जीपीए ४ सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषय शिक्षकलाई सम्मान गरिएकाे शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा – ४ का अध्यक्ष श्रीराम दाहालले जानकारी दिए । एसइईमा जीपीए ४ प्राप्त गर्ने नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विमर्श श्रेष्ठ र अनुषा उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएकाे हाे ।
त्यसैगरी वडामा संचालनमा रहेका सामुदायिक तथा संस्थागत गरी ६ वटा माविबाट जीपीए ३.२ भन्दा माथिको नतिजा ल्याउने विद्यार्थीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरिएकाे हाे । यसैगरी विषयगत ९५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएकाे छ ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्ष, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्य तथा वडाध्यक्ष नवीन सिक्देलको विशेष आतिथ्यमा सम्मान कार्यक्रम भएकाे हाे ।
मकवानपुर । बागमतीका ४ मन्त्रीले राजिनामा दिएका छन् । यससंगै अविश्वासको प्रस्ताव दर्ता हुँदैछ ।
युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद् (प्रदेश सीटीइभीटी) मा ६ सदस्य नियुक्त गरेको छ । प्रदेश सीटीइभीटीमा मकवानपुरका उज्वल चौलागाईंसहित ६ जना सदस्य नियुक्त गरिएको हो ।
प्रदेशकाे सामाजिक विकास मन्त्रीस्तरीय निर्णयअनुसार नियुक्त भएका चौलागाईंसहित ६ जना सदस्यलाई बिहीबार सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शपथ ग्रहण गराएकी छिन् । नियुक्त गरिएको ६ जना सदस्यहरू विज्ञता र प्रतिनिधि तर्फबाट छनौट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
परिषद्को सदस्यमा हेटौंडा उपमहानगरपालिका -६ का चौलागाईंसहित धादिङ धुनिबेशी नगरपालिका–५ का नवराज धिताल, चितवन खैरहनी नगरपालिका–१२ का नन्दकिशोर चौधरी, सिन्धुली घ्याङ्लेख गाउँपालिका–२ की सीतामाया स्याङ्तान, काठमाडौं–१६ की हसना महर्जन र काठमाडौं–२८ का माधव देव पन्त मनोनीत भएका छन् । ऐनको दफा ३ को उपदफा (२) खण्ड (ठ) बमोजिम प्रदेश स्तरीय ट्रेड युनियन समन्वय समितिबाट एक जना सदस्य मनोनयन हुन बाँकी रहेको बताइएकाे छ ।
‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार गठित परिषदमा सामाजिक विकास मन्त्री अध्यक्ष रहने व्यवस्था छ भने एक कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ । सो बाहेक अन्य सदस्यहरूमा नीति तथा योजना आयोग, विभिन्न मन्त्रालयका सचिवहरू, प्राविधिक तालिमका विज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका सदस्य रहने व्यवस्था छ ।