मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद् (प्रदेश सीटीइभीटी) मा ६ सदस्य नियुक्त गरेको छ । प्रदेश सीटीइभीटीमा मकवानपुरका उज्वल चौलागाईंसहित ६ जना सदस्य नियुक्त गरिएको हो ।
प्रदेशकाे सामाजिक विकास मन्त्रीस्तरीय निर्णयअनुसार नियुक्त भएका चौलागाईंसहित ६ जना सदस्यलाई बिहीबार सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शपथ ग्रहण गराएकी छिन् । नियुक्त गरिएको ६ जना सदस्यहरू विज्ञता र प्रतिनिधि तर्फबाट छनौट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
परिषद्को सदस्यमा हेटौंडा उपमहानगरपालिका -६ का चौलागाईंसहित धादिङ धुनिबेशी नगरपालिका–५ का नवराज धिताल, चितवन खैरहनी नगरपालिका–१२ का नन्दकिशोर चौधरी, सिन्धुली घ्याङ्लेख गाउँपालिका–२ की सीतामाया स्याङ्तान, काठमाडौं–१६ की हसना महर्जन र काठमाडौं–२८ का माधव देव पन्त मनोनीत भएका छन् । ऐनको दफा ३ को उपदफा (२) खण्ड (ठ) बमोजिम प्रदेश स्तरीय ट्रेड युनियन समन्वय समितिबाट एक जना सदस्य मनोनयन हुन बाँकी रहेको बताइएकाे छ ।
‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार गठित परिषदमा सामाजिक विकास मन्त्री अध्यक्ष रहने व्यवस्था छ भने एक कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ । सो बाहेक अन्य सदस्यहरूमा नीति तथा योजना आयोग, विभिन्न मन्त्रालयका सचिवहरू, प्राविधिक तालिमका विज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका सदस्य रहने व्यवस्था छ ।

