मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३५७ औं सन्ध्या अप्सरा तिम्सिना स्मृति बिशेष आयोजना गरिएको छ । साहित्य सङ्गम र आँचल साहित्य कला पुञ्ज मकवानपुरले संयुक्त रुपमा शनिबार ३५७ औं नियमित सन्ध्या तिम्सिना बिशेष आयोजना गरेको हो ।
स्रष्टा तिम्सिनाको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्ने कार्य संगै प्रगतिशील लेखक संघ बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दनाले दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारेकी थिइन् । नियमित सन्ध्यामा विजनेश सिग्देल, स्वस्तिका बानियाँ, मनोज मधुर, सानुभाइ विक, राजकुमार चौधरी, देवराज खरेल, यश लामा, गोकर्ण लामा, जनार्दन खनाल, राजकुमार लामिछाने, निरा शर्मा, सावित्री ढुङ्गाना, सानु खनाल र तुलसी घिमिरेलगायतले रचना वाचन गरेका थिए ।
त्यसैगरी नियमित सन्ध्यामा सङ्गमको अक्षयकोष निर्माणार्थ सहयोगीहरूलाई कदरपत्रसहित सम्मान समेत गरिएको छ । सङ्गमको अक्षयकोष निर्माण अभियानमा सहयोग गरी सम्मानित हुनेहरुमा रमेशमोहन अधिकारी, भरत लौडारी, दीपक दाहाल, सीताराम दाहाल, मधु ढुङ्गाना, रिदम घिमिरे, रिना आचार्य, गोविन्द चौलागाईं, राजकुमार बिक, पुरुषोत्तम लामिछाने,वकेशव श्रेष्ठ ‘ज्योति’ र देवीराम लामा रहेका छन् ।
अक्षयकोष निर्माण अभियानमा सहयोग गर्ने महानुभावलाई अन्य कार्यक्रममा सम्मान गरिने सङ्गम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उनका अनुसार ३५७ औं सन्ध्याकै अवसरमा साहित्यकार राजकुमार लामिछाने सङ्गमको अक्षयकोष निर्माणका लागि १७ हजार ७ सय १७ सहयोग गरेका छन् । २८ भदौ २०८० देखि सङ्गमले सञ्चालन गरेकाे अक्षयकोष निर्माण अभियानमा हालसम्म ८ लाख २३ हजार ७० रुपियाँ सङ्कलन भएको उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले भाषा साहित्यको उन्नयनमा निरन्तर लागिपरेकाे बताउँदै अप्सरा तिम्सिनाको स्मृति ग्रन्थ प्रकाशनमा सहयोग गर्ने बताए । ‘सङ्गमको अक्षयकोष निर्माणमा समेत वडाकाे साथ रहन्छ’ उनले भने । साहित्यकार तुलसी घिमिरेले सङ्गमले गुणात्मक कार्यक्रम गर्ने गरेकाे बताउँदै संस्थाको निरन्तर प्रगति भएकोकाे खुसी व्यक्त गरे । अक्षयकोष निर्माणमा सहयोग गर्ने तर्फबाट साहित्यसेवी मधु ढुङ्गानाले आफ्नो भनाइ राखेका थिए ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलकाे प्रमुख आतिथ्यता तथा साहित्यकार तुलसी घिमिरेकाे विशेष आतिथ्यतामा भएकाे विशेष सन्ध्याकाे सहजिकरण सङ्गमका उपाध्यक्ष सानु खनालले गरेका थिए ।

