मकवानपुर/छोरीलाई बढी संस्कारमा राख्न खोज्ने तर छोरालाई त्यै संस्कार बारे कम सचेत पार्ने गर्दा समाजमा हिंसा बढेको हेटौंडा ११ को वडा सदस्य जुना दाहालले बताएकी छन् । समाजमा हिंसा व्याप्त रहेको र रोकथामको लागि परिवारबाटै सचेतना, नैतिकताको सवालमा ध्यान दिनुपर्ने वडा सदस्य दाहालले बताएकी छिन् ।
हेटौंडा उपमहानगरपालिका वडा ११ मा आयोजना गरिएको लैङ्कि हिंसा विरुद्ध सचेतना कार्यक्रममा उनले यस्तो बताएकी हुन् । हिंसा विरुद्ध अभियानमा महिलासँगै पुरुषहरूको पनि उपस्थिति गराउन पर्ने दाहालले बताइन् । ‘बालिकालाई निश्चित परिधिभित्र राखेर मात्रै हिंसाको अन्त्य हुँदैन, हिंसा विरुद्धको अभियानमा बालकहरू, किशोरहरू, पुरूषलाई पनि अनिवार्य सहभागी गराउन पर्छ’ उनले भनिन् ।
वड स्तरीय महिला जागरण समूहको आयोजना,हेटौंडा उपमहानगरपालिकाको सहकार्य तथा नगर स्तरीय महिला जागरण समूहकाे समन्वयमा आयाेजित लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत महिलाहरूको लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम मंगलबार गरिएको थियो ।
कार्यक्रममा वडा समन्वय समितिका देवकुमार श्रेष्ठले पुरूष प्रधान संस्कारकै कारण महिलाको नेतृत्व स्वीकार नगरिएको बताउँदै यसले पनि हिंसा बढेको बताए ।

घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अधिकारकर्मी तथा मकवानपुर महिला समूहको कार्यक्रम संयोजक निशा लामाले हिंसा विरुद्धको अभियान बारे कार्यपत्र प्रस्तुत गरेकि थिइन् । महिलाले गर्भावस्थादेखि नै कुनै न कुनै प्रकारको हिंसा भोग्नु परेको लामाले बताइन् ।
महिलाहरूले प्रजनन हकको रक्षा हुनुपर्नेमा प्रजनन विषयलाई नै लिएर हिंसा व्याप्त रहेको लामाले बताइन् । कार्यक्रममा नगर स्तरीय महिला जागरण समूह अध्यक्ष तारा ढुंगानाले महिलाहरूमा जागरण ल्याउन सकेमा हिंसाको घटनाहरू कम गर्न सकिने बताइन् ।
कार्यक्रममा वडाको टोल बिकास समूहका पदाधिकारी, सहकारीको प्रतिनिधि, सामाजिक अगुवाहरूको उपस्थिति रहेको वडा स्तरीय महिला जागरण समूह सचिब ‘सिता कंडेल बस्तोलाले बताइन् । कार्यक्रम समूहको कार्य बाहक अध्यक्ष शोभ लामिछानेको अध्यक्षतामा भएको थियो ।
मकवानपुर / हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हिंसा सहेर नबस्न आग्रह गरेका छन् । हिंसा सहनाले थप हिंसा निम्तने जोखिम बढी हुने भएकोले हिंसाको प्रतिकार गर्न नगरप्रमुख महतले आग्रह गरेका हुन् ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिका १६ मा रहेको वडा स्तरीय महिला जागरण समुहले आयोजना गरेको सचेतनामुलक लोक दोहोरी कार्यक्रममा महतले यस्तो बताएका हुन् । समूहको अध्यक्ष सरला बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम वडा अध्यक्ष रामकृष्ण कोईरालाले आर्थिक विपन्नताको कारण समाजमा हिंसा व्याप्त रहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटाले आर्थिक समृद्धिको लागि आ आफ्नो स्थानबाट लागि पर्नुपर्ने बताए । महिलाको आर्थिक अवस्था उकास्न, सामाजिक सचेतना अभिवृद्धि गर्न स्थानीय स्तरमा रहेका महिला जागरण समूहहरूले भूमिका निर्वाह गर्नुपर्ने सापकोटाले बताए ।

स्थानीय प्रहरी, समाुदायिव वनका प्रतिनिधिहरु, टोल विकास समूहका पदाधिकारी तथा प्रतिनिधिहरु, आमा समूहका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितीमा लैङ्गिक हिंसा विरुद्ध सचेतना अभिवृद्धीको लागि लोक दोहोरी कार्यक्रम गरिएको समूह अध्यक्ष बानियाँले बताइन् ।
गितका माध्यमबाट हिंसा विरुद्ध प्रतिकार गर्न, हिंसाको उजुरी गर्ने र सहेर नबस्न सन्देश मिलेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।
मकवानपुर / हिंसाको सवाल महिलाको मात्रै नभई सिङ्गो समाज र राष्ट्रिय सवाल भएको नेकपा एमाले केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य जुनेली श्रेष्ठले बताएकी छन् ।
बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्यमन्त्री श्रेष्ठले हिंसा उन्मुलनमा व्यक्ति व्यक्ति सचेत हुनुपर्ने बताइन् । “जहाँ हिंसा हुन्छ त्यहाँ अनेमसंघ पुग्नुपर्छ” श्रेष्ठले भनिन् “सबै बर्ग र समूदायको हिंसा विरुद्ध अनेमसंघ बोल्नुपर्छ ।”
अखिल नेपाल महिला संघ जिल्ला कमिटी मकवानपुरले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा आयोजना गरेको १ दिवसीय सचेतना कार्यक्रममा श्रेष्ठले यस्तो बताएकी हुन् । महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसाको विरुद्ध न्यायको लडाईमा लागि पर्न श्रेष्ठले आग्रह गरिन । हिंसा गर्नेलाई नेकपा एमालेले कुनै पनि रूपमा संरक्षण नगर्ने उनले बताइन् ।
कार्यक्रम अनेमसंघ केन्द्रिय कमिटी सचिवालय सदस्य तथा मकवानपुर इन्चार्ज पद्मा पौडेलले हिंसा विरुद्धको अभियानपछि धेरै उपलब्धि भएको भए पनि ती उपलब्धि संस्थागत गर्न चुनौती रहेको बताइन् । “अनेमसंघको अभियान महिला माथिको हिंसा मात्रै हैन, मानव माथीको हिंसा विरुद्ध हो” पौडेलले भनिन् । अनेमसंघले २० बर्षदेखी यो अभियान जारी राखेको उनले बताइन् । हिंसा रोक्नको लागि कानुन बनाउने र कार्यान्वयन तहमा महिला पुग्नुपर्ने बताइन् ।
कार्यक्रम पार्टी जिल्ला अध्यक्ष बद्री लम्सालले हिंसाको सवाल महिलाको मात्रै नभई समाजले चासो राख्नुपर्ने सवाल भएको बताए । सचेत बर्गले आफू आवद्ध समुदाय समूह सन्जालमा सम्प्रेषण गरेर हिंसाको रूपहरू समाप्त गर्नेपर्ने अध्यक्ष लम्सालले बताए । हिंसाको उन्मुलन गर्न हिंसाको कारण पत्ता लगाएर उपचार विधि अवलम्बन गर्नुपर्ने उनले बताए । बिभेदयुक्त समाज समाजवाद उन्मुख हुन नसक्ने उनले बताए ।
यसैगरी पार्टी जिल्ला सचिब एकालाल श्रेष्ठले हिंसा मुक्त भएमात्र समाजवाद अगाडि बढाउन सकिने बताए । “समाज विकाससंगै नयाँ नयाँ समस्या जन्मनु स्वभाविक हो, त्यस्तो समस्या अन्त्यको लागि सामाजिक नेतृत्वले लागि पर्नु पर्छ” श्रेष्ठले भने “समाजमा बिबिधिकरणयुक्त समस्या हुन्छ, लैङ्गक,सामाजिक, मानसिक हिंसा सबैको अन्त्यको लागि संविधानमा व्यवस्था गरिएको छ ।” संविधान, ऐन कानुनी रूपमा महिला सहभागीता, निर्णयमा महिलाको उपस्थिति बारे गरेको व्यवस्था जानकारी उनले गराए ।
कार्यक्रम अनेमसंघ जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष काफ्लेले अध्ययन अनुसन्धान गरेर क्षमता अभिवृद्धि गर्दै हिंसा विरुद्धको नेतृत्वमा लाग्नुपर्ने बताइन् । हिंसाको विरुद्ध अनेमसंघ सधै तत्पर रहेको उनले बताइन् । संगठनले स्थापनाकालदेखि नै सामाजिक न्यायको लडाइँलाई आत्मसात गर्दै आएको काफ्लेले बताइन् । जिल्लाको सबै पालिकामा कमिटी बनेको र हिंसा विरुद्ध न्यायको खातिर लागिपरेको उनले बताइन् । अनेमसंघले जिल्लाको सबै पालिकामा लैङ्गिक हिंसा विरुद्धको अभियानमा सचेतना कार्यक्रम गर्ने काफ्लेले बताइन् ।
अनेमसंघले हिंसा विरुद्धको अभियान बर्षैभरी विभिन्न रूपमा जारी राखेकोले कुनै पनि प्रकारको हिंसा सहेर नबस्न र सम्बन्धित निकायमा उजुरी गर्न अनेमसंघ जिल्ला सचिब साधना श्रेष्ठले अनुरोध गरिन ।
बालमैत्री स्थानीय शासन लागू गर्न सामुहिक प्रतिवद्धता
Tags: No Comments
मकवानपुर । मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्न तथा यस अभियानमा सहभागी हुन सरोकारवालाहरुले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका संघसंस्था, सम्बन्धित सरोकारवालाहरूले बालमैत्री स्थानीय शासन अभियानको प्रक्रियागत कार्यान्वयन, घोषणा तथा दीगोपनका लागि आ–आफ्नो कार्य प्रक्रियामा समायोजन गरी बालमैत्री पद्वतीको माध्यमले समाज रूपान्तरणको महाअभियानलाई सफल बनाउँने प्रतिवद्धता पत्रका हस्ताक्षर गरेका हुन् ।
बुधबार पालिकामा आयोजना गरिएको अन्तरक्रिया एवम् प्रतिवद्धता कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाई, वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रामकुमार पुडासैनीलगायत सरोकारवालाहरुले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले भौतिक विकासको पाटोलाई मात्रै महत्व दिने परीपाटीको अन्त्य हुनुपर्ने बताए । ‘भौतिक विकासलाई मात्रै विकास मानिदैन, भौतिक विकासको पाटो एकातिर छ, तर सामाजिक विकास र आर्थिक विकासको पाटोमा नसोचे शुसासन युक्त विकास संभव छैन’ हुमगाईले भने ‘सामाजिक विकास अन्तरगत बालमैत्री शासन धेरै महत्वपूर्ण पाटो हो ।’

बालमैत्री शासन किन भन्ने बुझाउने काम लगभग सकिएको र बालबालिकामाथिको लगानी सयौं बर्षको लागि लगानी हुने उनले बताए । बालमैत्रीमा गरेको लगानीले विकासका अरू अभियानलाई समेत दीगो बनाउने उनले बताए । आगामी माघको अन्त्यसम्म मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको बताउँदै अध्यक्ष हुमगाईले भने ‘ थोरै समयमा धेरै काम गर्न बांकी छ, सबैको समूहिक साथ चाहिन्छ ।’

गाउँपालिकामा हुने गरेको बाल बिबाह,बाल श्रम जस्ता कुराहरु अझै चुनौतीपूर्ण रहेको उनले बताए । चाँडो बिहे गर्दा आउने गम्भीर समस्याबारे अभिभावकले जानकारी गराउन पर्ने उनले बताए । ‘बाल विवाह विरुद्धको कानून बनिसक्यो अब चर्चामात्रै हैन, गम्भीर हुनुपर्छ’ उनले भने ।
कार्यक्रममा गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृत रामकुमार पुडासैनीले गत
२०७७ माघ १९ बाट सुरू भएको अभियान कोभिडको कारण केही समय रोकिए पनि निरन्तर काम भैरहेको बताए । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि हाल ५१ वटा सूचक पुरा गरेको हुनुपर्ने पुडासैनीले बताए ।
कार्यक्रममा कार्य पत्र पस्तुत गर्दै पुडासैनीले भने ‘‘बालबालिका समस्या सामाधानको लागि चाहिने स्रोत हुन्, उनीहरु माथि खर्च गरेको हैन लगानी गरेको सम्झनु पर्दछ ।’ गाउँपालिकामा बाल विवाह, बाल प्रेम विवाह, बाल श्रम, जातीय तथा लैङ्गिक विभेद, घरेलु हिंसा, यौन शोषण, शारीरिक तथा मानसिक हिंसा, बेचबिखन तथा ओसारपसार जस्ता कुरीतिहरु चुनौतिको रुपमा रहेको पुडासैनीले बताए ।

कार्यक्रममा सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञवलीले चुनौतिहरुलाई चिर्दै बालअधिकारको सवाल प्रत्याभुत गराउनु पर्ने बताए । ‘जन्मदर्ता नहुदा आईपर्ने समस्या यावत् छन्, सबै बालबालिकाको जन्मदर्ता हुनुपर्छ’ उनले भने ।
मकवानपुरगढी गाउँपालिका वडा ५ अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । ‘मोबाइलको कारण बाल बिबाह बढाएको छ, सहकारी र टोल बिकासले बालमैत्रीको लागि महत्वपूर्ण योगदान गर्न सक्छ र गर्नुहुने छ भन्ने अपेक्षा हामीले गरेका छौ’ अध्यक्ष घिमिरेले भने ।
कार्यक्रममा बालमित्री अभियानको फोकल पर्सन रामप्रसाद दाहाल, अधिकारकर्मी कविराज हुमगाई, स्थानीय सहकारी, बालक्लब, आमा समूह, टोल विकासलगायतको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर/हिंसा विरुद्ध सचेत समाज निर्माणको लागि शिक्षक, बालबालिका तथा अभिभावकलाई एउटै थलोमा राखेर कार्यक्रम गरिएको छ ।
हिमराइट्स मकवानपुरको आयोजना तथा कोर ईन्टरनेशनल क्यानडा को आर्थिक सहयोगमा महिला हिंसा विरुद्ध को १६ दिने अभियान अन्तर्गत मनहरी गाउँपालिका–३ स्थित श्री प्रजा आधारभुत विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरु एकै साथ सहभागी गराई महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।

लैङ्गिक हिंसाबारे जानकारी, यसबाट बच्ने उपाय जस्ता सवालमा छलफल तथा अन्तरक्रिया गरिएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइवाले बताइन् । शिक्षक तथा अभिभावकहरु समेतको सहभागीतामा कार्यक्रम गर्दा यसको प्रभावकारीता राम्रो हुने भएकोले यसरी समग्रमै कार्यक्रम गरिएको हिमराइट्स मकवानपुर प्रमुख वाइबाले बताइन् ।

सहभागीहरुलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर हिंसा विरुद्ध सशक्तिकरणको सवालहरुसँगै मानवअधिकार, मानवबेचबिखन विरुद्ध र बालबालिका माथी हुने विभिन्न किसिमका हिंसा र दुव्र्यवहार समबन्धी प्रशिक्षण दिइएको हो । कार्यक्रममा प्रमुख वाइबा तथा माइती नेपाल मकवानपुर प्रमुख मायाल लामाले प्रशिक्षण गराएका थिए ।

हिमराइट्सले सिमान्त्कृत समुदायको शिक्ष तथा नेतृत्व विकासको लागि कार्यक्रम गर्दै आएको छ । लैङ्गिक हिंसा विरुद्धको सवाल शिक्षा र नेतृत्वसँग जाडिएको सवाल भएकोले हिंसा विरुद्धको अभियान नै मानव अधिकार प्रत्याभुतको आधार भएको वाइबाले बताइन् । हिंसा विरुद्धको सवाल उठाइदा मानव अधिकारको सवाल, शिक्षा र सशक्तिकरणको सवाल पनि जोड्नु पर्ने उनले बताइन् ।