यौन दुर्व्यबहार आरोपित २ शिक्षक प्रहरीको नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । स्कुले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका २ जना शिक्षकहरूलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्ला बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका ३ शिक्षक मध्ये २ जना शुक्रबार पक्राउ परेका हुन् । शुक्रबार राति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याईएको प्रहरीले जनाएको छ ।
अर्का एक शिक्षक भने २५ चैतमै आफैं प्रहरीको सम्पर्कमा आएका थिए । आरोपित शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आए पनि अन्य दुई फरार रहेकोमा ढिलो गरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ । जनता माबिका तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै २२ चैत्रमा विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
बिद्यालयमा तोडफोड भएपछि बाहिरिएको यो घटना बिरुद्व स्थानीय स्तरमै मिलाउन खोज्दा अधिकरकर्मीहरूले बिरोध जनाएका थिए । सुरक्षा चुनौतीका बिच २४ चैत्रको मध्य रातमा केही छात्राहरूको अभिभावक र छात्राहरूले समेत जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका थिए ।
आरोपित शिक्षकहरू र पीडत छात्राहरू स्थानीय भएको कारण जाहेरी र पक्राउपछि सुरक्षा चुनौती रहेको बताईएको छ । बिद्यार्थीहरूले गत ७ चैतमा बिद्यालय प्रशासनसमक्ष आफूहरू शिक्षकद्वारा पीडित भएको भन्दै निवेदेन दिएका थिए ।
मकवानपुर । मकवानपुर महिला उद्यमी व्यवसायी संघ मकवानपुरले ज्येष्ठ सदस्यलाई सम्मान गरेकाे छ । ज्येष्ठ सदस्य सम्मानबाट संघकी सल्लाहकार इन्दिरा गुरुङ सम्मान भएकी छन् ।
संघको हेटाैडामा भएकाे नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन गुरुङलाई ज्येष्ठ सदस्यलाई सम्मान गरिएको हाे ।यसैगरी भूटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, संघकी निवर्तमान कोषाध्यक्ष रमा श्रेष्ठलाई सम्मान गरिएको छ ।
उत्कृष्ट व्यवसायी पुरस्कारबाट २०५५ सालदेखि निरन्तररुपमा व्यवसाय सञ्चालन गर्दै आएकी रञ्जना श्रेष्ठ र २०६९ सालबाट व्यवसाय सञ्चालन गरिँदै आएकी मनु लामालाई सम्मान गरिएको छ । साधारणसभा तथा अधिवेशन मकवानपुर महिला उद्यमी संघ मकवानपुरकी अध्यक्ष सुशीला पाण्डेको सभाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य शर्मिला डंगोलको प्रमुख आतिथ्यमा भएको हो ।
मकवानपुर/सन्चारिका समूह मकवानपुरले पत्रकार महिलाहरूको लागि नि:शुल्क सेनिटरी प्याड उपलब्ध गराउंदै आएकोमा पत्रकार महासंघ जिल्ला शाखाले यसको अभिभावकत्व ग्रहण गरेको छ ।
सन्चारिका समूह मकवानपुरले गत ८ मार्च (महिला दिवसको दिन) बाट निशुल्क सेनिटरी प्याड उपलब्ध गराउंदै आएकोमा आगामी दिनमा प्याडको उपलब्धताको जिम्मेवारी पत्रकार महासंघ जिल्ला शाखाले लिएको हो । “पत्रकार माहिलाको लागि चाहिए जति सेनिटरी प्याडको व्यवस्थापन गर्ने जिम्मेवारी महासंघले लिएको छ,वितरणको पाटो सन्चारिकाले नै गर्ने छ” महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमले भने ।
सेनिटरी प्याड सन्चारिका समूह जिल्ला शाखालाई हस्तान्तरण कार्यक्रम अध्यक्ष गौतमले महासंघ पत्रकार महिलाको स्वास्थ्य प्रति सचेत र साथसाथा रहेको बताए ।
सेनिटरी प्याड वितरण कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्यीय सुनिल खड्काले मानवीय संवेदनाको विषय भएकाले सञ्चारगृहहरुमा अनिवार्य सेनेटरी प्याड तथा प्राथमिक उपचारका सामग्री राखिनु पर्ने बताए ।
कार्यक्रम पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पुर्व अध्यक्ष प्रताप बिस्ट, सन्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतले
आर्थिक रूपमा सेनिटरी प्याड खरिदको बिषय सामान्य भए पनि यो कार्यले महिलाको स्वास्थ्य संवेदनशीलतामा पुरूषहरू पनि संगै छौ भन्ने दर्शाउने बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष गौतमले महिला पत्रकारहरुका लागि सुत्केरी भत्तालाई, फिचर लेखन तथा भिडियो सम्पादन तालिम माग रहेकाले यस्तो कार्यक्रम गर्ने जमर्को जारी रहेको बताए ।
कार्यक्रममा मकवानपुरका सन्चारकर्मीहरू, सञ्चारिका समूह मकवानपुरका अध्यक्ष सम्झना रिजाल सहित जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू, बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान समेत गरिएको थियो ।
९ वर्षीया बालिकालाई शिक्षकले माटोको सिन्दुर हाल्दै भने-‘हिँड् कान्छी….’
Tags: No Comments
चैत २२ गते साँझपख एकजना परिचित दाइको फोन आयो । उहाँ अलि हतासमा भएजस्तो गरी बोल्नु भयो ‘………स्कुलमा शिक्षकहरूबाटै नानीहरूलाई यौन दुव्र्यवहार भएको खबर छ, बाँकी कुरा खोज्नुस् ।’ त्यहीँ दाइबाट पाएको सम्पर्क नम्बर र आफ्नो स्रोत समेत प्रयोग गर्दै घटनाबारे सतही जानकारी लिएँ । घटना दर्दनाक रहेको जानकारी पाइयो । केही बेरमै स्कुलमा तोडफोड गरिएको, चौरमा धुवाको मुस्लोसहित विद्यार्थीको भिड उर्लिएको भिडियो नै हात लाग्यो । तोडफोडको बारेमा त यो भन्दा ठूलो प्रमाण के चाहियो ? तर घटनाको कारण र सत्यतथ्य खोज्न फिल्डमै जान आतुर भएँ । तर यतिञ्जेल रात परिसकेको थियो । भोलि बिहानै जसरी पनि स्कुलमा पुग्छु भन्ने विचार कसेँ । स्कुल थियो हेटौंडाबाट ६५ किमी पूर्व । श्री जनता मावि, फापरबारी श्रीपुर ।
मकवानपुरको बागमती गाउँपालिका–८ स्थित स्कुलको घटना बारे फेसबुकमा साथीहरूसँग च्याट गरेँ । घटना बाहिर ल्याएको आरोपमा बालिकाहरू र बालिकालाई न्याय चाहिन्छ भन्ने महिला तथा पुरुष शिक्षकहरूमा पनि सुरक्षा चुनौती रहेको बुझियो । जिल्लाका अधिकारकर्मीसँग पनि नियमित सम्पर्कमा थिएँ । उहाँहरू जानुहुने भए सँगै जाने जानकारी गराएँ । बिहान सबेरै बागमती गाउँपालिका जाने निधो भयो । नानीहरूको बारेमा फेसबुक च्याटमा भएको कुराकानीले मन होडलिरह्यो । त्यस्तो पनि होला र ? त्यस्तो पनि गर्लान् र शिक्षकहरूले ? भन्ने प्रश्न मनले सोधिरह्यो आफैंसँग ।
स्कुलमा प्रहरीले सुरक्षा दिइरहेको भन्ने खबर थियो । पीडित बालिकाहरू, अभिभावक, बाल क्लबका बालबालिकाहरू, अभियन्ता बालबालिकाहरू सबैलाई सुरक्षा थ्रेट छ भन्ने जानकारी आएको थियो । केही दिनअघि आक्रोशित भिडमा मारिएकी सुरक्षाकर्मीको झलझल याद आइरहेको थियो मलाई। केही परीहालेमा ज्यान बचाउन भाग्न सहज हुने गरी स्पोट सुज लगाएँ, साइड ब्याग छाडेर पछाडि भिर्ने ब्याग बोकेँ । बिहान सबेरै बागमती गाउँपालिका तिरको बाटो लागियो । अरुलाई बचाउन, आफू बाँच्नु पर्छ भन्ने सीप १९ वर्षअघि रेड्क्रसमा काम गर्दा सिकेको थिएँ । द्वन्द्वकालमा प्रयोग गरियो । अनि आजै हो कि भन्ने मनमा नलागेको कहाँ हो र ?
एकैपटक सबै कुरा खर्लप्प खन्याऊँ झै भएको छ । जब ती नानीहरूको कुरा सुनेर फर्किएँ । मन भतभत पोलेझै भएको छ । मनभरि छटपटी चलेको छ । रिस र आवेगलाई साम्य पार्दै पलपल काटिरहेको छु ।
चैत २३ गते बिहान ९ बजेर ५८ मिनेट गएको थियो । स्कुल पुगियो । सुरक्षा घेरामै थियो स्कुल । अभियन्ताहरूसँगै थिए, उहाँहरू पनि ‘हामी संयमित हुनुपर्छ है, जे पनि हुनसक्ने अवस्था हो यो’ भन्दै हुनुहुन्थ्यो । कतै कतै डर, कतै कतै आक्रोश, कतै कतै ती नानीहरूलाई भेटेर अँगालो हालुँ जस्तो हुटहुट थियो मनमा । मलाई यो हुटहुटी नानीहरूले रुदै दिएको अन्तरवार्ताको भिडियोले उत्पन्न गरेको थियो । केही गोप्य भिडियोहरू पाएका थियौं हामीले । जुन आज पनि गोप्य नै छन् ।
विद्यालय गेटभित्र छिरियो । सबैले शंकास्पद रूपमा हेर्नुभयो, जुन स्वभाविक नै थियो । विद्यालय प्रशासन कक्षमा पस्यौँ । प्रध्यानाध्यापक वसन्त राई बिहानैदेखि स्कुलमा नै हुनुहुँदो रहेछ । कसैलाई फोनमा भन्दै हुनुहुन्थ्यो ‘मेरो स्कुल ड्रेस ल्याइदेउ, म बिहानैदेखि स्कुलमै छु ।’ जिल्लाबाट अधिकारकर्मीहरू स्कुलमा आउँदै छन् भन्ने खबर हामीभन्दा धेरै अघि पुगेछ । बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विव्यासको महिला सदस्य भानुमाया सेराली मगरको संयोजकत्वमा छानबिन समिति बनाइएको रहेछ । विना कार्यविधि, विना ऐन नियमको आधार बनेको यो समिति आफैंमा अवैधानिक थियो । हामीसँग जानु भएको अधिवक्ता तथा अधिकारकर्मीले कानुनी प्रक्रिया बताएपछि प्रअ राइले आफूहरूलाई कानूनी जानकारी नभएको स्वीकार गरे ।
कानुनी अज्ञानता क्षम्य हुँदैन भन्ने सायद उहाँले पनि भुल्नु भएछ । अधिकारकर्मीको टोलीसँग विव्यासका पदाधिकारीहरू, शिक्षकहरू, झण्डै २ घण्टा छलफल भयो । म लगायत महिला अधिकारकर्मीहरूले पीडित बालिकाहरूलाई भेट्ने प्रस्ताव राख्यौँ । सुरुमा अनुमति मिलेन । ‘जो जो आएनि उनीहरू(पीडित छात्राहरू)लाई हामी झोस्न दिंदैनौँ’ भन्ने जवाफ आयो । केही बेरको सामान्य भनाभनपछि विद्यालय प्रशासन र विव्यसले विद्यालयको नर्स अनिता भुलुन, विव्यस सदस्य भानुमाया र एक जना महिला शिक्षकको साथमा हामीमध्ये हिमराइट्को जिल्ला प्रमुख कुमारी वाइबा, माइती नेपाल जिल्ला प्रमुख माया लामा, राडो नेपालको प्रतिनिधि सिमा शाहालगायतलाई केही नानीहरूसँग भेट्न अनुमति प्राप्त भयो ।
हाम्रो टोली र कक्षा ४,५,६ र ७ मा अध्ययनरत ३९ जना नानीहरू एउटा कक्षामा बस्यौँ । हामीले आफ्नो पुरै परिचय र नानीहरूको उमेर र कक्षा बताएर परिचय आदनप्रदान गर्यौँ । अनि प्रवेश गर्यौँ मुख्य एजेण्डमा ।
हामीले स्कुलमा के भएको, सुन्न मन लागेर आएको मात्रै भन्न भ्याएका थियौ, नानीहरूले तँछाड मछाड गर्दै आफ्नो पीडा सुनाउन थाले ।
‘………. सरले मलाई पाठ बुझाउन जाँदा ढाड मुसार्नु हुन्थो, विस्तारै हात छातितिर ल्याउनु हुन्थ्यो, नगर्नु न सर भन्दा टाउकोमा बेस्सरी पिट्नु हुन्थ्यो ।’
‘म अन्तिम बेञ्चमा बस्थे, सरले के–के बाहाना पार्दै मेरो समिजको तुना खेल्दिनु हुन्थ्यो, नगर्नु भन्दा पिट्नु हुन्थो, अनि पछिल्लो बेञ्चमा कसैले नदेखेर यस्तो गर्नु भको होला भनेर म अगाडि बेन्चमा बस्न थालेँ । तर, सरले उस्तै गर्नुहुथ्यो सधैँ । जाडो महिनामा साथीहरूले जाडो भो भन्दा यसरी टाँस्सिएर बस्न पर्छ भन्दै टासिन आउनु हुन्थ्यो हामी बेञ्चको परपर सथ्यौ ।’
‘मलाई सधैं सरले बम्बइवाली भन्नुहुन्छ, तँ कत्ति राम्री, तेरो गाला कत्ति राम्रो, बम्बइ लैजानु पर्छ भन्नुहुन्छ, गाला खाउँखाउँ लाग्ने भन्नुहुन्छ, कति पटक त गालामा टोक्नु भको छ, त्यै बेला मुख भित्र जिब्रो हाल्दिनु भको छ ।’
‘मैले सर्ट र पाइन्ट लागउथे, जैले सरले तेरो चा……. कस्तो राम्रो भनेको भनेइ गरेपछि मैले फ्रक किन्न लगाए आमालाई । अहिले फ्रक लगाएर आउँछु, फेरि पनि तेरो फ्रकको गोजीमा के छ भन्दै हात हाल्नुहुन्छ, गोजीमा हालेको हात मेरो गुप्ताङगमा लैजानु हुन्छ ।’
‘कक्षमा पढाउँदा सधैँ सबै झ्याल ढोका बन्द गर्न लगाउनु हुन्छ, केटा साथीहरूलाई चुक्क बोल्न दिनुहुन्न, हामीलाई मनलाग्दी ठाउँमा छुनुहुन्छ, नगर्नु न सर भन्दा केटासाथीहरू हाँस्छन्, अनि हाम्रो रिस केटाहरूलाई पिटेर पोख्नुहुन्छ ।’
‘४० पूर्णङ्कको जाँच थियो, सबै मिलेको थियो मेरो, दाइदिदीहरूलाई पनि मैले आफ्नो प्रश्नपत्र देखाउँदै आफूले लेखेको उत्तर सुनाएँ । उहाँहरूले तिम्रो त ४० मा ३९ आउला, सबै मिलेको छ भन्नु भको थियो, मेरो १८ नम्बर मात्रै आयो । मैले मलाई तपाईले छोएको मन पर्दैन भनिराखेको नतिजा हो त्यो १८ नम्बर ।
‘धेरै बोल्छेस् तँलाइ फेल गराइदिन्छु पो भन्नुहुन्थ्यो, पाठ (गृहकार्य) मा सही उत्तर लेखेको पनि काटकुट गर्नुहुन्थ्यो, धेरै जसो त पाठ चेक नै गर्नुहुदैन थ्यो ।’
‘मलाई कहिले चक्लेट दिनुहुन्छ, कहिले, काँटा र मालाहरू दिनुहुन्छ, नलिए गाली गर्ने र टाउकोमा पिट्ने गर्नुहुन्छ । कहिले १० रुपियाँ दिन्छु धन्साइ बगरमा आइजो भन्नुहुन्छ ।’
‘मलाई जैले काखमा राखेर पढाउँछु याँ बस् भन्दै काख देखाउनु हुन्थ्यो म मान्दैनथे, एक दिन कक्षमै माटोको सिन्दुर हालेर हिड कान्छी भन्नुभयो ।’
‘मेरो साथी जो म भन्दा उमेरले कान्छी छ, उसको छातीमा समाएर बेस्सरी तान्नु भएछ, उ चिच्याइ, सरले चुप लाग भनेर झन् किताबले टाउकोमा पिट्नु भयो, पछिपछि तेरो त छाती नै छैन भनेर जिस्क्याउनुहुन्थ्यो उसलाई ।’
‘म अन्तिम बेञ्चमा बस्थेँ, सरले बाहाना पार्दै मेरो समिजको तुना खेल्दिनु हुन्थ्यो,’ भक्कानिदैँ ती नानीले सुनाइन्, ‘४ कक्षा पढ्दादेखि नै नराम्रोगरी हेर्ने/छुने गर्नुहुन्थ्यो । अहिले ७ कक्षमा पढ्छु, ढाड मुसार्दै ‘ब्रा’ को तुना खोल्दिनु हुन्छ । एक दिन कक्षामै माटोको सिन्दुर हालेर हिड् कान्छी भन्नुभयो ।’
‘हामीमध्ये कसैलाई पनि बेञ्चको छेउमा बस्न मन लाग्दैन, तै पनि कोही न कोही त बस्नै पर्छ, छेउपट्टि ब्याग राखेर बिचतिर सरेर बस्छौँ, यसो गर्दा कहिले काँही त ब्याग नै तल झार्दिनुहुन्छ सरले ।’
‘मेरो ड्रेसमा केही लागेकै हुन्न, तेरो लुगामा के लागेछ हेर त भन्दै छातितिर इशारा गर्नुहुन्छ, कहिले त सिधैँ हात ल्याउनुहुन्छ छातीमा नगर्नु न सर भन्दा फोहर रहेछ, झर्देको के भन्नुहुन्छ ।’
‘म कक्षा ४ मा पढ्दादेखि सरले नराम्रो गरी हेर्ने, छुने गर्नुहुन्थ्यो, अहिले पनि त्यस्तै गर्नुहुन्छ, अहिले म ७ कक्षमा पढ्छु, ढाड मुसार्दै ‘ब्रा’ को तुना खोल्दिनु हुन्छ ।’
‘म ५ कक्षमा पढ्छु, सरले दिक्क पार्नुहुन्छ । मेरो बहिनी अहिले ३ मा पढ्छिन, अब ऊ पनि ४ मा आउछे, फेरि सरले मलाई जस्तै गर्नुहुन्छ भनेर डर लाग्छ ।’
‘घर जाँदै गर्दा चौरमा भेट्दा नि अंगालो मार्नुहुन्छ, के छ कान्छी भन्नुहुन्छ, अंगालो हालेको हात कति छिट्टै सिधै छातितिर घुसार्न थाल्नुहुन्छ, हामी दौडिन्छौ भाग्छौ ।’
‘पैसा दिंदै धन्साइ बगरमा आउ ल मेरो ज्ञानी भन्नुहुन्छ, लब गर्ने डेटिङ बस्ने भन्नुहुन्छ ।’
‘अरु सरहरूले पनि कहिले काँही ज्यानमा छुनुहुन्छ तर उहाँहरूले जस्तो मुसार्ने, भित्री लुगा नै खुस्काउने गर्नुहुदैन, प्याट्ट पिट्नुहुन्छ, हात झिक्नु हुन्छ, मलाई सिरी पनि हुदैन ।’
‘म ७ कक्षमा पढ्छु, कक्षा ४ देखि नै सरहरूबाट यस्तो व्यवहार भोग्दै आएको छु, स्कुल फेरौं भने नजिकै अरु स्कुल छैन, कि त पढाइ नै छाड्नु परो, सहेरै पढीरहेको छु ।’
ती नानीहरूको प्रतिनिधि आवाज हुन् यी । कुराकानीको क्रममा नानीहरूले शिक्षकहरूको नामै किटेर भन्नुभएको थियो । उहाँहरू आफ्नो कुरा राख्न यति हतारिनु भएको थियो कि हामीले नै पालै पालो गरेर भनौ है भनेर रोक्नु परेको थियो पटक पटक । बोल्दै गर्दा उनीहरू भक्कनिथ्ये, नजिकैको साथीले अँगाल्लो हाल्नुहुन्थ्यो, हत्त न पत्त पानी दिनुहुन्थ्यो, त्यो दृश्य आँखामै घुमिरेको छ अझैपनि ।
घरमा भन्नुभएन ? हामीले सोध्यौँ ।
‘आमालाई भने आमाले मायाले त्यस्तो गर्नुभको होला भन्नुभयो,’ अनि मैले मेरो आन्टीलाई भने ‘आन्टीले सहेर बस्नुहुन्न, विरोध गर्नुपर्छ यस्तो कुरा भन्नुभयो ।’
‘बाबा घरमा हुनुहुन्न, आमालाई भन्दा आमाले यस्तो कुरा गर्नुहुदैन भन्नुभयो, हिजो पनि आमाले सरले माया गर्नुभको हो, जे पायो त्यै नबोल भन्नुभको थ्यो, तीनै जना सरहरू हाम्रो छिमेकी जस्तै हुनुहुन्छ, आमाले भन्नुभको छिमेकमा मिलेर बस्नुपर्छ रे ।’
‘हामीले अहिले सिओसि क्लास लिएपछि यस्तो कुरा सहेर बस्दा बढ्दै जान्छ भनेर बुझ्यौँ, अनि निवेदन लेखेर अफिसमा दिएका हौँ, तर हामीले भनेजस्तो भएन, माफी मगाएर छोड्ने भन्नुभयो अनि हामीले मानेनौ ।’
‘हिजोको आन्दोलनमा हामी जस्तै पीडित दिदीहरू पनि हुनुहुन्थ्यो । आज उहाँहरूलाई ममीहरूले स्कुल नै पठाउनु भएन, घरैमा हुनुहुन्छ, एक जना दिदीको बाबा चुनावमा उठ्न लाग्नु भयो छ, उहाँलाई असर पर्छ भनेर घरैमा नबोली बस भन्नुभयो छ रे ।’
‘स्कुल आको साथीहरूलाई पनि उसको दिदीले पिट्दै घर लग्नुभयो आज पनि ।’
‘मैले आमालाई भनेको थिएँ, आमाले तँ जान्नी किन हुन्छेस्, जे भन्छन् साथीहरूले भन्छन्, तँ नबोल, सबैले थाहा पाउँछन् अनि बेज्जत हुन्छ भन्नु भएको थियो मलाई ।’
‘अब तीनै जना सरहरूलाई स्कुलमा आएको देख्न नपरोस् ।’
ती नानीहरूले आँसुको धारा बगाउँदै गला अबरुद्ध पार्दै बोलेका यी कुराहरू अहिले पनि कानमा गुञ्जिरहे झै लाग्छ । उनीहरूको पीडा सुन्दै गर्दा पटक पटक म आफैंले पनि लुकेर आँसु पुसेँ । हामी बिदा हुँदै गर्दा उनीहरूले भने, ‘तिनै सरहरू आउनु हुन्छ । हामीलाई पढाउन, अब त झन् पिट्नु हुन्छ होला, के के पो गर्नुहुन्छ होला, के गर्ने अब झन् ?’
वार्षिक परीक्षाको संघारमा रहेका ती नानीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न, आत्माबल उँचो राख्न, अधिकारकर्मीले सामान्य परामर्श गर्नुभयो । एकातिर कोर्ष सकिएको छैन, अर्कोतिर स्कुलमा पढाइ छैन, फेरि आफूहरूमाथि नै भएको अन्यायले यस्तो रूप लिँदा ती नानीहरूको मानसपटलमा के बितिरहेको होला ? त्यसमाथि घरका अभिभावकहरूले पनि उनीहरूको कुरा नसुन्ने, आरोपित शिक्षकहरूको बारेमा बोल्नै नदिने गर्नु न्याय मर्न दिनु हैन र ? ती आमाहरू जो समाजमा मिलेर बस्नु पर्छ भनेर छोरीहरूको आवाज दबाइरहनु भएको छ, उहाँहरूको सचेतनाको स्तर कहिले, कसरी वृद्धि होला ।
हामी घर आँगनमा सरकार छ भन्छौ । स्कुलको आडैमा इलाका प्रहरी कार्यालय छ, १० मिनेटको दुरीमा गाउँपालिकाको कार्यालय छ ।
हामी स्कुलबाट गाउँपालिका कार्यालय गयौँ । गाउँपालिकाले स्कुलमा यत्रो हंगामा हुँदा आफूले मिडियाबाट थाहा पाएको र स्कुलले सहयोग नमागेको कारण आफू आफ्नै काममा व्यस्त भएको प्रतिक्रिया दियो ।
यस्ता घटना/अभियोगमा स्थानीय सरकार अभिभावक बनेर उभिने कि पाहुना बनेर निम्तो कुर्दै बस्ने हो ? स्कुलको घटनाको बारेमा अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेपछि प्रजिअको फोन गएपछि पालिकामा स्थानीय सरकारको प्रतिनिधि देखा पर्ने हो ? यो घटनामा यस्तै भयो । हामीले बिहान स्कुल जाँदै गर्दा गाउँपालिका उपाध्यक्षलाई फोन सम्पर्क गरेर घटनाबारे बताउँदै, स्कुलमा आउनुस न हामी पनि आउँदै छौं भन्दा उहाँले आफूलाई स्कुलले नबोलाएको कारण आफू आफ्नो फिल्ड खटिएको बताइन् । न्यायिक समितिको संयोजकको जिम्मेवारी त्यही हो ?
स्थानीय स्तरमै घटना मिलाउने तिव्र दबाब र कसरतका बाबजुत केही पीडतहरूले जिल्ला प्रहरी कार्यालयमा आएमा मध्येरातमा जाहेरी दिएका छन् । आरोपित हेम बिक, लोक बिक र रुद्र बिकलाई विद्यार्थीले नाम किटेर विद्यालय प्रशासनमा निवेदन दिएकै दिनदेखि सम्बन्धित कक्षमा जान नदिएको र पछि स्कुलमा केही दिनको लागि बिदा दिइएको विद्यालय प्रशासनले जनाएको छ । आराेपी मध्ये एक हेम बिक एक दिनअघि आफै जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे सम्पर्कमा आएका छन् भने अन्य दुईजना फरार छन् ।
विद्यालय जस्तो विद्या आर्जनको पवित्र संस्था/मन्दिरमा बालिकाहरू पलपल पीडित भएर बसेका छन् । त्यो पनि बर्षौदेखि । आरोपित ३ जना शिक्षकहरू सबै सामाजिक विषय शिक्षक हुन्, एक जनाले सामाजिकसँगै स्वास्थ्य विषय पनि पढाउने गरेको पाइयो । हाम्रो समाज कता जाँदै छ, हाम्रो समाजको शिक्षा दिने सामाजिक विषय शिक्षकहरूको मनोवृत्ति त यस्तो छ ? उनीहरूलाई ती नानीहरूलाई समाजबारे कस्तो शिक्षा दिइरहेका होलान् ?
बालमनस्थितिमा असर पुग्ने गरी उनीहरूलाई विचलित बनाइएको छ, अब घटना बाहिरिएपछि समर्थन गर्ने अभिभावक, शिक्षक, बाल अभियन्ताहरूको सुरक्षाको ग्यारेण्टी कसले लिन्छ ?
नेपालको संविधान २०७२ ले मौलिक हककै रूपमा धारा ३९ को बालबालिका सम्बन्धी हक अन्तर्गत बालबालिकालाई सम्बोधन गरी बालबालिकामाथि हुने कुनै पनि शोषणलाई निषेध गरेको छ ।
प्रचलित मुलुकी अपराध संहिता २०७४ दफा २२४ ले कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन हुँदैन भनेको र दफा २२५ ले कसैले बाल यौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनेको छ । त्यसै गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिकाविरुद्धको कसूर अन्तर्गत बालयौन दुर्व्यवहारलाई अपराध मानी दण्ड सजायको समेत व्यवस्था गरिएको छ । उल्लेखित अपराध गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार देखि ७५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको अध्ययन सहभागी सेलर्डका अधिवक्ता जगन्नाथ सुवेदीले बताए ।
घटनाको आरोपित व्यक्तिहरूको बारेमा आधिकारिक निकायले बोल्नेछ, कानुनी प्रक्रियामा रहेको व्यक्ति दोषी होस् वा निर्दोष भन्नेबारे अन्तिम फैसला कानुनले नै गर्दछ । सामाजिक मर्यादा, सामाजिक इज्जतको भोकमा बालिकाहरू निमोष्ठ पाइँदैन । घटनाको सत्यतथ्य बाहिर आओस् । आरोपित शिक्षकहरू निर्दोश हुनुहुन्छ भने कानुनलाई सघाउँदैमा उहाँहरूको पनि मनमर्दन हुँदैन ।
घटनाबारे मिडिया कभर भएपछि मलाइ समेत बारम्बार फोन आइरहेको छ । आरोपित शिक्षकको नाम जोडेर उहाँ चै यस्तो हैन, विचार गरेर लेख्नुस् भन्ने आग्रह आएको छ । बालिकाहरूले जाहेरी दिए पनि अभिभावकहरूलाई गाउँमा बस्नै चुनौती छ । शिक्षकहरूलाई उस्तै चुनौती भएको खबर आइरहेको छ । बारम्बार सुरक्षा चुनौतीको कारण नानीहरूले आफ्नै अभिभावकको दबाबमा आएर भनाइ फेर्ने सम्भावना प्रवल छ भन्नुहुन्छ अधिकारकर्मीहरू ।
याे सामग्री https://ekagaj.com/category/blog/ मा पनि प्रकाशित छ ।
‘महिलाकाे उम्मेदवारी जित्ने ठाउँमा चाहियाे, मेराे दाबि उपमेयरमा हाे’
Tags: No Comments
उम्मेदवार छनौटको प्रकृया संघारमै आइसकेको अवस्थामा मैले हेटौंडा उप महानगरको उपमेयरमा दावी गर्ने आकांक्षा राखेको छु । पार्टीको विधि पद्धति अनुसार उपलब्ध गराइने फोरमबाट मेरो दावी घोषणा हुनेछ र आफ्नो कुरा राख्नेछु र अधिकारप्राप्त कमिटीले त्यसको निर्णय गर्नेछ जसमा सफलता प्राप्त गर्ने कुरामा म विश्वस्त छु ।
नेकपा एमाले भ्रातृ संगठन अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा पार्टीको हेटौंडा नगर सह-इञ्चार्ज सुमित्रा काफ्ले विगतदेखि नै महिलाको सवाललाई लिएर पार्टी भित्रै संघर्ष गर्दै आएकी महिला हुन् । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा उनीसँग महिलाको नेतृत्वको सवालको पेरीफेरीमा सहीखबर डेक्सले गरेको कुराकानीको सारः
स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा व्यस्तता के छ ?
पार्टी र संगठनकै काममा निकै व्यस्त छु । मैले अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी लिएको भोलि चैत्र २७ गते एक वर्ष पूरा हुँदैछ । त्यस अघि अनेमसंघको नगर कमिटीमा करिव १५ वर्ष विभिन्न जिम्मेवारीमा रहेँ । म अविराम पार्टीको नेतृत्वदायी र समन्वयकारी भूमिका मै व्यस्त छु । जिल्ला अध्यक्षको जिम्मेवारी पाएपछि अलि फरक र सुदृढ ढंगले काम अघि बढाउने योजनामा थिएँ । त्यसै बीचमा कोरोना महामारीको कारण अलिकति ढिलै योजना बनाएर जिल्लाका सबै पालिकाहरुमा संगठन विस्तार र सदस्यता वितरणको प्रक्रिया अघि बढायौं ।
जिल्लाको १० वटै पालिकामा संगठन विस्तारको काम सम्पन्न भएको छ । यस बीचमा हाम्रा नियमित चाडपर्वको व्यस्तता, पार्टीको राष्ट्रिय महाधिवेशन, जिल्ला अधिवेशन,नगरको अधिवेशन सम्पन्न गर्नु थियो । ती कामकार्यसँगै हामीले संगठन विस्तारलाई पनि जोडिरह्यौं । अहिले जिल्लाको करिव ८० वटा वडा कमिटी गठन भइसकेको छ, बाँकि ठाउंमा पनि निरन्तर कामहरु भइरहेका छन् । हेटौंडा नगरको १९ वटै वडामा वडा कमिटी गठन र वडाले टोल कमिटी निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
हेटौंडाको १९ मध्ये धेरै वडामा पार्टीबाट वडा अध्यक्ष निर्विरोध पनि भइसक्नु भएको छ । तर केहि बाँकी छन् । ती बाँकि सिफारिस भएर आएका नामहरुमा महिला पनि छन् । त्यसैले म महिलाहरुले वडाको नेतृत्व पाउने कुरामा आशावादी छु। त्यसले एउटा नयाँ सुरुवात पक्कै हुनेछ ।
यसरी हेर्दा पार्टीकै वडा कमिटीहरुको रफ्तारमा महिलाहरुको संगठन पनि परिचालित भएको छ । यो कुराको पुष्टि गएको ८ मार्च को सन्दर्भमा आयोजित कार्यक्रममा महिलाको उपस्थितिले पनि देखाएको छ । यतिबेला हामी निर्वाचन केन्दृत जिल्ला, पालिका र वडा स्तरिय प्रशिक्षण कार्यक्रमहरुको लागिरहेका छौं । आउँदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत सहितको १ नम्बर पार्टी बनाउने अभियानमा छौं ।
स्थानीय तहमा महिलालाई नेतृत्वमा लैजान अनेमसंघको योजना के छ ? महिलाहरु संधै उपाध्यक्ष र सदस्यमा मात्रै सिमित हुने हो ?
हैन, त्यसो हुँदैन । आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीलाई र यसभित्र महिलाको उपस्थिति कसरी स्थापित गराउने भन्ने रणनीतिका साथ तयारीमा छौं । संवैधानिक व्यवस्था अनुसार त हामीलाई सिटहरु दिइन्छ, त्यहाँ सुरक्षित नै छौ । तर त्यसबाहेक पनि हामीले महिलाको उपस्थितिलाई अब्बल बनाउनु छ। गत निर्वाचनलाई हेर्ने हो भने पनि हामीले ८ पालिकामा महिला उपप्रमुखहरुले जितेका थियौं । अझै पनि हामी ६ जना छौं । उहाँहरुको अनुभवलाई यतिखेर माथि उठाउँदै प्रमुख पदमा महिलाहरुको समान सहभागिता हुनुपर्छ भन्ने नै हाम्रो मुख्य एजेण्डा हो ।
त्यति मात्र नभई मकवानपुरमा १०२ वटा वडा छन्, जहाँ हालसम्म एउटा पनि वडाको नेतृत्व महिलाले पाउनु भएको छैन । गत निर्वाचनमा भिमफेदीले २ वटा र मकवानपुरगढीले एउटा वडाध्यक्ष महिलालाई उठाएको थियो । त्यहाँ हामी पराजित भयौं, अहिले विश्लेषण गर्दा त्यो पराजय निश्चित भएको वडामा महिलालाई दिइएको रहेछ ।
यसरी त झन् महिलालाई असफल देखाउन उठाइएको प्रष्टै भयो । यो देखाउनको लागि दिइएको हामीलाई मान्य छैन । अब हाम्रो माग भनेको जहाँ महिलाले विगत ५ वर्ष काम गरेर स्थापित हुनु भएको छ, जनताको बीचमा विश्वास जित्नु भएको छ, जहाँ जित सुनिश्चित छस त्यहीँ महिलालाई टिकट दिनु पर्छ । हार्ने ठाउँमा, देखाउनको निम्ति, उल्टै कमजोर बनाउनको लागि बरु टिकट नदिए हुन्छ भनेर लबिङ गरिरहेका छौं ।
यतिखेर यसो भन्दै गर्दा हामीले आफ्नो अवस्था पनि विश्लेषण गरेका छौं । भोलि जितेर जाँदा उहाँहरुको कार्यक्षमतामा समेत प्रश्न नआउने गरी हामीले सुरुवातमा कम्तीमा ३३ प्रतिशत नै नभए पनि १५ देखि २० प्रतिशत महिलालाई प्रमुख पदमा उठाउन माग गरेका छौं ।
जिल्लामा ८ वटा गाउँपालिका, एक नगर र एक उपमहानगर छ । गाउँपालिकाको कम्तीमा एउटा जित निश्चित भएको एक वडामा वडा अध्यक्ष महिलालाई दिनु पर्यो । त्यो उम्मेदवारी यस्तो हुनु पर्यो कि महिलाको योग्यता, क्षमतासँगै जित सुनिश्चित होस् , जसले राम्रो सन्देश दिन सकोस् । हेटौंडा नगरका हकमा हामीले कम्तीमा ५ वटा वडा अध्यक्ष महिला मागेका छौं । जसको लागि जिल्लाको केन्द्रीय, प्रदेश र जिल्ला नेतृत्व सकारात्मक रहेको पाएको छौं।
वडा अध्यक्षहरुमा महिला पुग्ने संभावना कत्तिको बलियो छ, अब त अन्तिम अन्तिम भैसक्यो त ?
हो हामी अन्तिम अन्तिम चरणमा छौं । हेटौंडाको १९ मध्ये धेरै वडामा पार्टीबाट वडा अध्यक्ष निर्विरोध पनि भइसक्नु भएको छ । तर केहि बाँकी छन् । ती बाँकि सिफारिस भएर आएका नामहरुमा महिला पनि छन् । त्यसैले म महिलाहरुले वडाको नेतृत्व पाउने कुरामा आशावादी छु। त्यसले एउटा नयाँ सुरुवात पक्कै हुनेछ ।
अब तपाईले पनि स्थानीय तह दाबि गर्ने बेला भयो कि ?
म मकवानपुरमा पार्टीसँग आवद्ध भएर काम गरेको झण्डै २ दशक भएको छ । पार्टी कामको अनुभव, जनसम्पर्कको अवस्था, पारिवारीक व्यवस्थापन, आर्थिक सबलता एवं सबै खालको व्यवस्थापन गरेर म अब अगाडि बढ्न सक्छु । पार्टी कामको कुरा गर्ने हो भने मैले लामो समय वडामै काम गरे ।
त्यसपछि पार्टीको हेटौंडा नगर कमिटिको सदस्य हुँदै पछि सचिवमा निर्वाचित भई जिम्मेवारी पूरा गरेको छु। यसरी नगर कमिटीमा सचिव हुँदै पश्चिम विशेष नगर इलाकाको संयोजक भई काम गरिरहेको सिलसिलामा पार्टीको १० औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपश्चात् फेरी पनि नगरको सह-इन्चार्जको रुपमा यही भुगोलमा काम गरिरहें । र अहिले ११ औं जिल्ला अधिवेशन पछि सचिवालय सदस्य तथा हेटौंडा नगरको सह-इन्चार्जको जिम्मेवारीमा छु ।
यस जिल्लामा पार्टीमा लामो समयदेखि काम गरेका अग्रजहरु हुनुहुन्छ । मेरो हकमा विद्यार्थीकालको राजनीति फरक जिल्लामा भएको कारण मकवानपुरमा देखिएन होला, तर म निरन्तर पार्टीमा आबद्ध छु । यसरी निरन्तर पार्टीमा लाग्ने काम निकै चुनौतीपूर्ण छ।
छोटो समयमा नेतृत्वमा पुग्नेहरुमा मेरो चर्चा हुने गर्छ र यसको प्रमुख कारण भनेको पार्टी र संगठनको कामलाई सधैँ पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु नै हो जस्तो लाग्छ ।
अहिले देखिएको प्रवृत्ति भनेको धेरै ठाउँमा जिम्मेवारी लिने र भूमिका निर्वाह नगर्ने प्रवृत्ति हो, त्यसैले मैले जहिले देखि संगठनको जिम्मेवारी लिएँ, मैले पूर्ण समय यसैलाई नै दिएँ । यस कुराले नै मलाई सधैं सफलता उन्मुख पुर्याइरह्यो ।
खुलेरै भन्दिनुस् न अबको चुनावमा तपाईंको आकांक्षा के मा हो ?
यो प्रश्न अहिले मलाई धेरैले सोध्दै आउनु भएको छ । यतिखेर म पार्टी र संगठनको नेतृत्वमा रहिरहँदा मैले आफ्नो आकांक्षाको बारेमा पहिले नै बोल्नु हुँदैन भन्ने मेरो मान्यता हो। त्यसैले अहिले सम्म माथिका सवालहरु बारे मैले लबिङ गरिरहें र मेरो बारेमा नेतृत्वले मुल्यांकन गरेर जे जिम्मेवारी दिन्छ । त्यसमा जाने मेरो सोच हो तर नेतृत्वले यहि भनेर बोलेको अवस्था छैन । फेरि पनि उम्मेदवार छनौटको प्रकृया संघारमै आइसकेको अवस्थामा मैले हेटौंडा उप महानगरको उपमेयरमा दावी गर्ने आकांक्षा राखेको छु ।
पार्टीको विधि पद्धति अनुसार उपलब्ध गराइने फोरमबाट मेरो दावी घोषणा हुनेछ र आफ्नो कुरा राख्नेछु र अधिकारप्राप्त कमिटीले त्यसको निर्णय गर्नेछ जसमा सफलता प्राप्त गर्ने कुरामा म विश्वस्त छु ।