मकवानपुर । कृषिमा आत्मनिर्भरताको खोजि गर्दै बागमती प्रदेश सरकारले प्रदेशकाे राजधानि मकवानपुरको हेटौंडामा अन्तराष्ट्रिय स्तरको कृषि बजार निर्माणको प्रक्रिया सुरु गरेको छ ।
कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेलक्ष्य रहेकाे अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणकाे लागि शुक्रबार शिलान्यास कार्यक्रम गरिएकाे छ । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।आज शुक्रबार कृषि थोक बजारको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ-याङमा कृषि थोक बजार निर्माणको गरिने भएकाे हाे । बजार निर्माणकाे लागि दुई बिगाहा ४ धुर क्षेत्रफल जग्गाकाे व्यवस्था गरिएकाे छ । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो ।
थोक बजार स्थापना भईसकेपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधनलगायतको सुविधाहरुको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने भएको आशा गरिएकाे छ । थोक बजारले कृषकहरुले न्यून मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढि हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि थोक बजार निर्माण भइसकेपछी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दे मुख्यमन्त्री पौडेलले हेटौंडाबासीका लागि गौरबको काम भएको बताए । यहाँबाट प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र बिदेशमा समेत लग्न सकिने उनले बताए । कोल्डस्टोर्स सहित कृषि सुपर मार्केट निर्माण हुँदा सबैलाई सहज हुने उनले बताए ।
कुनैपनि बहानामा कृषि थोक बजार निर्माणको काममा ढिलाइ नगर्नका लागि मुख्यमन्त्री पौडेलले निर्माण कम्पनिलाई निर्देशन दिए । सरकार फेल हुने भनेको ठेकेदारले समयमानै काम नगर्दा हुने भएकाले छिटो काम सकेर पुरस्कार लिन प्रेरित गरे ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले पनि समय अगाबै काम सकेर पुरस्कार लिनका लागि आग्रह गरे । कृषि थोक बजार निर्माणमा मन्त्रालयको तर्फबाट कुनै पनि बाधा हुन नदिने र सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलीया, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, मन्त्रालयका सचिव मतिना बैद्य जोशी, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रबिन्द्र बहादुर प्रधानको अध्यक्षतामा भएको हो ।
प्रदेश सरकारले कृषिमा आत्मनिर्भरताकाे लागि चक्लाबन्दी खेति प्रणाली, सामूहिक खेति प्रणाली, शितभण्डार निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकता दिदै आएकाे छ ।
मनग्य आम्दानीका लागि फूल खेती गरेका गुञ्जनगरका कमलप्रसाद अर्यालले डेढ बिघा जमिनमा फूलखेती गरेका छन्। बारी ढकमक्क फूलले ढाकेको छ। उनी दिनहुँ फूलबारीमा पुग्छन्। फुलेका फूलहरू देखेपछि उनी खिन्न हुन्छन्। मिहिनेत र खर्च गरेर उत्पादन गरेको फूल उनले बिक्री गर्न पाएनन्। बेच्न नपाउँदा बारीमै फूल ओइलिएको छ। उनले तीन ओटा फूल बिक्री गर्ने लक्ष्य लिएका थिए।
अर्यालले डेढ बिघा जमिनमा ग्ल्याडिओलस लगाएका छन्। यो विवाह, उत्सव, पाहुना स्वागत सत्कारमा प्रयोग हुन्छ। कोभिड संक्रमणको जोखिमले सबै कार्यक्रम बन्द भए। त्यसको असर फूल खेतीमा पनि पर्यो। ‘लगानीको हिसाबले तरकारीमा भन्दा फूलखेतीमा बढी हुन्छ। लकडाउनले कार्यक्रम नै नभएपछि सभा समारोहमा मात्रै प्रयोग हुने फूल बिक्री भएन’, अर्यालले भने, ‘बारीमा सुकाएर फाल्नुको विकल्प रहेन।’ बिक्री गर्न पाएको भए उनले ४० लाखको फूल बिक्री गर्थे। व्यावसायिक रूपमा गरिएको फूलखेतीले बजार पाउन नसकेपछि उनी निराश छन्। उनले गत वर्ष पनि घाटा व्यहोरे। यो वर्ष ३० लाखको बिक्री गर्ने लक्ष्य थियो उनको।
करिब डेढ लाखको मात्रै बिक्री गरेपछि लकडाउन सुरु भयो। अत्यावश्यक सेवामा परेका खाद्यवस्तु, तरकारी बिक्री भए। तर फूलखेती गर्ने किसानको लगानीसमेत डुबेको छ। फूलखेतीबाट लगातार दोस्रो वर्ष पनि घाटा भएपछि कमलप्रसादकी श्रीमती कृष्ण अर्यालले राज्यले फूलखेती गर्ने किसानका लागि केही नगरेको गुनासो गरिन्। ‘अन्य कृषि व्यवसायलाई अनुदान या बजारको लागि सरकार नै लाग्छ’, उनले भनिन्, ‘उत्पादन गरेपछि भएको नोक्सानीमा राज्यले केही गरिदिएन।’
फूल प्रतिगोटा सानो र ठूलो हेरी १२ देखि २० रुपैयाँसम्म बिक्री हुन्छ। बिक्री गर्न नपाएपछि किसानको लगानी डुबेको हो। पुष्प व्यवसायअन्तर्गत चारवटा क्षेत्र हुन्छ। माला, सजावटमा प्रयोग गर्ने कट फ्लावर उत्पादक, कट फ्लावर बिक्रेता, बिरुवा उत्पादन तथा बिक्री वितरण र गार्डेनिङ पर्छन्। बन्दले सबैभन्दा बढी प्रभाव उत्पादकलाई पारेको छ। लगानी, बिउबिजनको खर्चसमेत धानेनन्।
‘बारीमा उत्पादन भएको फूल राख्न मिलेन, त्यसै बारीमा कुहिने हो’, फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला अध्यक्ष प्रकाशराज पन्तले भने, ‘सबैभन्दा बढी शतप्रतिशत घाटा उत्पादकलाई भएको छ।’ जिल्लामा फूलखेतीमा लाग्ने किसान कम छन्। सिजनमा मात्रै फूलेर बिक्री गर्ने फूलको बिरुवा बेच्न पाएनन्। यो वर्ष मात्रै चितवनमा पाँच करोडको नोक्सानी परेको छ। अन्नपूर्ण पाेष्टबाट
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंग कृषिमा संलग्नमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो ।
यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबर्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार, मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ ।
यसका साथै, सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको ब्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैंयासम्म छुटको ब्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । यस सम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।
केही दिन अघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।
नेपालको आधारभूत तहमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीब्रता पाउने मेगा बैंकको विश्वास छ ।
मकवानपुर । चितवन मुक्तिनाथ मोटर र्यालीको उपाधी भरतपुर भीमबहादुर पुनले जितेका छन् । टीडीएस अर्थात टाइम, डिस्ट्यान्स र स्पिडको आधारमा १ सय ४० किलोमिटर दुरी सुरक्षित यात्रासहित तोकिएको मापदण्ड पुरा गरेका पुनले उपाधी हासिल गरेका हुन् ।
यस्तै र्यालीमा विराटनगरका कविन श्रेष्ठले दोश्रो स्थान हासिल गरेको कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन बागमती प्रदेशका अध्यक्ष राजन पियाले जानकारी दिए । आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र जनचेतना फैलाउने लक्ष्य बोकेर ‘ ३ दिने मोटर र्याली ‘सेफ ड्राइभिङ अन हाइवे’ को मान्यतालाई आत्मसात गर्दै र्यालीले पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको पियाले बताए ।
अन्तारीक पर्यटन प्रर्वद्धनसगैँ सुरक्षित यात्राको सन्देश दिन चितवनको भरतपुरबाट पहिलो पटक ३ दिने मोटर र्यालीमा २४ वटा गाडी सहभागी रहेको थियो । विजेतालाई नेपाल अटोमोबाइल एसोसिएसनका केन्द्रिय उपाध्यक्ष अनिल बराल, कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पिया र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वकुमार श्रेष्ठले संयुक्त रुपमा उपाधी विजेतलाई शिल्ड र पुरस्कार प्रदान गरेका थिए ।
र्यालीका सहभागिहरुलाई विभिन्न ७ स्थानमा चेक प्वाइन्ट राखेर निगरानी समेत गरिएको थियो । चितवनको भरतपुररबाट सुरु भएको र्याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुदै मुक्तिनाथमा पुगेर समापन गरिएको थियो । र्यालीला भरतपुर महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गरेका थिए ।
यसै गरी मुस्ताङको लारजुगं स्थित कालीगण्डकी नदी तीरको मोटर जिम खानाको प्रतियोगितामा चितवन भरतपुरका विमलकुमार पौडेल प्रथम र रत्ननगर टाँडीका फरमान हमानी दोश्रो र भरतपुरका रविनकुमार श्रेष्ठ तेश्रो भएको चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वकुमार श्रेष्ठले बताए । साथै विजेतालाई भविष्यमा साउथ इस्ट एसियन जिमखाना प्रतियोगितामा सहभागिताका लागि पठाइने श्रेष्ठले जानकारी दिए ।
उद्योग वाणिज्य संघ चितवन, जश्मिन पेन्ट्स, एनवाईईएफ चितवन च्याप्टर र चितवनमा अवस्थित प्युजो गाडीको डिलर ओजोन मोटर्स, टाटा मोटर्सको डिलर सफल मोटर्स र इसुजु गाडीको डिलर कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, फोर्स मोट्र्स, टिभिएस मोटरसाईकलको मालश्री मोर्टस्, अर्ना वियर, जेएमी रेमिट, प्रभु बैक, एभेरेष्ट ईन्सुरेन्स आदिले समेत सहयोग गरेका थिए । चितवन र मुस्ताङ दुवै पर्यटकीय क्षेत्र हो । धार्मिक रुपमा समेत लोकप्रिय मानिएका चितवनको देवघाट र मुस्ताङको मुक्तिनाथलाई जोड्न र्यालीले सहयोग गरेको तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मकवानपुर/भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाले मकवानपुर जिल्लाका केही अगुवा किसानहरुलाई एक हप्ते अध्ययन अनुसन्धान भ्रमणमा सहभागी गराएको छ ।
आफूहरुले गर्दै आएको कृषि व्यवसायलाई अझै राम्रो बनाउने प्रेरणा मिलेको भ्रमणमा सहभागी कृषकहरुले बताएका छन् । केन्द्रका पशु विकास अधिकृत डा. ध्रुब डीसीको नेतृत्वमा भएको अध्ययन अवलोकन भ्रमणमा गोर्खा च्याम्लिङ्गको व्यवसायीक गाई फार्म, तनहु बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्र, पोखराको बेगनास स्थित माछा अनुसन्धान केन्द्र, पिग पार्क, चितवन रामपुर स्थित नेपाल कृषि अनुसन्धान परिषद्को गाई अनुसन्धान कार्यक्रम लगायतमा भ्रमण गरिएको थियो ।
मकवानपुर जिल्लामा रहेर व्यवसायीक रुपमा बाख्र पालन, भैसी पालन, गाई पालन, माछा पालन कुखुरा पालन व्यवसायमा संलग्न रहेका किसान र कृषि पत्रकारीतामा कलम चलाउँदै आएका पत्रकारहरु समेतको सहभागीता रहेको अवलोकन भ्रमण धेरै उपलब्धि पूर्ण रहेको मकवानपुरगढी गाउँपालिकाका गाई पालक किसान नरेन्द्र लम्सालले बताए ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. ध्रुब डीसीका अनुसार व्यवसायीक किसानलाई भ्रमणबाट सिकाइ बढाउने र अझै राम्रो गर्ने हौसला प्रदान गर्ने लक्ष्यले अवलोकन कार्यक्रम गराइएको थियो ।
‘समय समयमा गोठ र प्रविधि फरक फरक भैरहन्छन्, यस्ता भ्रमणले नयाँ जोश र उपलब्धिसँगै सिप सिक्ने अवसर दिएको छ, आफूजस्तै किसान् भेट्न पाउँदा गौरव लागेको छ’ भ्रमणपछि आयोजित समिक्षा कार्यक्रममा गाई पालक किसान लम्सालले भने ।

सधैं काममा व्यस्त रहने कृषकहरुलाई समय समयमा यस्ता अवलोकन भ्रमण गराउनाले व्यवसायप्रति अझै लगाव बढाउन सकिने र आर्थिक समृद्धिमा टेवा पुग्ने अगुवा कृषक फेन्चु लामाले बताए । यसैगरी भिजन अफ मकवानपुर एग्रीकल्चर प्रा.लिका व्यवस्थापक रमेश डीसीले अवलोकन भ्रमणपछि धेरै अनुभव संगाल्ने र सिक्ने अवसर पाएको बताए । ‘हामी बंगुर पालन र माछा पालनको बारेमा जानकारी खोजिरहेका थियौ, धेरै सिक्ने अवसर प्राप्त भयो, साथै बाख्रा गाईको बारेमा सिक्ने अवसर पाएँ’ डीसीले भने ।
यसैगरी मकवानपुर जिल्लाको थाहा नगरपालिकामा रहेर व्यवसायीक बाख्रा पालन गर्दै आएका अगुवा कृषक गुप्त सीं ठकुरीले कृषि कर्ममा लाग्न चाहनेको लागि अवलोकन भ्रमण अत्यन्तै उपलब्धिपूर्ण भएको बताए । सुपिङका गाई पालक कृषक अनिल पुडासैनीले अवलोकन भ्रमणबाट काममा पुनर्ताजगी प्राप्त भएको बताए । कृषकको लागि समय समयमा यस्ता अवलोकन भ्रमण आवश्यक भएको पुडासैनीले बताए ।

यसैगरी कैलाश गाउँपालिकाका कमान सिं घलानले पनि आफ्नो लागि अध्ययन भ्रमणले नयाँ ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको बताए । ‘आर्थिक अभावको कारण साना साना खोर बनाएर बाख्रा,कुखुरा पाल्ने जमर्को गरिरहेको थिए, खोर बनाउन नजान्दा युटुबको साहारा लिदै आएको थिए, अगुवा कृषकहरुले बनाएका खोरहरु पनि प्रत्यक्ष हेर्ने अवसर पाए,’ उनले भने ‘अब काम गर्ने हौसला मिलेको छ ।’
यसैगरी भैंसी पालक किसान समता खड्काले आफूले विगतमा गर्दै आएको पेशा नै फेर्ने मनस्थिती बनाएको तर, भ्रमणपछि पुरानै पेशालाई निरन्तरता दिने प्रेरणा मिलेको बताइन् । ‘भैसी बेचेर, किराना पसल राख्ने सोच बनाएको थिए, एक हप्ताको भ्रमणले मलाई आफूले पाल्दै आएको भैसी बेच्न हैन, अरु थप्न रहर जागेको छ’ उनले भनिन् ‘अब गोठ र भैसी थपेर अझै ठुलो स्केलमा भैसीपालन व्यवसाय गर्छु ।’

अध्ययन अवलोकन भ्रमणमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाको अधिकृत छैठौ बिनिता सिंह, वीरबहादुर खत्री तथा सहायक स्तर पाँचौ प्रदिप सापकोटा, मकवानपुरगढी, थाहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकाका अगुवा कृषहरुलगायत १८ जनाको सहभागीता रहेको थियो ।

अध्ययन टोलीले तनहु स्थित मोडेल डेरि फार्मका काशिनाथ भट्टराई, गोर्खा च्याम्लि· स्थित कामधेनु गाई फार्मका राजेन्द्रराज पन्त, बन्दिपुर स्थित बाख्रा अनुसन्धान केन्द्रका वैज्ञानिक दिपक अधिकारी, पोखराको बेगनास स्थित माछा अनुसन्धान केन्द्रका प्रमुख डा. मो. इकवाल हुसेन, तथा वरिष्ठ चिकित्सक बेचनप्रसाद यादब, संघीय सरकार समेतको सहयोगमा सञ्चालित कास्कीको सामूहिक पिग पार्कका सचिव मोहन थापा, नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्राबिधिक प्रतिक हमालसँग अन्तरक्रिया गरेको थियो ।

