मकवानपुर । नेपाल डेरि एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा थानेश्वर न्यौपाने निर्वाचित भएका छन् । चैत ९ गते बुधबार रुपन्देहीको बुटवलमा भएकाे नेपाल डेरि एसोसिएसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट न्याैपाने अध्यक्ष चयन भएका हुन् ।
यसैगरी उपाध्यक्षमा घननाथ पौडेल सचीवमा बिजय सापकोटा सह सचीवमा कमल भुषाल कोषाध्यक्षमा लेखनाथ भण्डारी सदस्यहरुमा कृष्ण बस्याल रबिराज पन्त नवराज सापकोटा पवन भट्टराई सावित्री भुषाल प्रकाश देवकोटा मान बहादुर बुढाथोकी मिना कडेँल चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दुग्ध बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले नेपाल डेरी एसोसिएसन देश भरि छरिएर रहेका डेरी व्यावसायीहरुको राष्ट्रिय संगठन भएकोले राष्ट्रिय दुग्ध विकास वोर्ड र डेरी एसोसिएसन हरेक कुरामा सहकार्य गर्ने गरेको बताए । लुम्बिनी प्रदेश कृषि मन्त्रालयका तुलसीराम भण्डारीले हामी सबै मिलेर काम गरे डेरी सेक्टरमा राम्रो गर्न सक्ने बताउँदै मन्त्रालय एसोसिएसनसंग सधैं मिलेर काम गर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट कृषक सम्मान उमादेवी पशु विकास फर्मका संचालक यज्ञमुर्ति खनाल, व्यवसायी मध्येबाट सुजल डेरी कपिलवस्तुका संचालक सावित्री भुषाललाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्वाचित सबै पदाधिकारीहरु एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित सपथ ग्रहण केन्द्रिय महासचिव प्रल्हाद दाहालले गराएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका तुलसीराम भण्डारी, मानव अधिकार शान्ति समाजका सभापति गोबिन्द खनाल , बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, रुपन्देही मिष्ठान्न तथा क्याटिरङ ब्वासायी संघका अध्यक्ष लक्ष्मण पोख्रेल, पत्रकार कृष्ण खनाल, तेजन्द्र के.सी, नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहाल, केन्द्रिय काेषाध्यक्ष दयाराम भण्डारी एसोसिएसनका पुर्ब केन्द्रिय अध्यक्ष मेघराज भन्डारी लगायतकाे उपस्थिती थियोे ।
राष्ट्रिय दुग्ध बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवज्युको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण भट्टराईज्युको अध्यक्षतामा डेरि एसोसिएसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशन भएकाे हाे ।
मकवानपुर/लागु औषध गाँजा तथा अफिम नष्ट गर्ने अभियान अन्तरगत प्रहरीले बुधबार मकवानपुरको विभिन्न क्षत्रमा लगाइएको अफिम नष्ट गरेको छ ।
प्रहरीले ३० फागुनदेखि २ चैत्रसम्म गाँजा खेती नष्ट गर्ने अभियान थालेको थियो । प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले जिल्ला मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा न ४, ५, ७, ८, ९ नष्ट गरेकाे छ ।
यसैगरी मकवानपुरकै कैलाश गाउँपालिकाको वडा नं. ४, ७, ८ लगायतको वडा क्षत्रमा ९० बिगाह क्षेत्रफलमा लगाईएको अवैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमिक्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
मकवानपुर । हेटौंडाका १० जना साइकलयात्री केरुङदेखि ठोरीसम्मकाे साइकल यात्रामा निस्किएका छन् । उनीहरु उत्तरतर्फ चीनसँगको सीमा केरुङदेखि दक्षिण्तर्फ भारतको सीमानाका ठोरीसम्मको साइकल यात्रामा निस्केका छन् ।
हिमालयन राईडर्स सोसाईटीको संयोजकत्वमा आज फागुन २९ गते आइतबारदेखि रसुवाको केरुङ नाकाबाट साइकल यात्रा सुरु गर्न लागिएको हो । सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको संयोजकत्वमा १० जनाको टोली शनिबार केरुङतर्फ गएको छ । टोलीमा सोसाइटीका उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य समेत सहभागी रहेका छन् ।
विश्वव्यापी तापमानको वृद्धि, पेट्रोलियम पदार्थको मूल्यबृद्धि, नेपालको चुलिँदो व्यापारघाटा, दैनिक उपभोग्य बस्तुमा तीव्र मिसावटका कारण बिग्रँदो जनस्वास्थ्य आदि कुरामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने साईकललाई दैनिकी बनाउने अभियानका साथ साइकलयात्रा सुरु गर्न लागिएको टोलीका सदस्य भानुभक्त आचार्यले बताए ।
टाेलीमा सोसाइटीका महासचिव एवम् ईन्जिनियर सागर पन्थी, सचिव राजु राना मगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आले, बुद्धराम श्रेष्ठ, शैलेश दुतराजलगायत सहभागी रहेका छन् । टोलीमा बारा राइडर्स संघ सिमराका ३ जना साइकल यात्री पनि सहभागी रहेका संयोजक आचार्यले जानकारी दिए । बारा राइडर्स संघका कोषाध्यक्ष रामेश्वर बाँस्कोटा, सदस्य हरेराम आचार्य र रामहरि सुबेदी सहभागी रहेका छन् ।
फागुन २९ गते आइतबार रसुवाको केरुङ नाकाबाट सुरु हुने साइकल यात्रा नुवाकोटको त्रिशुली, धादिङ, चितवनको नारायणगढबाट माडी हुँदै ठोरीसम्म गरिने भएको छ । टोली पर्साको ठोरीबाट बीरगन्ज हुँदै हेटौंडा फर्कने बताइएको छ । करिब ४ सय किलोमिटरको यात्रा ५ दिनमा पूरा गरिने आचार्यले जानकारी दिएका छन् ।
साइकल यात्राकाे समन्वयका लागि मकवानपुर उद्योग वाणिज्य संघले ५ वटै जिल्ला उद्योग वाणिज्य संघलाई पत्राचार गरेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए ।
मकवानपुर / जल उत्पन्न प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
जल उत्पन्न प्रकोप जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि तयारी पारिएको प्रशिक्षण पुस्तिकामाथी सुझाव संकलन गरिएको हो । प्रदेशको सरोकारवालाहरूसंग राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपालले प्रकाशन गरेको प्रशिक्षण हाते पुस्तक माथी छलफल तथा सुझाव संकलन गरिएको हो ।
कार्यक्रममा उर्जा खानेपानी तथा सिचाइ मन्त्रालयका सचीव मोहन शाक्यले किसानले अपनत्व गर्नेगरी कार्यक्रम बनाउन र सोही अनुसारको प्रशिक्षण सामग्री बनाउन आग्रह गरे । प्रकोपबाट सबैभन्दा बढी पीडित किसानहरू नै हुने भएकोले यसले तल्लो तहको किसानले पनि राहत पाउने अपेक्षा आफूले गरेको शाक्यले बताए । सिचाइ तथा नहर निर्माणकार्य गर्दा भविश्यमा आईपर्ने जोखिम बारे पनि सचेत गराउन शाक्यले आग्रह गरे ।
कार्यक्रममा सिचाइ महाशाखा प्रमुख नवराज अवस्थिले स्थानीयको समस्यालाई सम्बोधन हुनेगरी सिपको बिकास गर्न ध्यान दिनुपर्ने बताए । प्रकोपको कारण, यसबाट उब्जने समस्या समाधानको उपाय, बिद्यमान जल,जमिनको अवस्था बारे पनि जानकारी चाहिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले बताए । यसैगरी किसानलाई नहर, सिचाइको थोरै प्रयोगबाट धेरै फाइदा लिने सीप ज्ञानबारे पनि जानकारी समेट्न उपसचिव पोख्रेलले बताए ।
स्थानीय स्तरमा हुने प्रकोपबाट बच्ने उपाय, प्रकोपको लेखाजोखा गर्ने विधि, तथ्यांक संकलनको तरिका बारे प्रशिक्षणमा जानकारी गराइने बिषयबस्तु समाबेश गरिएको राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघका सामाजिक परिचालक पुण्यप्रसाद सुबेदीले बताए ।
बिपद व्यवस्थापन चक्र, बिपद जोखिम व्यवस्थापन र विपद व्यवस्थापन चरणवद्व कार्य, रणनीतिक योजनाको प्राथमिकताहरू, बिषयगत अवधारणाहरू, प्रकोप संकटासन्न तथा क्षमता लेखाजोखा सबन्धी अवधारणा तथा औजारहरू बारे जानकारी दिने गरि स्थानीय तहमा प्रशिक्षण गराइने महासंघका सामाजिक परिचालक पुण्यप्रसाद सुबेदीले बताए । तालिमपछि स्थानीय स्तरको किसानहरूले जल उत्पन्न प्रकोप नियन्त्रण समस्या र समाधान बारे सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय क्षेत्रको समस्या र चुनौतीलाई सम्बोधन गर्ने गरि काम सुरु गरेको महासंघको प्रदेश कोषाध्यक्ष हेमलाल उप्रेतीले बताए । युएसएआडी र तायर नेपालको सहयोगमा प्रदेश स्तरीय छलफल गरिएको हो । कार्यक्रम महासंघका बागमती प्रदेश अध्यक्ष रघुनाथ महर्जनको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । मकवानपुरमा पहिलो पटक प्याराग्लाईडिङ परीक्षण गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ बुढीचौरमा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको सन्दर्भमा मकवानपुरगढी गाउँपालिका-८ बुढिचौरको युल्जाङ डाँडाबाट प्याराग्लाइडिङको परीक्षण गरिएको हो । गाउँपालिकाको सबैभन्दा विकट र प्राकृतिक स्रोतले भरिपुर्ण बुढीचौरमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्याराग्लाइडिङको परीक्षण गरिएको वडाअध्यक्ष कुमार सिं घिसिङले बताए । प्याराग्लाइडिङको माध्यमबाट बुढीचौरमा रहेको ऋृषेश्वर गुफालाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने अध्यक्ष घिसिङले बताए ।
प्याराग्लाइडिङ परीक्षण गर्न पोखराबाट ३ जनाको टोली ल्याईएको र २ दिन परीक्षण गराइएको वडाध्यक्ष घिसिङले बताए । बुढीचौरको युल्जाङ डाँडाबाट उडान भएको प्याराग्लाइडिङ बुढीचौरकै खेलमैदानमा ल्यान्ड गरिएको थियो । प्याराग्लाइडिङ परीक्षणका लागि गाउँपालिकाले दुई लाख बजेट उपलब्ध गराएको थियो ।
गाउँपालिकाले महाभारत पर्वत शृङ्खलाको काखमा रहेको बुढीचौरमा व्यवसायीक प्याराग्लाडिङ र वञ्जीजम्प सञ्चालन गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए ।