मकवानपुर । नीति योजना आयोग बागमती प्रदेश उपाध्यक्ष डाक्टर गंगादत्त नेपालले खानेपानीको सुरक्षाको लागि मुहानदेखी नै सुरक्षा व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मकवानपुरले आयोजना गरेको खानेपानी सरसफाइ व्यवस्थापन सम्बन्धी योजना व्यवस्थापन तालिममा उहाँले यस्तो बताउनु भएको हो ।
पानीको मुहानको संरक्षण पाइप, ट्याङ्की, चेम्बरहरूको मर्मतदेखि सबै सवालमा संस्थागत दीगोपना अनिवार्य भएको नेपालले बताउनु भयो । खुला दिशा मुक्त देश घोषणा भए पनि पुर्ण सरसफाइको सवालमा धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनु भयो ।
महासंघ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रिय उपाध्यक्ष गौतमबुद्ध लामा, बागमती प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, सचिब तेजराज पाण्डे, नगर अध्यक्ष भिमा गुरागाई, हेटौंडा ५ का वडा अध्यक्ष सुशील घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सन्चालित तालिममा हेटौंडाको वडा १, ५ र ११ का उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताहरूको सहभागीता रहेको महासंघ जिल्ला सचिब चन्द्र योन्जनले जानकारी दिनुभयो ।
तालीममा बद्रीप्रसाद सापकोटाले योजना व्यवस्थापन सम्बन्धी, सुजन तिमल्सिनाले ऐन कानुनलागयको सवालमा र सन्जय ठकुरले पानीको गुणस्तर बारे सहजीकरण गर्नुहुने छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको हेटौडा सामुदायिक आँखा अस्पतालमा महिला बिरामीले अब महिनावारी प्याडको सुविधा पाउने भएका छन् ।
अस्पतालमा आउने महिला बिरामीहरुको लागि लक्षित गर्दै प्याड भेन्डिग मेसिन जडान गरिएको छ । युक्ति फाउण्डेशन काठमाडौंले अस्पतालमा यो मिसेन सहयोग गरेको हो । बिहीबारबाट अस्पतालमा आउने बिरामीले सेवा पाउने अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले बताए । संरक्षक श्रेष्ठ सहित अस्पताल प्रमख डा. सुनिल थकालीलाई फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले मेसिन हस्तान्तरण गरेका हुन् । “अब अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न बजारमा जानु पर्दैन” श्रेष्ठले भने ।
मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशनबाट सहयोग गर्नेछ । युक्ति फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने समस्याको लागि विभिन्न स्थानमा यस्तो मेसिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदी बिहीनीहरुलाई पर्न सक्ने समस्याको हल गर्न मेसिन विभिन्न स्थानमा डोनेशन गर्ने गरेको बताइन् । हेटौडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको उनले बताइन् ।
मकवानपुर । हेटौंडा अस्पतालको बोर्ड तोडफोडप्रति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्य आपत्तीजनक भएकाे जनाउँदै दोषीलाई कारबाहीकाे माग गरेकाे छ ।
अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य कानून विपरीत भएको विज्ञप्तिमा उल्लेख छ।
२ आश्विन २०७६ मा बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पताल सञ्चालन हुँदै आएकाे छ। प्रतिष्ठानले स्वास्थ्य विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य लिएको समेत विज्ञप्तिमा भनिएकाे छ।
प्रतिष्ठानका अनुसार हाल एक सय भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक एक हजार पाँच सय भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको अवस्थामा भएको यस प्रकारको गतिविधिले अस्पताललाई पुनः रेफर सेन्टरको रुपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने देखिन्छ।
“स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो,” विज्ञप्तिमा भनिएको छ “यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ।”
प्रतिष्ठानले घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अस्पतालको सेवा प्रवाहमा अवरोध नआओस् भनेर सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको संयमता र सहयोगको अपेक्षा गरिएको छ।
यसैबीच अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरले समेत मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान माथिको हुलहुज्जत, भाईरल र स्टन्डबाजी प्रति ध्यानाकर्षण भएको जनाएकाे छ । अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ‘अनेरास्ववियु मकवानपुर, स्वास्थ क्षेत्रमा गुणस्तरीय स्वास्थ सेवाको सम्बन्धमा अझ बलियो रुपमा मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालले सेवा दिनको लागि आवश्यक परेमा स्वयंमसेवकिय भूमिका निवार्ह गर्न जुनसुकै बेला तत्पर रहेको समेत अवगत गराउँछौं ।’
‘मानसिक समस्याका कारण यस्ता गतिविधिमा संलग्न भएको हुन सक्ने ठहर गर्दै, यस्ता गतिविधिमा संलग्न जो कोहि व्यक्तिको निशुल्क स्वास्थ परिक्षण गरी डिस्चार्ज गरिदिनुहुन वा शारिरिक समस्याका कारण यस्ता गतिविधि भएको भए दोषि उपर कडा कारबाहीको लागी सम्बन्धित निकाय समक्ष माग गर्दछौं’ ध्याकर्षण पत्रमा भनिएकाे छ ।
आइतबार बिहान युवाहरूको एक समूहले मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान लेखिएको नाम पोतेर बागमती प्रदेश सरकार हेटौंडा अस्पताल बनाएका थिए।

मकवानपुर । बागमती प्रदेशको ललितपुर जिल्लाको विकट गाउँपालिका कोन्ज्योसोममा १३ करोड ८१ लाख रुपैयाँमा अस्पताल निर्माण गरिएको छ ।
अस्पतालको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गरेका छन् । गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री थापाले जनताको स्वास्थ अधिकारलाई सम्बोधन गर्न सरकार सधै तत्पर रहेको बताए ।
प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिंदै, अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । भवन मात्र भएर नहुँने बताउँदै मन्त्री श्रेष्ठले चिकित्सकलगायतका अन्य कर्मचारी, उपकरण र सेवा प्रदान गर्ने प्रणाली पनि सँगै हुनुपर्ने बताए ।
कोभिड १९ महामारीको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यो अस्पताल स्थापनाको अभियानलाई निरन्तरता दिँदै मन्त्री थापाले सबै तह संघ, प्रदेश र स्थानीय एकै साथ लाग्नुपर्ने आवश्यकता औंल्याए । “पालिकाहरूबाट चिकित्सक, स्टाफ नर्सलगायत आवश्यक स्वास्थ्यकर्मी र उपकरणको माग भइरहेकै छ। यसलाई सम्बोधन गर्न प्रदेश सरकारले ११९ तहका अस्पताललाई सहयोग गर्ने गरी योजना बनाएको छ ” मन्त्री थापाले भने ।
सबै सुविधा तुरुन्त उपलब्ध हुन नसक्ने भए पनि टेलिमेडिसिन सेवाको माध्यमबाट दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा सरकार अग्रसर रहेको उनले जानकारी दिए। स्थानीय तहबाट सुरु भएको यो प्रयासलाई सुदृढ पार्न प्रदेश सरकारको थप सहकार्य आवश्यक रहेको स्थानयहरुले बताएका थिए। मन्त्री थापाले निकट भविष्यमा स्वास्थ्य सेवा गुणस्तरीय र पहुँचयोग्य बनाउन थप कार्यक्रमहरू ल्याइने प्रतिवद्धता व्यक्त गरे ।
अस्पताल बनाउन स्थानीय विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गरेकी थिइन् । थप १ रोपनी सरकारी जग्गा र २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएकोसहित ६ रोपनीमा अस्पताल निर्माण गरीएको थियो । २०७८ भदौ २३ गते निर्माण कम्पनीसङ्ग १३ करोड ८१ लाख रुपैयाँ निर्माण सम्झौता गरी काम शुरु भएको थियो ।
मकवानपुर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा उत्सव चौलागाईं चयन भएका छन् । शनिबार मकवानपुरको हेटौंडामा भएको स्वास्थ्यकर्मी महासंघको चौथो जिल्ला अधिवेशनले चौलागाईँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
स्वास्थ्यकर्मी महासंघ उपाध्यक्षमा लक्ष्मी पौडेल र सानी मोक्तान, सचिवमा हीरालाल तामाङ, कोषाध्यक्षमा समाधी बल, उपसचिवमा सविता पौडेल चयन भएका छन् । यस्तै सदस्यमा मोहन खतिवडा, परिदेश पराजुली, रुपेश सिलवाल, मेनुका यादव, पार्वती पौडेल, मिलन थापासहित सर्वसम्मत चयन भएका छन् ।
स्वास्थ्यकर्मीहरुको हक हितमा संगठित संघको अधिवेशन मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा सम्पन्न भैसकेको छ भने, बाँकी पालिकामा तयारी भइरहेको बताइएकाे छ ।अधिवेशन नितर्वमान अध्यक्ष भोलानाथ चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको हाे ।
मकवानपुरले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छः प्रथम मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरको चौथो जिल्ला अधिवेशनकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै उनले स्वास्थ्य सेवामा संलग्न समस्त स्वास्थ्यकर्मीहरुको पेशागत हक हित र अधिकारको संरक्षण एवम् सम्वर्धन गर्न संघले पहल गनुपर्ने बताए । ‘स्वास्थ्यकर्मीको पेशा संवेदनशील पेशा हो । तपाईंहरुले चाहेको खण्डमा धेरै राम्रा कामहरु हुनसक्छ, तपाईहरुको लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन समेत सक्छ । त्यसैले आफनो पेशाप्रति ईमान्दार र सचेत रही कार्य गर्नुहाेस’ उनले भने ।
राजनीतिक पूर्वाग्रह राखेर केही तत्वहरुले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विरोध गरिरहेकाे समेत बताए । ‘केही व्यक्तिहरुको निजी स्वार्थको कारण अहिले प्रतिष्ठानको विरोध भइरहेको छ’ उनले भने ‘विगत देखि हेटौंडा अस्पतालमा भइरहेको चलखेल अन्त्य हुने डरले केही तत्वहरु प्रतिष्ठानको बिरुद्धमा लागेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिव नारायण पौडेलले चिकित्सा शिक्षा आयोगबाट सिफारिस भएदेखि स्वास्थ्यकर्मी उत्पादनसम्ममा व्यवस्थापनको पाटो चिसिदै गएको बताए । स्वास्थ्य सेवा सम्बन्धी २६ वटा ऐन र कानूनका समस्या पुनरावलोकन गरी संविधानले कल्पना गरेको समृद्ध स्वास्थ्य निर्माण गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘स्वास्थ्यकर्मी उत्पादन भएपछि जनताले गुणस्तरीय सेवा पाए कि, पाएनन् ? यसबारे चासो दिन आवश्यक छ । देशमा उत्पादित स्वास्थ्य जनशक्तिलाई देशमै बसेर स्वास्थ्य उर्जा खर्चिन उत्प्रेरणा जगाउनु पर्छ’ उनले भने ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले संगठनले स्वास्थ्यकर्मीहरुको हक हित र अधिकारका लागि एकजुट हुनु पर्ने बताए । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन तथा बागमती प्रदेश निजामति ऐन संशोधनका लागि बागमती प्रदेशसभामा छलफल प्रक्रिया अघि बढेको उनले जानकराी दिए ।
‘स्वास्थ्य क्षेत्रलाई कानुनी, संवैधानिक, प्राविधिक तथा बजेटिकरणको दृष्टिकोणले परिपूर्ति गर्न हामी तत्पर छौं’ उनले भने ‘नेतृत्व असल भएमात्र व्यवस्था राम्रो हुने भएकाेले नेतृत्व सक्षम र क्षमतावान हुन आवश्यक छ । ‘संगठनको एउटा अंग स्वास्थ्यकर्मी संघ हो । यो अंगले स्वास्थ्य क्षेत्रको विकासमा पहरेदारको काम गरी संगठन बलियो बनाउन सघाँउ पुर्याउने आशा राखेकाे छु’ उनले भने ।
कार्यक्रममा नेपाल नर्सिङ संघ मकवानपुर अध्यक्ष गंगा दाहाल, नेपाल प्राविधिक संघ वानका केन्द्रीय सचिव रेवती थापा, नेपाल चिकित्सक संघ बागमती प्रदेश अध्यक्ष हरि बहादुर खड्का, स्वास्थ्यकर्मी महासंघ नेपाल बागमतीका सचिव विनोद लामिछाने, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञवाली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागमती अध्यक्ष अनुप अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशन नितर्वमान अध्यक्ष भोलानाथ चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको हाे ।