मकवानपुर । बागमती प्रदेशमा हेटौंडाबाट बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप अभियानको सुरु भएपछि पहिलो मात्राको खोप ४८ प्रतिशतले लगाइएकाे छ । कोरोना रोकथाममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा १२ वर्ष देखी १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप ४८ प्रतिशतलाई लगाइएको प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले बताए ।
हेटौंडामा रेडियो थाहा सञ्चारको १४ औं वार्षिकोत्सवको छैटाै दिन आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री लामाले प्रदेशभरमा ९६ प्रतिशतले पहिलो मात्राको खोप र ९५ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको बताए । खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको, समूदायमा नै पुगी अभियान सञ्चालन गरिएकाले पनि खोप लगाउनेको संख्या वृद्धि भइरहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना कहरका बीच हामीले खोप अभियान, राहत वितरण, खाद्यान्न वितरण, व्यवस्थापन तर्फ ध्यान, लकडाउन, अक्सिजन व्यवस्थापन, सुरक्षा निकाय परिचालन, माक्स अभियान जस्ता विभिन्न कार्यक्रमहरु गरि कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेलेकाे बताए ।
विन्दवासिनी मिडिया प्रा।लिका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संरक्षक अजयराज सुमार्गी, स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाई, हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा, नारायणी संघका प्रवन्धक सरोज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतले कोरोना रोकथामका विषयमा आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, रेडियोका प्रवन्धक अरुणराज सुमार्गी, सहकारी अस्पतालका अध्यक्ष बिष्णुगोपाल महर्जन, उप अनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्री, पुरानो गोरख गणका सेनानी दिपेन्द्र प्रसाद सिंह, सार्वजानिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, होटल एशोसिएसन अफ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगायतको आतिथ्यता रहेको थियो ।
रेडियाेकाे बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको साताैं दिन फागुन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह र साहित्य सम्मेलन हुने रेडियोका स्टेसन म्यानेजर मणीराज गौतमले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन फागुन १ गते आईतबार पर्यावरण प्रवर्द्धनकाे लागि रेडियोले साइकल र्याली गरेको थियो । दोस्रो दिन फागुन २ गते सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
यस्तै तेस्रो दिन फागुन ३ गते मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम र चौथो दिन ४ गते बुधबार दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक सरोकारवाला बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पाचाैं दिन ५ गते विहीबार सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको ? विषयक माविस्तरीय वक्तृत्वकला गरिएकाे गाैतमले बताए ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा धुलिखेल अस्पतालको शाखा विस्तार गरिने तयारी गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरुसँग मंगलबार अस्पतालमै पुगेर राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङमा शाखा विस्तार सम्वन्धी छलफल गरेका छन् ।
अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरुको बारेमा जानकारी लिँदै राज्यमन्त्री प्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको मकवानपुरकाे विकट राक्सिराङ गाउँपालिकामा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीहरुसँग छलफल गरेका थिए ।
निकट भविष्यमै चार शैयाको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले बताए । प्रजाको पहलमा धुलिखेल अस्पतालले यसअघि दुइपटक गर्लिङको क्षेत्रगत निरीक्षण गरिसकेको छ । राज्यमन्त्रीसँगको छलफल सकारात्मक भएको र निकट भविष्यमै गाउँलेको आवश्यकताको आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने सोच बनाइएको धुलिखेल अस्पतालका पब्लिक हेल्थ अफिसर सुदिप श्रेष्ठले जानकारी दिए ।
‘स्थानीयको आवश्यकताको पहिचान गरिरहेका छौं । गाउँपालिकासँग पनि छलफल गर्ने तयारी गरेका छौं । जग्गा, भवन, उपकरणलगायत पूर्वाधार तयार गर्न स्थानीय तह र अन्य निकायसँग सहकार्य गरेर अघि बढिनेछ ।’ पब्लिक हेल्थ अफिसर श्रेष्ठले भने ।
गर्लिङमा अस्पताल निर्माण गर्ने सोचका साथ भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन् । धुलिखेल अस्पतालले नागरिकको स्वास्थ्य आवश्यकताको पहिचान गर्नुका साथै अन्य अवस्थाबारे जानकारी लिन तत्कालको लागि फागुन मसान्तसम्ममा राक्सिराङमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको जनाएको छ ।
राज्यमन्त्रीसँगको छलफलमा अस्पतालका डाइरेक्टर रामकण्ठ माकाजु, संस्थापक डा राजेन्द्र कोजु, अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठ, क्लिनिकल डाइरेक्टर डा. बलराम मल्ल, सामुदायिक विभाग तथा पब्लिक हेल्थ डाइरेक्टर डा. विराजमान कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।
काभ्रेको धुलिखेल नगरपालिका–६ मा रहेको धुलिखेल अस्पतालले हालसम्म देशभर १८ वटा शाखा विस्तार गरी स्वास्थ्य सेवा दिइरहेको अस्पतालले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएकाे छ । मनहरी गाउँपालिकाको आर्थिक र हेटौडा सामुदायिक आंखा अस्पतालको प्राविधिक सहयोगमा आँखा केन्द्र स्थापना भइ उद्घाटन गरिएकाे हाे । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रश सोसाईटी मनहरी उपशाखा र सामुदायिक आंखा अस्पतालको समन्वयमा यस अघी साप्तााहिक रुपमा संचालित आँखा केन्द्रलाई गाउँपालिकाको समन्वयमा दैनिक रुपमा संचालन गर्ने गरी केन्द्र स्थापना गरिएकाे हाे । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आँखा स्वास्थ्य सेवाको विकास गर्न मनहरी गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताए ।
नेपला आंखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणकोलागि लागि परिरहेको र मकवानपुरमा पहिलो पटक आँखा स्वास्थ्यको सेवा मनहरीबाट शुरु गरेको बताए । केन्द्र उद्घाटनकाे अवसरमा श्रेष्ठले आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्चसिद्धि फाउण्डेशन मार्फत २५ जना विपन्न बिरामीहरुलाई निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताए ।
गाउँपालिकाले २ जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने भएकाे छ । आँखा केन्द्रका लागि होण्डाई मोटर फाउन्डेसन र योङसाई विश्वविद्यालय दक्षिण कोरियाले २० लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको छ । योग्सी युनिभर्सिटी र चुगंमुगं कोग कोरीयाबाट उपकरणहरुको सहायोगमा सामुदायिक आंखा केन्द्र सचालित छ ।
मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको २ महिनापछि आँखा केन्द्र नियमित रुपमा सञ्चालनमा आएको हो । अस्पताल प्रमुख डा. सुनिल थकाली र गाउँपालिकाका अध्यक्ष उप्रेतीले २ महिनाअघि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
आँखा केन्द्र उद्घाटन कार्यक्रममा तिलगंगा आंखा कार्यक्रममा प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी, बाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ठाकुर तितुङ लगायतकाे उपस्थिति रहेकाे थियाे । यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा केन्द्र सञ्चालनमा ल्याएको छ ।
मकवानपुर । नर्सिङ दिवसको अवसरमा मकवानपुरका अग्रज नर्सहरु सम्मानित भएका छन् । ६० औं नर्सिङ दिवसको अवसरमा शनिबार मकवानपुरका अग्रज ३ जना नर्सहरुलाई सम्मान गरिएकाे हो ।
मकवानपुर सहकारी अस्पतालले मकवानपुरका अग्रज नर्सहरु बुनु शर्मा, चम्पा कोजु र धन राईलाई सम्मान गरेको छ । सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको प्रमुख आतिथ्यमा अग्रज नर्सलाई सम्मान गर्नुका साथै स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भिमसागर गुरागाईंलाई स्वागत एवम् सम्मान गरिएको थियो ।
यस्तै सहकारी अस्पतालमा लामो समयदेखि कार्यरत शान्ति लामा र पुस महिनाको उत्कृष्ट कर्मचारी सोनु पौडेललाई पनि सम्मान गरिएको छ।
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । मन्त्रालयले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पताल ५१ लाख बरारबको स्वास्थ्य सामाग्रीय सहयोग गरेकाे हाे ।
विहीबार हेटाैडा अस्पतलालाई मन्त्रालयले २ वटा भेन्टिलेटर, १० वटा वेड साइड लकर र दुईवटा मनिटर गरी ५१ लख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयाेग गरेकाे हाे । विहीबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य साम्रगी हस्तातरण गर्दै मन्त्री लामाले हेटौंडा अस्पतालाई जिल्लाको अस्पताल मात्र नभएर प्रदेशकै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न आफू तत्पर रहेको बताए । यस्तै, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य सेवाको अभावले गर्दा बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउन आफूले पहल गरिरहेको बताइन् ।
यसैगरी, अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट सापकोटाले हाल अस्पतालमा संघीय सरकारको सहयोगसंगै भेन्टिलेटरको संख्या १२ वटा पुगेको जानकारी दिए ।