मकवानपुर । बागमती प्रदेशमा हेटौंडाबाट बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप अभियानको सुरु भएपछि पहिलो मात्राको खोप ४८ प्रतिशतले लगाइएकाे छ । कोरोना रोकथाममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा १२ वर्ष देखी १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप ४८ प्रतिशतलाई लगाइएको प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले बताए ।
हेटौंडामा रेडियो थाहा सञ्चारको १४ औं वार्षिकोत्सवको छैटाै दिन आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री लामाले प्रदेशभरमा ९६ प्रतिशतले पहिलो मात्राको खोप र ९५ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको बताए । खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको, समूदायमा नै पुगी अभियान सञ्चालन गरिएकाले पनि खोप लगाउनेको संख्या वृद्धि भइरहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना कहरका बीच हामीले खोप अभियान, राहत वितरण, खाद्यान्न वितरण, व्यवस्थापन तर्फ ध्यान, लकडाउन, अक्सिजन व्यवस्थापन, सुरक्षा निकाय परिचालन, माक्स अभियान जस्ता विभिन्न कार्यक्रमहरु गरि कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेलेकाे बताए ।
विन्दवासिनी मिडिया प्रा।लिका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संरक्षक अजयराज सुमार्गी, स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाई, हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा, नारायणी संघका प्रवन्धक सरोज खनाल, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतले कोरोना रोकथामका विषयमा आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, रेडियोका प्रवन्धक अरुणराज सुमार्गी, सहकारी अस्पतालका अध्यक्ष बिष्णुगोपाल महर्जन, उप अनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्री, पुरानो गोरख गणका सेनानी दिपेन्द्र प्रसाद सिंह, सार्वजानिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, होटल एशोसिएसन अफ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगायतको आतिथ्यता रहेको थियो ।
रेडियाेकाे बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको साताैं दिन फागुन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह र साहित्य सम्मेलन हुने रेडियोका स्टेसन म्यानेजर मणीराज गौतमले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन फागुन १ गते आईतबार पर्यावरण प्रवर्द्धनकाे लागि रेडियोले साइकल र्याली गरेको थियो । दोस्रो दिन फागुन २ गते सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
यस्तै तेस्रो दिन फागुन ३ गते मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम र चौथो दिन ४ गते बुधबार दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक सरोकारवाला बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पाचाैं दिन ५ गते विहीबार सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको ? विषयक माविस्तरीय वक्तृत्वकला गरिएकाे गाैतमले बताए ।

