मकवानपुर/ प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा आज मंगलबार भएको खेल अन्तरगत क्रिकेटमा काठमाडौं विजयी भएको छ । प्रतियोगिताको ब्याटमिन्टन अन्तरगत चितवन र धादिङ प्रथम भएका छन् ।
यस्तै हेटौंडाको क्याम्पा रंगशालामा भएकाे फुटबलक अन्तरगतकाे पहिलो खेल सिन्धुली र काठमाडौंबीच भएको थियो । खेलमा सिन्धुली विजयी भएको छ । पहिलो हाफमा सिन्धुलीले २ गोल गरेको थियो । खेलको दोस्रो हाफमा ४ गोल थप गर्दै ६–० गोल अन्तरले सिन्धुली क्वाटरफाइनल प्रवेश गरेको हो ।
दोस्रो खेलमा भक्तपुर विजयी भएको छ । रसुवालाई ६–० गोल अन्तरले हराउदैं भक्तपुर क्वाटरफाइनल प्रवेश गरेको हो ।
भोली बुधबार दुईवटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबीच हुनेछ । दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।
ब्याटमिन्टन खेलमा चितवन र धादिङ प्रथम
हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा पुरुष तर्फ चितवन प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउदैं चितवन प्रथम भएको हो । दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताए ।
महिला तर्फभने धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अंकले पराजित गर्दै प्रथम भएको हो । त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्टले बताए । ब्याटमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।
प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिवलगायतले मेडल, प्रमाण र नगद सहित पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः तीस हजार, चौबिस हजार र अठार हजार प्राप्त गरेका छन्।
महिला क्रिकेटमा काठमाडौं विजयी
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजेता भएको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौंको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३ रन बनाइन् ।
चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएका थियो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरेका थिए ।
पुरुष तर्फको खेल भने भोली बुधबार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका खैराङमा स्वास्थ्य सेवा केन्द्र भवनकाे उद्घाटन गरिएकाे छ राक्सिराङको वडा नम्बर ९ स्थित खैराङ कोखारीमा शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको हाे ।
स्वास्थ्य सेवा केन्द्र भवनको शुक्रबार बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन गरेका हुन् । राक्सिराङका विभिन्न वडामा स्वास्थ्य संस्थाकाे पक्की भवन निर्माण गर्ने काम भइरहेकाे छ । यसै क्रममा ३८ लाख रुपैयाँ लागतमा खैराङ कोखारीमा पनि स्वास्थ्य भवन निर्माण गरिएको गाउँपालिकाले जनाएकाे छ ।
स्वास्थ्य भवनकाे उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले सपना बाँड्ने कम्युनिष्टहरुले केही काम गर्न नसकेकाले अब विकासको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । कांग्रेसले नेतृत्व गरेको विकट राक्सिराङ गाउँपालिकामा विकासका धेरै काम गर्न सफल भएको भन्दै उनले प्रशंसा गरे । शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधारलगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको भन्दै आफ्नो कार्यकालमा पनि राक्सिराङमा प्रयाप्त बजेट छुट्याउने प्रतिवद्धता उनले जनाए ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको बजेटले धान्न नसकेका योजनाहरु प्रदेशबाट छुट्याउन राज्यमन्त्री प्रजालाई आग्रह गरे । विकासका लागि अझै समस्या र चुनौतीहरु धेरै रहेको स्मरण गर्दै उनले सबैको साथ र सहयोग लिएर राक्सिराङको आवश्यकता पूरा गर्न आफूले पर्याप्त काम गरेको दावी गरे।
राक्सिराङ गाउँपालिका ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, बागेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्ल ठकुरी, राज्यमन्त्रीका निजी सचिव खेम चेपाङ, कोखारी स्वास्थ्य सेवा केन्द्रका कर्मचारी जीवन ठकुरी, निर्माण व्यवसायीका प्रतिनिधि बालकृष्ण खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मृगौला स्वास्थ्यबारे सचेत रहन सबेलाई आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका विरामी वर्षेनी थपिने गरेकाे बताएका छन् ।
‘वर्षमा १ पटक मृगौला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गर्दछु मन्त्री लामाले सन्देशमा भनेका छन्– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मृगौला रोगको पहिचानको लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममार्फत मृगौला परीक्षण गर्ने गरेको छ ।’ रोगको बेलैमा पहिचान भएमा निधानमा समेत सहज हुने भएकोले वर्षमा एक पटक मृगौला परीक्षण गर्न र रोग लागेमा बेलैमा उपचार गर्न लामाले सबैमा अनुरोध गरेका छन् ।
उनले मृगौलाको स्वास्थ्यबारे सचेत रहन सम्पूर्ण महानुभावलाई अनुरोध गरेका छन् । नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मृगौलामा समस्या आउने गरेको पाइएको छ । क्रोनिक मृगौला रोग सामन्यतया घातक हुने जनाइएको छ । प्रारम्भिक अवस्थामा यस रोग लाग्नबाट बचाउन साधारणतया हुने व्यवस्थापनबाट विरामीलाई निको पार्न सकिने र घातक हुनबाट बचाउन सकिने जनाईएको छ ।
खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मृगौला रोगी बढिरहेका छन् । मृगौलाको समस्याबाट जोगिन प्रशस्त पानी पिउन, हिडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाइ अनुसारको वजन व्यवस्थापन गर्न चिकित्सकको सुझाव छ ।
नेपाली समाजमा मृगौला रोगको आधारभूत तथा उपयुक्त सूचना नलिने गरेको, मृगौला स्वास्थ्य शिक्षा र जनचेतना नहुनु तथा मृगौला स्वास्थ्य शिक्षा हासिल गर्न तत्परता नरहेको अवस्थामा छ । यही कारणले मृगौला रोग बढ्दो अवस्था रहेको र घातक समेत हुने गरेको स्वास्थ्य सन्देशमा उल्लेख छ । “सबैका लागि मृगौला स्वास्थ्य” भन्ने नाराका साथ विहीबार विश्व मृगौला दिवस मनाईदैछ ।
सञ्चारिका समूह मकवानपुरद्वारा सेनिटरी प्याड वितरण सुरु
Tags: No Comments
मकवानपुर/ सञ्चारिका समूह नेपाल मकवानपुर शाखाले महिला पत्रकारहरुका लागि निःशुल्क स्यानेटरी प्याड वितरण सुरु गरेको छ ।
११२ औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले ८ मार्चबाट प्याड वितरण सुरु गरेको जिल्ला अध्यक्ष सम्झना रिजालले बताइन् । दिवसको अवसरमा समूहले मैत्रीपूर्ण फुटसल खेल तथा प्याड वितरण कार्यक्रम गरेको हो । समूहले महिल पत्रकारलाई फिल्डमा शसक्त भएका काम गर्न सहजता प्रदान होस् भनेर यस्तो कार्यको थालनी गरेको रिजालले बताइन् ।
फुटसल खेलको समान तथा सेनिटरी प्याड वितरण कार्यको सुरुवात गर्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले महिलाहरुको नेतृत्व र शसक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनु पर्ने बताइन् ।

उनले दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन् । महिलाहरुलाई सधै दोस्रो पदमा मात्र राख्दै आएको तितो यथार्थका विरुद्ध आगमी दिनमा संघर्ष गर्नुपर्ने लामाले बताइन् । महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने लामाले प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतले महिला र पुरुषको साथ र सहकार्यले मात्रै समानताको कार्यान्वन संभव भएको बताएका थिए ।
मकवानपुर / बागमती प्रदेशमा कोरोना विरुद्धको बुस्टर डोज लगाउनमा खासै आकर्षण देखिएको छैन । पहिलो र दोस्रो खोप लगाउन जुन आकर्षण देखिएको थियो यस्तो आकर्षक बुस्टर डोजमा देखिदैन ।
प्रदेशमा कोरोना विरुद्ध पहिलो डोज लगाउनेको सङ्ख्या ९७.९ प्रतिशत रहेको छ । प्रदेशको स्वास्थ मन्त्रालयका अनुसार ९६.८ प्रतिशतले दोस्रो डोज लगाएका छन् । तर बुस्टर डोज लगाउनेहरू भने जम्मा ११.८ प्रतिशत रहेका छन् । कोराना विरुद्धको २ डोज खोप लगाएकाहरू पनि महामारीको तेस्रो चरणमा संक्रमित भएपछि केहीले यसको प्रभावकारीता बारे नै शंका गर्न थालेको पाईन्छ । मन्त्रालयका अनुसार १२–१७ उमेर समूहका ५०.१ प्रतिशतले पहिलो मात्रा र २८.६१ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् ।
यसैबीच बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गरेका छन् । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने आफ्नो प्रमुख लक्ष्य राखेका प्रधानमन्त्री देउवाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियानमा हासिल गरेको उपलव्धीको प्रशंसा गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेश स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीसंगको भेटमा प्रधानमन्त्री देउवाले बागमती प्रदेशले खोप अभियानलाई समुदाय तहसम्म पुर्याएर प्राप्त गरेको सफलताको प्रशंसा गरेका थिए ।

उनले प्रदेश स्वास्थ्य मन्त्रालयले अघि बढाएको विपन्न नागरिक र आकस्मिक उपचारमा निःशुल्क रक्तसंचार सेवा, प्रदेशस्तरीय स्वास्थ्य बीमा संयोजन समिति गठन प्रक्रिया, संघीय खोप अभियान दु्रत कार्य संचालन टोलीसंगको समन्वय, मूख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको कार्यविधि निर्माण, औषधी एवं उपकरणको उचित मौज्दात व्यवस्थापन एवं वितरण जस्ता कामको प्रशंसा गरेका छन् ।
प्रदेश सरकारले अघि सारेका कामलाई सहयोग एवं सहजिकरण गर्न संघीय सरकार तत्पर रहेको समेत उनको प्रतिवद्धता थियो । भेटवार्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले प्रदेश सरकार जनतालाई राहत र विकास दिने काममा अघि बढेको बताएका थिए । उनले प्रदेश सरकारको सेवा प्रवाहलाई थप चुस्त र व्यवस्थित गर्दै लैजान आवश्यक नीतिगत सहजिकरणका लागि संघीय सरकारसंग आग्रह गरेका थिए ।
स्वास्थ्य मन्त्री लामा र राज्यमन्त्री नेपालीले स्वास्थ्य मन्त्रालयले गरिरहेको नितिगत सुधार, नियमित कार्य, समस्या र समाधानका लागि संघीय सरकारले गर्नुपर्ने सहजिकरणका विषयमा अवगत गराएको स्वास्थ मन्त्री लामाका प्रेस सल्लाहकार रुपेश दुलालले बताए ।