मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मृगौला स्वास्थ्यबारे सचेत रहन सबेलाई आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका विरामी वर्षेनी थपिने गरेकाे बताएका छन् ।
‘वर्षमा १ पटक मृगौला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गर्दछु मन्त्री लामाले सन्देशमा भनेका छन्– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मृगौला रोगको पहिचानको लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममार्फत मृगौला परीक्षण गर्ने गरेको छ ।’ रोगको बेलैमा पहिचान भएमा निधानमा समेत सहज हुने भएकोले वर्षमा एक पटक मृगौला परीक्षण गर्न र रोग लागेमा बेलैमा उपचार गर्न लामाले सबैमा अनुरोध गरेका छन् ।
उनले मृगौलाको स्वास्थ्यबारे सचेत रहन सम्पूर्ण महानुभावलाई अनुरोध गरेका छन् । नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मृगौलामा समस्या आउने गरेको पाइएको छ । क्रोनिक मृगौला रोग सामन्यतया घातक हुने जनाइएको छ । प्रारम्भिक अवस्थामा यस रोग लाग्नबाट बचाउन साधारणतया हुने व्यवस्थापनबाट विरामीलाई निको पार्न सकिने र घातक हुनबाट बचाउन सकिने जनाईएको छ ।
खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मृगौला रोगी बढिरहेका छन् । मृगौलाको समस्याबाट जोगिन प्रशस्त पानी पिउन, हिडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाइ अनुसारको वजन व्यवस्थापन गर्न चिकित्सकको सुझाव छ ।
नेपाली समाजमा मृगौला रोगको आधारभूत तथा उपयुक्त सूचना नलिने गरेको, मृगौला स्वास्थ्य शिक्षा र जनचेतना नहुनु तथा मृगौला स्वास्थ्य शिक्षा हासिल गर्न तत्परता नरहेको अवस्थामा छ । यही कारणले मृगौला रोग बढ्दो अवस्था रहेको र घातक समेत हुने गरेको स्वास्थ्य सन्देशमा उल्लेख छ । “सबैका लागि मृगौला स्वास्थ्य” भन्ने नाराका साथ विहीबार विश्व मृगौला दिवस मनाईदैछ ।

