मकवानपुर । संघीय सरकारले प्रदान गर्ने बजेट उपलब्धतामा ढिलाई हुंदा अस्पतालको सेवा प्रवाह समस्या भएको बताईएको छ ।
हेटौंडा अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाइले यस्तो बताएका हुन् । अस्पतालले बर्षमा १४ करोड बराबरको कारोवार गर्ने र हाल ९ करोड रुपियाँ संघीय सरकारबाट रोकिदा समस्या भएको प्रसाईले बताए । अस्पतालको बारेमा व्यापक जनगुनासो आएपछि अनुगमनमा पुगेका हेटौंडा उपमहानगरपालिका नगर प्रमुख र उपप्रमुखसंग प्रसाइले यस्तो बताएका हुन । संघीय सरकारबाट आउनुपर्ने पैसा आए सेवा र जनगुनासोलाई व्यवस्थापन गर्न सकिने उनले बताए ।
अहिले अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरणमा समस्या भएको उनले बताए । “यो बिषयमा समस्या ठेकेदारलाई पैसा दिन नसक्दा भएको हो” उनले भने । औषधिको ठेक्का पारेको ‘एक्सिस्’ फर्मलाई ८० लाख रुपियाँ दिन नसक्दा औषधि आउँनै समस्या भएको उनले बताए ।
अस्पतालले दिने सेवामा समस्या नभएको उनको दाबि छ। अध्यक्ष प्रसाईले भने “सेवामा कुनै समस्या छैन, दैनिक बिरामिको चाप बढ्दो रहेपछि जनशक्तिमा व्यवस्थापनमा भने समस्या रहेको उनले बताए ।
विभिन्न समस्याका बाबजुत जनताको समस्यालाई समाधान गर्न उपमहानगपालिका तयार रहेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । अहिले देखिएको समस्यालाई कम गर्दै व्यवस्थापनको पाटोमा ध्यान दिन अस्पताल व्यवस्थापनलाई नगर प्रमुख लामाले आग्रह गरीन् ।
जनगुनासो धेरै भएको भन्दै त्यो रोक्ने पाटोमा लागेर काम देखाउन उपमहानगरको सहयोग रहने लामाले प्रतिबद्धता जनाइन् । उनले दैनिक आउँने बिरामी उपचार बिनै फर्कन पर्ने अवस्थालाई चिर्न जरुरी रहेको भन्दै अस्पताल परिसरमा उपमहानगरले प्रसुति बाल अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको बताइन् ।
उपमहानगर जिम्मेवार ढंगबाट लागेको भन्दै व्यवस्थित स्वास्थ्य अवस्था बनाउँनका लागि के गर्न सकिन्छ सहकार्य गरेर अधि बढ्न तयार रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले जनतालाई सुबिधा दिने कुरामा उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताए ।
हेटौंडा अस्पतालमा रहेको बेथितीको बिषयमा जनस्तरबाटै हुँदै आएको दवाबपछि हेटौंडा उपमहानगरपालिकाले चासो लिएको हो । बुधबार हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले अस्पताल व्यवस्थापन समितिसँग अहिलेको अवस्थाको बारेमा चासो लिएका हुन् ।
बिरामिले टिकट, औषधी, उपचार पद्धतीको बिषय लिएर जनस्तरबाट आएको आवाजलाई चासो लिदै छलफल गरीएको हो । उपमहानगरमा भएको छलफलमा हेटौंडा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईले आर्थिक अवस्थाको कारण समस्या भएको बताएका थिए । उनले केन्द्र सरकारवाट आउँनु पर्ने स्वास्थ्य बिमा मार्फतको ६ करोड र कोरोनाको समयमा फिल्डमा खटिएका कर्मचारीको ३ करोड रुपियाँ नआउँदा समस्या भएको प्रसाइले बताए ।
मकवानपुर । नेपालमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १ सय ६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय १ पुगेको छ । संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् । २ जना संस्थागत आइशोलेशन, २ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिका समेत नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४ सय ४४ पुगेको छ । यसै गरि हालसम्म कोरोना संक्रमणबाट नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ रहेको छ । ९ लाख ६७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मकवानपुर । नेपाल प्रेस युनियनकाे ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटाैंडामा हुने भएकाे छ । हेटाैंडाकाे राेयल पार्टी प्यालेसमा हुने महाधिवेशनकाे प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ ।
प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटाैंडामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनकाे तयारी तीव्र पारिएकाे जनाएकाे छ । बिहीबार नै रिगल हेटाैंडा रिसाेर्टमा महाधिवेशन तयारीकाे लागि सचिवालयसमेत उद्घाटन गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयकाे उद्घाटन गरेका हुन् ।
सचिवालय उद्घाटन गर्दै बानियाँले युनियनकाे महाधिवेशन सम्पन्न गर्न पार्टीले सबै प्रकारकाे सहयाेग गर्न तयार रहेकाे बताए । मुलुकमा लाेकतन्त्र र प्रजातन्त्रकाे रक्षा गर्न पत्रकारकाे अहम् भूमिका हुने भन्दै बानियाँले पत्रकारले सत्य र तथ्यमा आधारित भई सत्य सामाग्री प्रवाह गर्नुपर्नेमा जाेड दिए ।
पत्रकार सम्मेलनमा बाेल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनकाे महाधिवेशनकाे तयारी तीव्र पारिएकाे भन्दै साउन पहिलाे साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुकाे सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने बताए । महाधिवेशनकाे तयारीका लागि केन्द्रीय तथा स्थानीय समितिहरु गठन भइसकेकाे पनि उनले बताए । विविध कारणले यसअघि युनियनकाे महाधिवेशन सर्दै आएकाेमा यस पटक भने जस्ताेसुकै कठिन परिस्थितिका बाबजुत पनि महाधिवेशन सम्पन्न गर्ने उनले पतिवद्धता जनाए ।
महाधिवेशनले युनियनकाे नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने छ ।
महाधिवेशन सम्पन्न गर्नकाे लागि युनियनले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयाेजक राममणि दाहालकाे संयाेजकत्वमा स्थानीय समन्वय समिति गठन गरेकाे छ । जसकाे सहसंयाेजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी रहेका छन् । आवास व्यवस्थापन समिति संयाेजककाे जिम्मेवारी रुपेश दुलाललाई दिइएकाे छ भने भाेजन व्यवस्थापनमा सुजन विडारीलाई संयाेजक ताेकिएकाे छ । पाेष्टराज अधिकारी’कुमार’काे संयाेजकत्वमा सचिवालय व्यवस्थापन हुनेछ भने प्रचार प्रसारकाे जिम्मा केशव समर्पणलाई दिइएकाे छ ।
अध्यक्ष बद्री सिग्देलकाे संयाेजकत्वमा मूल आयाेजक समिति गठन गरिएकाे छ । स्वागत सत्कार समिति संयाेजकमा उपाध्यक्ष ईश्वरी ओझा रहेका छन् । विधान मस्याैला संशाेधन समितिकाे संयाेजक वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने प्रतिनिधि व्यवस्थापनकाे जिम्मा कार्यबहाक महासचिव भिष्मराज ओझालाई दिइएकाे छ । काेषाध्यक्ष सराेज अधिकारीकाे संयाेजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएकाे छ भने तेज रावलकाे अध्यक्षमा निर्वाचन समिति गठन गरिसकिएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।
मनसुन सुरु भएपछी बुधबार प्रेस वक्तव्य जारी गर्दै मन्त्री लामाले देशका विभिन्न स्थानमा भारी बर्ष भईरहेकाले बाढि पहिरो, डुवान कटान जस्ता प्राकृतिक विपद आउन सक्ने भएकाले यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका हुन् ।

उनले विपदका कारण हुन सक्ने धनजनको क्षति कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुमा द्रुत प्रतिकार्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न भनेका छन् । विपद वा यसका कुनै संकेत देखिएमा यथाशिघ्र उपलव्ध सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालाहरुलाई सुचित गरी मानवीय र भौतिक क्षति न्यूनिकरण गर्न सहयोगका लागि मन्त्री लामाले सबैसंग अनुरोध गरेका छन् ।
मन्त्री लामाले प्राकृतिक विपद आएमा खानेपानी प्रदुषण र सरसफाईको कमीको कारणले विभिन्न किसिमका संक्रामक रोग फैलन सक्ने भएकाले यसका लागि आवश्यक औषधी एवं जनशक्ति तयारी अवस्थामा राख्न र कुनै पनि विपद देखा परेको अवस्थामा सहयोग आवश्यक परेमा मन्त्रालयमा जानकारी गराउन समेत अनुरोध गरेका छन् ।
बागमती प्रदेशकाे काभ्रे सिन्धुपाल्चाेक धादिङ मकवानपुर रसुवा नुवाकाेटलगायतकाे क्षेत्रमा मनसुन सुरु भएसँगै बाढी पहिराेकाे जाेखिम बढेकाे छ । तर सराेकारवालाहरुले पूर्व तयारी गरेका छैनन् ।
मकवानपुर । काठमाडौको दुध स्वास्थकर नभएकोले आफूले कालो चिया खाने गरेको बागमती प्रदेश कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमगाईंले बताएका छन् ।
दुध संकलन,भण्डारण तथा वितरण प्रक्रिया गुणस्तरीय नभएको दाबि गर्दै उनले दुधको गुणस्तरीयतामा उपभोक्ता ढुक्क हुने अवस्था नभएको बताएका हुन् ।
बागमती प्रदेश दुग्ध विकास बोर्डले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा मन्त्री हुमगाईंले यस्तो बताएका हुन् । “तपाईंहरूले संकलन गरेको दुधमा कस्तो गुणस्तरीयता कामय गर्नु भएको छ, उपभोक्ता ढुक्क छन् ?” मन्त्री हुमगाईंले भने ” म आफै काठमाडौं पसेपछि दुध खान्न, कालो चिया खान्छु ।” काठमाडौको दुधमा गुणस्तरीयता नभएकोले खान शंका लाग्ने गरेको बताए ।
“गुणस्तरीय दुध उपभोक्तालाई दिन सकेका छैनौ, गुणस्तरीय दुध बजारमा ल्याए खपत दोब्बर हुन्छ” उनले भने “दुध नफाट्नु मात्रै गुणस्तरीयता कायम छ भन्ने हैन ।” धेरै दुध खपत हुने सेना प्रहरी क्षत्रमा धुलो दुध बिक्रीवितरण हुने गरेको उल्लेख गर्दै मन्त्री हुमगाईले भने “सेना प्रहरी धुलो दुध किन्न छाडेर फ्रेस दुध किन्ने गरी विश्वासनियता बढाउनुहोस, केहि घण्टा राख्दा नजम्ने, स्वाद नबिग्रने बनाएर पठाउन कि हुदैन बिक्री ?”
दुध संकलन गर्दा गोठदेखि ओठसम्म मापदण्डअनुसारको गुणस्तरीयता कायम राख्न मन्त्री हुमगाईले आग्रह गरे । व्यवसायीहरूले दुध उत्पादन बढाउन र संकलन गर्नेमा मात्रै ध्यान दिने तर गुणस्तरीयता कामय नगर्ने हो भने खपतमा समस्या हुने उनले बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डसंगको सहकार्यमा प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडामा आयोजित दुग्ध क्षेत्रको समस्या र समाधान सम्बन्धि कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
“दुधमा आत्मनिर्भर बन्दै छौ,वृद्धि गर्न ध्यन दिंदा त्यस्तै योजनाहरू चाहिन्छ, ठुला फार्म खोल्ने, लागत घटाउदै उत्पादन बढाउन, किसानलाई रोजगार र व्यवसायी बनाउन ध्यान दिनुपर्ने पनि मन्त्री हुमगाईले बताए ।
मन्त्री हुमगाईले किसानबाट अनुदान नपाएको गुनासो आएकोले त्यस प्रति प्रदेश सरकारले ध्यान दिएको बताए ।
बिभिन्न संस्थाहरूले आफ्नो आफ्नो तथ्यांक देखाउने गरेको प्रति पनि उनले प्रश्न गरे । “कृषिको सवालमा सही तथ्यांक कहि छैन, मेरै कार्यलयको पनि तथ्यांक सही छ भन्ने लाग्दैन मलाई । तथ्यांक स्थानीय तहबाट आउनुपर्छ तपाईंले कार्यालयमा बसेर टिपेको तथ्यांक सही होलान् र ?”
सरकारी संस्थानहरू कमजोर हुंदै आउनुमा विश्वसनीयता कामय गर्न सक्नु मुख्य समस्या रहेको उनले बताए । कार्यक्रममा दुधको उत्पादन भण्डारण तथा खपतबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।