मकवानपुर । बागमती प्रदेशमा आजबाट पिपिआर खोप अभियान सुरू हुने भएको छ ।
आजदेखी ७ गतेसम्म प्रदेशको मन्त्रालय, निर्देशनालय र मातहतका कार्यालयले भेडाबाख्राहरूमा पिपिआर खोप लगाउन लागेको हो ।
आव ७७/७८ को तथ्यांकअनुसार बागमती प्रदेशमा भेडाबाट ३४४ मेटिक टन र बाख्रा १३ हजार २ सय ६८ मेटिक टन मासु उत्पादन हुँदै आएको छ ।
अभियानको क्रममा २० भन्दा बढी भेडा बाख्रा भएको र खोप केन्द्रमा ल्याउन नसक्ने अवस्था भएमा सम्बन्धित खोरमै पुगेर सेवा प्रदान गरिने पशु चिकित्सक निशान्त शर्माले बताए ।
अभियानको क्रममा खोपको लागि ४२५ खोप कर्ता परिचालन गर्ने तयारी भएको उनले बताए । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छि मन्त्रालयले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको हो ।
पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक रोग हो । पीपीआर संक्रमणको कारण वर्षेनि हजारौ भेडाबाख्रा मर्ने गरेको कारण किसानले ठुलो क्षति बेहोर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेशमा रहेका भेडाबाख्रालाई पीपीआर खोप लगाउने कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।
पीपीआर नियन्त्रणका लागि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । प्रदेशभर कुल २६ लाख १३ हजार २३२ भेडाबाख्रा रहेकामा ४९ प्रतिशत भेडाबाख्रालाई मात्र पीपीआर खोप लगाउन लागिएको हो ।
संघिय सशर्त मार्फत प्राप्त भएको खोपबाट प्रदेशभरका जम्मा ४९ प्रतिशत भेडाबाख्रामा खोप पुग्ने भएपनि यहि पेशामा रहेका किसानहरुलाई ठुलो आर्थिक क्षति हुनबाट रोकिने मन्त्रालयका निमित्त सचिब झलकनाथ कंडेलले बताए । नयाँ ठाउँमा यो रोग फैलदा ८० प्रतिशत संक्रमित जनावरको मृत्यु हुन्छ । देशभर सबै जिल्लामा फैलिसकेको कारण प्रदेशभरका किसानको ठुलो क्षति हुनबाट रोकिने कंडेलले बताए ।
विषाणुबाट फैलने रोग भएको कारण पीपीआरको सघन उपचार नभएको हुँदा सामुहिक खोप अभियान सञ्चालन गरिएको मन्त्रालय बताउछ । विश्व पशु स्वास्थ्य सँगठन र संयुक्त राष्ट्र खाद्य तथा कृषि सँगठनले सन् २०३० सम्म पिपिआर उन्मुलन गर्ने रणनीति अधि सारिसकेको परिप्रेक्षमा पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविध, २०७५ को परिच्छेद ३ पिपिआर रोग नियन्त्रण कार्यक्रम कार्यान्वयनको माध्यमबाट यस रोगलाई प्रभावकारी तवरले नियन्त्रण गर्नको लागि स्पष्ट कार्य योजना बनाई पिपिआर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालय बताउछ ।
गत वर्ष मन्त्रालयले यहि अभियान अन्तर्गत ८ लाख ३० हजार १८७ भेडाबाख्रालाई पिपिआर खोप लगाएको थियो । प्रदेशमा हाल ९२ हजार ५ सय ६१ वटा भेडा र २५ लाख २० हजार ६ सय ७१ बाख्रा पालन भैरहेको छ ।
मकवानपुर । बागमती प्रदेशकोस्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले प्रदेशको सात वटा प्रादेशिक अस्पतालहरुलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
केद्रको परिसरमा आयोजित कार्यक्रममा प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रादेशिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
वकुलहर अस्पताल रत्ननगर चितवन, रामेछाप अस्पताल रामेछाप, मेथिनकोट अस्पताल काभ्रे, बज्रवाराहि चापागाउँ अस्पताल ललितपुर, भक्तपुर अस्पताल भक्तपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं र पशुपती चौलागाई स्मृति अस्पताल दोलखालाइ एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रति एम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँ लागतमा टेण्डरमार्फत खरिद गरिएको केन्द्रले जनाएको छ । केन्द्रका निमित्त निर्देशक डाक्टर अर्जुनप्रसाद सापकोटाका अनुसार अस्पतालहरुलाई ख वर्गको एम्बुलेन्स प्रदान गरिएको हो । एम्बुलेन्समा बिरामी सहित बिरामीको २ जना कुरुवाहरु, स्वास्थ्यकर्म बस्ने सुविधादेखि अत्याधुनिक सेवा सुविधा अन्तरगत डेलिभरी सेट, ड्रेसिङसेट, वासिङ यक्युुपमेन्ट,टु वे भिडियो कन्भसेसन डिभाइस, मोबाइल डिभाइस, फो जि कनेक्टेभिटी डिभाइस,वाकीटकी, क्यामरा, जिपिए सिक्टम समेत जडान गरिएको छ ।
मन्त्रि श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्री नियुत्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताए ।
“जनता स्वास्थ्यको पहुँचबाट टाढा हुनु भनेको हाम्रो मन्त्रालयको कमजोरी हो” मन्त्री श्रेष्ठले भने । स्वास्थ्य बीमा मार्फत प्रदेशमा आश्रित परिवारहरु तथा लोपोन्मुख समुदायहरुलाइ स्वास्थ्यको पहुँचमा पुर्याउन आफू लागि पर्ने उनले बताए ।
केन्द्रले गत बर्ष पनि प्रादेशिक अस्पतालहरुलाई पाँच वटा एम्वुलेन्स हस्तान्तरण गरिसके निमित्त निर्देशक सापकोटाले बताए ।
मकवानपुर । मकवानपुरमा दादुरा संक्रमण घट्दो रहेको पाइएको छ ।
मकवानपुर जिल्लामा अघिल्ला बर्षहरुको तुलनामा रोगले संक्रमितको संङ्ख्या घट्दै गएको पाइएको हो। आ.ब. ०७६/०७७ मा ३३ जनामा, आ.ब. ०७७/७८ मा १८ जनामा, आ.ब. ७८।७९ मा ३ जनामा र यस आ.ब.को गत ६ महिनामा २ जनामा दादुरा देखा परेको छ ।
हालसम्ममा सबैभन्दा बढी मकवानपुर गढी गाउँपालिकामा दादुराको संक्रमित देखा परेको पाइएको छ । जहा आ.ब. ०७६/७७ देखि हालसम्ममा १३ जनामा देखा परेको । त्यस्तै गरि भिमफेदी गाउँपालिकामा आ.ब. ०७६/७७ मा ११ जनामा र ०७७/७८ मा १ जनामा देखा परेकोमा त्यसपछिका समयमा शुन्य अवस्थामा रहेको पाइएको स्वास्थ कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले बताए ।
त्यस्तै कैलाश गाउँपालिकामा ०७६/७७ मा ८ जनामा देखा परेकोमा सो पश्चातका बर्षहरुमा शुन्य रहेको पाइएको छ।
उनका अनुसार चालु आ.ब. मा हेटौडा उपमहानगरपालिकामा १ जना र बकैया गापामा १ जना गरि २ जनामा देखा परेको छ।
दादुरा खोप बच्चा जन्मिएको ९ र १५ महिना भित्रका बालबालिकामा २ पटक लगाइने गरिन्छ । जुन खोप गत बर्षहरुको तुलनामा हाल १०० प्रतिशत नै लगाइएको पाइएको जनस्वास्थ्य अधिकृत घिमिरेले बताए ।
दादुराको पहिलो खोप आ.ब. ०७६/७७ मा ८१ प्रतिशत र दोस्रो खोप ७२ प्रतिशतमा लगाइएको, आव ०७७/०७८ मा पहिलो ८२ प्रतिशत र दोस्रो ८१ प्रतिशतमा लगाइएकोमा आ.ब. ०७८।०७९ मा पहिलो मात्रा १०१ प्रतिशतमा लगाइएकोमा दोस्रो मात्रा १०० प्रतिशतलाइ लगाइएको पाइएको उनले बताए ।
सन २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गरिसक्ने सरकारको लक्ष्य रहेको छ । स्वास्थ्य मन्त्रालयले ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित राष्ट्रव्यापी रुपमा यो अभियान सुरु गरेको छ।
सरकारी तथ्याकंअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत रहेको पाइएको भए पनि मकवानपुरमा यस खोप पुर्ण रुपमा लगाएको पाइएको घिमिरेले बताए ।
बालबालिकालाइ सहि समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा यो संक्रमण नियन्त्रण आउने र भएकोले यसतर्फ सचेत बन्न स्वास्थकर्मीहरूको सल्लाह छ ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मानसिक स्वास्थ्य र मानव अधिकार सम्बन्धी प्रदेश स्तरीय परामर्श बैठक भएको छ ।
विश्वमा २० देखि २५ प्रतिशत मानिस मानसिक समस्याका कारण प्रभावित हुने गरेका छन्, तर उनीहरूको मानसिक स्वस्थ्य र मनोसामाजिक परामर्श बारेमा चासो कम भएको गुनासो गरिएको छ । नेपालमा आव ०७७/०७८ मा ६ हजार ५ सय ३० जनाले मानसिक अस्वस्थ्यता कै कारण आत्महत्या गरेको तथ्यांक बागमती प्रदेशको राजधानी हेटौंडामा सार्वजनिक गरिएको छ ।
बागमती प्रदेशमा यो आवमा १ हजार ३६ जनाले मानसिक अस्वस्थताकै कारण आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालू आवको हालसम्म ४३० जनाले यही कारण आत्महत्या गरिसकेका छन् ।
नेपालमा मलेरिया, क्यान्सरभन्दा पनि मानसिक स्वास्थको सवाल भयावह हुंदासमेत सरोकारवाला निकायबाट ठोस पहल नपुगेको बताईएको हो । जसले आत्महत्याको दर बढेको भएपनि यो सवाललाई गम्भीरता पुर्वक नलिएको गुनासो अधिकारकर्मीहरुले गरे ।
अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनको सहकार्यमा बागमती प्रदेशमा मानसिक स्वास्थ्य मानव अधिकार सम्वन्धी परामर्श बैठक आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानव अधिकार रक्षाको लागि मानसिक स्वास्थ्यको सवालमा प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक महेश्वर श्रेष्ठले कोरोना १९ को महामारीका कारण मानिसको मानसिक स्वास्थ्यमा धेरै प्रभाव पारेको बताए । विशेषगरि महिलाहरु मानसिक समस्यामा पर्ने गरेको, मानसिक रोग, निशुल्क वितरण सुचिका ओैषधि खरिदमा स्वास्थ्य निर्दैशनालय बागमती प्रदेशले ४९ लाख ५० हजार रकम बजेट विनियोजन गरेको श्रेष्ठले बताए।
मानिसक स्वास्थ्य समस्याको रोगभारको अनुपातमा संचालित कार्यक्रमहरु र विनियोजित हुने बजेट न्यून भएको र लक्षित वर्ग तथा समुदायलाइ पुर्णरुपमा समेट्न नसकेको निर्देशक श्रेष्ठले बताए ।
मदिरा र लागू पदार्थको दुव्र्यसनलाई मानसिक स्वास्थ्यको कोणबाट बुझ्न र बुझाउन कठिन रहेको बताउँदै बागमती प्रदेशका ११९ वटै स्थानिय तहका ५१९ वटा विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम मार्फत मानसिक समस्या समाधानको लागि सेवा प्रवाह गरिरहेको उनले बताए ।
कार्यक्रममा कोशिशका निर्देशक मातृका प्रसाद देवकोटाले चिकित्सक भाषामा मानसिक रोग शब्दको उल्लेख गर्ने गरेकोमा सो को सट्टा मानसिक सुस्वास्थ्य हुनुपर्ने बताए । आत्महत्या रोकथामका लागि बहुपक्षिय संयन्त्र गठन हुनुपर्ने देबकोटाले बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले मानसिक स्वास्थ्यकै कारण मानव अधिकार प्रत्याभुती पूर्ण रुपमा नभएको औलाउँदै, प्रदेश तथा संघीय सरकारले यो समस्याको सम्बोधन गर्नुपर्ने बताए ।
मकवानपुर । सहिद दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको बुद्धचोकमा भएकाे रक्तदान ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडा शाखाले जनाएकाे छ ।
अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको आयोजना तथा रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएकाे हो । रक्तदान कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरका अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सहिद दिवसको अवसर भएकाे रक्तदानमा मैनालीले रगतको अभाव हुन नदिन र बिरामीको सेवामा सहयोग पुर्याउन कार्यक्रम आयाेजना गरिएकाे बताए ।
कार्यक्रममा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री एकलाल श्रेष्ठ, प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो । यसैगरि आइतबार नै नर्सिङ दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेकाे रक्दान कार्यक्रममा २१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाले जनाएकाे छ ।