मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मानसिक स्वास्थ्य र मानव अधिकार सम्बन्धी प्रदेश स्तरीय परामर्श बैठक भएको छ ।
विश्वमा २० देखि २५ प्रतिशत मानिस मानसिक समस्याका कारण प्रभावित हुने गरेका छन्, तर उनीहरूको मानसिक स्वस्थ्य र मनोसामाजिक परामर्श बारेमा चासो कम भएको गुनासो गरिएको छ । नेपालमा आव ०७७/०७८ मा ६ हजार ५ सय ३० जनाले मानसिक अस्वस्थ्यता कै कारण आत्महत्या गरेको तथ्यांक बागमती प्रदेशको राजधानी हेटौंडामा सार्वजनिक गरिएको छ ।
बागमती प्रदेशमा यो आवमा १ हजार ३६ जनाले मानसिक अस्वस्थताकै कारण आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालू आवको हालसम्म ४३० जनाले यही कारण आत्महत्या गरिसकेका छन् ।
नेपालमा मलेरिया, क्यान्सरभन्दा पनि मानसिक स्वास्थको सवाल भयावह हुंदासमेत सरोकारवाला निकायबाट ठोस पहल नपुगेको बताईएको हो । जसले आत्महत्याको दर बढेको भएपनि यो सवाललाई गम्भीरता पुर्वक नलिएको गुनासो अधिकारकर्मीहरुले गरे ।
अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनको सहकार्यमा बागमती प्रदेशमा मानसिक स्वास्थ्य मानव अधिकार सम्वन्धी परामर्श बैठक आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानव अधिकार रक्षाको लागि मानसिक स्वास्थ्यको सवालमा प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक महेश्वर श्रेष्ठले कोरोना १९ को महामारीका कारण मानिसको मानसिक स्वास्थ्यमा धेरै प्रभाव पारेको बताए । विशेषगरि महिलाहरु मानसिक समस्यामा पर्ने गरेको, मानसिक रोग, निशुल्क वितरण सुचिका ओैषधि खरिदमा स्वास्थ्य निर्दैशनालय बागमती प्रदेशले ४९ लाख ५० हजार रकम बजेट विनियोजन गरेको श्रेष्ठले बताए।
मानिसक स्वास्थ्य समस्याको रोगभारको अनुपातमा संचालित कार्यक्रमहरु र विनियोजित हुने बजेट न्यून भएको र लक्षित वर्ग तथा समुदायलाइ पुर्णरुपमा समेट्न नसकेको निर्देशक श्रेष्ठले बताए ।
मदिरा र लागू पदार्थको दुव्र्यसनलाई मानसिक स्वास्थ्यको कोणबाट बुझ्न र बुझाउन कठिन रहेको बताउँदै बागमती प्रदेशका ११९ वटै स्थानिय तहका ५१९ वटा विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम मार्फत मानसिक समस्या समाधानको लागि सेवा प्रवाह गरिरहेको उनले बताए ।
कार्यक्रममा कोशिशका निर्देशक मातृका प्रसाद देवकोटाले चिकित्सक भाषामा मानसिक रोग शब्दको उल्लेख गर्ने गरेकोमा सो को सट्टा मानसिक सुस्वास्थ्य हुनुपर्ने बताए । आत्महत्या रोकथामका लागि बहुपक्षिय संयन्त्र गठन हुनुपर्ने देबकोटाले बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले मानसिक स्वास्थ्यकै कारण मानव अधिकार प्रत्याभुती पूर्ण रुपमा नभएको औलाउँदै, प्रदेश तथा संघीय सरकारले यो समस्याको सम्बोधन गर्नुपर्ने बताए ।

