मनोसामाजिक सु स्वास्थबारे ध्यानाकर्षणपत्र
Tags: No Comments
मकवानपुर । कोशिश मकवानपुरले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको महाशाखा प्रमुख गोपाल कंडेललाई मनोसामाजिक सु-स्वास्थबारे ध्यानाकर्षण पत्र बुझाईएको छ ।
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको सुस्वास्थ्यको लागि मन्त्रालयले बिगतमा जस्तै सहकार्य र समन्वयमा काम गर्न र आवश्यक बजेटको व्यवस्था गर्न माग सहित ध्यानाकर्षण पत्र बुझाईएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै महाशाखा प्रमुख कंडेलले मनोसामाजिक सुस्वास्थ्य जल्दोबल्दो बिषय भएको उल्लेख गर्दै आगामी प्री बजेटको छलफलमा राख्ने बताए । आर्थिक मन्दिको कारण बजेको सिलिङ घटेकोले केही घट्ने संभावना रहेको उनले बताए । आगामी बजेटमा कसरी सम्बोधन गर्दा उचित होला भन्ने ठ्याक्कै तोकेर सुझाव दिन कंडेलले आग्रह गरे । मन्त्रालयको कार्यक्षेत्र अन्तरगत स्थानीय तहसम्म जानुपर्ने आवश्यक भएको कंडेलले बताए ।
मनोसामाजिक अपाङ्गतामा रहेको व्यक्ति संगीता मोक्तान, रुकु खडका, धिरज लामा दोङ, अपाङ्गता भएको व्यक्ति सन्जय पुलामी, सरस्वती कटवाल, नेपाल मानव अधिकार संगठन अध्यक्ष सर्मिला श्रेष्ठ, इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारी, हिमराईट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबा समेतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको कोशिश मकवानपुर पैरवी अधिकृत सुनिरा लामाले बताइन् । मनोसामाजिक सुस्वास्थ्यको लागि मन्त्रालयले विगतमा पनि राम्रो सहकार्य भएको र आगामी दिनमा पनि सोही अपेक्षा गरिएको लामाले बताइन् ।
यस्तो छ ध्यानाकर्षण पत्र
श्री महाशाखा प्रमुख ज्यु बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हेटौडा, नेपाल ।
विषय: ध्यानाकर्षण सम्बन्धमा ।
प्रस्तुत विषयमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले विभिन्न समाजिक सुरक्षाका कार्यक्रम, निति तथा रणनिती अवलम्बन गर्दै नागरिकको सामाजिक सुरक्षाको रक्षार्थ अत्यन्त संवेदनशिल छ भन्ने कुरा सर्वविधित नै छ ।
अझ अपाङ्गताको सवालमा सामाजिक विकास मन्त्रालयले २०७९ चैत्र २९ गते जारि गरेको “अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण र प्रबर्द्धनको क्षेत्रमा काम गर्ने संस्थाको छनौट र सम्झौता सम्बन्धि सूचनाले पनि मन्त्रालयले आफू मातहतका निकाय तथा संस्था, संस्थासंगको समन्वयमा संवेदनशिल भएर कार्यगरिरहेको छ भन्ने कुरालाई प्रमाणि गर्दछ । बिभिन्न कार्यक्रमहरुमा सम्बन्धित अधिकारीहरुबाट अपाङ्गता भएका व्यक्तिका हकहितका लागि मन्त्रालयको तहबाट कुनै पनि कसर बाकि नराख्ने जस्ता प्रतिबर्द्धताबाट पनि कुशल अभिभावकत्व भएको निकाए हो भन्ने कुरामा विश्वस्त छौं ।
पछिल्लो जनगणना २०७५ सालको तथ्यांकलाई हेर्दा शारिरिक अपाङ्गता ३६.७५ प्रतिशत न्यून दृष्टि भएको अपाङ्गता १६.८८ प्रतिशत, दृष्टिविहिन अपाङ्गता ५.३७ प्रतिशत त्यस्तै मनोसामाजिक अपाङ्गता ४.२८ प्रतिशत साथै अन्य अपाङ्गताहरुको प्रतिशत हेर्दा पनि १ देखि ७ प्रतिशतको बिचमा रहेको देखिन्छ । यसरी तथ्यगत प्रमाणलाई हेर्दा पनि अपाङ्गताको संख्या उल्लेख्य मात्रामा रहेको देखिन्छ । अपाङ्ग भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७५ को परिच्छेद ७ को ३२ नं दफामा सामाजिक सुरक्षा अन्तर्गत नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा स्वतन्त्र र स्वावलम्बन पूर्वक जीवनयापन गर्न सक्ने गरी सक्षम बनाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी वा तोकिएको अवस्थामा निःशुल्क रुपमा समाजिक सुरक्षा कार्यान्वयमा ल्याउनेछ भनिएको छ ।
जसमा सुरक्षा र स्वास्थ्य सेवा सहितको सामाजिक आवास सुविधा विकास गर्ने, असहाय बालवालिका तथा परिवार बाट त्यागिएका अपाङ्गता भएका व्यक्तिको लागि आवासको व्यवस्था गर्ने, जीवन बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमा गराउने, औषधि तथा आवश्यक सामाग्रि उपलब्ध गराउने, तोकिएको आधारमा बेरोजगारी भत्ता, जीवनयापन भत्ता तथा बृद्ध भत्ता उपलब्ध गराउने, तोकिएको अवस्थामा अपाङ्गता भएका व्यक्तिका सहयोगीका लागि भत्ता उपलब्ध गराउने जस्ता बुदाहरु उल्लेख छन् । जून कुराहरु प्रत्येक्ष रुपमा सामाजिक विकाश मन्त्रालय तथा त्यस मातहतका निकायहरुसंग सम्बन्धित छन् । उल्लेखित कुराहरुलाई कार्यान्वयमा ल्याउन र कार्यान्वयनमा आए नआएको कुराहरुको अनुगमन गर्ने निकाय पनि सामाजिक विकास मन्त्रालय हो भन्ने हाम्रो ठम्याई छ ।
देश, काल र परिस्थितिले अनुसार सबै कुराहरुको कार्यान्वयन एकै पटक हुन्छ वा गर्नुपर्छ भन्ने कुरामा हाम्रो चासो पक्कै पनि होईन। यस्ता कुराहरुको सुनिश्चिताको लागि प्रभावकारी योजना र रणनिती बनाउने कुरामा सम्बन्धित मन्त्रलयले कुनै पनि किसिमको कञ्जुस्याई गर्ने छैन भन्ने कुरामा हामि बिस्वस्थ छौं । यि सवै उल्लेखित कुराहरुलाई चरणबद्ध रुपमा कार्यान्वयनमा ल्याउनको लागि बजेटको आवश्यकता पर्दछ । यसर्थ अपाङ्ग भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको सवालमा मन्त्रालयले स्पष्ट बजेट छुट्याओस् भन्ने हाम्रो अनुरोध हो । सबै नागरिक मन्त्रालयको नजरमा एउटै हुन्छन् त्यो स्वभाविक पनि हो तर अपाङ्ग भएका व्यक्तिहरुलाई समानता भन्दा पनि समताको आँखा बाट हेरेर उनिहरुको अधिकारलाई सुनिश्चित गरि सपाङ्ग व्यक्ति सरह जीवनयापन गर्न पाउने वातावरण तयार गर्न औपचारिक रूपमा बजेट सहित सम्बोधन गर्न अनुरोध गर्दछौं । मन्त्रालय बाट बिगत देखि प्राप्त जून साथ र सहयोग छ त्यसको निरन्तरताको अपेक्षा पनि गर्दछौं ।
हाम्रो यस अनुरोधलाई सम्बोधन गरिदिनुहुनको लागि तपसिल बमोजिमका अपाङ्गतामा रहेका सञ्जालका सदस्यहरु साथै कोशिश मकवानपुरको समन्वय सरोकारवाला सङ्घ संस्थाहरूको एक्यवद्धता साथै हस्ताक्षर सहित यो ध्यानाकर्षण पत्र पेश गर्दछौं । धन्यवाद ।
मानसिक स्वास्थबारे प्रदेश स्तरीय कार्यशाला
Tags: No Comments
मकवानपुर । मानसिक स्वास्थ तथा मनोसामाजिक अपाङ्गता विषयक एक दिवसीय बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
कोशिसको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले अपाङ्गताबारे कानुनी व्यवस्थापन तथा परिचयपत्र वितरण प्रक्रियाबारे जानकारी गराएकी थिइन् ।
कार्यशालामा दृश्य विहिन, श्रवण सम्बन्धी समस्या भएका, ह्विल चेयर प्रयोगकर्तालगायत विभिन्न प्रकारका अपाङ्गता भएका क्षेत्रबाट प्रतिनिधित्व रहेको कोशिश मकवानपुर पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
सहभागीहरूले सम्बन्धित सरोकारवाला निकायबाट अपाङ्गता परिचयपत्र लिने क्रममा विभिन्न समस्या झेल्नु परेको गुनासो गरेका थिए ।
अपाङ्गताको क्षेत्रमा मनोसामाजिक अपाङ्गताको उत्थान गर्न सबै सरोकारवालाहरुले एक साथ काम कसरी गर्न सक्छन भन्ने विषय माथि छलफल गर्ने, सबै प्रकारका अपाङ्गताको हक अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायमा पैरवी बढाउने, परिचय पत्रका लागी सहजता दिलाउन सहजीकरण गर्ने, आगामी दिनमा पैरवी के कसरी गर्न सकिन्छ भन्ने बारे योजना तर्जुमाका लागी कार्यशाला गरिएको लामाले बताइन् ।
मकवानपुर । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
यस अभियान अन्तरगत मकवानपुरमा पनि ताेकिएकाे उमेर समूहका ३४ हजार ४ सय ९३ बालबलिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यण घिमिरेले बताए । यस अभियानमा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।
नियमित तालिका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
सरकारले हरेक ६ महिनाको अन्तरालमा नियमित रुपमा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।
मकवानुर । गर्मीबढेसँगै कोरोनाको संक्रमण बढेको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको हो । बागमती प्रदेशको विभिन्न जिल्लामा एकै दिन ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको शहरी क्षेत्रहरुमा कोरो संक्रमण दर बढेको तथ्याङ्कले देखाएको छ ।
बागमती प्रदेशका बिभिन्न जिल्लामा एकै दिन ६३ जनामा कोरोना संक्रमण भएको हो । ३ सय ६६ जनाको कोरोना परिक्षण गरिएकोमा ६३ जनामा कोरोना संक्रमण भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका डाक्टर रविन भुसालले बताए ।
देशैभरीमा ७६ जनामा कोरोना संक्रमण हुँदा यस प्रदेशमा मात्र ६३ जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमणबाट बच्नका लागि र सावधानीका उपायहरु अपनाउनका लागि स्वाथ्यकर्मीहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।
“अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ” मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ “कोभिड–१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।”
मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ ।
मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ ।
शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ । चैत २० गते मात्रै ७६ जनामा नयाँ सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २७ पुगेको छ ।
मकवानपुर । नाम बुद्धीरानी चेपाङ । उमेर ११४ वर्ष । ठेगाना मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका –७ छगुङ । कटुसले बारीएकाे सानाे कटेराे उनकाे घर ।
आफ्नाे आँगनमा आएपुगेका गाउँपालिका अध्यक्षलाई नियालेर हेरीन् । गाउँपालिका अध्यक्षसँगै आएकाहरुले उहाँ हाम्राे गाउँपालिकाकाे अध्यक्ष राजकुमार मल्ल भनेपछी हात जाेडेर नमस्कार गरिन बुद्धीरानीले । बुद्धरानी आँखा, राम्ररी देख्दीनन् । कान पनि उस्ताे स्पष्ट सुन्न सक्दिनन् । गरिबी र विपन्नता उनकाे अभिश्रप बन्याे । सन्तान नभएपछि सौतेनी नातिनी ज्वाईंको सहारामा बाँचिरहेकी छन् उनी । चेपाङ भाषामा बाहेक अन्य भाषामा कुराकानी गर्न नजान्ने बुद्धरानी ओछ्यानमै थलिएको लामो समय भइसक्यो । आफ्ना सन्तान नभएपछि उनी बिगत १५ वर्षदेखि सौताकी नातिनी ज्वाईं जतनलालको सहारामा जीवन कटाइरहेकी छन् ।
उनको पाखो बारीमा हुने उब्जनीले ३ महिना पनि खान पुग्दैन । बारीको उब्जनीबाट खान नपुग्दा बुद्धरानीका नातिनी ज्वाईं जतनलालले ज्याला मजदुरी गरी कमाएर मुस्किलले सासुआमासहित ९ जनाको परिवार पाल्दै आएका छन् । गरिबी र विपन्नताको चपेटामा झण्डै सवा सताब्दी कटाइसकेकी उनै बुद्धरानी र उनको परिवारलाई भेट्न गाउँपालिका अध्यक्षसहितको टोली समस्या बुझ्न घरमा आइपुगेका थगिए । गाउँपालिकाका अध्यक्ष आउँदै गरेको थाहा पाएर जतनलालले आफ्नी सासुआमालाई कटुसले बारिएको कटेरोबाट उठाएर टिनको छानोयुक्त घरतिर सारे ।
फिजिसिएन डाक्टरसहितको टोलीद्धारा स्वास्थ्य जाँच गरी आवश्यक औषधि र पोषण सामाग्रीसमेत पाएपछि बुद्धरानीका मुजा परेका गालामा खुसीका धर्साहरु देखिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ओड्ने कम्मल, फलफूलसहित विभिन्न प्रकारका पोषण सामाग्री हातमा राखिदिँदा बुद्धरानीले खुसीका आँसु झार्दै चेपाङ भाषाबाटै भनिन् ‘मैले यति धेरै कुरा पाएँ अब तिमीलाई म के दिउँ त ?’ जवाफमा मल्लले हास्दै भने–‘तपाईले केही दिनु पर्दैन आमा, आशीर्वाद दिए पुग्छ ।’ चेपाङ र नेपाली भाषाबाट भइरहेको संवादमा दोभाषेको भूमिकामा थिए ७ नम्बर वडाध्यक्ष रामबहादुर प्रजा ।
नागरिकता विहीन उनले सामाजिक सुरक्षा भक्ता पाएकी छैनन् । नागरिकता नभएकै कारण ज्येष्ठ नागरिक भत्तासमेत नपाएकी बुद्धरानीलाई गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अब आफ्नै तलब भत्ताबाट मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै तत्काल २ हजार रुपैयाँसमेत हातमा थमाए ।
गाउँमै नागरिकताको टोली ल्याएर बुद्धरानीसहित नागरिकताबिहीनको नागरिकता बनाई भत्ता दिलाइदिने प्रतिवद्धतासमेत जनाए । कटुसको झुप्रोमा राख्ने गरेको थाहा पाएका गाउँपालिका अध्यक्ष मल्लले सासु आमालाई राम्रो स्याहार सुसार र हेरचाह गर्न उनका नातिनी ज्वाईंलाई सम्झाए । नियमित मासिक २ हजार रुपैयाँसहित आवश्यक खाद्यान्न र कपडाहरु नियमित उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए ।
बुद्धरानी जस्तै ज्येष्ठ नागरिकको समस्या सुन्ने र उनीहरुको स्वास्थ्य र पोषणमा ध्यान दिँदै घरमै डाक्टर बोकेर पुग्ने, बिरामी असक्तलाई घरमै स्वास्थ्य तथा अन्य सेवा दिनुका साथै गाउँटोलमै स्थानीय तहले दिने सेवाहरु लिएर जाने अभियान सञ्चालन गरेको राक्सिराङ गाउँपालिकाले आम गाउँबासीबाट स्याबासी पाइरहेको छ । एकीकृत घुम्ती शिविरमार्फत गाउँटोलमै सेवा दिन राक्सिराङ ६ र ७ नम्बर वडामा पुगेको गाउँपालिकाको टोलीले एक दर्जन ज्येष्ठ नागरिकलाई भेटघाट गरी उनीहरुको स्वास्थ्य उपचारसमेत गरेको छ ।
शिविरमार्फत ज्येष्ठ नागरिक भेटघाट, स्वास्थ्य परीक्षण र औषधि वितरण, पोषण सामाग्री वितरण, स्वास्थ्य जाँचसहित कृषि पशुपंक्षीका सेवा प्रदान गरिएको थियो । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँबासीमा सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले गाउँटोलमै पुगी सेवा सञ्चालन गरिरहेको छ ।
एकीकृत शिविरमार्फत घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा प्रदान गरिरहेको छ । राक्सिराङ ७ स्थित जुरेथुममा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरणका साथ स्थानीयलाई तरकारीका बिउ वितरण, पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो ।
खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । बिजुली बत्तीको पहुँच पुगिनसकेको राक्सिराङ ७ का २३ परिवारलाई मंगलबार नै गाउँपालिकाले सोलार प्यानलको सेटसमेत गाउँपालिकाले प्रदान गरेको छ । ६ नम्बर वडामा महिला उद्यमशीलता तालिम सञ्चालन गर्नको लागि गाउँमा नै ६ थान सिलाई मेसिनसमेत पु¥याइएको थियो ।
जुरेथुममा आयोजित स्वास्थ्य शिविरमा गर्भवतीको भिडियो एक्सरे सेवादेखि क्षयरोग परीक्षणको लागि खकारको नमूना संकलनसमेत गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । यसअघि ४ र ९ नम्बर वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा चैत २२ गतेलाई एकीकृत शिविरको कार्यक्रम तय गरेको छ । ३ र ५ नम्बर वडाका नागरिकलाई चैत १८ गते घरघर पुगी सेवा दिने कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
गाउँगाउँमा सिंहदरबार भन्ने भनाइलाई चरितार्थ पार्नकाे लागि पनि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरुले स्थानीयवासीहरुकाे समस्यामा मल्हम पट्टी गर्नु उनीहरुकाे दायित्व हाे । स्थानीय गैरसरकारी संस्थाहरुकाे समन्वयमा समेत बेला बेलामा विभिन्न सचेतानामुलक, शैक्षिक कार्यक्रम गर्ने गरिएकाे अध्यक्ष मल्लले बताए ।