मकवानपुर । मानसिक स्वास्थ तथा मनोसामाजिक अपाङ्गता विषयक एक दिवसीय बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
कोशिसको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले अपाङ्गताबारे कानुनी व्यवस्थापन तथा परिचयपत्र वितरण प्रक्रियाबारे जानकारी गराएकी थिइन् ।
कार्यशालामा दृश्य विहिन, श्रवण सम्बन्धी समस्या भएका, ह्विल चेयर प्रयोगकर्तालगायत विभिन्न प्रकारका अपाङ्गता भएका क्षेत्रबाट प्रतिनिधित्व रहेको कोशिश मकवानपुर पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
सहभागीहरूले सम्बन्धित सरोकारवाला निकायबाट अपाङ्गता परिचयपत्र लिने क्रममा विभिन्न समस्या झेल्नु परेको गुनासो गरेका थिए ।
अपाङ्गताको क्षेत्रमा मनोसामाजिक अपाङ्गताको उत्थान गर्न सबै सरोकारवालाहरुले एक साथ काम कसरी गर्न सक्छन भन्ने विषय माथि छलफल गर्ने, सबै प्रकारका अपाङ्गताको हक अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायमा पैरवी बढाउने, परिचय पत्रका लागी सहजता दिलाउन सहजीकरण गर्ने, आगामी दिनमा पैरवी के कसरी गर्न सकिन्छ भन्ने बारे योजना तर्जुमाका लागी कार्यशाला गरिएको लामाले बताइन् ।

