मकवानपुर । मकवानपुरको ऐतिहासिक ढुङ्गेगढीमा गोरख बहादुर गण सुपारेटारले ढुङ्गेधारा निर्माण गरेको छ ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं. २ ढुङ्गेगढीमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटनहरूले पिउने पानीमा भोग्दै आएको समस्यालाई मध्ये नजर गर्दै गोरख बहादुर गणले ५ हजार लिटर क्षमताको पानी ट्याङ्की सहित आधुनिक ढुङ्गेधारा निर्माण गरेको हो ।
ढुङ्गेगढीको ऐतिहासिक महत्वलाई उजागर गरि आन्तरिक पर्यटनमा वृद्धि तथा स्थानीय समुदायको आवश्यकता पहिचान गर्दै सैनिक नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजना अन्तर्गत गणले उक्त कार्य गरेको गणपति प्रमुख सेनानी रविन्द्र कुमार श्रेष्ठले बताउनुभयो।
नव निर्मित ढुङ्गेधारा आज मध्य पृतना हेड क्वाटरका पृतनापति उपरथी विष्णु कुमार खड्काले मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, वडा अध्यक्ष बखान सिं पाख्रिनलाई सयुक्त रुपमा हस्तान्तरण गर्नुभयो।
हस्तानान्तरण कार्यक्रममा नम्बर ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम गुरुङ्ग, नम्बर ७ बाहिनी अड्डाका प्रमुख सेनानी झलक लामा, सशस्त्र प्रहरी बल नं. १४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निवन कुमार खड्का, ईलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी निरीक्षक धर्मेश कुमार यादवलगायतको उपस्थिति रहेको गणपति श्रेष्ठले बताउनुभयो ।

यस स्थानमा पिउने पानीको व्यवस्थापन भएपछि आन्तरिक तथा बाह्यपर्यटनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । सडक निर्माणमा समेत समन्वय गरिने लामाले बताउनुभयो ।
कार्यक्रममा ढुङ्गेगढी टोल विकास समितिका अध्यक्ष सुधारजित गोले, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, बागमती प्रदेश पत्रकार महासंघ संस्थापक अध्यक्ष प्रताप बिष्ट, मकवानपुरगाढी पत्रकार समाजको संस्थापक अध्यक्ष सरिता दाहाल समेतको उपस्थिति रहेको थियो ।
हेटौंडाबाट कान्तिराजपथ हुँदै झण्डै २० किलोमीटर यात्रापछि जितपुर पुगिन्छ । जितपुरबाट २ किलोमिटर कच्चि (ट्रयाकमात्रै खोलिएको) बाटोको यात्रापछि ढुङ्गेगढी पुग्न सकिन्छ । नेपाल ऐकिकरणको महत्त्वपूर्ण इतिहास बोकेको ढुङ्गेगढीसम्म पुग्ने सहज तथा व्यवस्थित सडकको लागि स्थानीय सरकारले कम चासो दिएको गुनासो छ।
मकवानपुर । विश्व वातावरण दिवस २०८३ को अवसरमा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएकाे हाे ।
कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूलाई नियन्त्रण गर्न स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली आवश्यक रहेको बताउनुभयो। “भान्सा नै पहिलो औषधालय” भएकाेले भान्सामा प्रयोग हुने बेसार, अदुवा, लसुन, तुलसी, मेथी लगायतका सामग्रीहरू औषधीय गुणले भरिपूर्ण रहेको उहाँले बताउनु भयो ।
४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएकाले स्वस्थ खानपान, सरसफाइ र हरियाली प्रवर्द्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो। स्वस्थ नागरिक निर्माणका लागि जनचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने उहाँले बताउनुभयो। समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सहभागी सबैलाई सिकेका कुराहरू व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन र स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । “स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,” भन्दै उहाँले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ सहित नगरभित्रका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, गरी ४०० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान तथा अनुभवलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार विश्व वातावरण दिवस २०८३ को अवसरमा वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र मदन भण्डारी प्रतिष्ठान मार्फत हालसम्म सम्पन्न कार्यहरुकाे समिक्षा गरिएकाे छ । मन्त्रालयकाे आयोजना तथा पत्रकार महासंघ मकवानपुरकाे समन्वयमा हेटौंडामा भएकाे कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा रफ्तारमा काम भइरहेकाे बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव सुमित्रा गौतमले मन्त्रालयकाे कामकाे समिक्षात्मक प्रस्तुतिकरण गरेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, केन्द्रिय प्रतिनिधिहरु, बागमती प्रदेश समिति अध्यक्ष कृष्ण सारु मगरलगायत उपस्थित थिए ।
मन्त्रालयले प्रस्तुत गरेकाे कार्य समिक्षा बुदाँगत रुपमाः
१) निःशुल्क रक्तसञ्चार कार्यक्रम सञ्चालन कार्यविधि संसोधन गरी निःशुल्क रक्तसञ्चार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको। नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा गरिब तथा विपन्न नागरिकहरूको लागि निःशुल्क रक्तसञ्चार सेवा प्रादेशिक अस्पतालहरुवाट उपलब्ध हुने व्यवस्था मिलाइएको।
२) मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन कार्यविधि २०७९ लाई संसोधन गरी प्रदेशका सबै वडाहरुमा नसर्ने रोगको स्क्रिनिङ गर्ने र नसर्ने रोगका संभावित बिरामीहरुलाई उपचारको व्यवस्था मिलाइएको।
३) प्रदेश स्वास्थ्य सहजकर्ता परिचालन कार्यविधि २०८२ तयार गरी सबै जिल्लाहरुमा निश्चित मापदण्ड अनुसार स्वास्थ्य सहजकर्ता परिचालनको व्यवस्था मिलाइएको।
४) स्वास्थ्य संस्था दर्ता, नविकरण तथा स्तरउन्नति सम्बन्धी निर्देशिका परिमार्जन गरी ऐन, नियमावली र मापदण्डबमोजिम स्वास्थ्य संस्थाको अनुमति, नवीकरण, स्तरोन्नति गरिएको।
५) प्रदेश जनसङ्ख्या नीतिको मस्यौदा स्वीकृतिको प्रक्रियामा रहेको।
६) प्रदेशभित्र रहेका हेटौडा उपमहानगरपालिका, चन्द्रागिरी नगरपालिका मेलाम्चि नगरपालिकालाई स्वास्थ्य सहरको अवधारणा कार्यान्ययनको प्रक्रिया अगाडि बढाइएको।
७) प्रदेशका हरेक जिल्लाका कम्तिमा एक वटा स्वास्थ्य संस्थालाई नमूना स्वास्थ्य संस्थाको रुपमा विकास र विस्तार गर्ने प्रक्रिया शुरुवात गरिएको।
८) भक्तपुर, सिन्धुली, बकुलहर र धादिंग अस्पतालमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाको लागि प्रारम्भिक क्रियाकलापहरु सञ्चालन गरिएको।
९) भक्तपुर अस्पतालमा डाइलाइसिस सेवाको सुरुवात गरिएको।
१०) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरमा अन्तरङ्ग सेवा सञ्चालनको लागि तयारी गरिएको।
११) आयुर्वेद औषधी उत्पादन केन्द्रबाट अश्वगन्धा, सितोपलादि, आमलकि, अविपत्तिकर, त्रिफला, निम्वादि, विल्वादि, हिङ्गवाष्टक, महासुदर्शन, पुष्यानुग गरी १० प्रकारका चूर्ण आयुर्वेद औषधी उत्पादन र निःशुल्क वितरण भएकोमा चालु आ.व.बाट थप ११ प्रकारका औषधिहरु उत्पादनको प्रक्रिया अगाडि बढाइएको।
१२) सबै प्रादेशिक अस्पतालहरुमा EMR लागू गर्न आवश्यक आवश्यक पूर्वाधारको तयारी गरीएको। सिन्धुली, सिन्धुपाल्चोक र धादिङ्ग अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकड्रिड प्रणाली कार्यान्वयन गरिएको।
१३) मन्त्रालय र मातहतका सबै कार्यालयहरुमा GIOMS लागू गरिएको।
१४) सबै प्रादेशिक अस्पतालहरुको सेवा अनुगमन गर्नको लागि मन्त्रालयमा डिजिटल Information Real Time Dashboard स्थापना र सञ्चालन गरिएको।
१५) स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य तालिम केन्द्रबाट ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्लाका अतिदुर्गम बटा गाउँपालिकामा पोर्टेबल अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराइएको।
१६) मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MD/MS का ७ वटा कार्यक्रमहरू (Anesthesiology, MDGP, General Surgery, Internal Medicine, Obs and Gynae, Ortho, Pediatrics) मा ८ जनालाई भर्ना गरी अध्ययन अध्यापन भइरहेको यसपटक २७ जना र MBBS कार्यक्रम अन्तरगत ५० जना विद्यार्थिहरुलाई अध्यापन शुरु गरिएको। साथै अध्यापनको नयाँ भवन निर्माणको शिलन्यास गरिएको। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको ३ बटा उसक सहितको भवन उद्घाटन गरीएको। साथै भवन निर्माण, औजार उपकरण खरिद र अस्पताल सेवा सुदृढीकरणको लागि २२ करोड रुपैयाँको व्यवस्था मिलाइएको।
१७) सीमान्तकृत्त, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता ख वर्गका व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र श्रमजीवि पत्रकारहरुको लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडी बढाइएको।
१८) बाढी पहिरोबाट प्रभावितहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको।
१९) जेन-जी आन्दोलन पश्चात तुरुन्त मातहतका कार्यालयहरुसँग निरन्तर भर्चुअल बैठक गरी कर्मचारीहरुको मनोवल उच्चा राख्न निरन्तर निरन्तर रुपमा भर्चुअल बैठक तथा समन्वय गरिएको।
२०) जेन-जी आन्दोलनका १०५ जना घाइतेहरुको निःशुल्क उपचार गरिएको र सबै प्रादेशिक अस्पतालहरुमा जेन जि क्लिनिक सञ्चालन गरिएको।
२१) जेन-जी आन्दोलनका कारण मन्त्रालय सञ्चालनको भवन पूर्ण रुपमा क्षति भएकोले कार्यालय सञ्चालनको लागि भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा बनेको भवनमा कार्यालय सञ्चालनको व्यवस्थापन मिलाइएको।
२२) क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई प्रदेश सरकारले उपलब्ध गराउने थप रु ५० हजार उपचार सहुलियतको लागिको १७ वटा अस्पतालहरुसँग संझौता गरिएको।
२३) हृदयघात रोग रोकथाम, नियन्त्रण, निदान र विरामीहरुलाई रु १ लाख १५ हजार सम्मको उपचारमा सहुलियत प्रदान गर्नको लागि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाण्डौ, भरतपुर अस्पताल, मनमोहन कार्डियोथोरासिस तथा भास्कुत्तर सेन्टर, काठमाण्डौसँग सम्झौता गरिएको र १३ वटा प्रादेशिक अस्पतालहरुमा रगत पातलो गर्ने औषधि उपलब्ध गराइएको।
२४) आपूर्ति व्यवस्थापन केन्द्र मार्फत प्रदेशको लागि आवश्यक औजार उपकरण, निःशुल्क उपचारको लागि आवश्यक औषधि, कडा रोगको लागि आवश्यक औषधि आदिको विद्युतीय खरिद प्रक्रियाबाट खरिद गरिद गर्ने प्रक्रिया अगाडी बढाइएको।
२५) प्रदेशका विभिन्न कार्यालयहरुमा रहेका औजार उपकरणको Inventory Management को लागि Nick Simon सँग सम्झौता गरिएको।
२६) नीजि-सरकारी साझेदारीमा ल्यान्स क्लवसँग समन्वय गरी रामेछाप, धादिङ, नुवाकोट र बकुलहर रत्ननगर अस्पतालमा ४ लाख डलर बराबरको डायलाइसिस मेसिन हस्तान्तरण गरिएको।
२७) विश्व स्वास्थ्य संगठनको सहयोगमा बकुलहर रत्ननगर अस्पतालमा प्रयोगशात्ता सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरिएको।
२८) सबै जिल्लाहरुमा जनस्वास्थ्य कार्यालयहरुले आ.व. २०८०/८१ मा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा र मातहतका सबै ४५ वटै कार्यालयहरुको वार्षिक एवं अर्धवार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीको सम्पन्न गरिएको।
२९) प्रदेशका विभिन्न जिल्लाका दुग्रम स्थानहरुमा एकिकृत जनस्वास्थ्य अभियान सञ्चालन गरी विशेषज्ञ उपचार सेवा प्रदान गरिएको।
३०) सिन्धुली जिल्लामा सिन्धुली अस्पताल र फिक्कल आधारभूत अस्पताल तथा ललितपुर जिल्लाको कोन्जोसोम आधारभूत अस्पतालको भवन उद्घाटन गरी प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गरीएको।
३१) अस्पताल सुधार योजना समिति गठन भइ कार्य अगाडि बढेको छ।
३२) मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसँग सामञ्जस्यता हुने गरी “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी एक घण्टा, मेरा लागि” कार्यक्रम समुदायस्तरमा सञ्चालन भइरहेको।
३३) मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुलाई प्रदेशका १३ वटै अस्पतालमा निःशुल्क मानसिक चिकित्सकिय उपचार सेवा प्रदान गरिएको।
३४) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा Antimicrobial Stewardship Committee गठन गरी Antibiotic को समुचित प्रयोग गर्न प्रवर्धन गरिएको।
३५) धादिङको खनियाबास गा.पा. अन्तर्गत खनियावास ग्रामिण अस्पतालमा जन्मिएको एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्था देखिएपछि मिति २०८२/११/०६ गते निःशुल्क हवाइ उद्धार गरी कान्ती बाल अस्पताल, काठमाडौं पुर्याइएको र रामेछाप जिल्लाको मन्यलि नगरपालिका बडा नं. १ बाट एक जना सुत्केरी महिला र नवजात शिशुलाई निःशुल्क हवाइ उद्धार स्वी तथा प्रसुति अस्पताल, थापाथलि काठमाडौं पुन्याइएको।
३६) प्रादेशिक योग समिति गठन भई योग, ध्यान, प्रणायामलाई नियमन गरी व्यवस्थित बनाउने कार्य भइरहेको
३७) सामाजिक सेवा इकाइमार्फत विपन्न / असहाय/बेवारिसे, विपद्का घाइतेलगायतका लक्षित वर्ग निःशुल्क उपचारको व्यवस्थापन गरिएको।
३८) ड्रग एण्ड टक्सीकोलोजी केन्द्रको स्थापना तथा प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ/विशिष्टीकृत आँखा र रोबोटिक्स शल्यक्रिया सेवासहित अन्य सेवाहरूको विकास गर्ने कार्य प्रकृयामा रहेको।
३९) प्रदेश अस्पतालहरु मार्फत ६५ वर्ष माथिका जेष्ठ नागरीकहरुलाई निःशूल्क दन्त सहायता सामाग्री (CDD/RPD) सहयोग प्रदान गरिएको।
४०) जनस्वास्थ्य कार्यालय र स्वास्थ्य तालिम केन्द्रको सहकार्यमा स्थानीय तहहरुका स्वास्थ्यकर्मीहरुलाई प्रशामक सेवा (Palliative care) सम्बन्धी तालिम प्रदान गरिएको र स्थानीय तहहरुमा सो सेवा सूचारु भइरहेको।
४१) प्रादेशिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र स्थानीय स्वास्थ्य संस्थाहरुमा न्युनतम् सेवा मापदण्ड र क्लिनिकल अडिट गरी सेवाको गुणस्तर सुदृढ गरिएको ।
४२) प्रादेशिक स्वास्थ्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्याविधिक भइरहेको। ७ वटा जिल्लामा जिल्ला स्तरीय स्वास्थ्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार भएको। सर्भिलेन्स प्रणाली सुदृढीकरण तथा महामारी नियन्त्रणका लागि प्रादेशिक, जिल्ला स्तरीय एवं स्थानीय तहका द्रुत प्रतिकार्य समूह (RRT) परिचालन गरिएको। प्रदेशभित्र रहेका अस्पतालमा आपत्कालीन अवस्थाको व्यवस्थापनको पूर्वतयारी स्वरुप Drill अभ्यास गरिएको।
मकवानपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
बुधबार बसेको समितिको बैठकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तयारीका निर्णयहरू सार्वजनिक गर्दै यस्तो अनुरोध गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै गर्दा निर्वाचन लक्षित
स्वास्थ्य कार्यको लागि तयारी गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचन अवधिमा सम्भावित विपद् तथा आकष्मिक अवस्थालाई मध्यनजर गर्दै जिल्लाभर स्वास्थ्य सेवा प्रणालीलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकले निर्वाचनको समयमा जिल्लाका सबै स्थानीय तहमा तत्काल परिचालन गर्न सकिने
गरी साधन स्रोतसहितको आपतकालीन स्वास्थ्य टोली तयारी अवस्थामा राख्न जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए । साथै जिल्लाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न समेत निर्देशन दिइने भएको छ।
निर्वाचन अवधिलाई ध्यानमा राख्दै हेटौंडा अस्पताललाई पनि आवश्यक साधन स्रोतसहित तयारी अवस्थामा रहन र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा माग गर्ने निर्णय गरिएको छ।
यस्तै, जिल्लाभित्र सञ्चालनमा रहेका दमकल तथा एम्बुलेन्सहरूलाई जुनसुकै समयमा प्रयोग गर्न सकिने गरी पूर्ण रूपमा चालु अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई लेखी पठाइने भएको छ।
निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सो अवधिमा जिल्लाका सम्पूर्ण स्वास्थ्य जनशक्तिलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन पठाउने निर्णय गरेको छ।
त्यसैगरी, विपद् व्यवस्थापन समिति अन्तर्गतका सबै निकाय तथा पदाधिकारीहरूले निर्वाचन लक्षित सम्भावित विपद्जन्य घटनाको पूर्वतयारी, उद्धार तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउने पनि निर्णय भएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन स्वास्थ्य क्षेत्रको तयारी अत्यन्त आवश्यक रहेकोले यस्तो तयारी गरिएको अधिकारीले बताए । “निर्वाचनको समयमा कुनै पनि आकष्मिक अवस्था सिर्जना भएमा तत्काल प्रतिक्रिया दिन सक्ने गरी स्वास्थ्य तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो” प्रजिअ अधिकारीले भने ।
मकवानपुर । एघाराैँ राष्ट्रिय योग दिवसको अवसरमा आयोजित अन्तर विद्यालयस्तरीय योग खेलकुद प्रतियाेगितामा छात्रा तर्फ कमाने एकेडेमीकी सृष्टि चाैधरी र छात्र तर्फ ज्ञानाेदय बालबाटिकाका युनेश अधिकारीले प्रथम स्थान हासिल गरेका छन ।
त्यसैगरि द्वितिय स्थानमा लक्ष्मि आधारभुत विद्यालयकी छात्रा फारना खातुन, ब्रम्हद्विक एकेडेमीका छात्र दिपान्सु चाैधरी र तृतियम छात्रा तर्फ सिद्धार्थ शिशु सदनकी मानवी त्रिपाठी छात्र तर्फ कमाने एकेडेमीका आर्यन शाह भएका छन ।
आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, लक्ष्मि आधारभूत विद्यालय, कमाने एकेडेमी, रोज एकेडेमी, सिद्दार्थ शिशु सदन, ब्रम्हादिक एकेडेमी, ज्ञानाेदय बालवाटिका लगायतका विद्यालयका २० जना छात्र छात्राहरुले प्रतियाेगितामा सहभागिता जनाएका थिए ।
स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ पतञ्जलि योग जिल्ला समिति मकवानपुरले ११ औं राष्ट्रिय योग दिवस सप्ताहव्यापी रूपमा भव्य कार्यक्रमसहित मनाउने निर्णय अनुरुप हेटौंडा उपमनपा-४ चिल्ड्रेन पार्कमा पतन्जली याेग जिल्ला समिति मकवानपुर र मकवानपुर जिल्ला याेग खेलकुद समितिकाे संयुक्त आयाेजनामा अन्तर विधालय याेग खेलकुद प्रतियाेगिता मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार माेक्तानकाे प्रमुख आतिथ्यता तथा पतन्जली याेग जिल्ला समितिका अध्यक्ष रामकृष्ण थापाकाे सभाध्यक्षता, मकवानपुर याेग खेलकुद संघका सल्लाहकार भरत भण्डारी, व्रम्हकुमार बासु भण्डारी, मकवानपुर जिल्ला याेग खेलकुद संघा अध्यक्ष रामशरण दहाल, पतन्जली युवा समिति अध्यक्ष जयराम पुलामी लगायतकाे उपस्थितिरहेकाे थियाे ।
मकवानपुर याेग खेलकुद संघकि उपाध्यक्ष शकुन्तला सिंह बुढाथाेकिले संचालन गर्नुभएकाे प्रतियाेगितामा पहिलाे दाेस्राे र तेस्राेलाई याेगा म्याट र स्टेसनरी सामान वितरण गरिएकाे थियाे । साथै अन्य सहभागी वालबालिकालाइ म्याट वितरण गरिएकाे थियाे ।