कहिले तस्बिरमा बसेर कहिले पर्दामा बसेर,
एउटा मान्छे खुब मुस्काउँछ अचेल भित्तामा बसेर।
मुटु सम्म पुग्न सक्छु भन्ने आँट कसरी गर्न सक्यो ?
केही समय प्रतीक्षा गर्नु पर्थ्यो अझै आँखामा बसेर।
म चुँडिएर पनि मन्दिर टेखेको छु,चिता देखेको छु,
हे पात१ खोइ तैले के पाइस् त्यो बगैंचामा बसेर।
तँ कलम होस्,छटपटिनै पर्छ,चिच्याउनै पर्छ अझै,
अक्षर हरु पो चुपचाप भैदिन्छन् पानामा बसेर।
सिमाना मिचिए,पिल्लर ढले,सम्पदा बेचिए सबै,
हे देश ! किन चुपचाप सहन्छस् नक्सामा बसेर।
भरतपुर ५, चितवन
छोरीलाई यातना दिने बाबु पक्राउ
Tags: No Comments
मकवानपुर । आफ्नी ४ वर्षको छोरीलाई निर्मम यातना दिने एकजना बाबुलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । हेटौडाबाट प्रहरीले महोत्तरी घर भई हेटौँडा ५ सिंचाई टोल डेरा गरि बस्ने २७ वर्षका रामजी मण्डललाई छाेरीलाई यातना दिएकाेमा पक्राउ गरेकाे हाे ।
साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउँ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि सिविन बाल हेल्प लाईनको सहयोगमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।
मण्डलले नाबालिका छोरीको हात, अनुहार, कानमा टोक्ने, आँखामा खुर्सानीको धुलो हालिदिने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मडण्लले नाबालिका सहित श्रीमतीलाई पनि नियमित यातना दिने गरेको थाहा पाएपछि आफूहरुले उनको डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भीर अवस्थामा रहेको नाबालिकालाई उद्धार गरेको सिवन बाल हेल्प लाईन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञावलीले बताए ।
हेटौंडामा सुनिए मिथिलाका मुक्तक र गजल
Tags: No Comments
मकवानपुर । मकवानपुरका साहित्यकार मिथिला अधिकारीलाई हेटौंडामा सुनिएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिबार हेटौंडामा गरेको मासिक भेटघाट तथा रचना वाचन तथा विमर्शमा अधिकारीका मुक्तक र गजल सुनिएका हुन् ।
अधिकारीले समसामयी, प्रेम र राजनैतिक भाव समेटिएको १२ वटा मुक्तक र ५ वटा गजल प्रस्तुत गरेकी थिइन्। आँचल साहित्य कला पुञ्जले हरेक महिनाको तेस्राे शनिबार मासिक भेटघाटकाे कार्यक्रम गर्दै आइरहेकोमा यस पटक अधिकारी विशेष कार्यक्रम गरेको हो ।
अधिकारीले कार्यक्रममा वाचन गरेको मुक्तक तथा गजलहरुमाथि भवानी तिमल्सिनाले समिक्षात्मक टिप्पणी गरेकी हुन् ।
कार्यक्रममा एस.आर. मञ्जरी, दिनेश शर्मा, शाेभा शाह थापा, डीबी बर्ताैला, सानु खनाल, बैकुण्ठ लामिछाने, अनु राेक्का, छवि अनित्य, मसान उपासक रजनी पौडेललगायतले रचना वाचन गरेका थिए ।
आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा आँचलकी संस्थापक तथा सल्लाहकार पुर्णकला घिमिरेको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
न चासो न चिन्ता
Tags: No Comments
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–५ कि सिर्जना चौलागाई, माध्यमिक तहको विद्यालयमा कार्यरत छिन् । दिनभर उभिएर पढाउनु पर्ने पेशा, शारीरिक थकानलाई महिनावारीको पिडाले झन् बढाउँछ । सुस्ताउँदा अल्छि माने झै हुन्छ, चाहेर पनि शारिरीक पीडा भुल्न सकिदैन । महिनावारी हुँदा कहिले पेन किलरको सहायता त कहिले साथी शिक्षिकाहरुको सहयोगमा दिन काट्नु पर्छ ।
गणित विषय शिक्षक उनी भन्छिन् “बसेर मौखिक रुपमा बुझाउन सकिने विषय पनि हैन, मेहनत नगरे उपाय छैन, महिनावारी प्याड पो स्कुलमा पाइन्छ, महिनावारी हुँदा दुखाइको पीडा आफैंसँग छ, कसलाई भन्नु ।” उनी आफ्नो पीडा महिला साथीहरुसँग शेयर गर्छिन । “केही पुरुष शिक्षकहरुले पनि सहयोग गर्नुहुन्छ, तर सबै बुझ्ने हुनुहुन्न” उनले भोगाइ सुनाइन्, “आफ्नो जिम्मेवारीको काम त गर्नै पर्छ, आफूले गर्दै आएको काम २÷३ दिन सहज त कसरी बनाउनु र ?” कार्यस्थलमा मर्यादित महिनावारीको सवालमा खुलेर बहस, छलफल वा अन्तरक्रिया पनि नहुने गरेको उनले सुनाइन् ।
विद्यार्थीलाई पढाउँदा महिनावारी विभेद विरुद्धको सवालमा खासै चर्चा हुने नगरेको कक्षा ९ कि छात्रा सक्रिया आचार्य बताउँछिन् । महिनावारी चक्रबारे पाठ नै भएकोले पढाइ हुने, तर मर्यादित महिनावारी, महिनावारी विभेदबारे आफूलाई केही थाहा नभएको आचार्यले बताइन् ।
नेपालको संविधानले “प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन,’ भनेको छ । तर यो कार्यान्वयनमा छैन । महिनावारी प्याड पनि स्वास्थ्य सेवाको एउटा पाटो हो भनेर बुझाउन नसकिएकै कारण यो सेवामा सबैको समान पहुँच छैन ।
यसै साता मकवानपुरको हेटौँडा अस्पताल बागमती प्रदेशको दोस्रो उत्कृष्ट अस्पताल घोषित भयो, तर यही अस्पतालमा सेवा लिन आउने सेवा ग्राहीलाई मात्रै हैन कार्यरत महिला स्वास्थ्यकर्मीहरुलाई पनि महिनावारीको समयलाई लक्ष्यित गरी सेवा सुविधा छैन ।
हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटालका अनुसार आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षामा हेटौँडा अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित हुँदै सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा भएको स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सेवाको सुचक तथा प्रस्तुतीकरणको मूल्यांकनको आधारमा हेटौँडा अस्पताल दोस्रो भएको हो ।
उत्कृष्ट हुँदैमा सर्वगुण सम्पन्न हुन सकिन्न रहेछ । सफलताको धेरै काम गर्न बाँकी रहेको अस्पताल प्रशासन स्वीकार गर्छन् । यस्तै “तपशिल”का कामहरु मध्ये प्राथमिकतामा नपरेको क्षेत्र हो महिनावारीको सवाल । डेंगुको उपचारको लागि ३ दिन देखि अस्पताल भर्ना भएकी मकवानपुर जिल्ला बकैया गाउँपालिका–३ की चण्डिका लामा तेस्रो दिन मध्यरातमा महिनावारी भइन् । बिरामी कुरुवाको रुपमा रहेकी उनकी जेठानी दिदीले अस्पतालमा प्याड खोजिन् तर पाइनन् । अस्पतालको फार्मेसीमा किन्न गइन् । त्यहाँ पनि सकिएको जानकारी पाइन् । अब उनी बजार निस्कनु पर्ने भयो, तर मध्यरातमा बजारका मेडिकलहरू पनि बन्द । कुनै उपाय नलागेपछि उनी बिरामीतिरै फर्किइन् ।
बिरामी चण्डिकालाई जसरी पनि प्याड चाहिएको थियो । उनले नै जुक्ति लगाएर दिदीलाई सुत्केरी वार्डमा प्याड खोज्न पठाइन् । सुत्केरी वार्डमा सुत्केरीका आफन्तले आफैं किनेर ल्याएको एउटा पिस प्याड सहयोग गरे । समस्या तत्काललाई ट¥यो ।
चण्डिका मात्रै हैन यस्ता समस्या दैनिक कतिले भोग्छन् तथ्याङ्क छैन । दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिने यो प्रादेशिक अस्पतालमा महिनावारीको बेलामा प्रयोग गर्ने महिनावारी प्याड निःशुल्क छैन ।
ओपीडी सेवाको लागि आउने बिरामीलाई आपतकालीन प्याड चाहिँदा स्वास्थ्य जाँच गर्न बसेको लाइन छोडेर प्याड किन्न दौडिनु पर्ने हुन्छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले अस्पतालमा निःशुल्क महिनारी प्याड राख्न नसकेको स्वीकार गरे । सरकारले अस्पतालबाट निःशुल्क प्रदान गर्ने औषधि नै अभाव रहेकोले अस्पतालमा महिनावारी प्याड नहुनु सामान्य भएको उनले बताए । “सेवा सुविधाको विस्तार गर्दैछौँ, विस्तारै यी समस्या पनि सम्बोधन हुने आशा गरौं,” प्रसाईँले भने । उनले यही जवाफ स्थापना कालदेखि नै भन्दै आएका छन् तर यसतर्फ चासो र चिन्ता देखिएको छैन ।
हेटौंडा उपमहानगरपालिकामा पनि दैनिक सयौं सेवाग्राहीहरू आइपुग्छन् । तर महिलालाई सेवा लिँदा आइपर्न सक्ने समस्याबारे उपमहानगरले चासो देखाएको छैन । नक्सा पासको लागि हेटौंडा उपमहानगरपालिका आइपुगेकी हेटौंडा –१३ कि कोपिला लामा महिनावारी प्याड फेर्नकै लागि आधा घण्टा अलमलमा परिन् । काम तिर लागौं, प्याड फेर्न बितिसकेको छ, प्याड फेर्न तिर लागौँ न नगरपालिकामा प्याडको उपलब्धता छ न शौचालयमा प्याड व्यवस्थापन गर्ने ठाउँ नै ।
“नगरपालिका आइसकेको थिएँ, फेरि रिक्सा चढेर बजार फर्केर गएँ, प्याड ल्याएँ अनि फेरेर लाइनमा बसे” उनले भनिन्, “जुन कार्यालय जाँदा नि हामीले स्वाभिमानका साथ सेवा लिन सक्दैनौँ ।” आफूसँगै आएका दाजुभाइले काम भ्याएर फर्कदाँ कोपिला प्याड फेर्ने र व्यवस्थापन गर्ने काम भ्याएर बल्ल नक्सा शाखा पुगिन् । “समानताको कुरा सबैले गर्छन्, यो पनि असमानतको एउटा उदाहरण हो, हामीलाई सेवा लिनमा आइपर्ने एउटा अड्चन हो यो पनि” उनले भनिन् ।
गैरसरकारी संस्थामा कार्यरत उनी देख्दा सामान्य तर संवेदनशील कुरामा जनचेतना अभिवृद्धि तथा वकालत नपुगेको बताउँछिन् । “उपमहानगरपालिका प्रमुख महिला नै हुनुहुन्छ, यति त उहाँले चासो दिनुपर्ने हो नि, हामीले सम्झाउनु पर्ने कुरा हो र” सेवा लिन आएकी हेटौंडा –१७ कि सविता मल्लले भनिन्, “घरदेखि यहाँ आइपुग्दा प्याड फेर्ने बेला भैसक्छ, किनेर फेरेर अनि कामको लागि लाइनमा बस्नुपर्छ” उनले भनिन् ।
उपमहानगरपालिकामा सेवाग्राहीको लागि महिनावारी प्याडको सहज व्यवस्था छैन । “आफ्नो आवश्यकता अनुसार झोलामै बोकेर आएकाहरूले पनि शौचालयमा गएर फेर्न सहज छैन” मल्लले भनिन् । झोलामा प्याड बोकेर आएको अवस्थामा शौचालयभित्र पस्यो झोला झुण्ड्याउने किला समेत छैन, फेर्न धेरै समस्या छ” उनले भनिन् ।
कार्यालयकै कर्मचारीमा पनि सेवामा समानता छैन । मेयरको सचिवालय वा स्वास्थ्य शाखामा पहुँच पुग्ने कर्मचारीले मागेर सेवा लिन्छन्, तर जो त्यहाँसम्म माग्न जान आँट सबैले गर्दैनन् । बरु उनीहरू समस्या झेलेरै बस्छन् । “माग्दा सहजै पाइदैन, आफूलाई समस्या पर्दा कुरा मिल्ने साथीहरूसँग भए माग्ने हो, नत्र बजार निस्केर किन्ने हो,” एक कार्यालय सहयोगीले भनिन्, “आपत परेर किन्नको लागि बाहीर जान पनि कार्यालयमा खोजि होला की भनेर डराउनु पर्छ ।”
“मैले मेरो पहुँचको सदुपयोग गर्छु, एउटा दिनुस् भन्छु लिन्छु, साथीहरू के गर्नुहुन्छ थाहा छैन,” कार्यालयको आर्थिक विकास महाशाखा प्रमुख गंगा चौलागाँईले भनिन्, “करार तथा ज्यालादारी कर्मचारी र सेवाग्राहीको लागि समस्या भयो भन्ने कुरा चाही मसम्म पनि आएको थियो अलि अघितिर, तर हाल के छ थाहा छैन ।”
मेयरको सचिवालयबाट कर्मचारी र सेवाग्राहीलाई समेत निःशुल्क प्याड दिने गरीएको सचिवालय कर्मचारी रुपा बिडारीले बताइन् । “थाहा भएकाहरूले माग्छन, माग्नेलाई दिने गरिएको छ,” बिडारीले भनिन् । तर सचिवालयमा पुगेर प्याड माग्न सर्वधारणको पहुँच पुग्दैन ।
उपमहानगरपालिकामा झण्डै ५ सय कर्मचारी कार्यरत छन्, जसमा ५० प्रतिशत महिला कर्मचारी छन् । सबैले सहजै महिनावारी प्याड पाउने व्यवस्था छैन । “जसरी स्वास्थ्य संस्थासंस्थाहरुमा कण्डम सहजै लिन सकिने गरी व्यवस्था गरिएको छ, यस्तै हुनु पर्ने नि महिला स्वास्थ्यप्रति यो पनि हेपिएको हो” एक सेवा ग्रहीले भनिन् ।
पुनरावेदन उच्च अदालत पाटन हेटौंडा इजलास नासु तिलादुर्गा ढकाल भन्छिन्, “झोलामा बोक्न बिर्सेको दिन बेञ्चभरी लाग्छ, किन्न जाउँ पसल टाढा छ, सेवा ग्राहीको चापमा आफू निस्केर हिड्न पनि मिलेन, अफिसमा छैन, फेर्न नपाउँदा बिजोक धेरै पटक भोगेको छु,” उनले भनिन्, “पटक पटक कर्मचारीको बैठकमा कुरा उठाएको छु तर सुनुवाइ नै भएको छैन ।” उच्च अदालत हेटौंडा इजलाशमा महिला कर्मचारी नै दुई दर्जन बढी छन् । “कर्मचारीलाई नै छैन, सेवा ग्राहीको लागि झन् के हुनु” उनले भनिन् ।

घरैमा हुँदा महिनावारी भएको भए त फेर्नको लागि झोलामा बोकेर आउने हो, ठ्याक्कै समय नभइकन महिनावारी भैदियो भने चै झोलामा पनि हुँदैन, किन्न निस्कने फुर्सद पनि हुँदैन अनि ज्यादै समस्या हुन्छ,’ अधिवक्ता अप्सरा बस्नेतले भनिन्, “प्याड भनेको स्वास्थ्य सामग्री नै हो, अत्यावश्यक भित्र नै राखौं भन्ने बुझाइनै नहुँदा हामीले समस्या भोग्नु परेको छ ।”
जग्गा पासको लागि जिल्ला मालपोत कार्यालय मकवानपुर आइपुगेकी राक्सिराङ गाउँपालिका ३ कि कल्पना गोले जग्गा पास नसकिदै घर फर्किइन् । मोठमा कर्मचारीले बोलाउँदा उनी उपस्थित हुन नसकेपछि काम भोलीको लागि थन्किएको लेखापढीमा सहयोग गरेकी रञ्जिता बिष्टले बताइन् । उहाँको काम आजै सकिन्थ्यो, तर उहाँ नै भोली आउँछु भनेर फर्किनु भयो,’ विष्टले भनिन्, “हामी आफैं पनि महिनावारी हुँदा आधा दिनमै काम छोडेर घर जान्छौ, यस्तो त सामान्य हो यहाँको लागि ।”
मालपोत कार्यालयमा पनि महिनावारीको लागि प्रयोग गर्न महिनावारी प्याडको व्यवस्था छैन । मालपोत कार्यालयमा रहेको शौचालयमा पनि महिनावारी प्याडको व्यवस्थापन गर्ने ठाउँ छैन ।
यी कार्यालयका कर्मचारी र सेवा ग्राहीको पीडा प्रतिनिधि मात्रै हुन् । धेरै चाप हुने नापी कार्यालय, तथा प्रदेश सरकारको विभिन्न मन्त्रालयहरूमा समेत सेवाग्राहीको लागि लक्ष्यित गरेर प्याड राखिएको छैन । जसले सहज सेवा प्राप्तिमा समस्या भएको महिलाहरूको गुनासो छ ।
नेपालको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धी हकमा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर महिलालाई यस प्रकारको आभारभुत सेवा प्राप्त नभएको सरोकारवालाहरूको गुनासो छ । संविधानको धारा ३५ (३) मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भनिए पनि हेटौंडा उपमहानगरपालिका कार्यालयमा सेवाग्राही होस् वा कर्मचारी उनीहरूले आफ्नो पहुँचको आधारमा मात्रै सेवा पाएका छन् । अन्य कार्यालयमा महिनावारी प्याडको उपलब्धता नै छैन । महिलाहरूले आफूहरूको अवस्था अनुसार सेवा प्रदायक संस्था तथा कार्यालयमा व्यवस्था नहुनु पनि विभेदकै रुपमा लिन सकिने अधिकारकर्मीहरूको भनाइ छ ।
महिनावारीकै कारण महिलाको मर्यादामा असर पर्न नुहने बताउँछिन्, लेखक तथा मर्यादीत महिनावारी अभियन्ता राधा पौडेल । महिनावारीले मानव अधिकार, भावनात्मक, मानसिक, शारीरिक, सामाजिक स्वास्थ्यमा कस्ता असर पार्छ भन्नेबारे अनुसन्धान नै नभएकोले कार्यालयहरूलाई सहज सेवामा नल्याइएको उनको भनाइ छ ।
पौडेलले हरेक कार्यालयले महिनावारीलगायत रजनोबृति समबन्धी कुनै पनि भेदभाव नगर्न, नहुन आचारसंहित बनाएर, नीतिगत रुपमा नै सम्बोधन गर्नुपर्ने बताईन । उनले जबसम्म कार्यलय मर्यादित महिनावारी मैत्री हुदैन तबसम्म लंैगिक समानता र मर्यादित काम कुनै पनि दृष्ट्रीकोणले सफल हुन् नसक्ने दाबी गरिन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पनि हर समय सेवाग्राहीको चाप हुन्छ, तर यहाँ पनि महिनावारी प्याडको सुविधा छैन । महिला प्रहरीहरू स्वयम् समस्या खेप्दै आएका छन् ।
मर्यादित महिनावारी व्यवस्थापन अभियान
मर्यादित महिनावारी व्यवस्थापनबारे सरकारी कार्यालयहरूले बेवास्ता गर्ने गरेको लेखक तथा मर्यादित महिनावारी अभियन्ता डाक्टर राधा पौडेल बताउँछिन् ।
नेपालमा सरकारीस्तरबाट मर्यादित महिनावारीको बहस सुरु भएको भर्खरै ५ वर्ष मात्रै भयो । सन् २०१७ मा सरकारले ‘मर्यादित महिनावारीको नीति’ मस्यौदा गर्यो । पछिल्लो ‘मर्यादित महिनावारी नीति २०७४’ मा कर छुट गर्नुपर्ने विषय समावेश गरियो । सन् २०१९ मा सामुदायिक विद्यालयमा महिनावारी प्याड वितरण गर्ने निर्णय पनि भयो ।
केन्यामा सन् २००४ मा र भारतमा सन् २०१० मा महिनावारीलाई ‘मर्यादित’ बनाउन प्याडमा अतिरिक्त कर कम गरेको थियो । अझ केन्यामा सन् २०१७ बाट सार्वजनिक विद्यालयमा महिनावारी प्याड निःशुल्क वितरण सुरु भयो । त्यसको सिको विस्तारै अन्य देशहरूले पनि गर्दैछ । ‘मर्यादित महिनावारी’ मानव अधिकारको विषय हो । “यो एक जटिल, बहुआयामिक र जीवनचक्रीय रूपमा नकारात्मक प्रभाव पार्ने तर प्राकृतिक प्रक्रिया हो,” पौडेल भन्छिन्, “तर ‘मर्यादित महिनावारी’ मैत्री विद्यालय, सार्वजनिक कार्यालय वा जहाँ सरकारले निःशुल्क सामग्री वितरण गरिरहेको छ, स्थानीय स्तरमा उत्पादन हुने÷भएका सामग्रीहरूले प्राथमिकता पाउनैपर्छ ।”
प्रयोग सामग्री जेसुकै भएपनि त्यो हरेक महिनावारी हुने व्यक्तिलाई मर्यादित भएर बाँच्न सहयोग गर्ने खालको हुनुपर्ने बताउँछिन् पौडेल । “कुनै पनि विद्यालय÷कार्यालयमा छिर्दा ‘मर्यादित महिनावारी मैत्री’ विद्यालय÷कार्यालयमा स्वागत छ भनेर लेख्न सके त्यसले छोरी / महिलामा गौरव र आत्मसम्मान बढ्न सक्छ,” पौडेल भन्छिन् ।
बिद्यालयमा प्याड नष्ट गर्न समस्या, इन्सुनेटर प्रयोग विहिन
मकवानपुर । महिनावारी हुँदा प्रयोगको लागि विद्यालयलाई निःशुल्क महिनावारी प्याड वितरण गरियो तर प्रभावकारी रुपमा नष्ट गर्न नसक्दा समस्या देखिन थालेको छ । महिनावारी हुँदा प्रयोग गरिएको प्याड नष्ट गर्नको लागि सबै विद्यालयहरूमा इन्सुनेटरको व्यवस्थापन छैन ।
केही विद्यालयहरूले प्याड नष्ट गर्नको लागि छात्रा शौचालयको पछिल्लो भागमा चेम्बर बनाएका छन् । चेम्बर भरिएपछि केमिकलको प्रयोग गरेर नष्ट गरिन्छ । तर धेरैजसो विद्यालयहरूले अझै पनि महिनावारी भएको बेला प्रयोग गरिएको प्याड बाल्टीलगायतमा संकलन गर्ने गरेका छन् । जसलाई नष्ट गर्न लामो समय लगाएर, मट्टितेललगायत प्रज्वलनशील पदार्थ राखेर जलाइन्छ । जुन वातावरणीय दृष्टिले स्वस्थ्यकर हैन ।
कुहिएर माटोमा नमिल्ने र सहजै नजल्ने भएकोले प्याड नष्ट गर्न समस्या हुने गरेको छ । “प्याड नष्ट गर्नै समस्या छ, पहिले निःशुल्क प्याडको लागि अनुरोध गरियो अहिले नष्ट गर्ने उपकरण आवश्यक भएको छ,” हेटौंडा १३ प्रतिभा निमाविका अध्यक्ष तेजबहादुर थिङले भने ।
हेटौंडाको बाल ज्योती माविले भने छात्रा शौचालयसँगै चेम्बर बनाएको छ, जसमा प्याड भरीएपछि केमीकल हालेर नष्ट गरिन्छ । प्याड इन्सुनेटर मिसेन खरिदको लागि साँढे २ लाखसम्म पर्ने भएकोले सबै विद्यालयले सहजै खरिद गर्न सक्ने अवस्था नभएको हेटौंडा उपमहानगरपालिका विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखाका प्रमुख शान्ति विश्वकर्माले बताइन् ।
हेटौंडा उपमहानगरपालिकाले १ वर्ष अघि नगरको ६ वटा विद्यालयलाई प्याड इन्सुनेटर सहयोग गरेको थियो । उपमहानगर भित्र रहेका विद्यालयका विद्यार्थीहरूले महिनावारीको समयमा प्रयोग गरेको प्याड व्यवस्थापनमा चुनौंती थपिएपछि पहिलो पटक ६ विद्यालयलाई प्याड इन्सुनेटर प्रदान गरीएको विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखाका प्रमुख शान्ति विश्वकर्माले जानकारी दिइन् ।
पहिलो पटक हेटौंडा–१ को अमर माध्यमिक बिद्यालय, हेटौंडा–४ को भुटनदेवी मध्यमिक बिद्यालय, हेटौंडा–६ को बंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक बिद्यालय, हेटौंडा–१८ को ज्योति माध्यमिक बिद्यालय र हेटौंडा–१९ को निर्मल माध्यमिक विद्यालयमा महिनावारी प्याड इन्सुनेटर हस्तान्तरण गरीएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
अमर माविकी प्रध्यानाध्यापक मालती उप्रेतीका अनुसार उपमहानगरपालिकाले प्रदान गरेको इन्सेनेटर पनि प्रयोग विहिन अवस्थामा छ । “३/४ ओटा प्याड राखेर जलाउँदा कुइरी मण्डल धुवाँ आउँदोरहेछ, हाम्रो त टोलको बिचमा स्कुल भएकोले त्यो प्रभावकारी भएन, गाउँलेले के को दुर्गन्ध धुवाँ हो यो भनेर गाली गरे त्यसपछि प्रयोग विहीन अवस्थामा छ” उप्रेती भनिन् । अहिले विद्यार्थिहरुले प्रयोग गरेको महिनावारी प्याड संकलन गरेर फोहोर लैजाने गाडीमा पठाउने गरेका उनले बताइन् । विद्यालयले यसबारे नगरप्रमुख मिना कुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलाई जानकारी गराएको उप्रतीले बताइन् ।
विद्यालयको लागि निजी संस्थाले दिएको भेण्टीङ मिसेन पनि अहिले प्रयोग विहीन भएको छ । आफूहरुसँग चारपाटे आकारको प्याडको लागि उपयुक्त मिसेन भएको तर नगरपालिकाले लाम्चो आकारको प्याड दिएपछि मिसेन प्रयोग विहीन भएको विद्यालयले जनाएको छ । मिसेन नहुदा विद्यार्थीलाई प्याड लिनको लागि पहिले जस्तो सहज छैन ।
नीति निर्माणमा चासो नै छैन
सरकारी होस् वा निजि जुनसुकै सेवा प्रदायक कार्यालय/संघसंस्था र सामाजिक प्रतिष्ठानहरुमा मर्यादित महिनावारीका सवालमा खुलेर बहस, छलफल र सहजिकरणको कार्य आवश्यक छ, तर यो विषय चासोमा पर्ने गरेको छैन । यस्ता सवालमा स्थानीय सरकारले पनि खास नीति निर्माणमा चासो दिने हो भने व्यवस्था बसाउन सकिने तर प्रतिनिधिको चासो कम भएको सेवाग्राहीहरुको गुनासो छ ।
मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरुमा कुनैले पनि मर्यादित महिनावारीबारेको सवाललाई मध्यनजगर गरेर नीति निर्माणमा चासो देखाएका छैनन् । प्रदेश सरकारले पनि यसबारे चासो राखेको छैन ।
महिनावारी विभेदबारे घरभित्र हुने व्यहावरमा केही गैससहरुले आशिंक कार्यक्रम गर्नुबाहेक अन्य अभ्यास नै नभएको बताउँछिन् गैसस बागमती प्रदेश अध्यक्ष तथा सामाजिक अभियन्ता आरती पाठक । महिलामाथि विभेदको जडकै रुपमा रहेको महिनावारी विभेदबारे सरकारी तहबाटै नीति र निर्देशिक आवश्यक भएको पाठकले बताइन् ।
नगरपालिकाले दिएको प्याड नै राम्रो भएन
हेटौंडा उपमहानगरपालिकाले दिएको प्याड नै राम्रो नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । नगरपालिकाले सामुदायिक विद्यालयहरुमा वितरण गरेको महिनावारी प्याड गुणस्तरीय नभएको गुनासो विद्यार्थीहरुले गरेका हुन् ।
“लगाउँदा पनि डल्लो पर्छ, साइज पनि सानो छ” अमर मावि हेटौंडा १ की एक छात्राले भनिन् “मोटो मान्छेको लागि कामै छैन ।” साना कक्षमा नानीहरुलाई ठिकै छ तर ९/१० कक्षाका नानीहरुले धेरै गुनासो गरेकाे प्रअ मालति उप्रेतीले बताइन् ।
तर उपमहागरका प्रवक्ता समेत रहेको हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने विद्यार्थीको गुनासोलाई मध्यनजर गर्दै पयाप्त साइजको प्याड वितरण गर्ने बताउँछन् ।
“अघिल्लो पटक बाँडेको प्याडको साइजमा गुनासो भएकोले हामीले दोस्रो लटमा त्यसलाई ध्यान दिएका छौ” न्यौपानेले भने । इन्सेनेटर मिसेन प्रयोग विहीन भएको सवालमा भने आफूहरुलाई जानकारी नभएको र प्राविधिकसँग समन्वय गरिने उनले बताए ।

मकवानपुर । ग्रामिण क्षेत्रमा जीवनस्तर सुधारदेखि सचेतना अभिवृद्धिको लागि महत्वपूर्ण योगदान भएको भन्दै मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गैससलाई अनुरोध गरेका छन् ।
गाउँपालिकाको सिमित वडामा कार्यक्रम सञ्चालन गरिरहेको मकवानपुर महिला समूहलाई अध्यक्ष कालाखेतीले यस्तो अनुरोध गरेका हुन् । विशेष गरी एचआईभीको सवालमा र आर्थिक रुपमा निम्न रहेकाे वर्गमा सञ्चालित यो कार्यक्रम मनहरीको केही वडामा सञ्चालित छ ।
आइतबार हेटौंडामा भएको वार्षिक सामाजिक परिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । एचआईभी सवालमा बनेका कार्यविधि अनुसार विभिन्न कार्यक्रमहरु सचालन भएको, आपतकलिन कोष संचालन गर्नका लागी सम्बन्धित संस्थाहरुको पहलमा कार्यविधि निर्माण पश्चात ३ जना संक्रमितहरुले सेवा पाएको, ५५ जना नयाँ संक्रमितहरुले विभिन्न सेवा प्रप्ता गरेको समूह अध्यक्ष कमला सुवेदीले बताइन् ।
यहाँकाे महिलाहरुकाे विवाह दर्ता नागरिकता जस्तो अत्यावश्यक कागजपत्र समेत नभएको कारण आफूहरुले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको कार्यक्रम संयोजक निशा लामाले बताइन् । “धेरै जसोलाई घटना दर्तालगायतको सवालमा समेत जानकार छैन, जसले गर्दा सेवा सुविधा लिनमा उहाँहरुलाई पाइलैपिच्छे समस्या छ” लामाले बताइन् ।
मनहरी ६ सुनाचुरीका महिलाले जिविकोपार्जनका घरेलु मदिरा बनाएर चितवन जिल्लासम्म बेच्ने र आफूहरुले समेत सेवन गर्ने गरेको कारण यसले लैंगिक हिंसा बढाएको आफूहरुले पाएको लामाले बताइन् । आयआर्जनका अन्य श्रोत नभएको कारण दैनिकज्यालादारी गरेर नै गुजरा चलाउने वर्ग नै समस्या रहेको उनले बताइन् ।
यसैगरी यस क्षेत्रमा आफूखुसी बालविवाह गर्नेको कारण बाल विवाह न्यूनिकरणमा समस्या भएको उनले बताए । यो क्षेत्रका अधिकांशले कक्षा ५, ६ र ७ पश्चात पढाई छोड्नेको र आर्थिक उपार्जनमा लाग्ने गरेको उनले बताइन् । कार्यक्रममा मकवानपुर महिला समूह लेखा प्रमुख निर्जाला पौडेलले ७५ लाख ७८ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले महिला सशत्तिकरण, महिला नेतृत्वको कारण सामाजिक विकासको रफ्तार राम्रो हुने भएकोले मकवानपुर महिला समूहको कार्य उदाहरणीय भएको बताए । गाउँपालिकाको सबै वडामा समूहको कार्य विस्तारको लागि समेत उनले आग्रह गरेका थिए ।
समूहले मनहरीको ६ वटा समूह र ८ जना व्यक्तिहरुलाई गरी ७ लाख ७४ हजार बिउ पुँजी उपलब्ध गराएको कार्यक्रम संयोजक लामाले बताइन् । कार्यक्रममा गैसस मकवानपुर, माइती नेपाल सेलर्ड, मनहरीका वडा अध्यक्षहरु, मकवानपुरकाे विभिन्न गैससहरु मार्फत अभियानमा सक्रिय संस्थाहरुकाे प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।