मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी पुलमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका–१६, पिठुवाका ५५ वर्षीय रामजी गौतम र मोटरसाइकलको पछाडि सवार पिठुवाकै ५६ वर्षीय निमबहादुर थापा घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका निमबहादुरको उपचारको क्रममा मनहरी अस्पतालमा ९ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक गौतमको खुट्टामा चोट लागेको छ । गौतमलाई उपचारका लागि चितवन रेफर गरिएको छ । प्रहरीले ट्रक र ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जका ३९ वर्षीय ओम प्रसाद खनाल नियन्त्रण लिएकाे छ ।
मकवानपुर । कला र सस्कृति प्रवर्द्धनबाट समाजमा रहेकाे विभेद र विकृति हटाई समाजमा चेतना फैलाउन सकिने हेटाैँडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
हेटौंडाको ४ नम्बर वडा कार्यालयकाे आयाेजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियाेकाे व्यवस्थापनमा शुरू भएकाे सामाजिक रूपान्तरणकाे लागि सचेतनामूलक नगरस्तरीय प्रथम सडक नाटक प्रतियाेगिताकाे उद्घाटन गर्दै वडाध्यक्ष सिग्देलले यस्तो बताएका हुन् । ‘विद्यालयबाटै विद्यार्थीहरूलाई कला र सस्कृतिसंग जाेड्न सके दक्ष र उकृष्ट कलाकारकाे समेत उत्पादन गर्न सकिन्छ’ उनले भने यसबाट समाजमा विद्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिन्छ ।’
आइतबार भएको पहिलाे प्रतियाेगितामा ज्ञानाेदय बालबाटिका आवासीय मावि हेटौंडा ५ को समूहले महिला हिँसा विरूद्व सचेतनामूलक रक्ताम्मे मेराे शरीर शीर्षकको नाटक र १८ नम्बर वडा बाल सञ्जालले लागू औषध दुर्व्यसनीविरूद्व चेतना मूलक नाटक प्रस्तुत गरेका थिए । नगरभित्रका १२ वटा समूहको सहभागिता रहेकाे प्रतियाेगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले बताए ।
बाल सञ्जाल, नवाेदय शिशु सदनकी उपाध्यक्ष एनि घलेकाे अध्यक्षतामा सुरु प्रतियाेगितामा टाेल विकास संस्था नगर समन्वय समिति महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति संयाेजक श्रीराम दाहाल, महिला जागरण समूह अध्यक्ष राधिका चाैलागाई, नवाेदय शिशु सदनका निर्देशक दीपेश जाेशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्च अध्यक्ष राजुराम राउत, सिस्नुपानी नेपाल मकवानपुरका अजर फुँयाल लगायतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । माझी समुदायकाे पर्व लदी २० फागुनमा बकैयामा मनाइने भएकाे छ । आइतबार हेटौंडामा पत्रकार भेटघाट गर्दै नेपाल माझी उत्थान संघ केन्द्रिय समितिले पर्व मनाउने सम्बन्धमा जानकारी गराएकाे हाे ।
पत्रकार भेटघाटमा संघ केन्द्रिय समिति अध्यक्ष चिनिमाया माझीले नेपालमा बासोबास गर्ने माझी समुदायहरुको महान पर्व लदि (कोसी) पुजाको जानकारी गराउँदै उक्त पर्व २० फागुन मंगलबार मनाइने जानकारी दिइन् । बकैया गाउँपालिका वडा नम्बर ६ जुइनामा मनाइने पर्वकाे उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने बताइएकाे छ ।
सरकारले आदिवासी जनजातिको बर्गिकरणमा अतिसिमान्तकृत जातिमा वर्गीकरण गरेको माझी जातिको जनसंख्या १ लाख ११ हजार ३५२ रहेको छ । माझी जातिले भारोपेली भाषा परिवार अन्तर्गतकाे माझी भाषा बाेल्ने गर्छन् । सुनकोशी, तामाकोशी, दुधकोशी क्षेत्रहरुमा माझी भाषा बढी बाेलिने गरेकाे छ । २०७८ सालकाे राष्ट्रिय जनगणनामा उक्त भाषा बोल्नेको संख्या ३२ हजार ९१७ रहेको छ ।
बकैया गाउँपालिकाले दियो पर्वकाे अवसरमा सार्वजनिक विदा
माझी समुदायको प्रमुख पर्व कोशी पूजा (लदी पर्व) को अवसरमा २० फागुन मंगलबार बकैया गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै लदी पर्वको अवसरमा विदा दिने जानकारी गराएको हो ।
बकैया गाउँपालिका कार्यालयकाे १३ फागुनकाे बैठकबाट लदी पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियाे । मंगलबार गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जारी गरेकाे सूचनामा उल्लेख छ ।

लदी पर्व सम्बन्धी जानकारीसहितकाे प्रेस विज्ञप्ती यहाँबाट पढ्न सक्नु हुनेछ
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा राष्ट्रिय विभूति शङ्खधर शाख्व पार्ककाे शिलान्यास गरिएकाे छ । बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले शिलान्यास गरेकाे उक्त पार्कमा शाख्वकाे प्रतिमा स्थापना तथा पूर्वाधार निर्माण समेत हुनेछ ।
पार्क शिलान्यास गर्दै श्रेष्ठले शङ्खधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक रहेको बताए। ‘पार्कलाई नेपालकै ठूलो तथा नमूना पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ’ उनले भने । यसका लागि पर्खाल, गेट, शङ्खधर शाख्वाको प्रतिमा, पोखरी, ढुङ्गेधारा लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए ।
करिब चार बिगाहा क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रलाई पदमपोखरीकै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनकाे भनाई थियाे । ‘पदमपोखरी आसपासका विभिन्न समुदायको संस्कृति जोडेर पार्कलाई विकास गर्न सकिन्छ’ उनले भने ‘सरकारले मात्र नभई स्थानीयस्तरबाट पनि सचेतना आवश्यक छ ।’ जनस्तरबाट चासो र योगदान दिए मात्रै पदमपोखरीको वास्तविक विकास सम्भव रहेकाे उनले बताए ।
स्थानीय राजेश नगरकोटीले पार्कलाई नेपालकै नमूना बनाउने प्रतिबद्धता जनाउँदै मास्टर प्लान तयार पार्न अझै केही काम बाँकी रहेको जानकारी दिए । ‘यो सुरुवात हो, थप योजना बनाएर शङ्खधर शाख्वा पार्कलाई नेपालकै उत्कृष्ट बनाउने छौँ’ उनले भने ।
नेवा गुठी खलः पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीले पदमपोखरी क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सकिने बताए । ‘पदमपोखरीका विभिन्न स्थानमा थातथलो पूजा गर्दै यसको सांस्कृतिक महत्व उजागर गरिनुपर्छ’ उनले भने ।
नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल खड्गेले स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले शङ्खधर शाख्वा पार्कको विकासका लागि निरन्तर प्रयास गर्नुपर्ने बताए । सरकारले आवश्यक बजेट तथा नीति ल्याएमा पार्क छिट्टै निर्माण सम्पन्न हुने उनले बताए । समाजसेवी सिताराम प्रधानले पदमपोखरीको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
बागमती प्रदेशको सस्कृती तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवम् स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा सो योजना निर्माण गर्न लागिएको हो । नेपाल सरकारले ३ मंसिर २०५६ मा नेपाल संवतका प्रवर्तक शाख्वालाई राष्ट्रिय बिभुती घोषणा गरेको हो । उनले वि. सं. ९३६ मा कान्तिपुर र भादगाउँ का जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए।
नेवा गुठी खलः पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीको सभाध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम भएकाे हाे ।
मकवानपुर । मकवानपुर जिल्लाकाे विभिन्न स्थानमा भएकाे घटना ५ जना घाइते भइका छन् । शनिबार गैडाकाे आक्रमणबाट १ जना, चट्याङ्क लागेर ३ जना र रुखबाट लडेर १ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्लाकाे मनहरी गाउँपालिका ६ खयरघारी मरुङगे ताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक वनमा घास काट्न गएका ३५ वर्षीय राम दिनेश कुशवार गैडाको आक्रमणबाट घाईते भएका हुन् । उनलाई उपचारको लागी भरतपुर चितवन सरकारी अस्पताल पठाएको छ भने दाहिने खुट्टामा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ ।
यसैगरी जिल्लाकाे मकवानपुर मनहरी गाउँपालिका ६ रुपाचुरीमा चट्याङ्ग लागेर ३ जना घाइते भएका छन् । शनिबार स्थानीय मंगल मुक्तानकाे घर नजिकै हावाहुरी सहित पानी परेको समयमा चट्याङ लागि ३८ वर्षीय मंगलसहित उनका छोरा १८ वर्षीय कल्सान मुक्तान र मंगलकाे बहिनी नाता पर्ने २७ वर्षीय कालि बल घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घाइते तीनै जनाकाे अवस्था मध्यम रहेकाे छ भने उपचारकाे लागि भरतपुर अस्पताल लगिएकाे छ ।
यस्तै जिल्लाकाे बागमती गाउँपालिका वडा नम्बर २ आहाल डाँडामा रुखबाट लड्दा १ जना घाइते भएका छन् । स्थानीय ५५ वर्षीय बिर बहादुर लोप्चन खनिउको रुखमा चढी बिजुलीको तार तान्ने क्रममा लडी घाईते भएकाे प्रहरीले जनाएकाे छ । हेटौंडा अस्पतालमा उपचारको ल्याइएका लोप्चनकाे अवस्था मध्यम रहेकाे बताइएकाे छ ।