मकवानपुर । अख्तियारले हेटौंडाबाट १० लाख रुपैयाँ रकम सहित एक इन्जिनियर पक्राउ गरेकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले हेटाैंडा १० बाट नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई उक्त रकमसहित प्रक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले प्रशारण लाइनको काम गरेबापत व्यवसायीसँग रकम लिँदै गर्दा जैसवाल पक्राउ परेका हुन् । व्यवसायीको काम गरेबापत रकम मागेको प्रारम्भिक सूचनाको आधारमा अख्तियारले हेटौंडा १० पिपलबोटबाट जैसवाललाई पक्राउ गरेको आयोगकाे हेटाैडा कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए। आयोजना प्रमुख जैसवालबारे थप अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएकाे छ ।
मकवानपुर /जिल्ला समन्वय समिति मकवानपुरको बुधबार बसेको बोर्ड बैठकले दुईवटा सडकको कार्य सुचि पारित र एउटा व्यवसायिक भवनको संक्षिप्त वातावरणिय अध्यन प्रतिवेदन (आईई) स्वीकृत गरेको छ ।
जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ६८ औं बोर्ड बैठकले दुईवटा सडकको कार्य सुचि पारित गर्नुका साथै एउटा व्यवसायिक भवनको संक्षिप्त वातावरणीय अध्यन प्रतिवेदन (आईई) स्वीकृत गरेको हो । बैठकले जिल्ला समन्वय अधिकारीको संयोजत्वमा रहेको संक्षिप्त वातावरणीय अध्यन प्राविधिक उपसमितिबाट छानविन भई बोर्डमा सिफारीस साथ आएको भिमफेदी गाउँपालिका स्थित कोगटे महाभिर सडक र राक्सिराङ गाउँपालिका स्थित बोडवारी–परेवाभिर–रतुवा–डोलघारी सडकको कार्य सुचि पारित गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिए ।
त्यस्तै बैठकले हेटौंडा–१० स्थित बसपार्कमा निर्माण हुन लागेको बस टर्मिनल अन्तरगतको भवन निर्माणको लागि उपसमितिबाट पेश भई आएको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्यहरु देवराज रिमाल, चित्र बहादुर बलामी, सिता अधिकारी, बुद्धि बहादुर मोक्तान, सानुकान्छी स्याङतानलगायतको उपस्थिती थियो ।
मकवानपुर । मकवानपुरमा ६१ जना कोरोना भाइरस संक्रमित थपिएको छ । पछिल्लो २४ घण्टामा यहाँ थप ६१ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार संकलन गरिएको १ सय ४२ जनाको स्वाब परीक्षणमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा सबैभन्दा बढी ५३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि बकैया गाउँपालिका,मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका र हेटौंडा बस्ने जिल्ला बाहिरका २/२ जना रहेका हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्तिक १६ गते संकलन गरेको १ सय ३० जनाको स्वाब परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको हो । संक्रमण हुनेमा महिला ८ जना र पुरूष १५ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना,मनहरी र मकवानपुरगढी गाउँपालिकाका ३/३ जना र एक जना बकैया गाउँपालिकाका रहेका छन् । यस्तै जिल्ला बाहिर घर भएका १ जना रहेका छन् ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १९ को डुमारेमा एक घरमा आगलागी भएको छ ।
गएराति विद्युत सर्ट हुँदा स्थानीय ५३ वर्षीय खड्गबहादुर पुडासैनीको काठको दुई तल्लाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।
आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर पूर्ण रूपमा नष्ट भएको प्रवक्ता रानाले बताए । आगलागीबाट १५ लाख बराबरको क्षति भएको बताईएको छ । आगो गएरातिनै दमकल,प्रहरी र स्थानीयको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।