मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा संचालनमा रहेका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि स्वास्थ्य सामाग्री सहयोग गरिएकाे छ । थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले स्वास्थ्य सामाग्री सहयोग गरेको हाे ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम सहितकाे टाेलीले शनिबार मास्क, सेनिटाइजर, फेस शिल्ड, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो । थाहानगरपालिकामा संचालनमा रहेका विकास खबर पत्रिका, रेडियो पालुङ, रेडियो दामन, बाइरोड न्यूज अनलाईन, थाहा टाइम्स अनलाईन, थाहा पाटी अनलाईन र रेडियो इन्द्रसरोवरमा कार्यरत सञ्चारकर्मीलाई कार्यस्थलमै भेटेर १ हजार २ सय थान मास्क, १ सय थान सेनिटाइजर र ग्लोब्स सहयोग गरिएको हो ।
कोरोना भाइरसको महामारीकाबीच पनि समाचार संप्रेषणमा खटिएका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाटसमेतको सहयोग र सहभागितामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
सामाग्री ग्रहण गर्दै थाहा नगरपालिकाका सञ्चारकर्मीहरुले आफूहरुको अवस्था बुझ्दै कार्यस्थलमै आई स्वास्थ्य सामाग्री प्रदान गरिएको भन्दै आभार व्यक्त गरेका थिए । महासंघको सहयोगले आफूहरुलाई निरन्तर काममा खटिनको लागि हौसला प्राप्त भएको उनीहरुले बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुरका सहसचिव एमपी शर्मा, कोषाध्यक्ष केशव समर्पणको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्धकाे भेराेसेल खाेप ४ हजार ९५ जनाले लगाएका छन् । जिल्लाकाे १० वटै स्थानीय तहमा पहिलो चरणकाे भेरोसेल खोप अभियान अन्तरगत ४ हजार ९५ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका जिल्ला भित्रका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका ४ हजार ९५ जनाले कोरोना विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाएका हुन् । जिल्लामा जेठ २५, २६, २७ र २८ गते ४ दिन जिल्लामा खाेप अभियान चलेकाे थियाे ।
मकवानपुरका लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये १० वटै स्थानीय तहका ६२ देखि ६४ उमेर समूहका अधिकांशले खोप पाएका सूचना अधिकारी घिमिरेले बताए । छुटेको केहिले आज शनिबार पनि लगाउन सक्नेछन् । स्थानीय तहलाई बाँडिएको खोप लगाएर बाँकी रहेकाे खाेप फिर्ता आउने तथा बाँकी रहेकाे खोप कस्लाई लगाउने भन्ने निर्णय जिल्लाको काभिड संकट व्यवस्थापन समितिले गर्ने घिमिरेले बताए ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिकाका २ हजार ३२, बागमती गाउँपालिकाका ३ सय ७८, थाहा नगरपालिकाका ३ सय ३३, मकवानपुरगढी गाउँपालिकाका ३ सय ३१, बकैया गाउँपालिका भित्रका २ सय ७७, मनहरी गाउँपालिकाका २ सय १९, कैलाश गाउँपालिकाका १ सय ७५ , राक्सिाङ गाउँपालिकाका १ सय ५७, भीमफेदी गाउँपालिकाका १ सय २९ र इन्द्रसरोबर गाउँपालिकाका ६४ जनाले खोप लगाएका छन् । भेरोसेल खोपको दोस्रो डोज ३ हप्ता पछि लगाईने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् । हाल जिल्लामा काेभि शिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहनेको संख्या १५ हजार १ सय ६२ रहेको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने २२ सवारी साधनलाइ कारवाही गरेकाे छ । जेठ २८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर, अटो गरी २० वटा सवारीसाधन कारवाही गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
यसैगरी निषेधाज्ञा उल्लङ्घन गर्ने ६१ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएका २० वटा सवारी साधनलाइ कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रति सवारी साधन २ हजार देखि ५ हजारका दरले कारवाही गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यस्तै निषेधाज्ञा उल्लंघन गरी पसल पसल खोली संचालन गर्ने १ जना नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएकोमा प्रशासन कार्यालयबाट ५ हजार जरीवाना समेत भएको रिमालले बताए ।
‘अनुमति लिएर राहत वितरण गर्नु पर्ने’
Tags: No Comments
मकवानपुर । कोरोना संक्रमणकाे बेला संक्रमित तथा परिवारलाई राहत वितरण गर्दा अनुमित लिएर मात्र विरतर गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । २८ गते शुक्रबारकाे जिल्ला काेभिड व्यवस्थापन समितिले निर्णय गरेर राहत वितरण गर्ने व्यक्ति तथा संस्थालाइ सम्वन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र राहत वितरण गर्न भनेकाे हाे ।
शुक्रबार सुचना जारी गरी जिल्लामा पछिल्लो समय राहत सामग्री आफु खशी ढंगबाट वितरण भएको जनगुनासो बढेकोले राहत बितरण गर्न इच्छुक व्यक्ति वा संस्थाले स्थानियतह तथा कोभिड व्यवस्थापन समिति, मकवानपुरबाट अनुमति लिएर मात्रै राहत सामग्री वितरण गर्न गराउन भनिएको छ । प्रशासनले आफूखुसी राहत बितरण नगर्न आग्रह गर्दै अनुगमनको क्रममा अनुमति बेगर राहत सामग्री वितरण गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला काेभिड व्यवस्थापन समितिका निर्णयहरू:-
- उद्योग तथा प्रतिष्ठानहरूमा कार्यरत मजदूर कर्मचारीहरू कोभिड-१९ बाट संक्रमित भएमा उद्योग प्रतिष्ठानले आफैले स्थापना गरेको आइसोलेशसन सेन्टर वा संस्थागत आइसोलेशसन सेन्टरमा निजहरूलाई राख्ने व्यवस्था उद्योग संघ, मकवानपुरले मिलाउने ।
- कोभिड-१९ बाट संक्रमित भई संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा बसिरहेकाहरूलाई एकीकृत ग्रामीण विकास सेवा, मकवानपुरले सम्बन्धित पालिकासँग समन्वय गरी मनोसामाजिक परामर्श प्रदान गर्ने ।
- कोभिड-१९ बाट संक्रमितहरूको उपचार गर्ने सन्दर्भमा हेटौडा अस्पतालले बालबालिका मैत्री संरचना समेत तयार गर्ने ।
- आगामी दिनमा हुनसक्ने कोभिड-१९ को तेस्रो लहर र बालबालिकाहरूलाई हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौडा अस्पतालले आवश्यक पूर्वतयारी एवं स्रोतसाधनको आँकलन सहित जिल्ला कोभिड व्यवस्थापन समितिको आगामी बैठकमा योजना पेश गर्ने ।
- स्वास्थ्य कार्यालय, मकवानपुर र सबै स्थानीय तहहरूले कोभिड-१९ को परीक्षणको दायरा एवं संख्या बढाउने ।
- कोभिड-१९ बाट संक्रमित एवं प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्ने सम्बन्धमा कतिपय व्यक्ति तथा संघ संस्थाले सम्बन्धित निकायबाट अनुमति नै नलिई राहत सामग्री वितरण गरिरहेको सूचना एवं गुनासो प्राप्त भएको सन्दर्भमा राहत सामग्री वितरण गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाले सम्बन्धित स्थानीय तह वा जिल्ला कोभिड व्यवस्थापन समितिबाट अनुमति लिई मात्र राहत वितरणको कार्य गर्ने, गराउने ।
- निषेधाज्ञाको प्रभाव एवं आगामी रणनीतिका सम्बन्धमा जिल्ला कोभिड व्यवस्थापन समितिका सदस्यहरू (आमन्त्रित समेत)ले क्षेत्रगतरूपमा आ-आफ्ना राय आगामी बैठकमा पेश गर्ने ।
मकवानपुर । मकवानपुरमा थप २ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ सय ५६ हाेम आइसोलेस र १३ जना संस्थागत आइसोलेसबाट काेराेना निकाे भएका स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ८ हजार ९ जना पुगेका छन् ।
यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ४४ जना र एन्टीजेन परीक्षणबाट ३१ जना गरी थप ७५ जनामा कोराना पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ७ सय १६ पुगेको छ ।
जिल्लामा हाल १ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कोरोना संक्रमण पुष्टि भएका १ सय १० जनाको मृत्यु भएको छ ।