मकवानपुर । कोरोना संक्रमणकाे बेला संक्रमित तथा परिवारलाई राहत वितरण गर्दा अनुमित लिएर मात्र विरतर गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । २८ गते शुक्रबारकाे जिल्ला काेभिड व्यवस्थापन समितिले निर्णय गरेर राहत वितरण गर्ने व्यक्ति तथा संस्थालाइ सम्वन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र राहत वितरण गर्न भनेकाे हाे ।
शुक्रबार सुचना जारी गरी जिल्लामा पछिल्लो समय राहत सामग्री आफु खशी ढंगबाट वितरण भएको जनगुनासो बढेकोले राहत बितरण गर्न इच्छुक व्यक्ति वा संस्थाले स्थानियतह तथा कोभिड व्यवस्थापन समिति, मकवानपुरबाट अनुमति लिएर मात्रै राहत सामग्री वितरण गर्न गराउन भनिएको छ । प्रशासनले आफूखुसी राहत बितरण नगर्न आग्रह गर्दै अनुगमनको क्रममा अनुमति बेगर राहत सामग्री वितरण गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला काेभिड व्यवस्थापन समितिका निर्णयहरू:-
- उद्योग तथा प्रतिष्ठानहरूमा कार्यरत मजदूर कर्मचारीहरू कोभिड-१९ बाट संक्रमित भएमा उद्योग प्रतिष्ठानले आफैले स्थापना गरेको आइसोलेशसन सेन्टर वा संस्थागत आइसोलेशसन सेन्टरमा निजहरूलाई राख्ने व्यवस्था उद्योग संघ, मकवानपुरले मिलाउने ।
- कोभिड-१९ बाट संक्रमित भई संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा बसिरहेकाहरूलाई एकीकृत ग्रामीण विकास सेवा, मकवानपुरले सम्बन्धित पालिकासँग समन्वय गरी मनोसामाजिक परामर्श प्रदान गर्ने ।
- कोभिड-१९ बाट संक्रमितहरूको उपचार गर्ने सन्दर्भमा हेटौडा अस्पतालले बालबालिका मैत्री संरचना समेत तयार गर्ने ।
- आगामी दिनमा हुनसक्ने कोभिड-१९ को तेस्रो लहर र बालबालिकाहरूलाई हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौडा अस्पतालले आवश्यक पूर्वतयारी एवं स्रोतसाधनको आँकलन सहित जिल्ला कोभिड व्यवस्थापन समितिको आगामी बैठकमा योजना पेश गर्ने ।
- स्वास्थ्य कार्यालय, मकवानपुर र सबै स्थानीय तहहरूले कोभिड-१९ को परीक्षणको दायरा एवं संख्या बढाउने ।
- कोभिड-१९ बाट संक्रमित एवं प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्ने सम्बन्धमा कतिपय व्यक्ति तथा संघ संस्थाले सम्बन्धित निकायबाट अनुमति नै नलिई राहत सामग्री वितरण गरिरहेको सूचना एवं गुनासो प्राप्त भएको सन्दर्भमा राहत सामग्री वितरण गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाले सम्बन्धित स्थानीय तह वा जिल्ला कोभिड व्यवस्थापन समितिबाट अनुमति लिई मात्र राहत वितरणको कार्य गर्ने, गराउने ।
- निषेधाज्ञाको प्रभाव एवं आगामी रणनीतिका सम्बन्धमा जिल्ला कोभिड व्यवस्थापन समितिका सदस्यहरू (आमन्त्रित समेत)ले क्षेत्रगतरूपमा आ-आफ्ना राय आगामी बैठकमा पेश गर्ने ।

